सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुनप्रतिको मोह कहिल्यै घट्‌दैन

सुनप्रतिको मोह कहिल्यै घट्‌दैन

सुनप्रतिको मोह कहिल्यै घट्‌दैन

अस्ट्रेलियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

अस्ट्रेलियाको झाडी इलाकाको सुक्खा बगर हुँदो एक व्यक्‍ति लखतरान भएर पनि एउटा बहुमूल्य धातुको खोजीमा छ। मध्य दिनको भतभती पोल्ने घाम छ। निधारमा चिटचिट पसिना आइरहेको र लुगा पनि पसिनाले लपक्क भिजिसकेको छ। तैपनि, हिम्मत हार्दैन, बरु धातु पत्ता लगाउने यन्त्र अर्थात्‌ मेटल डिटेक्टर जमिनमा यताउता घुमाइरहेको छ। यस डिटेक्टरको चुम्बकीय शक्‍तिले ढुंगेनी जमिनमा पनि एक मिटर गहिराइसम्म पत्ता लगाउन सक्छ। मेटल डिटेक्टरमा सिग्लन आए, नआएको सुन्‍न लगाएको हेडफोनमा एकनासे चर्को आवाज बज्न थाल्छ।

जब त्यो चर्को आवाज धीमा हुँदै गएर टिकटिक गर्न थाल्छ तब अचानक उसको मुटुको धड्‌कन बढ्‌न थाल्छ। किनकि, त्यो टिकटिक आवाज आउनु भनेकै जमिनभित्र कुनै धातु छ भन्‍ने सङ्‌केत हो। उसले त्यहाँ हत्तपत्त घुँडा टेकेर फकाफक खन्‍न थाल्छ। उसले त्यो कडा जमिन नबिसाई पिकले खन्दै जान्छ। त्यो वस्तु खियाले खाइसकेको कीला वा पुरानो सिक्का मात्र पनि हुन सक्छ। तर ऊ भने त्यहाँ केवल सुन पाउने ध्याउन्‍नमा जमिन खन्दै जान्छ र अझै खन्दै जान्छ।

सुनको लागि तँछाड-मछाड

फरक-फरक समयमा फरक-फरक तरिकाले सुन खोज्ने गरिएको होला। त्यसो भए तापनि मानव इतिहासलाई हेर्दा उनीहरूले यो चम्किलो धातुलाई दिलोज्यान लगाएर खोज्दै आएका छन्‌। वास्तवमा, सुनको प्रयोगलाई प्रवर्द्धन गर्ने एउटा संगठनले बताएअनुसार विगत ६,००० वर्षको दौडान २,५०,००,००० किलो सुन उत्पादन गरिसकिएको छ। a मिश्र, ओपीर र दक्षिण अमेरिका जस्ता प्राचीन देशहरू सुनको लागि प्रसिद्ध भए तपानि आजसम्म उत्पादित सुनमध्ये ९० प्रतिशत सुन विगत १५० वर्षको दौडान उत्पादन गरिएको हो।—१ राजा ९:२८.

सन्‌ १८४८ मा अमेरिकाको क्यालिफोर्निया स्थित अमेरिकन रिभर नाउँको नदी छेउ भएको सटर नामक काठ चिर्ने मिल छेउछाउमा सुन भेटिएपछि सुन खोज्न मानिसहरूको तँछाड-मछाड सुरु भयो। यसरी यहाँ मानिसहरू सुन खोज्न ओइरो लाग्न थाले। ती सबै मानिस उज्यालो भविष्य बनाउने सपना बोकेर यहाँ आएका थिए। कतिपयको सपना साकार भयो भने कतिको अधुरै रह्‍यो। त्यतिखेर निकै धेरै मात्रामा सुन उत्पादन गरिएको थियो। रोमी शासनकालमा विश्‍वभरि १०,००० किलो सुन उत्पादन भएको थियो भने सन्‌ १८५१ सालमा मात्र ७७,००० किलो सुन उत्पादन गरिएको थियो।

