सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बल्ल! सबैका लागि घर

बल्ल! सबैका लागि घर

बल्ल! सबैका लागि घर

केन्याको नैरोबी सहर नजिकै पर्ने १४० एकडको सुन्दर गिगीरी कम्पाउन्डभित्र संयुक्‍त राष्ट्रसंघका भवनहरू छन्‌। त्यहाँ, यु एन हाबिटाटको मुख्य कार्यालय पनि छ। यो गिगीरी कम्पाउन्ड आवासको सङ्‌कट समाधान गर्न सम्पूर्ण अन्तरराष्ट्रिय समुदाय कटिबद्ध छ भन्‍ने कुराको प्रतीक हो। यस इलाकाभित्र पर्ने गिगीरी नेचर ट्रेलको बाटो भएर जाने जो कोहीले पनि सबै एकजुट भई प्रयास गरेमा अनि पर्याप्त मात्रामा कोष उपलब्ध छ भने असम्भव कुरा केही रहेनछ भन्‍ने ज्वलन्त उदाहरण देख्न सक्छ। त्यतिकै खेर गएको जमिनलाई पूर्ण रूपमा सदुपयोग गरेर अहिले कार्यालयका कर्मचारी तथा घुम्न आउने व्यक्‍तिहरूको लागि मन बहलाउने सुन्दर ठाउँ बनाइएको छ।

तर कस्तो विडम्बना! यस गिगीरी कम्पाउन्डभन्दा केही किलोमिटर परचाहिं मानिसहरूले खचाखच भरिएका फोहोर झुपडीहरू च्याउझैं बढिरहेका छन्‌। यसबाट अहिले भइरहेको आवासको सङ्‌कट समाधान गर्न सजिलो छैन भन्‍ने कुरा प्रस्ट हुन्छ। माटोले लिपेका, रूखका हाँगाबिंगाले बारेका र टिनले छाएका छाप्राहरू चार स्क्वायर मिटर जमिनमा बनाइएका छन्‌। ती छाप्राहरूको बीचबाट बग्ने ढल डुङडुङती गन्हाउँछ। यहाँका मानिसहरूले पानीको लागि संयुक्‍त राज्य अमेरिकाका जनताले भन्दा पाँच गुना बढी पैसा तिर्छन्‌। यहाँ बसोबास गर्ने लगभग ४०,००० मानिसमध्ये अधिकांश बीसदेखि चालीस वर्षबीचका छन्‌। उनीहरू काम गर्नै अल्छी मान्‍ने अथवा जोस-जाँगरै नभएका मानिसहरू भने होइनन्‌। उनीहरू त कामको खोजीमा नैरोवी सहर र यसका आसपासका ठाउँहरूमा आएका थिए।

यसको ठीक उल्टा, विश्‍वका नेताहरू चाहिं छिमेकका गरिब पुरुष, स्त्री र केटाकेटीहरूको भविष्यबारे विचारविमर्श गर्न गिगीरीजस्तो सफासुग्घर, सुविधासम्पन्‍न अनि आकर्षक कम्पाउन्ड भएको ठाउँमा भेला हुन्छन्‌। संयुक्‍त राष्ट्रसंघका महासचिवको भनाइअनुसार “विश्‍वका राष्ट्रहरूसित” फोहोर झुपडीहरूमा बस्ने मानिसहरूको जीवनस्तर उकास्ने “क्षमता, ज्ञान र शक्‍ति” भएर पनि केही हुन नसक्नु दुःखको कुरा हो। त्यसोभए के गर्नुपर्ला त? महासचिव कोफी अन्‍नान यस्तो निष्कर्षमा पुग्छन्‌, “आशा छ, . . . यस समस्यासित भलीभाँति परिचित सबैले प्रगतिको बाधक बनेका राजनीतिज्ञहरूको भावशून्यता र दृढ संकल्पको कमीलाई हटाएर समस्याको निकास पत्ता लगाउनेछन्‌।”

