सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

च्याट गर्नुअघि मैले के बुझेको हुनुपर्छ?

च्याट गर्नुअघि मैले के बुझेको हुनुपर्छ?

युवा जनहरू सोध्छन्‌ . . .

च्याट गर्नुअघि मैले के बुझेको हुनुपर्छ?

“लजालु स्वभावको भएकोले मलाई कुरा गर्न अप्ठेरो लाग्छ। तर म नहिचकिचाई च्याट गर्न सक्छु। किनकि म को हुँ भनेर अरूलाई थाहै हुँदैन।”—पवन। a

“च्याट गर्दा जे लेखे पनि हुन्छ।”—अनिता।

च्याट भनेको इन्टरनेटमार्फत एकअर्कालाई तुरुन्ता-तुरुन्तै सन्देश टाइप गरेर पठाउने माध्यम हो। च्याट गर्दा एकै चोटि धेरै व्यक्‍तिसित कुरा गर्न अर्थात्‌ एकअर्काको सन्देश पढ्‌न र जवाफ पठाउन सकिन्छ।

केही खास च्याट, इन्टरनेट प्रयोग गर्ने युवायुवतीहरूलाई नै आकर्षित गर्न तयार पारिएको हुन्छ। विश्‍वभरिका हरेक जाति र भाषाका लाखौं युवायुवतीहरूले दिनहुँ विभिन्‍न विषयमा च्याट गर्छन्‌। अहिले आएर केही स्कूलहरूले विश्‍वभरि प्रयोग हुने यस माध्यमको सदुपयोग गर्न थालेका छन्‌। उदाहरणको लागि, अमेरिकाका विद्यार्थीहरूले आफ्नो शिक्षकसँगै बसेर स्पेन, बेलाइत वा अन्य ठाउँका अरू विद्यार्थीहरूसित सामाजिक विषयहरूमा छलफल गर्न सक्छन्‌। विद्यार्थीहरूले दक्ष इन्जिनियर, रसायनशास्त्री वा अन्य विशेषज्ञहरूसित च्याट गरेर पढाइसम्बन्धी परामर्श लिन सक्छन्‌।

तर प्रायजसो व्यक्‍तिहरूले शैक्षिक कुराकानी गर्ने इच्छाले च्याट गरिरहेका हुँदैनन्‌। यदि तपाईंसित इन्टरनेट प्रयोग गर्ने सुविधा छ भने के-कस्ता खतरादेखि होसियार हुनुपर्छ?

यौन सिकारीहरूले पासो थाप्ने ठाउँ

अनिता भन्छिन्‌, “एक चोटि म च्याट गर्दै थिएँ। अचानक एक जना लोग्ने मान्छेले १४ वर्षको कसैलाई चिन्छौ कि भनेर पो सोध्यो। ऊ १४ वर्षको बच्चासित यौन सम्बन्ध राख्न पो चाहँदो रहेछ र त्यसको लागि पैसा दिनसमेत तयार रहेछ।”

अनिताको यो अनुभव कुनै नौलो अनुभव होइन। आजकल यौन सिकारीहरूले च्याट गरिरहेको यत्ति छ्यापछ्याप्ती भेटिन्छन्‌ कि केही सरकारहरूले युवायुवतीहरूलाई सचेत गराउन निर्देशिकासमेत तयार पारेका छन्‌। उदाहरणको लागि, अमेरिकाको संघीय अनुसन्धान आयोग, एफ बी आई-द्वारा प्रकाशित किताबले च्याट गर्दा तुरुन्तै अश्‍लील कुरा थालिहाल्नेहरूसित सतर्क रहन सल्लाह दिएको छ। “चासो व्यक्‍त गरेर, माया देखाएर र कहिलेकाहीं उपहारहरूसमेत पठाएर बिस्तारै आफ्नो शिकार बनाउनेहरूसित” पनि होसियार रहन उक्‍त पुस्तकले सतर्क गराएको छ।

