सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अचाक्ली रक्सी पिउनु—समाजको लागि विपत्तिजनक

अचाक्ली रक्सी पिउनु—समाजको लागि विपत्तिजनक

अचाक्ली रक्सी पिउनु—समाजको लागि विपत्तिजनक

एकातिर रक्सीले आनन्द दिन्छ भने अर्कोतिर दुःखदायी परिणामहरू पनि निम्त्याउँछ। ठिक्क मात्रामा पिउँदा मानिसको मन खुसी हुन सक्छ भनेर बाइबल बताउँछ। (भजन १०४:१५) तर अचाक्ली रक्सी पिउनु हानिकारक र विषालु सर्पको डसाइ जत्तिकै खतरनाक हुन सक्छ भनेर पनि बाइबल चेतावनी दिन्छ। (हितोपदेश २३:३१, ३२) अचाक्ली रक्सी पिउँदा व्यहोर्नुपर्ने क्षतिलाई नजिकबाट नियालौं।

“मादक पदार्थ सेवन गरी चलाएको गाडीले गत शनिबार २५ वर्षीया महिला र निजको दुई वर्षीय छोरालाई किचेको छ। . . . उपचार गराउँदा-गराउँदै आइतबार मृत्यु भएकी उक्‍त महिला छ महिनाको गर्भवती भएको कुरा पनि बुझिन आएको छ। छोरालाई भने टाउकोमा गम्भीर चोट लागेको कारण अवस्था चिन्ताजनक छ।” यो घटना फ्रान्सको अखबार ले मोन्ड-मा प्रकाशित समाचार हो। दुःखको कुरा, यस्ता घटनाहरू कहिलेकाहीं मात्र सुनिने नौला खबरहरू होइनन्‌। अचाक्ली रक्सी पिएको कारण दुर्घटनामा परेको कसैलाई सायद तपाईं पनि चिन्‍नुहुन्छ होला। रक्सी पिएको कारण सडक दुर्घटनामा परेर हरेक वर्ष हजारौं व्यक्‍तिहरूको मृत्यु हुन्छ वा घाइते हुन्छन्‌।

मृत्यु हुनेहरूको संख्या

विश्‍वव्यापी रूपमा हेर्ने हो भने अत्यधिक रक्सी पिएको कारणले गर्दा हुने चोटपटक, बिमारी र मृत्युको क्षति अवर्णनीय छ। फ्रान्समा क्यान्सर र मुटु रोगपछि सबैभन्दा धेरै मानिसहरूको मृत्यु रक्सीको अत्यधिक प्रयोगको कारणले गर्दा नै हुन्छ। हरेक वर्ष लगभग ५०,००० जनाको मृत्युमा यसको प्रत्यक्ष वा अप्रत्यक्ष हात रहेको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक गरिएको एउटा प्रतिवेदनले “हरेक हप्ता दुई वा तीनवटा जम्बो जेट दुर्घटना हुँदा” वर्षभरिमा जति मानिसहरू मर्छन्‌, रक्सीको अत्यधिक प्रयोगको कारण वर्षभरिमा फ्रान्समा त्यति नै मानिसहरू मर्छन्‌ भनी बताएको छ।

रक्सीको कारण मृत्यु हुनेहरूमा युवाहरू अग्रपङ्‌तिमा आउँछन्‌। विश्‍व स्वास्थ्य संगठनद्वारा सन्‌ २००१ मा प्रकाशित एउटा प्रतिवेदनअनुसार १५ देखि २९ वर्षबीचका युरोपेलीहरूको मृत्युको प्रमुख कारण रक्सी नै हो। केही समयपछि, पूर्वी युरोपका केही देशहरूमा रक्सीको अत्यधिक प्रयोगले त्यहाँका एक तिहाइ युवाहरूको ज्यान लिने अनुमान गरिएको छ।

हिंसा र यौन दुर्व्यवहार

रक्सीले हिंसात्मक व्यवहार गर्न सुऱ्‍याउँछ। पिएपछि मानिसलाई डर-भर लाज-शरम केही हुँदैन। अरूले गरेका कामहरूको गलत अर्थ लगाउँछ र झगडा गर्ने निहुँ खोज्छ।

