सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

म किन गलत मानिसतर्फ आकर्षित हुन्छु?

म किन गलत मानिसतर्फ आकर्षित हुन्छु?

युवा जनहरू सोध्छन्‌ . . .

म किन गलत मानिसतर्फ आकर्षित हुन्छु?

“हो, ऊसित त्यति हिमचिम बढाउनु ठीक छैन भनेर मलाई थाह थियो। तर के गर्ने, मैले आफूलाई रोक्नै सकिनँ। म जस्तो केटीलाई मन पराउने पनि कोही छ भनेर मैले सपनामा पनि सोचेकी थिइनँ।”—न्यान्सी। a

“म स्केटिङ्‌ खेल्न जान्थें र कत्ति छिट्टै त्यहाँका ‘साथीहरूसित’ म घुलमिल भइसकेको रहेछु। अनैतिक जीवन शैलीमा होमिन मलाई कत्ति पनि बेर लागेन।”—डान।

डान र न्यान्सी दुवैको आध्यात्मिक सुरुवात राम्रो थियो। न्यान्सी ईश्‍वरभीरु परिवारमा हुर्केकी थिइन्‌ र नौ वर्षमै उनले आफ्नो विश्‍वास अरूलाई बताउन थालिसकेकी थिइन्‌। किशोरावस्थामै डानले पूर्ण-समय सेवकाई थाले। तर दुवैको आध्यात्मिक जीवनमा एउटा ठूलो विचलन आयो। किन? किनकि तिनीहरूले गलत मानिसहरूसित संगत गरे।

के तपाईं कुनै व्यक्‍तिले आफूलाई खराब असर गर्छ भनी थाह पाउँदा पाउँदै पनि त्यस्तो व्यक्‍तिसित आकर्षित हुनुभएको छ? त्यो व्यक्‍ति तपाईंको जस्तै रुची राख्ने तपाईंको सहपाठी हुन सक्छ अथवा तपाईं रोमान्टिक रूपमा आकर्षित हुनुभएको विपरीत लिङ्‌गको कुनै व्यक्‍ति पनि हुन सक्छ।

सायद तपाईंले बाइबलको यो सल्लाह सम्झनुभयो: “खराब सङ्‌गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) तर के यहोवाको उपासना नगर्ने सबैलाई खराब संगत भन्‍न मिल्छ? तिनीहरूमा कुनै असल, प्रशंसायोग्य गुणहरू छन्‌ भने नि? अनि आध्यात्मिक तवरमा गलत उदाहरण बसाल्ने कुनै सँगी विश्‍वासी नि? यी प्रश्‍नहरूको जवाफ दिनुअघि, आउनुहोस्‌, कसरी र किन यस्तो किसिमको आकर्षण पैदा हुन्छ, विचार गरौं।

आकर्षणका कारणहरू के हुन्‌?

सबै मानिस परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको हुनाले यहोवालाई नचिन्‍ने कसै-कसैले असल गुणहरू देखाएको आशा गर्न सकिन्छ। त्यसैले कसैले साँचो परमेश्‍वरको उपासना नगरे पनि तपाईंलाई त्यो व्यक्‍ति आदरयोग्य लाग्ला र मन पर्न पनि सक्ला। यस्ता व्यक्‍तिहरूलाई बाइबल सत्य थाह नभएकोले के यिनीहरूलाई तपाईंले पूर्णतया इन्कार गर्नै पर्छ? अवश्‍य पर्दैन। ‘सबै मानिसतर्फ भलाइको काम गर’ भन्‍ने बाइबलको सिद्धान्तमा तपाईंको जस्तै मसीही विश्‍वास नअँगाल्ने व्यक्‍तिहरू पनि पर्छन्‌। (गलाती ६:१०) आफ्ना घनिष्ठ मित्रहरू रोज्दा होसियार हुनुको अर्थ अरूसित व्यवहार गर्दा आफू उच्च छु भनेर देखाउनु होइन। (हितोपदेश ८:१३; गलाती ६:३) बरु, यस्तो आचरणले त तपाईंको मसीही विश्‍वासप्रति नै गलत छाप पार्नेछ।

यद्यपि, कुनै-कुनै मसीही युवाहरूले आध्यात्मिक कामकुराप्रति कम वा पटक्कै चासो नदेखाउनेहरूलाई भलाइको काम मात्र गर्दैनन्‌ तर तिनीहरूसित घनिष्ठ सम्बन्ध नै गाँस्छन्‌। माथि उल्लिखित डान साह्रै राम्रो स्केटिङ्‌ खेल्ने भएका थिए। स्केटिङ्‌ खेल्ने ठाउँमा उनले नियमित रूपमा भेट्‌ने मानिसहरू मसीहीहरू थिएनन्‌। अन्ततः अनैतिक आचरणमा लागेर अनि लागूपदार्थ सेवन गरेर डान नयाँ ‘साथीहरूको’ झुण्डमा सामेल भए। आफ्नो जीवन शैली मसीही धर्मसित मेल नखाएपछि डानले सेवकाई र मसीही सभाहरू जान चटक्कै छोडे। उनले साँचो उपासनामा फर्कन आवश्‍यक साहस जुटाएको केही वर्ष मात्र भयो।

