सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के नारीहरूले सिंगार गर्नै हुँदैन?

के नारीहरूले सिंगार गर्नै हुँदैन?

बाइबलको दृष्टिकोण

के नारीहरूले सिंगार गर्नै हुँदैन?

“फेसन भनेपछि आइमाईहरू हुरुक्कै हुन्छन्‌।” यो भनाइ न्यु योर्क फेसन इन्स्टिच्युट अफ टेक्नोलजीका अनुभवी फेसन डिजाइनर तथा प्रोफेसर जर्ज सिमन्टनको हो। तिनी भन्छन्‌: “आइमाईहरू आफ्नो बेग्लै पहिचान बनाउन अनि आकर्षक देखिन चाहन्छन्‌। . . . मेरो विचारमा आइमाईहरू आफ्नो इज्जत राख्न र अरूको पनि इज्जत गर्न चाहन्छन्‌, त्यसैले तिनीहरू सिंगार गर्छन्‌।” हो, नारीहरूले सिंगार गर्न थालेको भर्खर मात्रै होइन। आफ्नो नारीत्व व्यक्‍त गर्न, अझ राम्री देखिन र आत्मविश्‍वास बढाउन नारीहरू उहिलेदेखि सिंगारिन्थे।

तथापि, धर्मको आडमा केही व्यक्‍तिहरूले नारीहरूले गर्ने सिंगारलाई आपत्तिजनक तुल्याएका छन्‌। “धर्ममा आस्था राख्ने . . . सुन्दर नारीहरूले . . . अझ सुन्दरी देखिने कोसिस गर्नुहुँदैन, बरु आफ्नो सुन्दरतालाई लुकाउनुपर्छ” भन्‍ने भनाइ तेस्रो शताब्दीका टर्टुलियनको थियो। सौन्दर्य साधनबारे तिनले अझै यसो भने: “अनुहारमा क्रिम पोत्ने, गालामा लाली दल्ने अनि आँखीभौं लामो पार्ने आइमाईहरू पापी हुन्‌।” अनि तिनको विचारमा सुन-चाँदीका “गहनाहरू पासो थाप्ने साधनहरू” हुन्‌।

आज पनि थुप्रैलाई नारीहरूले सिंगार गरेको पटक्कै मन पर्दैन। कुनै-कुनै धर्मले त आफ्ना अनुयायीहरूलाई गहना लगाउन, सिंगार गर्न वा रङ्‌गीविरङ्‌गी लुगा लगाउनसमेत बन्देज गरेको छ। के मसीही नारीले सिंगार गर्नै हुँदैन? अथवा के तिनले आफ्नो सौन्दर्यलाई अझ बढाउने कोसिस गर्नै हुँदैन?

परमेश्‍वरको दृष्टिकोण

हुन त, बाइबलमा गहना लगाउने र सौन्दर्य साधनहरू प्रयोग गर्नेबारे विस्तृत छलफल गरिएको छैन। तर, गहना लगाउनु वा सिंगारिनुलाई परमेश्‍वरले नराम्रो मान्‍नुहुन्‍न भन्‍ने थुप्रै प्रमाणहरू छन्‌।

उदाहरणको लागि, यरूशलेम शहरमाथि आफ्नो निगाह जनाउन परमेश्‍वरले त्यस शहरलाई एउटी नारीसित दाँज्दै यसो भन्‍नुभयो: “मैले तँलाई गर–गहनाले आभुषित गरें . . . तँ अत्यन्तै सुन्दरी भएर बढ़िस्‌।” (इजकिएल १६:११-१३) यहाँ चर्चा गरिएका गहनाहरू साँच्चैका नभए तापनि त्यस्ता गहनाहरूमा बाला, हार र मुन्द्री पर्छन्‌। बाइबलमा सुनका गहनाहरूलाई “बुद्धिमान मानिसको अर्ती[सित]” तुलना गरिएको छ, जसको अर्ती स्रोताले ध्यानसित सुन्छ। (हितोपदेश २५:१, १२) बाइबलमा गहनालाई राम्रो उदाहरणको रूपमा चलाइएको हुनाले पक्कै पनि परमेश्‍वर नारीहरूको सिंगार गर्ने चाहनालाई गलत सम्झनुहुन्‍न।

मसीही नारीहरूको सिंगार

बाइबलका केही पदहरूमा नारीहरूले प्रयोग गर्ने गहनाबारे सीधै उल्लेख गरिएको छ। प्रेरित पावलले यस्तो लेखे: “यसै गरी म चाहन्छु, कि स्त्रीहरूले . . . सुहाउँदो वस्त्र पहिरून्‌।” “सरलता र भद्रतासाथ” सिंगार गरिएको छ भने त्यस नारीले परमेश्‍वरको भक्‍ति गर्छिन्‌ भन्‍ने स्पष्ट देखिन्छ। (१ तिमोथी २:९, १०, NRV) मसीही नारीले अभद्र सिंगार गरेकी छैनन्‌ भने परमेश्‍वरको शिक्षा र मण्डलीको सम्मान बढ्‌छ।