घरेलु हिंसा र यौन दुर्व्यवहार बढाउनमा रक्सीले ठूलो भूमिका खेल्छ। फ्रान्सका कैदीहरूमाझ गरिएको एउटा अध्ययनले देखाएअनुसार बलात्कार र अभद्र व्यवहारका दुई तिहाइ घटनाहरूमा रक्सीको हात रहेको थियो। सर्वेक्षणहरूले देखाएअनुसार पोल्याण्डका ७५ प्रतिशत जँड्याहाहरूले आफ्नी पत्नीलाई कुटपिट गर्छन्‌ भनी पोलिटिका पत्रिका बताउँछ। एउटा अध्ययनका अनुसन्धानकर्ताहरूले यसो भने: “रक्सीको प्रयोगले सबै उमेरका व्यक्‍तिहरूमाझ हिंसाको सम्भावनालाई लगभग दुई गुना बढाउँछ। कसैले रक्सी नपिए तापनि त्यो व्यक्‍ति रक्सी पिउने व्यक्‍तिसित एउटै घरमा बस्छ भने उसको हत्या हुने सम्भावना बढी हुन्छ।”—अमेरिकी चिकित्सक संघ, वैज्ञानिक मामिलासम्बन्धी परिषद्‌।

समाजले व्यहोर्नुपर्ने क्षति

दुर्घटना, बिमारी वा अकालमै हुने मृत्युको कारण व्यहोर्नुपर्ने अस्पताल खर्च र बिमा खर्चका साथै उत्पादनशीलतामा आउने कमी हिसाब गर्ने हो भने समाजले व्यहोर्नुपर्ने आर्थिक क्षति कहालीलाग्दो छ। आयरल्याण्डका ४० लाख मानिसहरूले रक्सीको कारण प्रत्येक वर्ष कम्तीमा एक अरब अमेरिकी डलर (ने.रु. ७२ अरब) क्षति व्यहोर्छन्‌। दि आइरिश टाइम्स-मा उल्लेख गरिएको एउटा स्रोतले बताएअनुसार यति पैसाले “हरेक वर्ष एउटा अस्पताल र एउटा रंगशाला बनाउन अनि आयरल्याण्डका हरेक मन्त्रीहरूका लागि एउटा-एउटा जेट विमान किन्‍न पुग्छ।” सन्‌ १९९८ मा माइनिची डेली न्युज-ले बताएअनुसार अत्यधिक मदिरा सेवनले गर्दा जापानको अर्थतन्त्रमा “एक वर्षमा ६० खरब येन [५५ अरब अमेरिकी डलर] (ने.रु. ३९.६ खरब)” भार पऱ्‍यो। अमेरिकी संसद्‌सामु पेश गरिएको एउटा प्रतिवेदनले यसो भन्यो: “मदिरा सेवनको कारण व्यहोर्नुपरेको अनुमानित आर्थिक भार सन्‌ १९९८ मा मात्र १.८४६ खरब अमेरिकी डलर (ने.रु. १३२.९१ खरब) थियो। यसको अर्थ त्यस वर्ष अमेरिकामा बसिरहेका हरेक पुरुष, स्त्री अनि बच्चाहरूको टाउकोमा लगभग ६३८ अमेरिकी डलर (ने.रु. ४५,९३६) पर्छ।” अनि रक्सीको कारण परिवार टुक्रँदा वा कसैको मृत्यु हुँदा यसले पार्ने मानसिक असरको मूल्य कति तोक्ने? त्यसमाथि पढाइ र करिअरमा धक्का पुग्ने कुरा त छँदैछ।

रक्सीको अत्यधिक प्रयोगको कारण समाजले व्यहोर्नुपर्ने क्षति सबैसामु घाम जत्तिकै छर्लङ्‌ग छ। कतै तपाईंको पिउने बानीले तपाईंको र अरूको स्वास्थ्यलाई खतरामा पारिरहेको त छैन? यस प्रश्‍नबारे अर्को लेखमा विचार गरिनेछ। (g05 10/8)