गलत मानिससित संगत गर्नबाट म कसरी जोगिऊँ?
युवा जनहरू सोध्छन् . . .
गलत मानिससित संगत गर्नबाट म कसरी जोगिऊँ?
“स्कूलमा एउटी केटीसित म नजिकिन थालें। . . . तिनी न लागुपदार्थ लिन्थिन् न त जङ्गली पार्टीहरूमै जान्थिन्, छाडा केटी पनि थिइनन्। बोलीवचन पनि साह्रै राम्रो, पढाइ त झनै तेज। तर म भन्न सक्छु, तिनीसित संगत गर्नु ठीक छैन।”—बेभर्ली। a
बेभर्ली किन यस्तो निष्कर्षमा पुगिन्? ती केटीले आफूलाई हानिकारक काममा फसाउन लागेको कुरा उनी स्वीकार्छिन्। बेभर्ली भन्छिन्, “तिनीसित संगत गर्दै जाँदा मैले प्रेतवादसम्बन्धी किताबहरू पढ्न थालें, मैले त प्रेतवादसम्बन्धी कथाहरू पनि रच्न थालिसकेकी थिएँ।”
युवती मेलानी सँगी मसीही हुँ भनी दाबी गर्ने व्यक्तिद्वारा गलत कामतिर आकर्षित भइन्! कसैसित संगत गर्नु ठीक हो कि होइन भनी कसरी थाह पाउने? के बेग्लै विश्वास भएको कसैसित गरिने संगतिलाई सधैं खतरा भन्न मिल्छ? अनि सँगी मसीहीहरूसित गाँसिने मित्रता के सधैं सुरक्षित हुन्छ?
अनि, विपरीत लिङ्गसितको मित्रता नि? तपाईंले कसैलाई सम्भाव्य जोडीको रूपमा हेर्दै हुनुहुन्छ भने उक्त सम्बन्ध उचित हो कि होइन भनेर कसरी थाह पाउने? बाइबल सिद्धान्तले कसरी यी प्रश्नहरूको जवाफ दिन्छ, हेरौं।
असल साथी को हो?
आफ्नी साथी यहोवाको उपासक नभएकीले मात्र के बेभर्ली तिनीसित मित्रता गाँस्न हच्केकी हुन् त? हो, कुनै व्यक्तिको बेग्लै विश्वास छ भन्दैमा साँचो मसीहीहरूले तिनलाई खराब र अनैतिक ठान्दैनन्। तर जब घनिष्ठ सम्बन्ध गाँस्ने कुरा आउँछ, सजग हुनैपर्छ। प्रथम शताब्दीमा कोरिन्थी मण्डलीमा भएकाहरूलाई प्रेरित पावलले यस्तो चेतावनी १ कोरिन्थी १५:३३) उनले के भन्न खोजेका थिए?
दिए, “खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” (सायद कोरिन्थका कुनै-कुनै मसीही युनानी दार्शनिक इपिक्युरसका चेलाहरू इपीक्युरीहरूसित संगत गर्दै थिए। हुन त, इपिक्युरस आफ्ना चेलाहरूलाई मन शुद्ध राख्नुपर्छ, साहसी, आत्मसंयमी र न्यायी हुनुपर्छ भनी सिकाउँथे। गुप्तमा समेत खराब कामहरूबाट अलग रहन सिकाउँथे। त्यसोभए, इपिक्युरीहरू र मण्डलीमा समेत तिनीहरू जस्तै मत राख्नेहरूलाई पावलले किन “खराब संगत” ठाने?
इपिक्युरीहरू साँचो परमेश्वरका उपासकहरू थिएनन्। तिनीहरूले मृतकहरूको पुनरुत्थानमा विश्वास नगर्ने हुनाले तिनीहरूको उद्देश्य अहिलेको जीवनमा जति सक्यो मोजमस्ती गर्नु थियो। (प्रेरित १७:१८, १९, ३२) यस्ताहरूसित संगत गरेका हुनाले मसीही मण्डलीका कसै-कसैले पुनरुत्थानमाथिको विश्वास गुमाउन थाल्नु कुनै छक्कलाग्दो कुरा थिएन। त्यसैले १ कोरिन्थी १५ औं अध्यायमा पुनरुत्थानको आशाको वास्तविकताप्रति प्रारम्भिक मसीहीहरूलाई पुनः आश्वस्त गराउन धेरै तर्कहरू दिइएका छन्। यसमा खराब आचरणप्रतिको पावलको चेतवनी पनि पाइन्छ।
मुख्य पाठ चाहिं के हो? हो, ईश्वरहीन मानिसहरूले समेत सद्गुणहरू देखाउलान्। यदि तपाईंले तिनीहरूलाई आफ्नो घनिष्ठ मित्र बनाउनुभएमा तपाईंको सोचाइ, विश्वास र आचरणलाई त्यसले असर गर्नेछ। त्यसैले, कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पावलले यसो भने: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।”—२ कोरिन्थी ६:१४-१८.