यस्ता यौन सिकारीहरूले प्रयोग गर्ने केही खास तरिकाहरूबारे एफ बी आई-को किताबमा यस्तो लेखिएको छ: “तिनीहरू केटाकेटीका समस्याहरू सुन्छन्‌ र समानुभूति प्रकट गर्छन्‌। अहिले केटाकेटीहरूमाझ लोकप्रिय गीत, सोख र चलन के-के हुन्‌, त्यो पनि तिनीहरूलाई थाह हुन्छ। यस्ता नीच व्यक्‍तिहरू सेक्सबारे बिस्तारै-बिस्तारै कुरा गर्दै केटाकेटीहरूमा हुने सङ्‌कोचलाई चालै नपाई कम गर्ने प्रयास गर्छन्‌।”

च्याट गर्दा यस्ता अनैतिक वयस्कहरूसित मात्र सतर्क रहनुपर्ने होइन। बाइबलका नैतिक सिद्धान्तहरू थाह नभएका वा ती सिद्धान्तहरूलाई बेवास्ता गर्ने युवायुवतीहरूदेखि पनि होसियार रहनुपर्छ। कमल नाउँका युवकलाई के भयो, विचार गर्नुहोस्‌। अरू युवाहरूसित च्याट गरिरहेको बेला कमललाई एउटी केटीले दुई जना मात्र गोप्य रूपमा च्याट गर्न मिल्ने छुट्टै च्याट रूममा बोलाई र हाकाहाकी छाडा प्रश्‍न गरी। तर कमलले आफ्नो भावनालाई काबूमा राख्दै तुरुन्तै कुराकानी टुङ्‌ग्याइहाले।

युवायुवतीहरूमा सेक्सप्रति स्वाभाविक झुकाव हुने भएकोले कमलले जस्तै गरिहाल्न तपाईंलाई असाध्यै गाह्रो हुन सक्छ। सुरुमा उल्लिखित पवन स्वीकार्छन्‌, “च्याट गर्दा सेक्सको कुरा उठ्‌नेबित्तिकै कुराकानीलाई टुङ्‌ग्याइहाल्न सक्छु जस्तो मलाई लाग्थ्यो। तर वास्तवमा एक चोटि मात्र होइन बारम्बार आफूलाई रोक्न नसकेर मैले सेक्सको कुरा गरेको छु।। त्यसो गर्दा पछि मलाई साह्रै नमीठो लाग्थ्यो।” तर ‘आफ्नो परिचय लुकाएर सेक्सबारे च्याट गरें भने मलाई हानि हुन्छ र’ भन्‍ने तपाईंलाई लाग्ला।

सेक्सबारे च्याट गर्नु के साँच्चै हानिकारक छ र?

बाइबलले सेक्सबारे चाहिंदो जानकारी दिएको छ। (हितोपदेश ५:१८, १९) हो, युवावस्थामा सेक्सबारे जान्‍ने सुन्‍ने धेरै उत्सुकता हुन्छ। त्यसकारण, सेक्सबारे कुरा गर्नु ठीकै हो। यस्तो महत्त्वपूर्ण विषयमा मनमा उब्जेका प्रश्‍नहरूको जवाफ खोज्नु गलत होइन। b तर होसियार! तपाईंले आफ्नो खुलदुली मेटाउन अपनाउनुहुने माध्यमले तपाईंको वर्तमान र भविष्यलाई धेरै असर गर्न सक्छ।

जति नै परिचित व्यक्‍तिहरू किन नहोऊन्‌, तपाईंले तिनीहरूसित सेक्सबारे च्याट गर्नुभयो भने तपाईं पनि बाइबलमा उल्लिखित एक जवान मानिस पुगेजस्तै अवस्थामा पुग्नुहुनेछ। कौतुहलताको कारण त्यो केटो वेश्‍याको घर नजिकै डुल्थ्यो। सुरुमा त त्यो वेश्‍याले ऊसित कुरा मात्र गर्छे। तर त्यो केटो उत्तेजित भएपछि कुराकानीले मात्र चित्त बुझ्दैन। “लाटो मूर्खझैं उ त्यसको पछि लाग्यो, कसाईखानाको बाटोतिर लागेको गोरुझैं . . . जालतिर वेग हानेर गएको चराझैं।”—हितोपदेश ७:२२, २३.

