एक अरब मानिसलाई खुवाउने प्रयास
एक अरब मानिसलाई खुवाउने प्रयास
हरेक दिन, एक अरब मानिसले पेटभरि खान पनि पाउँदैनन्। यद्यपि, संयुक्त राष्ट्रसंघका अनुसार यस्तो दर्दनाक स्थिति हुनु नपर्ने हो।
“अचाक्ली गरिबी निवारण गर्नु हाम्रो पहिलो प्राथमिकता हो भनी तपाईंहरूले वचनबद्धता जाहेर गर्नुभएको छ।” सन् २०००, सेप्टेम्बर ८ मा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले संसारकै सबैभन्दा शक्तिशाली पुरुष तथा स्त्रीहरूको एउटा सम्मेलनमा त्यसो भनेका थिए। उनीहरू संयुक्त राष्ट्रसंघ सहस्र शिखर सम्मेलनको लागि भेला भएका थिए र त्यस सम्मेलनमा थुप्रै नेताहरूले विश्वका गरिब मानिसहरूले झेलिरहेका समस्याहरूबारे खुलेर टिप्पणी गरे। ब्राजिलका उपराष्ट्रपतिले यसो भने: “अचाक्ली गरिबी मानिसजातिको लागि अपमान हो।” बेलाइतका प्रधानमन्त्रीले त अझ यसो समेत भने: “विकसित मुलुकहरूले अफ्रिकामा उल्लेखनीय काम गर्न नसकेको दुःखलाग्दो रेकर्ड छ, जसले हाम्रो सभ्यतालाई आघात पुऱ्याउनुका साथै लाजमा पारेको छ।”
भोकले मर्न लागेका मानिसहरूलाई खुवाउन सक्षम भएर पनि क्षमताअनुसारको काम नगरेर राष्ट्रहरूले आफ्नो अपमान आफै गरे भन्ने कुरा ती दुई वक्ताको भनाइबाट छ्याङ्ग हुन्छ। पृथ्वीका सबै मानिसहरूको जीवनस्तर उकास्ने आफ्नो चाहनाको प्रमाणस्वरूप शिखर सम्मेलनमा उपस्थित व्यक्तित्वहरूले आठ-भागमा विभाजित प्रस्तावनामा ठोस कदम चाल्ने वचनबद्धता जाहेर गरे र तीमध्ये एउटा प्रस्तावना यस्तो छ: “गरिबीको मारमा परेका एक अरबभन्दा बढी हाम्रा सँगी पुरुष, महिला तथा केटाकेटीहरूलाई अचाक्ली गरिबीको दयनीय तथा अमानवीय अवस्थाबाट मुक्त गर्न हामी कुनै कसर बाँकी राख्नेछैनौं। . . . हामी यस्तो सङ्कल्प पनि गर्छौं: सन् २०१५ भित्र दैनिक एक डलरभन्दा कम आयमा जीविका चलाइरहेका र गरिबीको चपेटामा पिल्सिएका विश्वका मानिसहरूको अनुपातलाई हामी आधा नै कम गर्नेछौं।”
त्यो उच्च लक्ष्य प्राप्त गर्न सन् २००० सेप्टेम्बरदेखि यता के-कस्ता पहलहरू भइरहेका छन्?