सोह्र वर्षीय फ्रेडले पावलका यी शब्दहरू कत्तिको व्यावहारिक छन् भनेर बुझे। तिनी सुरुमा विकासोन्मुख देशहरूमा गएर बच्चाहरूलाई सिकाउन मदत गर्ने स्कूलको अतिरिक्त क्रियाकलापमा भाग लिन राजी भए। तर, आफ्नो साथीसित त्यहाँ जाने तयारी गर्दै गर्दा तिनले आफ्नो मन बदले। तिनले भने: “तिनीहरूसित धेरै समय बिताउँदा आफ्नो आध्यात्मिकतामा हानि पुग्ने कुरा मैले बुझें।” त्यसैले फ्रेडले त्यस क्रियाकलापमा भाग नलिने र गरिबहरूलाई अर्कै तरिकामा मदत गर्ने निर्णय गरे।
सँगी मसीहीहरूबीच मित्रता
तर मसीही मण्डलीभित्रको मित्रता नि? जवान तिमोथीलाई पत्र लेख्दा पावलले यसरी सजग गराए: “अब ठूलो घरमा सुन र चाँदीका भाँडाहरू मात्र होइन, तर काठ र माटाका पनि हुन्छन्, औ कुनै आदर र कुनै अनादरको निम्ति हुन्छ। यसकारण यदि कुनै मानिस यी कुराबाट आफूलाई शुद्ध राख्छ भने, त्यो सबै असल काममा तम्तयार रहेको, मालिकको प्रयोगको निम्ति आदरको योग्य, चोख्याइराखेको भाँडो हुनेछ।” (२ तिमोथी २:२०, २१) मसीहीहरूमाझ पनि अनादरपूर्ण आचरण देखाउनेहरू हुन सक्छन् भन्ने वास्तविकतालाई पावलले लुकाउन खोजेनन्। यस्ताहरूबाट जोगिन तिनले तिमोथीलाई स्पष्ट सल्लाह दिए।
यसको अर्थ, के आफ्ना सँगी मसीहीहरूप्रति तपाईं शंकालु हुनुपर्छ? पर्दैन। अनि यसको अर्थ, तपाईंका साथीहरू सर्वगुण सम्पन्न हुनुपर्छ भन्न खोजेको पनि होइन। (उपदेशक ७:१६-१८) जवानहरू सभामा आउँछन् अथवा तिनीहरूका आमाबाबु मण्डलीमा जोसिलो छन् भन्दैमा यो तिनीहरूसित घनिष्ठ मित्रता गाँस्ने उचित कारण नहुन पनि सक्छ।
हितोपदेश २०:११ भन्छ, “निर्दोष वा दोषी मानिस उसको कामबाट थाह गर्नसकिन्छ।” तसर्थ, यी कुराहरू विचार गर्नु बुद्धिमानी हुन्छ: के यहोवासितको सम्बन्ध नै त्यस व्यक्तिको जीवनको केन्द्रबिन्दु हो? अथवा तपाईंले उनमा “संसारको आत्मा” झल्कने सोचविचार र आचरण पो देख्नुहुन्छ कि? (१ कोरिन्थी २:१२; एफिसी २:२) तिनीसित सँगै बस्दा के तपाईंमा यहोवाको सेवा गर्ने इच्छा अझ प्रबल हुन्छ?
यहोवा र आध्यात्मिक कुराहरूलाई गहिरो प्रेम गर्ने साथीहरू छान्नु भएमा तपाईं समस्यामा फस्नदेखि जोगिनु त हुन्छ नै, साथै यहोवाको सेवा गर्न तपाईंले ठूलो बल पनि पाउनुहुनेछ। पावलले तिमोथीलाई यसो भने: “जवानीका अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुका नाउँ लिनेहरूका साथसाथै, धार्मिकता, विश्वास, प्रेम, शान्तिका पछि लाग।”—छड्के अक्षर हाम्रो, २ तिमोथी २:२२.