मेलानी आध्यात्मिक तवरमा कमजोर एक सँगी विश्‍वासीतर्फ आकर्षित भइन्‌। मेलानी भन्छिन्‌, “तिनलाई केही प्रोत्साहन चाहिएको रहेछ भनी मैले थाह पाएँ, त्यसैले मैले तिनीसित संगत गर्न थालें।” हो, बाइबलले मसीहीहरूलाई ‘कमजोरीहरूलाई मदत गर्न’ प्रोत्साहित गर्छ। (१ थिस्सलोनिकी ५:१४) तर आफ्नो नयाँ साथीसित मेलानी बार जान थालिन्‌ र त्यहाँ उसको संगत अरू व्यक्‍तिहरूसित पनि भयो जसले उसलाई निन्दनीय आचरणमा फसायो।

परिवारको भूमिका

पारिवारिक अवस्थाले गर्दा पनि कुनै व्यक्‍ति अरूसित आकर्षित हुन सक्छन्‌। भावशून्य र अरूको भावनाको कदर नगर्ने पुरुषहरूसित मेलानी किन आकर्षित भइन्‌, उनी आफै छक्क पर्थिन्‌। आफ्नो बुबासित कहिल्यै घनिष्ठ महसुस नगरेकी अनि बुबाले आफूसित कहिल्यै समय नबिताएकोले बुबाको जस्तै स्वभाव भएका पुरुषहरू उनलाई आफ्नो बुबा जस्तै लाग्ने कुरा उनी बताउँछिन्‌। यस्ता स्वभावको पुरुषको अनुमोदन र ध्यान खोज्ने उनको बानी नै परिसकेकोले गर्दा नचहाँदा नचहाँदै पनि यस्ता सम्बन्धहरूमा उनी आकर्षित भइन्‌।।

यसको ठीक उल्टो, मसीही आमाबाबुले हुर्काएका जवानहरूले चाहिं आमाबाबुले आफूलाई अचाक्ली कडिकडाउ गरेको भन्ठान्दै अरूहरूको जीवन कस्तो होला भन्‍ने कौतुहलता जगाउन सक्छन्‌। जे होस्‌, आफ्ना आमाबाबुको बन्धनबाट मुक्‍त हुन ‘संसारसित मित्रता’ गाँस्न खोज्नु के समाधान हो? (याकूब ४:४) बिललाई के भयो, विचार गर्नुहोस्‌।

सानैमा आफ्नी आमाले धर्मशास्त्र सिकाएको भए तापनि यहोवालाई समर्पण गर्दा आफ्नो स्वतन्त्रतामा बाधा पुग्छ भन्ठान्दै बिलले आफ्नो जीवन यहोवालाई समर्पण गर्न चाहेनन्‌। साँचो मसीहीधर्मबाहिर जीवन कस्तो हुन्छ भनेर जान्‍न उनले एउटा झुण्डसित संगत गर्न थाले फलतः उनी लागूपदार्थ, हिंसा र आपराधिक जीवनमा फसे। प्रहरीको गाडीले लखेट्‌दा तीव्र गतीमा गाडी हुँइकाएकोले उनी नराम्ररी घाइते भए र महिनौंसम्म बेहोसी अवस्थामा रहे। डाक्टरहरूले त उनको माया मारिसकेका थिए। खुसीको कुरा, बिल निको भए। तर उनले बाँकी जीवन अन्धो र अपाङ्‌ग भएर बाँच्नुपऱ्‍यो। निकै तितो अनुभवबाट उनले पाठ सिके र अहिले उनी एक जना समर्पित मसीही छन्‌। उनले पाठ त सिके तर त्यो तितो अनुभवले जीवनभर पिरोल्छ भनेर पनि सिके।

अन्य प्रभावहरू

कहिलेकाहीं मनोरञ्जनजगत्‌ले पनि आदर्श साथीबारे युवाहरूको दृष्टिकोणलाई असर गर्छ। उदाहरणको लागि, पुस्तक, टेलिभिजन कार्यक्रम, चलचित्र र म्युजिक भिडिओहरूमा त्यस्तो हिरोलाई देखाइन्छ जो सुरुमा कठोर र खराब हुन्छ तर पछि त्यही हिरो दयालु गुण भएको व्यक्‍तिको रूपमा देखापर्छ। यसले पार्न खोजेको छाप चाहिं के हो भने, देख्दा रूखो र स्वार्थी मानिस पनि वास्तवमा संवेदनशील र अरूको ख्याल राख्ने हुन सक्छ। साथै, तिनीहरूले यस्तो सन्देश पनि दिन खोजेका हुन सक्छन्‌, त्यस्ता व्यक्‍तिहरू भित्र रहेका असल गुणहरू बाहिर ल्याउन एउटा असल व्यक्‍ति वा अक्सर कुनै विपरीत लिङ्‌गको साथ चाहिन्छ। हो, कथा हिट हुन्छ। तर यी रोमान्टिक परिकल्पनाहरू वास्तविक जीवनमा कत्तिको सत्य होला जस्तो तपाईंलाई लाग्छ? दुःखको कुरा, केही युवाहरू यस्ता अव्यावहारिक परिकल्पनाहरूमा फसेका छन्‌ र स्वार्थी, हिंस्रक व्यक्‍तिसित मित्रता गाँस्नुका साथै विवाह समेत गर्न पुगेका छन्‌ र कुनै दिन त्यस्ता व्यक्‍तिहरूको “मन पग्लेला” भनेर तिनीहरू व्यर्थमा कुरेर बस्ने गर्छन्‌।