बोलीभन्दा काम प्रभावकारी हुन्छ
सन् २००३ मा ग्लोबल गभरनेन्स इनिसेटिभ अफ द वर्ल्ड इकोनोमिक फोरमले संयुक्त राष्ट्रसंघ सहस्र प्रस्तावनामा उल्लिखित लक्ष्यहरू हासिल गर्न के-कस्ता कार्यहरू भए भन्ने कुराको अनुगमन गर्न थाल्यो। सन् २००४ जनवरी १५ तारिख जारी गरिएको आधिकारिक रिपोर्टमा यस्तो उल्लेख गरिएको छ: “सबैभन्दा महत्त्वपूर्ण लक्ष्य प्राप्त गर्न जुन प्रयास गर्नुपर्ने हो त्यसो गर्न विश्व बिलकुलै असफल भइरहेको छ। भोकमरीको सन्दर्भमा रिपोर्ट यसो भन्छ: “विश्वमा साँच्चै खाद्यान्न अभाव भएकोले समस्या खडा भएको होइन—खाद्यान्न त पर्याप्त मात्रामा छ। समस्या भनेको, पैसा
नभएका मानिसहरूकहाँ यी उपलब्ध खाद्यान्न तथा पर्याप्त पौष्टिक आहार पुग्न सकेको छैन।”गरिबीको समग्र समस्याबारे रिपोर्ट यसो भन्छ: “छिटो-छरितो ढङ्गमा कामकुरो कार्यान्यवन हुन नसक्नुको पछाडि गरिब होस् वा धनी मुख्यतया सरकार नै जिम्मेवार छ। तर धनी राष्ट्रहरूले तयार पारेको विश्वव्यापी आर्थिक प्रणाली गरिब-गुरुवाहरूको लागि पटक्कै फाइदाजनक छैन। जतिसुकै आश्वासनदायी भाषण छाँटे पनि त्यो प्रणाली हेरफेर गर्न अथवा गरिबीले थिचिएका मानिसहरूतर्फ लक्षित विकास सहयोग उल्लेख्य ढङ्गमा वृद्धि गर्न भने धनी राष्ट्रहरूले खासै चासो देखाउँदैनन्।” यस्तो आलोचनाको बावजुद राजनीतिज्ञहरू काम गर्नुको सट्टा अझै पनि वादविवादमै अल्झिरहन रुचाउँछन् र सरकारहरू चाहिं आफ्नो स्वार्थको दुनो सोझ्याउन हानथाप गरिरहन्छन्। तर अर्कोतर्फ विश्वका गरिब मानिसहरूको पेटमा भने अन्नको एक दाना पनि पस्न पाएको हुँदैन।
“आकाङ्क्षादेखि ठोस कदमसम्म” शीर्षकको वर्ल्ड इकोनोमिक फोरमको एउटा प्रतिवेदन यस्तो चेतावनी दिन्छ, “अन्तरराष्ट्रिय व्यापार नीतिहरू परिवर्तन हुन सकेन, राष्ट्रिय नीतिहरू भोकमरी निर्मूलमा केन्द्रित भएन र स्थानीय तवरबाटै अझ प्रभावकारी कदम चालिएन भने, विश्वका अधिकांश मानिसहरूले भोकमरीको विकराल रूप देख्नेछन्।” त्यसोभए, कसले उत्तम नीतिहरू बनाउनु र “स्थानीय तवरबाटै अझ प्रभावकारी कदम चाल्नुपर्छ” त? सन् २००० मा मानिसजातिको जीवनस्तर उकास्न खुलेआम वचनबद्धता जाहेर गर्ने सरकारहरूले।
एउटा खोक्रो प्रतिज्ञाले निराश तुल्याउँछ; पटक-पटक खोक्रो प्रतिज्ञा गऱ्यो भने सबैले पत्याउन छोड्छन्। गरिबहरूको हेरविचार गर्ने आफ्नो वचन पूरा नगरेको कारण जनताले विश्वका सरकारहरूलाई पत्याउनै छाडेका छन्। एउटा गरिब क्यारीबियन देशका पाँच सन्तानकी एउटी गरिब आमा आफ्नो परिवारलाई दिनको एक छाक मात्र खाना खुवाउन सक्छिन्। तिनी यसो भन्छिन्: “मलाई भरे के खाने, भोली के खाने भन्नै कुराकै मात्र चिन्ता हुन्छ। सत्तामा जो आए पनि मतलब छैन। सत्तामा आउने कसैबाट पनि हामीले एक सुको सहायता पाएका छैनौं।”
