सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के मसीहीहरूले कुमारी मरियमलाई प्रार्थना गर्नु हुन्छ?

के मसीहीहरूले कुमारी मरियमलाई प्रार्थना गर्नु हुन्छ?

बाइबलको दृष्टिकोण

के मसीहीहरूले कुमारी मरियमलाई प्रार्थना गर्नु हुन्छ?

मसीही धर्मबारे सामान्य ज्ञान भएका व्यक्‍तिहरूलाई समेत मरियम को हुन्‌, थाह छ। बाइबलअनुसार सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मरियमलाई येशूकी आमा हुने सौभाग्य दिनुभएको थियो। येशूको जन्म अचम्मलाग्दो छ, किनभने येशू कोखमा हुँदा मरियम कुमारी थिइन्‌। मसीहीजगत्‌का केही खास चर्चहरू मरियमको विशेष आराधना गर्छन्‌ र त्यसो गर्न थालेको निकै समय भइसकेको पनि छ। इ. सं. ४३१ मा एफिससमा गरिएको सभाले मरियमलाई “परमेश्‍वरकी आमा” भन्‍ने उपाधिसमेत दिएको थियो। अचेल पनि थुप्रैलाई मरियमलाई प्रार्थना गर्न सिकाइन्छ। a

तर प्रार्थना गर्ने सम्बन्धमा निष्कपट उपासकहरू होसियार हुनु आवश्‍यक छ। किनभने हामी जसलाई प्रार्थना गर्छौं, उहाँ त्यसको हकदार हुनै पर्छ। त्यसोभए, यसबारे बाइबल के भन्छ? के मसीहीहरूले कुमारी मरियमलाई प्रार्थना गर्न हुन्छ?

“हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌”

लूकाको विवरणअनुसार येशूका चेलाले “हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌” भनेर उहाँलाई आग्रह गरेका थिए। येशूले भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।’ ” त्यसै गरी डाँडामा उपदेश दिनुहुँदा येशूले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।”—लूका ११:१-३; मत्ती ६:९.

तसर्थ, प्रार्थना वा आराधना अरूको होइन, तर येशूको पिता यहोवाको गर्नुपर्छ। बाइबलमा कतै पनि यहोवाबाहेक अरूलाई प्रार्थना गर्न भनिएको छैन। यो उपयुक्‍त छ किनकि मोशालाई दिइएको दस आज्ञाअनुसार यहोवा “डाह गर्ने परमेश्‍वर” अर्थात्‌ ऐकान्तिक भक्‍ति माग गर्ने परमेश्‍वर हुनुहुन्छ।—प्रस्थान २०:५.

रोजरी माला जप्नु हुन्छ कि हुँदैन त?

मरियमका भक्‍तालुहरू मरियमको प्रार्थना जपिराख्यो भने आशिष्‌ पाइन्छ भनेर विश्‍वास गर्छन्‌। प्रणाम मरिया (मरियम), प्रभुको प्रार्थना र अन्य प्रार्थनाहरू उनीहरूले जप्ने प्रार्थनाका उदाहरणहरू हुन्‌। क्याथोलिकहरू माझ चाहिं “माता मरियाको भक्‍ति गर्ने सबैभन्दा लोकप्रिय तरिका रोजरी माला जप्नु नै हो” भनी क्याथोलिक धर्मका प्रतीकहरूसम्बन्धी पुस्तकमा (सिम्बोल्स अफ क्याथोलिसिजम्‌) लेखिएको छ। क्याथोलिकहरूले मरियमको प्रार्थना जप्दा प्रयोग गरिने जपमालालाई रोजरी माला भनिन्छ। उक्‍त किताब अझ यसो भन्छ, “रोजरी मालामा पचासवटा गेडा हुन्छन्‌ र प्रत्येक दस वटा गेडापछि अलि भिन्‍नै खाले गेडा राखिएको हुन्छ। त्यसपछि यी गेडाहरू गन्दै पचास पटक ‘प्रणाम मरिया,’ पाँच पटक ‘प्रभुको प्रार्थना’ र पाँच पटक ‘महिमा प्रार्थना’ जपिन्छ।” तर भक्‍तिभावले रोजरी जपेर गरिएको प्रार्थनालाई के परमेश्‍वरले स्वीकार्नुहुन्छ?

यसबारे पनि येशूले आफ्ना चेलाहरूलाई दिनुभएको निर्देशनमा हामी सुस्पष्ट जवाफ पाउँछौं। “तर प्रार्थना गर्दा अन्यजातिहरू जस्ता व्यर्थै नबरबराऊ। किनभने कराएर बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌” येशूले भन्‍नुभयो। (मत्ती ६:७) स्पष्ट छ, येशूले आफ्ना चेलाहरूलाई प्रार्थना गर्दा एउटै कुरा बारम्बार जपेको जप्यै नगर्नू भनेर तोकेरै भन्‍नुभयो।

