किन आवासको सङ्कट भइरहेको छ?
किन आवासको सङ्कट भइरहेको छ?
छत्तीस वर्षीया जोसेफिन एउटा ठूलो अफ्रिकी सहर नजिकै बस्छिन्। उनका तीन जना छोरा ६ देखि ११ वर्षबीचका छन्। रोजीरोटी जुटाउन तिनी खाली सिसी-बोतल बटुलेर बेच्छिन्। मरिमेटी काम गर्दा पनि मुस्किलले दिनको ९० रूपियाँ कमाइ हुन्छ। त्यस सहरमा त्यति रकमले आफ्नो परिवार पाल्न अथवा छोराछोरीको स्कूलको फी तिर्न हम्मे-हम्मे पर्छ।
दिनभर काम गरेपछि तिनी घर फर्कन्छिन्। आफू बस्ने ठाउँ तिनलाई घरजस्तो लाग्दै-लाग्दैन। तिनको घरको भित्ता रूखका हाँगाबिंगाले बारेर माटोले लिपेको छ। बलियो गरी नबाँधेको खिया परिसकेका जस्तापाता, टिन र प्लास्टिकको छाना छ। हावाले उडाउला भनेर छानामाथि ढुङ्गा, काठ अनि फलामका टुक्राटाक्री राखिएका छन्। फाटेको बोराको “झ्याल” र “ढोका” छ, जसले हावाहुरी छेक्नै सक्दैन। त्यस्तो ढोकाले चोर-डाकूलाई त झन् के छेक्न सकोस्?
दुःखको कुरा, त्यस्तो झुपडीसमेत तिनको आफ्नो होइन। सरकारले त्यहाँबाट पनि हटाइदेला भनेर जोसेफिन र तिनका छोराहरू डरसरी छन्। तिनको झुपडी भत्काएर सडक फराकिलो बनाउने कुरा चलिरहेको छ। अफसोस, संसारका धेरैजसो देशमा अवस्था यस्तै छ।
स्वास्थ्यको लागि हानिकारक
आवाससम्बन्धी अन्तरराष्ट्रिय सहयोग संगठनका उच्च अधिकृत रबिन शेल भन्छन्: “गरिब बस्तीहरूमा बस्ने साना केटाकेटीहरू अरूलाई आफ्नो घर देखाउन लाज मान्छन्, . . . उनीहरूको परिवारमा कोही न कोही बिमार भइरहेकै हुन्छ र . . . सरकारी अफिसर अथवा जग्गाधनी आएर आफू बसिरहेको घरबाट कतिबेला उठीबास लगाउने हो उनीहरूलाई पीर परिरहन्छ।”
यस्तो अवस्थामा भएका आमाबाबुलाई आफ्ना छोराछोरीको स्वास्थ्य र सुरक्षाबारे चिन्ता नलागेको दिनै हुँदैन। दस नङ्ग्रा खियाएर गाँस, बास र कपासजस्ता आफ्ना छोराछोरीका आधारभूत आवश्यकताहरू पूरा गर्दैमा उनीहरूको धेरैजसो समय र शक्ति खर्च भइहाल्छ, आफ्नो जीवनस्तर उकास्ने कुरा त धेरै परको कुरा भो!
यस्तो अवस्थामा बस्नु नपरेका मानिसहरूलाई लाग्ला कि आफ्नो जीवनस्तर उकास्न गरिबहरू आफै जुरमुरिए समस्या समाधान भइहाल्छ नि! तर कम्मर कसेर लागिपर्ने सुझाव दिंदैमा समस्या समाधान हुँदैन। आवासको सङ्कट हुनुको पछाडि जटिल कारणहरू छन् र कसैले पनि आफ्नै बलबर्कतमा यसको समाधान गर्न सक्दैन। यस विषयमा अनुसन्धान गर्ने व्यक्तिहरू जनसंख्या वृद्धि, बढ्दो सहरीकरण, प्राकृतिक प्रकोप, राजनैतिक उथलपुथल र गरिबीको चपेटालाई आवासको सङ्कट निम्त्याउने प्रमुख दोषी मान्छन्। एउटा मुट्ठीका पाँचवटा औंलाले जस्तै यी पाँचवटा प्रमुख कारणले पनि संसारका गरिबहरूको जीवन निचोर्दैछ अर्थात् उनीहरूलाई बाँच्नै महा-मुस्किल पारिरहेको छ।
जनसंख्याको चाप