बाइबल लेखक यर्मियाले यसो भनेका थिए: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) गरिब मानिसका समस्याहरू समाधान गर्न मानव सरकारहरू असफल हुनुले बाइबलको यो सत्यताको पुष्टि हुन्छ।
मानिसका सबै समस्याहरू किनारा लगाउन सक्ने क्षमता र इच्छा भएको एक जना शासक हुनुहुन्छ अनि बाइबलमा तिनको विषयमा चर्चा गरिएको छ। ती शासकले शासन गर्न थालेपछि फेरि कोही पनि भोक-भोकै बस्नुपर्नेछैन।
आशाको एउटा आधार
“सबैका आँखाले तपाईंकै बाटो हेर्दछन्। र तपाईंले तिनीहरूलाई ठीक समयमा आहार दिनुहुन्छ।” (भजन १४५:१५) मानिसलाई चाहिने आहारप्रति सजग यी व्यक्ति को हुन्? हाम्रो सृष्टिकर्ता यहोवा परमेश्वर। मानिसजाति अनिकाल तथा अन्य समस्याहरूको चेपारोमा पर्दै आएको हजारौं वर्ष भइसके तापनि यहोवाले मानिसहरूप्रति चासो देखाउन छोड्नुभएको छैन। उहाँले मानव सरकारहरू असफल भएको देख्नुभएको छ र उहाँको अचुक वचन बाइबलअनुसार अब चाँडै उहाँले मानव सरकारहरूलाई हटाएर आफ्नै सरकार खडा गर्नुहुनेछ।
यहोवा यसो भन्नुहुन्छ: “मैले आफ्नै पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु।” (भजन २:६) ब्रह्माण्डकै सर्वोच्च अख्तियारले गर्नुभएको यो घोषणा आशाको एउटा किरण हो। आफ्ना जनतालाई मदत गर्न मानव शासकहरू अक्सर असफल भए पनि परमेश्वरद्वारा नियुक्त राजाको हैसियतमा येशू ख्रीष्टले पृथ्वीका दीन-दुखीहरूले कहिल्यै उपभोग गर्न नपाएका लाभदायक कुराहरू उपलब्ध गराउनुहुनेछ।
यी राजामार्फत यहोवाले सम्पूर्ण गरिब मानिसहरूलाई खुवाउनुहुनेछ। यशैया २५:६ यसो भन्छ, “परमप्रभुले . . . सारा मानिसहरूका निम्ति मीठा मीठा थोकहरू[को] . . . भोज लाउनुहुनेछ।” ख्रीष्टले शासन गर्नुहुने परमेश्वरको राज्यमा जुनसुकै ठाउँमा बसे तापनि मानिसहरूलाई कहिल्यै खानेकुराको अभाव हुनेछैन। यहोवाको विषयमा बाइबल यसो भन्छ: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाइ सन्तुष्ट पार्नुहुन्छ।”—भजन १४५:१६. (g05 7/22)
[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]
“विकसित मुलुकहरूले अफ्रिकामा उल्लेखनीय काम गर्न नसकेको दुःखलाग्दो रेकर्ड छ, जसले हाम्रो सभ्यतालाई आघात पुऱ्याउनुका साथै लाजमा पारेको छ।”—बेलायतका प्रधानमन्त्री टोनी ब्लेयर
[पृष्ठ २०-मा भएको चित्र]
इथियोपिया: यस मुलुकमा लगभग एक करोड ३० लाख मानिस सहयोगस्वरूप प्रदान गरिने खाद्यान्नमा निर्भर छन्। ती मानिसहरूमध्ये माथि देखाइएको बालक पनि हो
[पृष्ठ २०-मा भएको चित्र]
भारत: यी विद्यार्थीहरूले स्कूलमा भोजन पाउँछन्
[पृष्ठ २०-मा भएको चित्रको स्रोत]
Top: © Sven Torfinn/Panos Pictures; bottom: © Sean Sprague/Panos Pictures