कसैले यसो भन्लान्‌, ‘तर येशूले पनि चेलाहरूलाई प्रभुको प्रार्थना बारम्बार गर भन्‍नुभएको थिएन र? अनि रोजरी जप्दा पनि प्रभुको प्रार्थनै गर्ने त हो नि।’ हो, येशूले प्रार्थनाको नमुना दिनुभएको थियो जसलाई प्रभुको प्रार्थना भनिन्छ। तर बिर्सन नहुने कुरा के हो भने, ‘प्रार्थना गर्दा व्यर्थै नबरबराऊ’ भन्‍नुभएपछि मात्र येशूले उक्‍त नमुना दिनुभएको थियो। उहाँले यो नमुना प्रार्थनालाई कण्ठ गर्दै जप्नू भन्‍ने प्रोत्साहन पटक्कै दिनुभएको थिएन। यो कुरा बाइबलमा उल्लिखित दुई नमुना प्रार्थनाहरूलाई दाँजेर पनि भन्‍न सकिन्छ। (मत्ती ६:९-१५; लूका ११:२-४) यी दुवै प्रार्थनामा, येशूले व्यक्‍त गर्नुभएका विचारहरू उस्ताउस्तै भए तापनि शब्दहरू भने एउटै थिएनन्‌। यसको अर्थ येशूले आफ्ना अनुयायीहरूलाई कसरी र के भनेर प्रार्थना गर्ने, नमुना मात्र दिइरहनुभएको थियो। अझ महत्त्वपूर्ण कुरा त बरु कसलाई प्रार्थना गर्नुपर्छ भनेर उहाँले सिकाइरहनुभएको थियो।

मरियमलाई दिनुपर्ने आदर

तसर्थ, बाइबलले मरियमलाई प्रार्थना गर्नुपर्छ भनेर सिकाएको छैन। तर यसको मतलब परमेश्‍वरको उद्देश्‍य पूरा गर्न मरियमले खेलेको भूमिकाको कदर गर्नुपर्दैन भनेको पक्कै होइन। उनकै कोखबाट जन्मिनु भएको येशूका कामहरूले गर्दा नै सम्पूर्ण आज्ञाकारी मानिसजातिले अनन्त लाभ उपभोग गर्नेछन्‌। “अब उप्रान्त सबै पुस्ताले मलाई धन्यको भन्‍नेछन्‌” स्वयम्‌ मरियमले भनिन्‌। अनि तिनकी दिदी साइनो पर्ने इलीशिबाले मरियमलाई “तिमी स्त्रीहरूमा धन्य” छ्यौ भनिन्‌। हो मरियम धन्यकी छिन्‌। मसीहलाई जन्म दिनु मरियमको लागि विशेष सुअवसर थियो।—लूका १:४२, ४८, ४९.

तथापि, बाइबलमा धन्य कहलिएकी अरू स्त्रीहरू पनि छन्‌। इस्राएल राष्ट्रको हित हुने काम गरेकी हुनाले याएललाई पनि “सबै स्त्रीहरूभन्दा आशीषित” भनिएको छ। (न्यायकर्त्ता ५:२४) विश्‍वासयोग्य याएल, मरियम र बाइबलमा उल्लिखित अन्य थुप्रै ईश्‍वर-भक्‍त स्त्रीहरूको हामीले अनुकरण गर्नुपर्छ, आराधना होइन।

मरियम येशूकी वफादार अनुयायी थिइन्‌। येशूको पार्थिव सेवकाईको दौडान निकै पटक र उहाँको मृत्युको बेला पनि मरियम उहाँको साथमै थिइन्‌। येशूको पुनरुत्थान भएपछि पनि उनी येशूका भाइहरूसँगै “प्रार्थनामा एकोहोरो” लागिरहिन्‌। तसर्थ, हामीलाई पूरा विश्‍वास छ, इ. सं. ३३ पेन्तिकोसमा मरियम पनि अरूसँगै पवित्र आत्माले अभिषिक्‍त भएकी हुनुपर्छ र दुलही वर्गको रूपमा ख्रीष्टसँगै स्वर्गमा राज्य गर्ने आशा लिएकी हुनुपर्छ।—मत्ती १९:२८; प्रेरित १:१४; २:१-४; प्रकाश २१:२, ९.

तर यीमध्ये कुनै पनि मरियमलाई प्रार्थना गर्न मिल्ने आधार भने पटक्कै होइन। हृदयदेखि प्रार्थना गर्नु उपासनाको अभिन्‍न अङ्‌ग हो र मसीहीहरूलाई “प्रार्थनामा अटूटसँग लागिरहो” भनेर प्रोत्साहन पनि दिइएको छ। (रोमी १२:१२) तर भक्‍तिभावसहित गरिने यस्ता प्रार्थनाहरू येशू ख्रीष्टमार्फत्‌ यहोवालाई मात्र गर्नुपर्छ।—मत्ती ४:१०; १ तिमोथी २:५. (g05 9/8)

[फुटनोट]

a मरियमलाई परमेश्‍वरकी आमा मान्‍नु शास्त्रविपरित शिक्षा, त्रिएकमा आधारित छ। यस शिक्षाले येशू परमेश्‍वर हुनुहुन्छ भनी सिकाउँछ।