त्यसैगरि, सेक्सबारे च्याट गर्दा यौन तृष्णा झन्‌ सजिलै बढ्‌न सक्छ। गौरव नाउँका किशोर भन्छन्‌, “म च्याट गर्दै थिएँ। अचानक अश्‍लील चित्र फुत्त देखा पऱ्‍यो। मसित च्याट गरिरहेकै व्यक्‍तिले पो त्यो पठाएको रहेछ।” अश्‍लील सामग्री हेर्ने इच्छालाई दबाएन भने वयस्कहरूको लागि भनेर खोलिएको “अडल्ट” च्याट प्रयोग गर्न सकसक लाग्न धेरै बेर लाग्दैन। c अश्‍लील सामग्री हेर्ने लत लागेका थुप्रै पछि अवैध यौन सम्बन्ध कायम गर्ने हदसम्म पुगेका छन्‌ र त्यसको नतिजा भोगेका छन्‌।—गलाती ६:७, ८.

इन्टरनेटमा तपाईंसित सेक्सबारे कुरा गर्न मन पराउनेहरूले तपाईंको भलो चिताएका हुँदैनन्‌। आफ्नै पतित इच्छा पूरा गर्न ढुकी बस्ने यस्ता अपरिचित व्यक्‍तिहरूले तपाईंलाई फुस्ल्याउँदै अनैतिक कुराकानी गर्न थाल्छन्‌ र मौका मिले तपाईंलाई अनैतिक काम गराउनसमेत पछि पर्दैनन्‌। d सोझोसाझा मान्छेलाई झुक्याएर आफ्नो यौन इच्छा पूरा गर्ने यस्ता मानिसहरूदेखि आफ्नो छोरालाई होसियार गराउँदै राजा सुलेमानले लेखे, “त्यस्ता स्त्रीदेखि टाढा बस्‌, औ त्यसको घरको ढोकाको नजीक नजा। नत्रता तैंले अरूहरूको दृष्टिमा आफ्नो इज्जत . . . हराउनेछस्‌।” (हितोपदेश ५:८-१०) यस सिद्धान्तलाई यसरी पनि व्यक्‍त गर्न सकिन्छ: सेक्सबारे कुरा गरिने च्याट चलाउँदै नचलाउनुहोस्‌, नत्रता तपाईंको फाइदा उठाएर आफ्नो कुइच्छा तृप्त गर्न चाहने अपरिचित व्यक्‍तिको सामने आफ्नो इज्जत गुमाउनुहुनेछ।

आफ्नो असली परिचय लुकाउनेहरू

तर तपाईं, म त इन्टरनेटमा सेक्सबारे कुरा गर्दिनँ भन्‍नु होला। सुरुमा उल्लेख गरिएका पवन र अनितालाई जस्तै तपाईंलाई पनि च्याट गर्दा आफ्नो परिचय नखुलाईकनै विनाहिचकिचाहट आफ्नो विचार व्यक्‍त गर्न सकिन्छ जस्तो लाग्ला। e तर तपाईं सतर्क रहनुपर्ने अर्को खतरा पनि छ।

च्याट गर्दा आफ्नो सही परिचय दिनुपर्ने आवश्‍यकता नहुने भएकोले तपाईंलाई आफूबारे बढाइचढाइ कुरा गर्न मन लाग्ला। अनिता भन्छिन्‌, “कुरा गर्दै जाँदा, अर्को व्यक्‍तिले जस्तो खोजेको हो, कुरामा कुरा मिलाएर म पनि त्यस्तै भइदिन्थें।” अनितालाई जस्तै तपाईंलाई पनि च्याट गर्ने मानिसहरूले जस्तो मान्छे खोजेको हो त्यस्तै भइदिन मन लाग्ला। नयाँ साथी बनाउने धुनमा तिनीहरूको जस्तै भाषा नक्कल गर्ने अथवा तिनीहरूलाई मन पर्ने कुरालाई मन पराउने झुकाव तपाईंमा उत्पन्‍न हुन सक्छ। अर्कोतिर, तपाईंका आमाबाबु वा साथीहरूले आपत्ति मान्‍न सक्छन्‌ भनेर तपाईंले आफ्नो कुनै भावना वा कुरा व्यक्‍त गर्न सक्नुभएको छैन भने, त्यसो गर्ने उपयुक्‍त माध्याम च्याट हो जस्तो लाग्न सक्छ। जे होस्‌, यसरी तपाईंले कसै न कसैलाई झुक्याइरहनुभएको हुन्छ। इन्टरनेटमा आफ्नो परिचय लुकाउँदा च्याट रूममा भेटिने व्यक्‍तिहरूलाई तपाईंले झुक्याइरहनुभएको हुन्छ भने, अर्कोतिर आफूलाई लागेको कुरा वा विचार आफ्नो परिवार र साथीहरूलाई व्यक्‍त नगर्दा उनीहरूलाई पनि छलिरहनुभएको हुन्छ।