विपरीत लिङ्गसितको मित्रता
तपाईंको विवाह गर्ने उमेर भयो र तपाईं विवाह गर्न चाहनुहुन्छ भने आफ्नो जीवनसाथी छान्न यही सिद्धान्त कसरी लागू हुन्छ भनेर के तपाईंले गहिरिएर सोच्नुभएको छ? हो, आफ्नो सम्भाव्य जोडीका थुप्रै कुरा तपाईंलाई आकर्षक लाग्ला तर तिनको आध्यात्मिकताभन्दा ठूलो कुरा अरू केही छैन।
त्यसैले “प्रभुमा” नभएको व्यक्तिसित विवाह नगर्न बाइबलले बारम्बार सजग गराउँछ। (१ कोरिन्थी ७:३९; व्यवस्था ७:३, ४; नहेम्याह १३:२५) हो, बेग्लै विश्वास हुने व्यक्ति पनि जिम्मेवार, भद्र र अरूको ख्याल राख्ने हुन सक्छ। तर यस्ता गुणहरूलाई कायम राख्ने र समय बित्दै जाँदा विवाहलाई दिगो राख्ने उत्प्रेरणा चाहिं तिनीहरूसित हुँदैन।
अर्कोतिर, यहोवाप्रति समर्पित र वफादार व्यक्तिले जानीबुझीकन यस्ता मसीही गुणहरू विकास गर्छन्। अनि हरेक परिस्थितिमा यसलाई कायम राख्न उत्कट प्रयत्न गर्छन्। तिनीहरू आफ्नो पति वा पत्नीलाई प्रेम गर्नु भनेको परमेश्वरसित असल सम्बन्ध राख्नु हो भन्ने बाइबलको सिद्धान्तको मोल गर्छन्। (एफिसी ५:२८, ३३; १ पत्रुस ३:७) त्यसैले पति-पत्नी दुवैले यहोवालाई प्रेम गर्दा एक-आपसमा वफादार रहिरहने बलियो उत्प्रेरणा पाउँछन्।
के यसको अर्थ सँगी विश्वासीहरूबीचको विवाह सफल हुन्छ नै भन्ने ग्यारेन्टी छ? छैन। तपाईंले आध्यात्मिक कुराहरूप्रति थोरै चासो राख्ने व्यक्तिसित विवाह गर्न लाग्नुभएको छ भने, के होला? संसारका दबाबहरूको प्रतिरोध गर्न त्यति सुसज्जित नभएकोले आध्यात्मिक तवरमा कमजोरहरू कुनै दिन मसीही मण्डलीबाट समेत तर्किन सक्छन्। (फिलिप्पी ३:१८; १ यूहन्ना २:१९) आफ्नो पति वा पत्नी “संसारको अशुद्धपना[मा]” फस्दा तपाईंले सामना गर्न सक्ने पीडा र वैवाहिक तनावलाई एकछिन विचार गर्नुहोस्।—२ पत्रुस २:२०.
कसैसित विवाह गर्ने सोचाइ राखेर सम्बन्ध बढाउनुअघि विचार गर्नुहोस्: के तिनले आफू आध्यात्मिक व्यक्ति भएको प्रमाण दिन्छन्? के तिनले मसीही जीवनमा उत्तम नमुना बसालेका छन्? के तिनी बाइबल सत्यमा राम्ररी जरो गाडिएका व्यक्ति हुन् अथवा आध्यात्मिक उन्नति गर्न तिनलाई थप समय पो चाहिने हो कि? यहोवाप्रतिको प्रेम नै तिनको जीवनको मुख्य उत्प्रेरणा हो भन्ने कुरामा के तपाईं पक्का हुनुहुन्छ? तिनले असल नाउँ कमाएका छन् कि छैनन् भनेर जान्नु पनि बेस हुन्छ। मुख्य कुरो, आफूले मन पराएको व्यक्ति यहोवाप्रति भक्त छन् अनि तिनी असल वैवाहिक जोडी बन्न योग्य छन् भन्ने कुरामा तपाईं पक्का हुनै पर्छ।
नबिर्सनुहोस्, “गलत मानिससित” आकर्षित हुने कोही-कोही सबैभन्दा पहिले त अनुचित मनोरञ्जन जस्ता गलत कामहरूमा आकर्षित हुन्छन्। मसीही मण्डलीका उदाहरणीय जवानहरू तपाईंसित यस्ता काममा सामेल हुँदैनन्। त्यसैले आफ्नो हृदय केलाउनुहोस्।
हृदयलाई अनुशासनमा राख्नुपर्छ जस्तो लागेमा हरेस नखानुहोस्। हृदयलाई अनुशासनमा राख्न सकिन्छ। (हितोपदेश २३:१२) मुख्य कुरा त तपाईं वास्तवमा के चाहनुहुन्छ? जुन कुरा राम्रो छ, जसले राम्रो काम गर्छ, के तपाईं त्यसप्रति आकर्षित हुन चाहनुहुन्न र? यहोवाको मदत पाएर तपाईं यस्तो हृदय विकास गर्न सक्नुहुन्छ। (भजन ९७:१०) अनि असल र खराब छुट्याउने ज्ञानेन्द्रिय शक्तिको अभ्यास गरेर असल र उत्थानदायी साथी को हो, सजिलै चिन्न सक्नुहुनेछ।—हिब्रू ५:१४. (g05 8/22)
[फुटनोट]
a नाउँहरू परिवर्तन गरिएका छन्।
[पृष्ठ १२-मा भएको चित्र]
असल साथीहरूको संगतले आध्यात्मिक तवरमा राम्रो असर गर्छ