तर यस्तो आशा राख्नु के व्यावहारिक होला? आफ्नो स्वार्थ त्यागेर सबैको हितका लागि काम गर्न राजनीतिज्ञहरूलाई कुन कुराले झकझक्याउला? अहिलेको सङ्‌कट समाधान गर्न सक्ने क्षमता, ज्ञान र शक्‍ति भएको एक जना व्यक्‍ति हुनुहुन्छ। अझ महत्त्वपूर्ण कुरा त, उहाँ दयालु हुनुहुन्छ र आवासको समस्या समाधान गर्न चाहनुहुन्छ। हो, उहाँको सरकारले अहिले भइरहेको आवासको समस्या सधैंको लागि समाधान गर्ने विस्तृत योजना बनाइसकेको छ।

आवासको नयाँ योजना

आफूले गर्न चाहेको कुरा हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरले बाइबलमा उल्लेख गर्नुभएको छ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु।” (यशैया ६५:१७) त्यतिखेर आमूल परिवर्तन हुनेछ। त्यो नयाँ सरकार अर्थात्‌ ‘नयाँ आकाशले’ अहिलेको मानव सरकारले गर्न नसक्ने कुरा पनि गर्नेछ। परमेश्‍वरको राज्यअन्तर्गत जो-जो मिलेर पृथ्वीमा नयाँ मानव समाज बन्‍नेछ त्यहाँका सबै मानिसहरू पूर्णतया स्वस्थ, सुरक्षित हुनेछन्‌ र उनीहरूको आत्म-सम्मान पनि बढ्‌नेछ। त्यस नयाँ समाजका सम्भाव्य सदस्यहरू “पछिल्ला दिनमा” एकत्रित हुनेछन्‌ भनेर यशैयालाई पहिल्यै जानकारी गराइएको थियो। (यशैया २:१-४) यसको अर्थ हो अब अन्त आउन धेरै समय बाँकी छैन।—मत्ती २४:३-१४; २ तिमोथी ३:१-५.

योभन्दा महत्त्वपूर्ण कुरा त के छ भने, यशैया अध्याय ६५ का अरू पदहरूमा बताइएअनुसार परमेश्‍वरले त्यतिखेर सबैलाई घर उपलब्ध गराउने वचन दिनुभएको छ। उहाँ यसो भन्‍नुहुन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र . . . तिनीहरूले बनाएर अरूहरू बस्ने, . . . चाहिं हुनेछैन।” (यशैया ६५:२१, २२) कल्पना गर्नुहोस्‌, तपाईंको आफ्नै घर छ र सुन्दर प्रमोदवनको सफासुग्घर वातावरण अनि सुरक्षित अवस्थामा तपाईं बसिरहनुभएको छ। यस्तो अवस्थामा बाँच्न नचाहने व्यक्‍ति को पो होला र? तर परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा तपाईं कसरी पक्का हुन सक्नुहुन्छ?

एउटा भरपर्दो प्रतिज्ञा

आदम र हव्वालाई सृष्टि गर्नुहुँदा परमेश्‍वरले तिनीहरूलाई त्यतिकै बन्जर भूमिमा छोड्‌नुभएन। बरु, उहाँले तिनीहरूलाई अदनको बगैंचामा राख्नुभएको थियो, एउटा यस्तो सुन्दर बगैंचा जहाँको हावा अति स्वच्छ थियो, पानी र खानेकुराको कुनै कमी थिएन। (उत्पत्ति २:८-१५) आदमलाई “पृथ्वीमा भरिंदै” जाओ भनिएको थियो, अटाइ-नअटाइ भरिंदै जाओ भनिएको थिएन। (उत्पत्ति १:२८) प्रमोदवनमा बसोबास गर्नेहरू सबैले सुव्यवस्था, मेलमिलाप र अरू असल कुराबाट भरपूर आनन्द उपभोग गरून्‌ भन्‍ने परमेश्‍वर सुरुदेखि नै चाहनुहुन्थ्यो।

पछि, नूहको दिनमा मानव समाजमा हिंसा र अनैतिकता व्याप्त भएकोले “परमेश्‍वरको दृष्टिमा पृथ्वी भ्रष्ट” भयो। (उत्पत्ति ६:११, १२) के परमेश्‍वरले त्यस्तो अवस्था देखेर पनि नदेखेझैं गर्नुभयो? अहँ, त्यसो गर्नुभएन। उहाँले तुरुन्तै कदम चालिहाल्नुभयो। आफ्नो नाउँ अनि धर्मी नूह र तिनका परिवारको खातिर जलप्रलय ल्याउनुभयो र पृथ्वीलाई सफा पार्नुभयो। त्यसकारण, नूह र तिनको परिवार जहाजबाट बाहिर आफ्नो नयाँ घरमा आउँदा तिनीहरूलाई फेरि फल्दै-फुल्दै अनि “वृद्धि हुँदै र पृथ्वीमा भरिंदै जाओ” भनियो।—उत्पत्ति ९:१.

