सबैलाई बस्ने घर चाहिएको छ
सबैलाई बस्ने घर चाहिएको छ
“प्रत्येक व्यक्तिलाई आफ्नो र परिवारको स्वास्थ्य र कल्याणको लागि जीवनस्तरको अधिकार छ र त्यसअन्तर्गत . . . घर . . . पनि सम्मिलित छ।”—मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा २५।
बसाइँ सरेर आएका किसानहरू जहाँ बस्छन्, उनीहरू त्यसैलाई आफ्नो घर मान्छन्। सयौं परिवार सहरकै आसपासका ठाउँहरूमा कोठा भाडामा लिएर बस्छन्। उनीहरू बसेको ठाउँमा ढल-निकासको व्यवस्था, पानीको आपूर्ति र फोहोर-मैला व्यवस्थापनजस्ता आधारभूत सेवाहरू छँदै छैनन् भने पनि हुन्छ। “किसानहरू अत्यन्त गरिब भएकाले मात्र” यस्तो ठाउँमा बसेका हुन् भनी एक जना पत्रकारले बताए।
तीन वर्षअघि सरकारी अधिकारीहरूले केही बस्तीहरू हटाउँदा थुप्रै परिवार सहरको मध्य भागस्थित मानिसहरूले खचाखच भरिसकेको घर, डेरा तथा ग्यारेजहरूमा शरण लिन बाध्य भए। अरूचाहिं आफ्नो कुम्लो-कुटुरो बोकेर बस्ने ठाउँको खोजीमा निस्कनुपऱ्यो, जहाँ उनीहरू खेतीपाती गरिसकेपछि आएर बस्न र त्यसैलाई आफ्नो घर भन्न सक्थे।
के तपाईंलाई यहाँ बताइएको कुरा एउटा गरिब देशको जस्तो लाग्यो? त्यस्तो नहुन पनि सक्छ। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको पाम स्प्रिङजस्तो अत्यन्तै धनी सहरनजिकै समेत यस्ता गरिब बस्तीहरू छन्। हुन त, पहिलाभन्दा अहिले धेरै अमेरिकीहरूको आफ्नै घर छ र घर बनाउन पुग्ने प्रशस्त आयस्रोत पनि। तरैपनि, ५० लाखभन्दा बढी अमेरिकी परिवार आधारभूत आवश्यकता नै नभएका घरहरूमा बसिरहेको हुन सक्ने अनुमान गरिएको छ।
विकासोन्मुख राष्ट्रहरूको अवस्था योभन्दा दयनीय छ। राजनैतिक, सामाजिक अनि धार्मिक क्षेत्रबाट धेरै प्रयास भए पनि संसारभरि आवासको सङ्कट झन्-झनै चर्किंदैछ।
जताततै सङ्कट
विश्वका एक अरबभन्दा बढी मानिस फोहोर झुपडीहरूमा बस्छन् भन्ने अनुमान गरिको छ। ब्राजिलका फोहोर झुपडीहरू छिट्टै “सहरहरूभन्दा व्यापक रूपमा फैलिएर खचाखच हुनेछन्” भनी ब्राजिलका सहरीकरणसम्बन्धी विज्ञहरू चिन्ता व्यक्त गर्छन्। नाइजेरियाका कुनै-कुनै सहरमा ८० प्रतिशतभन्दा बढी मानिस फोहोर झुपडी तथा सुकुमबासी इलाकाहरूमा बसोबास गर्छन्। त्यसैकारण होला सन् २००३ मा संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले यसो भनेका थिए: “कुनै ठोस कदम चालिएन भने विश्वका फोहोर झुपडीहरूको संख्या अबको ३० वर्षमा २ अरब पुग्न सक्छ।”
यस्तो दयनीय अवस्थामा विश्वका गरिब मानिसहरूले कुन हदसम्म दुःख भोग्छन् भन्ने कुरा यत्तिको तीतो तथ्याङ्कबाटै मात्र थाह लगाउन सकिंदैन। संयुक्त राष्ट्रसंघका अनुसार विकासोन्मुख राष्ट्रहरूका ५० प्रतिशतभन्दा बढी मानिस ढल-निकास र फोहोर-मैला व्यवस्थापन नै नभएका ठाउँहरूमा बसोबास गर्छन्, ३३ प्रतिशत मानिसले स्वच्छ पानी पिउन पाएका छैनन्, २५ प्रतिशत मानिसको त बस्ने घरसमेत छैन र २० प्रतिशत मानिसचाहिं उचित स्वास्थ्यबाट वञ्चित छन्। विकसित मुलुकका धेरैजसो मानिसहरूले आफ्ना घरपालुवा जनावरहरूलाई समेत यस्तो दयनीय अवस्थामा त राख्दैनन्।
सबैको अधिकार
उपयुक्त बस्ने ठाउँलाई मानिसको आधारभूत आवश्यकता मानिन्छ। सन् १९४८ मा संयुक्त राष्ट्रसंघले पारित गरेको विश्वव्यापी मानवअधिकार घोषणापत्रमा चित्तबुझ्दो घरलगायत अरू आधारभूत आवश्यकता पूरा भएको जीवन बिताउने अधिकार सबैसित छ भनी उल्लेख गरिएको थियो। साँच्चै, सबैलाई बस्ने घर चाहिन्छ।
अझ हालसालैको कुरा गर्ने हो भने, सन् १९९६ मा थुप्रै राष्ट्रले संयुक्त राष्ट्रसंघको हाबिटाट एजेन्डा नामक प्रस्तावना पारित गऱ्यो। यस प्रस्तावनामा सबैलाई आवासको पर्याप्त प्रबन्ध मिलाउने ठोस वचनबद्धता जाहेर गरिएको छ। पछि, सन् २००२ जनवरी १ तारिखका दिन यस एजेन्डालाई औपचारिक घोषणा गरेर यु एन-कै एउटा कार्यक्रम बनाएपछि संयुक्त राष्ट्रसंघले यस वचनबद्धतालाई हर हालतमा पूरा गरेरै छोड्ने निधो गऱ्यो।
कतिपय धनाढ्य राष्ट्रहरू चन्द्रमामा बस्ती बसाल्ने सुरमा छन् र मङ्गलग्रहमा बस्न सकिन्छ कि सकिंदैन होला भनेर अनुसन्धान गर्दैछन्। तर हाँसउठ्दो कुरा के छ भने, आफ्नै देशका कैयौं गरिब जनताको भने यस पृथ्वीमा बस्ने एउटा छाप्रोसमेत छैन। आवासको सङ्कटले तपाईंलाई कसरी असर गर्छ? के कुनै दिन सबैजना ढुक्कसित आफ्नै घरमा बस्न सक्ने समय आउला? (g05 9/22)
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
कतिपय राष्ट्रहरू चन्द्रमामा बस्ती बसाल्ने सुरमा छन् तर आफ्नै देशका कैयौं गरिब जनताको भने यस पृथ्वीमा बस्ने एउटा छाप्रोसमेत छैन
[पृष्ठ ३-मा भएको चित्र]
एसियाको एउटा शरणार्थी परिवार।
एउटा सहरमा ३,५०० परिवार कामचलाउ पालमा बसिरहेका छन्। त्यहाँ पानीको हाहाकार छ र जताततै फोहोर-मैलाको डङ्गुर छ
[पृष्ठ ४-मा भएको चित्र]
उत्तर अमेरिका