माथि उल्लिखित पदमा स्त्रीहरू “केशको बढ़ी सिङ्‌गार गरेर, सुन, मोती र बहुमूल्य वस्त्रहरू पहिरेर होइन, तर असल कामद्वारा सुसज्जित होऊन्‌, जो परमेश्‍वरको भक्‍ति गर्ने स्त्रीहरूलाई सुहाउँछ” लेखिएको छ। यही पदलाई लिएर कोही-कोही व्यक्‍तिहरूले मसीही नारीले सिंगार गर्नुहुँदैन भन्‍ने तर्क गर्छन्‌। के यसको मतलब नारीहरूले कपाल बनाउनै हुँदैन अथवा गहना लगाउनै हुँदैन?

होइन, सिंगारिनुलाई बाइबलमा नराम्रो मानिएको छैन। केही खास प्रकारका सौन्दर्य साधन प्रयोग गर्नुमा प्रतिबन्ध लगाउनुको साटो पावल नारीहरूलाई विशेष गरी मसीही गुणहरू र असल कामद्वारा सिंगारिन प्रोत्साहित गर्दै थिए।

सिंगारिनुको मनसाय

“यसैकारण हामी एकले अर्कोलाई अब दोष नलगाऔं, तर यो विचार गर, कि कसैले आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो, अथवा लोट्‌ने कारण नगरिदिओस्‌,” प्रेरित पावलले लेखे। (रोमी १४:१३) सिंगार जस्तो व्यक्‍तिगत छनौटको कुरामा यो पद कसरी प्रयोग हुन्छ?

सबैभन्दा पहिले त पावल हामीलाई “एकले अर्कोलाई अब दोष नलगाऔं” भन्छन्‌। हामी “आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरो, अथवा लोट्‌ने कारण” बन्‍नदेखि होसियार हुनैपर्छ। के ठीक छ, के ठीक छैन, ठाउँ अनि संस्कृतिअनुसार फरक-फरक हुन्छ। केही समयअघि वा कुनै ठाउँमा स्वीकार्य सिंगार अहिले अस्वीकार्य हुनसक्छ। जे होस्‌, हाम्रो सिंगार देखेर समाजले गलत अर्थ लगाउँछ भने त्यस्तो सिंगार गरेर वा गहना लगाएर हामी अरूलाई ठेस लाग्ने कारण बन्‍नु हुँदैन। परमेश्‍वरको डर मान्‍ने नारीहरूले आफैलाई यी प्रश्‍नहरू सोध्नुपर्छ: मैले लगाएको लुगा यो समाजमा पच्छ कि पच्दैन? मेरो पहिरन देखेर मण्डलीका भाइबहिनीहरूले अप्ठ्यारो मान्‍ने अथवा जिब्रो टोक्ने पो गर्छन्‌ कि? कस्तो सिंगार गर्ने, त्यो आफ्नो हकको कुरा भए तापनि आफ्नो सिंगार कसैको निम्ति ठेस खाने कारण हुन्छ भने मसीही नारी आफ्नो हक खोज्दिनन्‌।—१ कोरिन्थी १०:२३, २४.

आफ्नो सौन्दर्यमा बढ्‌तै ध्यान दिंदा सिंगारिने मनसाय नै गलत हुनसक्छ। आजकाल केही मुलुकहरूमा पुरुषहरूलाई आकर्षित गर्न नारीहरू अभद्र सिंगार गर्छन्‌। तर मसीही नारीहरू सौन्दर्यको दुरुपयोग पटक्कै गर्दैनन्‌ र “परमेश्‍वरका वचनको निन्दा हुन नपाओस्‌” भनी व्यक्‍तिगत कुराहरूमा पनि भद्र अनि सरल हुने कोसिस गर्छन्‌।—तीतस २:४, ५.

आफ्नो सौन्दर्य बढाउन जस्तोसुकै बाह्‍य सिंगार गरे तापनि आफ्नो वास्तविक सुन्दरता त “भित्री हृदय” कस्तो छ त्यसमा आधारित हुन्छ र त्यस्तो सुन्दरता आफ्नो मनसाय र व्यवहारमा झल्किन्छ भन्‍ने कुरा परमेश्‍वरको डर मान्‍ने नारीहरूले बुझेका छन्‌। (१ पत्रुस ३:३, ४, NRV) आफ्नो पहिरन, सिंगार अनि गहनासम्बन्धी बुद्धिमानी छनौट गर्ने नारीले अरूको आदर कमाउँछिन्‌ भने आफ्नो सृष्टिकर्ताको पनि आदर गर्छिन्‌। (g05 10/8)