यसै समयताक पृथ्वीको अर्को छेउ अर्थात्‌ नयाँ उपनिवेश, अस्ट्रेलियामा पनि सुन खानी पत्ता लाग्यो। क्यालिफोर्नियाको सुन खानीमा राम्रो अनुभव बटुलिसकेका एडवर्ड हारग्रेभ्ज अस्ट्रेलिया आए। तिनले न्यु साउथ वेल्सको सानो शहर बथर्स्ट नजिकैको खोलामा सुन खानी पत्ता लगाए। सन्‌ १८५१ मा भिक्टोरिया राज्यको ब्यालऱ्‍याट र बेन्डिगोमा पनि प्रशस्त सुन भएको खानी पाइयो। जसै सुन पाएको खबर फैलियो तब त्यहाँ मानिसहरूको ओइरो लाग्न थाल्यो। त्यहाँ आउनेमध्ये कतिपय पेसाले नै खानी खन्‍ने मानिसहरू थिए भने धेरैजसो किसान वा अफिसमा काम गर्नेहरू थिए जसले जीवनमा कहिल्यै खानी खन्‍ने पिक चलाएका थिएनन्‌। सुन पाइने त्यस ठाउँको उर्लिंदो चहलपहलबारे एक स्थानीय अखबारले यसरी लेख्यो: “बथर्स्ट फेरि बौलाएको छ। सुनप्रतिको मोहमा मानिसहरू चुर्लुम्मै डुबेका देखिन्छन्‌। उनीहरूलाई अरू कसैको वास्तै छैन। त्यहाँ उनीहरूको एउटै मात्र ध्याउन्‍न भनेको सुन भेट्टाउनु हो।”

यसको परिणाम? जनसंख्या वृद्धि। सन्‌ १८५१ पछिको दशकमा, विश्‍वका अन्य ठाउँबाट सुन खोज्न मानिसहरू अस्ट्रेलियामा ओइरिएपछि यस देशको जनसंख्या दोब्बर भयो। यस महादेशभरि धेरथोर थुप्रै ठाउँमा सुन पाइन्थ्यो। एक ठाउँमा सुन पाउन कम हुनेबित्तिकै अर्को ठाउँमा तँछाड-मछाड सुरु भइहाल्थ्यो। सन्‌ १८५६ मा मात्र अस्ट्रेलियामा ९५,००० किलो सुन निकालियो। त्यसपछि, सन्‌ १८९३ मा पश्‍चिम अस्ट्रेलियाको क्याल्गुर्ली-बोल्डर नजिकै खानी खन्‍न थालियो। त्यस खानीबाट अहिलेसम्ममा १३,००,००० किलो सुन निकालिसकिएको छ। त्यो सुन खानीलाई “सबैभन्दा बढी सुन भएको जमिन” भनी नाम दिइएको छ। त्यस ठाउँमा अहिलेसम्म पनि सुन भेटिरहेको छ र त्यो विश्‍वको सुन खानीको खाडलहरूमध्ये सबैभन्दा गहिरो खाडल भएको छ। मानिसले खनेको त्यो विशाल खाडलको लम्बाइ लगभग तीन किलोमिटर, चौडाइ झन्डै दुई किलोमिटर र गहिराइ ४०० मिटरभन्दा बढी छ।

आज, सबैभन्दा धेरै सुन उत्पादन गर्ने मुलुकहरूमा अस्ट्रेलिया तेस्रो स्थानमा पर्न आउँछ। यहाँको सुन उद्योगमा ६०,००० मानिसहरूले काम गर्छन्‌ र वर्षेनी करिब ३,००,००० किलो सुन उत्पादन हुन्छ जसको मूल्य पाँच अरब अस्ट्रेलियन डलर (रु. १७० अरब) पर्छ। सबैभन्दा धेरै सुन उत्पादन गर्ने दोस्रो मुलुकचाहिं अमेरिका हो भने विगत सय वर्षदेखि यताको इतिहास हेर्दा, दक्षिण अफ्रिका पहिलो स्थानमा पर्न आउँछ। आजसम्म जति सुन उत्पादन गरिएको छ त्यसको ४० प्रतिशत दक्षिण अफ्रिकाबाटै उत्पादन हुन्छ। वर्षेनी विश्‍वभरि २०,००,००० किलो सुन उत्पादन हुन्छ। यत्रो परिमाणमा उत्पादन गरिने यो बहुमूल्य वस्तु कहाँ जान्छ?