च्याट गर्ने लहड नयाँ भए तापनि झूटो बोल्ने र अरूलाई छल्ने बानी भने कुनै नयाँ कुरा होइन। सबैभन्दा पहिले झूट बोल्ने व्यक्‍ति शैतान अर्थात्‌ दियाबल थियो भनेर बाइबलले चिनाएको छ र च्याट गर्ने केही व्यक्‍तिहरूले शैतानकै पदचिह्नमा हिंडिरहेका छन्‌। पहिलो पटक झूट बोल्दा त्यसले आफ्नो वास्तविक परिचय लुकाएको थियो। (उत्पत्ति ३:१-५; प्रकाश १२:९, १०) राजा दाऊदको अनुकरण गर्नुभयो भने फटाहाहरूको हातमा पर्नदेखि तपाईं जोगिन सक्नुहुन्छ। तिनले लेखे, “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु।”—भजन २६:४.

सुरुमा उल्लेख गरिएझैं कुनै-कुनै विषयमा च्याट गर्नु फाइदाजनक हुन सक्छ। । तैपनि, कुराकानी गर्ने यो आधुनिक प्रविधिको प्रयोग गर्दा यहोवालाई खुसी पार्न चाहने युवायुवतीहरू चाहिं अत्यन्त होसियार हुनै पर्छ। आफ्नो पढाइसित सम्बन्धित छलफलको लागि च्याट प्रयोग नगरी नहुने अवस्था आइपरेमा आमाबाबु वा अभिभावकलाई सँगै राख्नुहोस्‌। अर्को अंकको लेखले च्याट गर्दा किन सतर्क रहनुपर्छ भन्‍ने विषयमा थप दुई कारणबारे बताउनेछ। तपाईं जतिसुकै चनाखो हुनुभए पनि च्याट गर्दा कुनै न कुनै समस्या आइपर्न सक्छ। त्यस्ता केही खास समस्याहरूको समाधान कसरी गर्ने भन्‍नेबारे पनि ती लेखहरूमा छलफल गरिनेछ। (g05 9/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकमा विवाहअघिको सेक्स, हस्तमैथुन र सेक्ससम्बन्धी अन्य विषयहरूमा बाइबलआधारित राम्रा सल्लाहहरू पाइन्छ।

c अक्सर अश्‍लील कुराकानी गरिने र अश्‍लील सामग्री पठाउने वा पाउने च्याट रूम “अडल्ट” च्याट रूम हो। भनाइमा त यो वयस्कहरूको लागि मात्र भनेर खोलिएको हो, तर सर्वेक्षणअनुसार नौ वर्षका कलिला केटाकेटीहरूले पनि आफ्नो उमेर ढाँटेर यस्ता च्याट रूम प्रयोग गरेको पाइएको छ।

d तपाईंसित च्याट गर्ने व्यक्‍ति केटा हो कि केटी, पक्का गर्न सकिंदैन। त्यसकारण, तपाईंसित कुरा गर्ने व्यक्‍तिले आफू केटा वा केटी जे हुँ भनी दाबी गरे तापनि तथ्य अर्कै हुन सक्छ।

e केटाकेटीले इन्टरनेट प्रयोग गर्दा सचेत रहन आमाबाबुका लागि तयार पारिएको किताबले (अ पेरेन्ट्‌स गाइड टू इन्टरनेट सेफ्टी) इन्टरनेट प्रयोग गर्दा भेटिने अपरिचित व्यक्‍तिहरूलाई आफ्नो नाउँ, ठेगाना वा फोन नम्बर नदिन सुझाव दिएको छ!

[पृष्ठ १४-मा भएको चित्र]

च्याट गर्नु खतरनाक हुन सक्छ