केही व्यक्‍तिहरू गलत मानिससित आकर्षित हुनुको यो कारणलाई पनि विचार गर्नुहोस्‌: तिनीहरू आफूलाई आकर्षक ठान्दैनन्‌ र आफूलाई कसैले मन पराए जस्तो लागेमा जोसुकैलाई पनि स्वीकारिहाल्छन्‌। माथि उल्लिखित न्यान्सीलाई ‘प्रभुमा मात्र विवाह गर’ भन्‍ने बाइबल सिद्धान्त थाह थियो। (१ कोरिन्थी ७:३९) तर तिनी आफूलाई आकर्षक ठान्दिन थिइन्‌, त्यसैले बेग्लै विश्‍वास भएको एक जना सहकर्मी केटाले रोमान्टिक चासो देखाउँदा तिनी मक्ख परिन्‌। तिनी त्यस व्यक्‍तिसित हिंड्‌न थालिन्‌ र यौन अनैतिकतामा झण्डै फस्नै लागिसकेकी थिइन्‌।

माथिका अनुभवहरूले देखाउँछ, जवानहरू खराब झुकाव भएका व्यक्‍तिहरूसित खिंचिन सक्ने कारणहरू जति धेरै हुन्छन्‌, ती कारणहरू जायज ठहराउने तर्कहरू पनि त्यति नै धेरै हुन्छन्‌। तर त्यस्तो मित्रताले पक्कै पनि नैराश्‍य र हानिकारक परिणामहरू निम्त्याउँछ। किन होला?

मित्रताको असर

तथ्य कुरा के हो भने, तपाईं आफ्नो साथी जस्तै बन्‍नुहुन्छ। हामी जोसित समय बिताउँछौं त्यस व्यक्‍तिले हामीलाई गहिरो प्रभाव पार्छ। हितोपदेश १३:२० ले मित्रताको यो असर लाभकारी वा हानिकारक हुन सक्ने विषयमा यसरी बताउँछ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” एउटै गाडीमा बसेर गइरहेका दुई घनिष्ठ मित्रहरू पक्कै पनि एउटै दिशामा जान्छन्‌ र तिनीहरूको गन्तव्य पनि एउटै हुन्छ। त्यसैले आफैलाई सोध्नुहोस्‌, ‘मेरो साथीले मलाई लगिरहेको बाटो के मैले साँच्चै जान चाहेको बाटो हो? के यो बाटोले मलाई आफ्ना आध्यात्मिक लक्ष्य र इच्छाहरूतिर लैजान्छ?’

हो, इमानदार आत्मपरीक्षण गर्न सजिलो हुँदैन। गहिरा भावनाहरू मुछिएका हुन सक्छन्‌। तर के मित्रता रोज्नुमा आफ्ना भावनाहरू नै भरपर्दा डोऱ्‍याइ हुन्‌ त? अक्सर तपाईंले यस्तो सल्लाह सुन्‍नुहोला, “मनको आवाज सुन।” तर हितोपदेश २८:२६, ले यसो भन्छ: “आफ्नै बुद्धिमा [“हृदयलाई,” NW] मात्र भरोसा गर्नु सरासर मूर्खता हो” किन? किनकि “हृदय सबै कुराभन्दा छली हुन्छ।” (यर्मिया १७:९; गन्ती १५:३९) यहाँ छली भनेको अवफादार, झूटो वा धोकेबाज हो। के धोकेबाज र कपटी व्यक्‍तिलाई तपाईं भरोसा गर्नुहुन्छ? हाम्रो हृदय कुटिल हुन सक्छ। त्यसैले आफूलाई राम्रो लाग्यो भन्दैमा कुनै सम्बन्ध राम्रो हुन्छ नै भन्‍ने छैन।

भरपर्दो स्रोत त परमेश्‍वरको वचन नै हो। बाइबल सिद्धान्त तपाईंको असिद्ध हृदय जस्तो छैन, यसले कहिल्यै धोका दिंदैन वा निराश तुल्याउँदैन। कुनै व्यक्‍ति भरपर्दो साथी हो कि होइन भनेर पक्का गर्न बाइबल सिद्धान्तले कसरी मदत गर्न सक्छ? आफ्नो जीवनसाथी अर्थात्‌ विवाहित जोडी छान्दा कसरी गलत छनौट नगर्ने? आउँदा लेखहरूमा यी प्रश्‍नहरूबारे चर्चा गरिनेछन्‌। (g05 7/22)

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २०--मा भएको चित्र]

आदर्श साथी छनौट गर्ने हाम्रो मान्यतामा सञ्चारजगत्‌ले प्रभाव पार्न सक्छ