संसारमा वर्षेनी ८ देखि ६.८ करोड मानिसको लागि आवासको प्रबन्ध मिलाउनुपर्ने हुन्छ। संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको प्रतिवेदनअनुसार सन् २००१ मा विश्वको जनसंख्या ६.१ अरब नाघ्यो र सन् २०५० भित्र ७.९ देखि १०.९ अरबसम्म पुग्ने अनुमान गरिएको छ। योभन्दा गम्भीर कुरा त के छ भने, आउँदो २० वर्षमा हुने त्यस वृद्धिको ९८ प्रतिशत वृद्धि विकासोन्मुख देशहरूमा हुने पूर्वानुमान गरिएको छ। आवासको पर्याप्त प्रबन्ध मिलाउनु चानचुने काम होइन भन्ने कुरा यसबाट पुष्टि हुन्छ। धेरैजसो देशको घना बस्ती भएका सहरहरूमै मानिसहरू ओइरिने भएकोले यो चुनौती थप जटिल बनेको हो।
बढ्दो सहरीकरण
न्यु योर्क, लण्डन र टोकियोजस्ता सहरहरूलाई साधारणतया देशकै आर्थिक सम्पन्नताको चिनारी मानिन्छ। त्यसैकारण त ‘उत्तम जीवनको खोजीमा’ अर्थात् उच्च शिक्षा र रोजगारको लागि वर्षेनी हजारौं मानिसहरू गाउँबाट सहरमा बसाइँ सर्छन्।
उदाहरणको लागि, चीनमा साह्रै राम्रो आर्थिक उन्नति भइरहेको छ। फलतः अबको केही दशकभित्र प्रमुख सहरी क्षेत्रहरूमा मात्रै २० करोडभन्दा बढी नयाँ घर वा अपार्टमेन्ट चाहिनेछ। यो संख्या हाल संयुक्त राज्य अमेरिकाभरि भएका जम्मै घरहरूभन्दा झन्डै दोब्बर बढी हो। कस्तो किसिमको आवास योजनाले यस्तो आवश्यकता पूरा गर्ला?
विश्व बैंकको प्रतिवेदनअनुसार “वर्षेनी लगभग एक करोड बीस लाख देखि एक करोड पचास लाख नयाँ परिवार विकासोन्मुख देशका सहरहरूमा ओइरिन्छन्। यसको मतलब उनीहरूलाई यति नै संख्यामा बस्ने घर पनि चाहिन्छ।” आफ्नो औकातले भ्याउने सस्तो घर पर्याप्त मात्रामा नभएकाले यी सहरका गरिब मानिसहरू कसैलाई पनि मन नपर्ने ठाउँमा बस्न विवश छन्।
प्राकृतिक प्रकोप र राजनैतिक उथलपुथल
गरिबीको कारण धेरै जना बाढी-पहिरो र भूकम्प गइरहने ठाउँमा बस्न बाध्य छन्। उदाहरणको लागि, भेनेजुएलाको काराकासमा पाँच लाखभन्दा बढी मानिस “पहिरो गइरहने भिराला ठाउँका सुकुमबासी इलाकाहरूमा बसोबास गर्छन्” भन्ने अनुमान गरिएको छ। तपाईंहरूले सुन्नुभएको होला, सन् १९८४ मा भारतको भोपालस्थित एउटा कारखानामा भएको दुर्घटनामा हजारौं मानिस मर्नुका साथै कैयौं घाइते भएका थिए। के कारण यति धेरै मानिस मरे र घाइते भए? झुप्रा बस्तीहरू फैलिएर त्यस कारखानाको पाँच मिटर नजिकसम्म पुगिसकेको कारण त्यस्तो घटना घटेको थियो।
आवासको समस्या हुनुको पछाडि गृहयुद्धजस्तो राजनैतिक उथलपुथल पनि उत्तिकै जिम्मेवार छ। सन् १९८४ देखि १९९९ सम्म चलेको गृहकलहको कारण कम्तीमा पनि १५ लाख मानिस, खास गरेर गाउँलेहरू दक्षिणपूर्वी टर्कीमा विस्थापित भएका हुन सक्छन् भनेर एउटा मानवअधिकार समूहले सन् २००२ मा प्रकाशित गरेको रिपोर्टमा बताइएको छ। धेरैजसो यी गाउँलेहरूलाई जता-जता हुन्छ त्यतै बस्न बाध्य पारियो। कतिपय गाउँले त आफ्नो नातेदार र छिमेकीहरूसँग कोचाकोच गरेर एउटै कामचलाउ डेरामा, भाडामा लिएको कोठामा, टहरा अथवा निर्माण गरिंदै गरेका भवनहरूमा बस्नुपऱ्यो। भनिन्छ, केही परिवारहरूको एउटा समूह त तबेलामा बस्नुपऱ्यो रे। एउटै कोठामा १३ जना वा त्योभन्दा धेरै मानिस कोचाकोच गरेर बस्नुपऱ्यो। त्यहाँ एउटै मात्र चर्पी थियो र आँगनमा एउटा पानीको धारा। एक जना शरणार्थीले यसो भन्दै दुखेसो पोखे: “हामी यस्तो कष्टमय अवस्थामा बस्न चाहँदैनौं। हामी जनावरहरूलाई राख्ने ठाउँमा बसिरहेका छौं।”