धन र सौन्दर्य दुइटै

सुनको सिक्का बनाउने चलन अझै छ र केही सुन यस्ता सिक्का बनाउन प्रयोग गरिन्छ। पश्‍चिम अस्ट्रेलियाको पर्थ टक्सार सुनको सिक्का बनाउने विश्‍वको मुख्य टक्सारमध्ये एक हो। यी सुनका सिक्काहरू साधारणतया बजारमा चलाइँदैन तर संकलकहरूले भने यसको निकै मोल गरेर संग्रह गर्छन्‌। त्यसबाहेक, आजसम्म उत्पादित सुनको २५ प्रतिशत सुनलाई बिस्कुटको आकारमा ढिको बनाई बैंकको ढुकुटीमा राखिएको छ। त्यसरी, बैंकको ढुकुटीमा सबैभन्दा बढी सुन राख्ने देश अमेरिका हो।

हालसालैको लेखाजोखा हेर्ने हो भने, वर्षेनी कुल सुन उत्पादनको ८० प्रतिशत अर्थात्‌ १६,००,००० किलो सुन गरगहना बनाउन प्रयोग हुन्छ। अमेरिकाले बैंकको ढुकुटीमा सबैभन्दा धेरै सुन थुपारेको होला। तर गरगहना बनाउन सबैभन्दा धेरै सुन खपत गर्ने मुलुकचाहिं भारत हो। सुन बहुमूल्य र सुन्दर वस्तु त हो नै, त्यसको अलवा यसलाई विभिन्‍न काममा उपयोग पनि गर्न सकिन्छ।

सुनको अत्याधुनिक प्रयोग

सुन खिइदैन भनेर पुरातन मिश्रका फिरऊनहरूलाई थाह थियो जस्तो देखिन्छ किनभने तिनीहरूले मरेको मानिसलाई सुनको मुकुन्डो लगाइदिन्थे। सुन कत्तिको खप्ने हुन्छ भन्‍ने कुरा पुरातत्त्वविद्‌हरूले हजारौं वर्षअघि मरेको फिरऊन टुटानखामेनको चिहान खन्दा पत्ता लगाएको कुराबाट स्पष्ट हुन्छ। त्यो जवान मृत राजालाई लगाइदिएको सुनको मुकुन्डोमा एउटा सानो खोट समेत भेटिएन र त्यसको चमक पनि जस्तातस्तै थियो।

सुनको चमक जाँदैन किनभने फलाम र अन्य धातुलाई जस्तो पानी र हावाले यसलाई केही असर गर्न सक्दैन। सुनमा सजिलै करेन्ट पास हुने र यो नखिइने भएकोले इलेक्ट्रोनिक सरसामान बनाउन एकदमै उपयोगी हुन्छ। वर्षेनी, टिभी, भिसीआर, मोबाइल फोन र झन्डै पाँच करोड कम्प्युटर बनाउन लगभग २,००,००० किलो सुन प्रयोग गरिन्छ। त्यसको अलावा गुणस्तरीय सीडीलाई धेरै खप्ने बनाउन यसमा राम्रो खाले सुनको पातलो पत्र लगाइएको हुन्छ।

सुनको पातलो पत्रले अचम्मको काम गर्छ। प्रकाशसँग यसले कस्तो काम गर्छ, त्यसलाई नै हेरौं न। एकदमै पातलो सुनको पत्रबाट प्रकाश सजिलै वारपार छिर्न सक्छ। यत्तिको पातलो सुनको पत्रबाट हरियो प्रकाश सहजै छिरे तापनि विकिरणचाहिं छिर्न सक्दैन। सुनको जलप लगाएको सिसाको झ्यालबाट प्रकाश भित्र छिर्ने तर तापचाहिं नछिर्ने भएकोले आधुनिक हवाईजहाजको ककपिटको ऐनामा पनि सुनको जलप लगाइएको हुन्छ। त्यस्तै गरी आजकाल थुप्रै अफिस भवनहरूको झ्यालको ऐनामा पनि सुनको जलप लगाउने गरिन्छ। त्यति मात्र होइन, अन्तरिक्षयानको विशेष भागहरूलाई प्रकाश छिर्न नसक्ने मोटाइ भएको सुनको पत्रले बेर्ने गरिन्छ। यसो गर्दा, ती पुर्जाहरू प्रकाशको कडा विकिरण र तापबाट जोगिन्छ।

ब्याक्टेरियाको आक्रमणबाट जोगिन पनि सुन प्रयोग गर्न सकिन्छ। त्यसैकारण दन्त-चिकित्सकहरूले बिग्रिएको वा कीराले खाएको दाँत भर्न सुन प्रयोग गर्छन्‌ वा नक्कली दाँत पनि सुनको बनाउँछन्‌। हालसालैका दिनहरूमा, बिग्रिएको नसा खोल्न शल्यक्रिया गरेर राखिने सानो पाइप अर्थात्‌ स्टेन्ट्‌समा पनि सुनको लेप लगाइको हुन्छ।

सुनको उपयोगिता, मूल्य र सौन्दर्यलाई हेर्दा, यस्तो आकर्षक वस्तुलाई धुइँपत्ता लगाएर खोज्न मानिसहरू कहाँ पछि हट्‌छन्‌ होला र! (g05 9/22)

[फुटनोट]

a सुन यत्ति गह्रुँगो हुन्छ कि, लम्बाइ, चौडाइ र उचाइ एक फिट तीन इन्च भएको चारपाटे बाकस जत्रो सुनको तौल एक टन अर्थात्‌ १००० किलो हुन्छ।

[पृष्ठ २५-मा भएको पेटी]

सुन कहाँ-कहाँ पाइन्छ?