परमेश्‍वरले इस्राएलीहरूलाई पनि तिनीहरूका पुर्खा अब्राहामसँग प्रतिज्ञा गर्नुभएको उत्तराधिकार दिनुभयो। प्रतिज्ञा गरिएको त्यस देशलाई “एक असल र ठूलो देश, . . . दूध र मह बहने” देश भनी वर्णन गरिएको थियो। (प्रस्थान ३:८) परमेश्‍वरको आज्ञा पालन नगरेको कारण इस्राएलीहरू ४० वर्षसम्म घरबारविहीन भएर उजाडस्थानमा भौंतारिनुपऱ्‍यो। तरैपनि, आफ्नो प्रतिज्ञाअनुसारै परमेश्‍वरले अन्तमा तिनीहरूलाई बस्ने देश दिनुभयो। बाइबल यसो भन्छ: “परमप्रभुले . . . तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। . . . परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भयो।”—यहोशू २१:४३-४५.

बल्ल! सबैका लागि घर

त्यसकारण, यहोवाले यशैया अध्याय ६५ मा भन्‍नुभएको कुरा खोक्रो प्रतिज्ञा होइन भन्‍ने कुरा स्पष्ट छ। यहोवा यावत्‌ थोकको सृष्टिकर्ता हुनुभएकोले उहाँसित पृथ्वीलाई सफा पार्ने र पृथ्वीको लागि आफ्नो सुरुको उद्देश्‍य पूरा गर्ने शक्‍ति छ। (यशैया ४०:२६, २८; ५५:१०, ११) यसबाहेक, यहोवा परमेश्‍वर यसो गर्न इच्छुक हुनुहुन्छ भनी बाइबल हामीलाई आश्‍वासन दिन्छ। (भजन ७२:१२, १३) पहिला-पहिला पनि उहाँले आफ्ना धर्मी जनहरूका लागि आवासको प्रबन्ध मिलाउनुभएको थियो र अब फेरि उहाँले यस्तै प्रबन्ध चाँडै मिलाउनुहुनेछ।

हो, परमेश्‍वरको पुत्र येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा उहाँले आफ्ना अनुयायीहरूलाई ‘परमेश्‍वरको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पनि पूरा होस्‌’ भनी तोकेरै प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:१०) यो पृथ्वी प्रमोदवनमा परिणत हुनेछ भनेर उहाँले सङ्‌केत गर्नुभयो। यसको अर्थ के हुनेछ, विचार गर्नुहोस्‌। फोहोर झुपडी र गरिब बस्तीहरू हुनेछैनन्‌, मानिसहरू सडकका पेटीहरूमा सुत्नुपर्नेछैन अथवा मानिसहरूलाई कसैले पनि आफ्नो घरबाट निकाल्नेछैन। सोच्नुहोस्‌ त, त्यो कस्तो खुसीको क्षण हुनेछ! परमेश्‍वरको राज्यमा सबैको आ-आफ्नै घर हुनेछ! (g05 9/22)

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

पहिले-पहिलेका इस्राएली घरहरू

प्राप्त प्रमाणअनुसार, आफूभन्दा पहिलेका कनानीहरूलाई जस्तै इस्राएलीहरूलाई पनि ढुङ्‌गाको घर मनपर्थ्यो। किनभने ढुङ्‌गाले बनाएको घर अरू घरभन्दा पक्की हुन्थ्यो र चोर-डाँकाहरू यस्तो घरमा सजिलै घुस्न सक्दैनथे। (यशैया ९:१०; आमोस ५:११) सम्म परेको जमिनमा घर बनाउँदा चाहिं घाममा सुकाइएका अथवा भट्टामा पोलेका इँटाहरू प्रयोग गरिन्थ्यो। प्रायजसो घरको छत समतल हुन्थ्यो भने, कुनै-कुनै घरको माथिपट्टि बुइँगल हुन्थ्यो। प्रायजसो घरको आँगनमा खाना पकाउने चुला अनि इनार अथवा पानीको ट्याङ्‌की हुन्थ्यो।—२ शमूएल १७:१८.