आर्थिक मन्दी
आवास र गरिबहरूको आर्थिक अवस्थाबीच नङमासुको सम्बन्ध छ भन्ने तथ्यलाई नकार्न सकिंदैन। अघि उल्लिखित
विश्व बैंकको प्रतिवेदनअनुसार सन् १९८८ मा मात्रै विकासोन्मुख राष्ट्रका सहरहरूमा ३३ करोड मानिस गरिब थिए भने, आउँदो २० वर्षमा पनि त्यस अवस्थामा कुनै सुधार नआउने अड्कल काटिएको थियो। खाना र जीउ ढाक्ने कपडाजस्ता आधारभूत कुरा जुटाउनै हम्मेहम्मे पर्ने मानिसहरूले कसरी घर भाडामा लिएर बस्न अथवा घर बनाउन सक्लान्?चर्को ब्याजदर अनि मुद्रा स्फीति अर्थात् पैसाको घट्दो मोलले गर्दा थुप्रै परिवारले बैंकलाई ऋण तिर्न सक्दैनन् अनि बत्ती, पानी र ग्याँसजस्ता कुराको अकासिंदो मूल्य वृद्धिको कारण उनीहरूको आर्थिक अवस्था कहिल्यै सुध्रिन पाउँदैन। कुनै-कुनै मुलुकमा त २० प्रतिशत जति जनता बेरोजगार भएकाले उनीहरूलाई हातमुख जोर्नसमेत धौ-धौ छ।
यीलगायत अरू थुप्रै कारणले गर्दा विश्वका करोडौं मानिस दयनीय अवस्थामा जीवन बिताउन विवश छन्। मानिसहरू थोत्रो गाडी, सडकपेटी र फ्याँकेका कार्टुनहरूमा सुत्छन्। उनीहरू छिंडीमा बस्छन्, प्लास्टिकले छाएको र फल्याकहरूले बनाएको घरमा बस्छन्। अझ कोही-कोही त बन्द भइसकेका कारखानाहरूमा समेत बस्छन्।
समस्या समाधान गर्न के गरिंदैछ?
आवासको सङ्कट समाधान गर्न थुप्रै व्यक्ति, संघ-संस्था अनि सरकारहरूले भरमग्दुर प्रयास नगरेका भने होइनन्। साधारण मानिसको औकातले भ्याउने घरहरू निर्माण गर्न जापानमा थुप्रै निकाय गठन गरिएका छन्। दक्षिण अफ्रिकामा सन् १९९४ मा सुरु गरिएको आवास योजनाअन्तर्गत दस लाखभन्दा बढी चार-कोठे घर बनाइसकिएका छन्। केन्याका सहरी क्षेत्रहरूमा वर्षेनी १,५०,००० र गाउँहरूमा चाहिं त्यसको दोब्बर घर बनाउने योजना छ तर यो त्यति सजिलै हासिल गर्न सकिने लक्ष्य भने होइन। माडागास्कार अनि अरू कतिपय देशहरूले चाहिं कस्तो किसिमले घर बनाउँदा सस्तो पर्छ त्यस्तो तरिका पत्ता लगाउने प्रयास गरिरहेका छन्।
“व्यापक रूपमा बढिरहेको सहरीकरणले गर्दा समस्या उत्पन्न हुन नदिने र भइहालेको खण्डमा पनि त्यसलाई कम गर्ने” विश्वको प्रतिबद्धता छर्लङ्ग पार्न यु एन हाबिटाटजस्ता अन्तरराष्ट्रिय संगठनहरू गठन भएका छन्। गैर-मुनाफादायी र गैर-सरकारी संघ-संस्थाहरूले पनि मदत गर्ने कोसिस गरिरहेका छन्। एउटा गैर-मुनाफादायी संस्थाले विभिन्न मुलुकका १,५०,००० परिवारलाई उनीहरूको
