मन बिसाउने चौतारी
मन बिसाउने चौतारी
डोलोरेस गोमेज यहोवाका साक्षी थिइन्। तिनी स्पेन, बार्सिलोना नजिकैको सानो सहरमा बस्थिन्। चवालीस वर्षको अल्पायुमै तिनलाई ब्रेन ट्युमर भयो। अब आठ महिनाभन्दा बढी नबाँच्ने डाक्टरले बताए। यो नमीठो क्षणमा सँगी मसीहीहरूले तिनलाई मन खोलेर माया पोखाए। जीवनको अन्तिम सास लिइरहेकी बेला स्पेनका विभिन्न ठाउँबाट आफन्तहरू तिनलाई हेर्न आए। तिनीहरू यहोवाका साक्षी थिएनन्।
त्यहाँका साक्षीहरूले ती आफन्तहरूको खातिरदारी गरे। बास दिए, खाना खुवाए, यातायातको प्रबन्ध गरिदिए, अन्य खाँचो पनि टारिदिए। साक्षीहरूको यस्तो चोखो भावनाले आफन्तहरूको मन छोयो। साथै, जीवनको अन्तिम घडीसम्मै डोलोरेसको अटल विश्वास र निष्ठाले पनि तिनीहरूमा गहिरो छाप पाऱ्यो। मनमा ठप्प बसेको त्यो छापलाई शब्दमा तिनीहरूले यसरी कोरे। (g05 10/22)
“यो पत्र ती सज्जनहरूका लागि, जसले हाम्रो मुटुमा विशाल ठाउँ ओगटेका छन्। उनीहरू अरूलाई चोखो माया दिन्छन्। त्यो मायालाई मीठा शब्दहरूमा व्यक्त गर्ने मात्र होइन तर मदतको हात बढाएर पोखाउँछन् पनि। जीवनको अँध्यारो मोडमा हामीले पनि उनीहरूबाट त्यही माया पायौं। त्यस्तो मोड, जतिबेला हाम्री बहिनी लोली [डोलोरेस] पल-पल मृत्युसँग लडिरहेकी थिइन्।
“यस दुःखको घडीमा मर्माहात हामी सबै (स्पेनभरिका आफन्तहरू) यहाँहरूप्रति स्नेहको दुई शब्द पोख्दै आभार व्यक्त गर्दैछौं। अब त हाम्री प्यारी बहिनीको सम्झना मात्र बाँकी छ। तर बाँचुन्जेल तपाईंहरूले उनको हर सुख-दुःखमा साथ दिनुभयो। उनको खुसीमा मुस्कुराउनुभयो र उनी रूँदा आँसु पुछिदिनुभयो।
“हामीले चोखो माया र एकताको अनुपम अनुभूति गऱ्यौं। अब हामी घर फर्कन्छौं र आ-आफ्नो कामकुरोमा लाग्छौं। हाम्री बहिनी लोली र तपाईंको चोखो मायाले हामीलाई छाप पारेको छ र त्यही मायाको नयाँ गोरेटोमा हाम्रा पाइलाहरू अघि बढाउनेछौं। अब हाम्रो जीवनले भने अर्कै मोड लिनेछ।
“प्यारा मित्रहरू! बिदा हुन त मन थिएन। तर केही छैन, हाम्रो भेट फेरि भइहाल्नेछ। तब सम्मको लागि बिदा। तपाईंहरूको आत्मीय र चोखो माया मुटुमा सँगाल्दै हाम्रो अभिव्यक्तिका दुई शब्द यतिमै टुङ्ग्याउँछौं। यहोवाको आशिष् सदा तपाईंहरूसित रहोस्!”
डोलोरेस गोमेजको परिवारका हस्ताक्षरहरू
[पृष्ठ ३१-मा भएको चित्र]
स्थानीय साक्षीहरू