चट्टान: ज्वालामुखी फुट्‌दा निक्लेको पदार्थ जमेर बनेको चट्टानहरूमा सुन कम मात्रामा पाइन्छ। त्यस्ता चट्टानहरूलाई आग्नेय चट्टान भनिन्छ। कतिपय चट्टानहरूमा भने सुन निकै पाइन्छ। ती चट्टानहरूमा कम्पनीहरूले खानी खनेर धाउ निकाल्छन्‌ र धाउ प्रशोधन गरी सुन निकाल्छन्‌। एक हजार किलो चट्टानबाट निक्लेको एकदमै राम्रो धाउबाट लगभग ३० ग्राम मात्र सुन निकाल्न सकिन्छ।

चट्टाने ढिस्को: कुनै-कुनै बेला पत्रैपत्र परेको चट्टाने ढिस्कोमा पनि सुन पाइन्छ।

नदी: सुन भएका ढिस्कोहरू घाम, पानी र हुरीबतासले गर्दा बिस्तारै भासिंदै जान्छ र त्यहाँ भएका सुन स-साना कणको रूपमा नदी-नालाहरूमा थुप्रिन पुग्छ।

जमिनको सतह: जमिनको सतहमा पाइने सुनको ढिको बेढङ्‌ग आकारको हुन्छ। कोही बेला यस्ता ढिकाहरू बडेमाको पनि हुन्छन्‌। आजसम्म भेटेको सबैभन्दा ठूलो ढिको ६० किलोको छ। यो सन्‌ १८६९ मा अस्ट्रेलियाको भिक्टोरियामा भेटिएको हो र यसलाई द वेलकम स्ट्रेन्जर नाम दिइएको छ। ठूला-ठूला सुनका ढिकाहरू पाइने ठाउँ अस्ट्रेलिया नै हो। अहिलेसम्म भेट्टिएका २५ वटा ठूल-ठूला सुनका ढिकाहरूमध्ये २३ वटा त अस्ट्रेलियामै भेट्टिएको छ। आजकाल, सलाईको काँटीको टाउको जत्रो मात्र भएको सुनको ढिकोको मूल्य दामी हीराको जत्ति नै पर्छ।

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

मेटल डिटेक्टरले कसरी काम गर्छ?

मेटल डिटेक्टरभित्र भएका दुइटा क्वाइल नै यसको मुख्य पुर्जा हो। एउटा क्वाइलमा करेन्ट पठाएपछि यसको चुम्बकीय शक्‍ति सक्रिय हुन्छ। त्यसपछि कुनै धातुमाथि मेटल डिटेक्टर पर्दा त्यस धातुको पनि चुम्बकीय शक्‍ति सक्रिय हुन्छ। तब मेटल डिटेक्टरको अर्को क्वाइलले धातुको चुम्बकीय शक्‍तिलाई पक्रन्छ र पिलिक-पिलिक बत्ती बाली आवाज निकालेर सिग्नल दिन्छ।

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १८०० दशकको मध्यतिर सुनको लागि तँछाड-मछाड:

१. सटर मिल, क्यालिफोर्निया, अमेरिका

२. बेन्डिगो क्रिक, भिक्टोरिया, अस्ट्रेलिया

३. गोल्डेन पोइन्ट, ब्यालऱ्‍याट, भिक्टोरिया, अस्ट्रेलिया

[पृष्ठ २६-मा भएको चित्र]

सुनको अत्याधुनिक प्रयोग

गुणस्तरीय सीडीमा सुनको पातलो पत्र लगाइएको हुन्छ

अन्तरिक्षयानमा सुनको पत्रको प्रयोग गरिएको हुन्छ

माइक्रोचिप्समा सुनको प्रयोग

सुनले मोहरेको तारमा सजिलैसित करेन्ट पास हुन्छ

[पृष्ठ २६-मा भएको चित्र]

सुन खानीका खाडलहरूमध्ये सबैभन्दा गहिरो खाडल, क्यल्गुर्ली-बोल्डर, पश्‍चिम अस्ट्रेलियामा