जीवनस्तर उकास्न मदत गरेको छ। यस संस्थाले सन् २००५ भित्र दस लाख मानिसलाई सरल, ठिक्कको र उनीहरूको औकातले भ्याउने घर उपलब्ध गराउने लक्ष्य राखेको छ।धेरैजसो यी संघ-संस्थाहरूले दयनीय अवस्थामा भएका मानिसहरूलाई उनीहरूको जीवनस्तर उकास्न मदत गर्ने उपयोगी जानकारीहरू उपलब्ध गराउँदै आएका छन्। तपाईंलाई पनि यस्तो मदत चाहिएको छ भने, तपाईं यी प्रबन्धहरूबाट पूर्णतया लाभ उठाउन सक्नुहुन्छ। आफ्नो अवस्था सुधार्न तपाईंले गर्न सक्ने अरू पनि थुप्रै आधारभूत कुरा छन्।—पृष्ठ ७ मा भएको “तपाईंको घर र तपाईंको स्वास्थ्य” भन्ने पेटी हेर्नुहोस्।
तपाईंले आफ्नो जीवनस्तर उकास्न सके पनि नसके पनि विश्वभर आवासको सङ्कट निम्त्याउने प्रमुख कारणहरूलाई कुनै पनि व्यक्ति अथवा मानव संघ-संस्थाहरूले हटाउन सक्ला जस्तो देखिंदैन। आर्थिक उन्नति र मानवीय सहयोगको बढ्दो माग पूरा गर्न अन्तरराष्ट्रिय समुदाय बिलकुलै असफल भइरहेको छ। गरिबीको मारमा परेका परिवाहरूमा वर्षेनी लाखौं बालबालिका जन्मन्छन्। के यस समस्याको कुनै दिगो समाधान होला? (g05 9/22)
[पृष्ठ ७-मा भएको पेटी]
तपाईंको घर र तपाईंको स्वास्थ्य
विश्व स्वास्थ्य संगठनअनुसार स्वस्थ रहनको लागि घरमा कमसेकम यी कुरा हुनु जरुरी छ:
◼ पानी नचुहिने छाना
◼ खराब मौसमबाट जोगाउने र जनावरहरू भित्र छिर्न नसक्ने बलियो पर्खाल अनि ढोका
◼ कीराहरू, त्यसमा पनि अझ विशेष गरी लामखुट्टे भित्र छिर्न नदिन जाली भएको झ्याल र ढोका
◼ गर्मी मौसममा घरको भित्तालाई सीधै घामको रापबाट जोगाउन घरको चारैतिर टप
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
अफ्रिकाको गाउँमा पुरानो शैलीका घरहरू
उहिले-उहिले अफ्रिकाको गाउँमा पुरानो शैलीका घरहरू जताततै देखिन्थे। ती घरहरू केही साना त केही ठूला हुन्थे भने, आकार पनि फरक किसिमको हुन्थ्यो। केन्याको किकोयु र लुओजस्ता समुदायका केही मानिसहरूले बाटुलो आकारको भित्ता अनि खरको छानाचाहिं सोली आकारको बनाउँथे। केन्या अनि तान्जानियाका मासाइ जातिलगायत अरूले चाहिं चारपाटे घर बनाउँथे। पूर्वी अफ्रिकाको समुद्र नजिकै पर्ने इलाकामा भएका खरको छानाले भुइँसम्मै छोएको हुन्थ्यो भने, यसो हेर्दा ती छाना मौरीको गोलाजस्तै देखिन्थे।
यस्ता घरहरू बनाउँदा प्रयोग गरिने प्रायजसो सामग्री सजिलै पाउन सकिने भएकाले घर बनाउन खासै समस्या पर्दैनथ्यो। माटो मुछेर भित्ता लिपिन्थ्यो। वरपर थुप्रै जङ्गल भएकोले दाउरा, घाँस, नर्कट अनि बाँसका पातहरूको बन्दोबस्त मिलाउन पनि सजिलो थियो। त्यसकारण, परिवार धनी होस् वा गरिब आफ्नो लागि घर बनाउनु त्यतिखेर सामान्य कुरा नै थियो।
हुन त, यस्ता घरहरूको बेफाइदा पनि थियो। यी घरहरूको छाना आगोले सजिलै टिप्ने भएकोले आगलागी हुने सम्भावना धेरै हुन्थ्यो। त्यति मात्र होइन, माटोले लिपेको भित्ता फोरेर चोर-डाकाहरू सजिलै घरभित्र छिर्न सक्थे। त्यसैकारण त अफ्रिकाको गाउँमा अहिले पुरानो शैलीका घरहरूभन्दा पक्की घरहरू नै बढी देखिनु कुनै अचम्मलाग्दो कुरा होइन।
[पृष्ठ ५-मा भएको चित्र]
युरोप
[पृष्ठ ६-मा भएको चित्र]
अफ्रिका
[पृष्ठ ६-मा भएको चित्र]
दक्षिण अमेरिका
[पृष्ठ ७-मा भएको चित्र]
दक्षिण अमेरिका
[पृष्ठ ७-मा भएको चित्र]
एसिया