मोशालाई दिइएको व्यवस्थामा आवाससम्बन्धी थुप्रै नीति-नियम थिए। सुरक्षालाई सबैभन्दा बढी महत्त्व दिइएको थियो। दुर्घटना हुन नदिन समतल छतको चारैतिर बार लगाउनुपर्थ्यो। व्यवस्थाको दसौं आज्ञाले इस्राएलीहरूलाई आफ्नो छिमेकीको घरको लालच नगर्न चेतावनी दिएको थियो। आफ्नो घर बेच्न चाहने व्यक्‍तिले घर बेचेको केही समयभित्र फेरि उकास्न पाउने सर्तमा बेच्न सक्थ्यो।—प्रस्थान २०:१७; लेवी २५:२९-३३; व्यवस्था २२:८.

इस्राएलको घर आध्यात्मिक निर्देशन दिने एउटा महत्त्वपूर्ण थलो पनि थियो। घरमा बस्ता आफ्ना छोराछोरीलाई परमेश्‍वरका आवश्‍यकताहरू सिकाउनू भनेर बुबाहरूलाई तोकेरै निर्देशन दिइएको थियो। साथै, मूर्तिपूजासित सम्बन्धित कुनै पनि कुरा घरमा राख्न निषेध गरिएको थियो।—व्यवस्था ६:६, ७; ७:२६.

[चित्र]

पुरातन इस्राएलमा परमेश्‍वरको उपासनासित सम्बन्धित झुप्रोबासको चाडजस्ता पर्वहरू घरमा मनाउने गरिन्थ्यो

[पृष्ठ १२-मा भएको पेटी/चित्र]

उहिले-उहिलेका घरहरू

प्रथम पुरुष आदमको घर थियो भनेर बाइबलमा कतै पनि चर्चा गरिएको छैन। तर उत्पत्ति ४:१७ मा भने कयिनले “एउटा शहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस शहरको नाउँ पनि हनोक राखे” भनी उल्लेख गरिएको छ। अहिलेको स्तरबाट हेर्ने हो भने, त्यो सहर चारैतिर किल्ला भएको एउटा गाउँ मात्र थियो होला। घरहरू कस्ता थिए भन्‍ने विषयमा बाइबल विवरण केही पनि बताउँदैन। हुनसक्छ, त्यो गाउँका मानिसहरू सबै कयिनको परिवारका सदस्यहरू नै थिए।

उहिले-उहिले मानिसहरू प्रायजसो पालमा बस्थे। कयिनको अर्को सन्तान याबाललाई “पालमा बस्नेहरू र पशु पाल्नेहरूका पित्र” भनिएको छ। (उत्पत्ति ४:२०) पालहरू टाँग्न र एक ठाउँदेखि अर्को ठाउँमा लैजान त्यति अप्ठ्यारो थिएन होला।

समय बित्दै जाँदा, थुप्रै सभ्यताको विकाससँगै सहरहरूमा भव्य घरहरू निर्माण हुन थाले। उदाहरणका लागि, कुनैबेला कुलपिता अब्राम (अब्राहाम) बसोबास गरेको ऊर सहरका भग्नावशेषहरूले कतिपय मानिसहरूको प्लास्टर गरिएको र चुना लगाइएको १३ वा १४ कोठे आरामदायी घरहरू थिए भन्‍ने सङ्‌केत गर्छन्‌। यस्तो घर नहुनेहरूले पक्कै पनि यस्तो घरको चाह गर्थे होलान्‌।

[पृष्ठ ९-मा भएको चित्र]

धर्मी मानिसहरू आ-आफ्नो घरमा ढुक्कसँग बस्न सक्नेछन्‌ भनी परमेश्‍वर प्रतिज्ञा गर्नुहुन्छ