सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रक्सीको दलदलबाट निस्कने

रक्सीको दलदलबाट निस्कने

रक्सीको दलदलबाट निस्कने

“मेरो बुबा खुब रक्सी पिउनुहुन्थ्यो र मैले पनि उहाँकै पाइला पछ्याएँ। बाह्र वर्षको उमेरमै मैले पिउन थालिसकेको थिएँ। विवाह गर्ने बेलासम्ममा त म हरेक दिन मातिएको हुन्थें। म निकै आक्रमक हुन्थें। हाम्रो घरझगडा मिलाउन अक्सर प्रहरी आउनुपर्थ्यो। मेरो स्वास्थ्य बिग्रियो। रक्सीले गर्दा मलाई पेटको रक्‍तश्राव पनि भयो। झन्डै मरेको! त्यसपछि मलाई सिरोसिस्‌ र रक्‍तअल्पता भयो। रक्सी छोड्‌नको लागि म रक्सी छोड्‌ने प्रयास गरिरहेका व्यक्‍तिहरूको एउटा समूहमा सामेल भएँ तर केही सीप लागेन। मलाई कहिल्यै उम्कन नसक्ने दलदलमा फसेको महसुस हुन्थ्यो।”—भिक्टर, a अर्जेन्टिना।

रक्सीको दलदलमा फसेकाहरूको मुखबाट यस्ता व्यथाहरू बारम्बार सुन्‍न पाइन्छ। भिक्टरजस्तै तिनीहरू पनि यसबाट उम्कने बाटो नभएको महसुस गर्छन्‌। रक्सीले गर्दा हुने समस्याहरू पार गर्न वा त्यस्ता समस्याहरू आउनै नदिन के सम्भव छ? छ भने कसरी?

समस्या पहिचान गर्ने

सबैभन्दा पहिला त रक्सी पिउने व्यक्‍ति र उसको नजिकका मानिसहरूले उसलाई रक्सीको लत लागेको कुरा स्वीकार्नु अत्यावश्‍यक छ। रक्सीमाथिको निर्भरता सानो सुरुवात मात्र हो। पिउने लत एकै चोटिमा बस्दैन। पहिला ठिक्क पिउने व्यक्‍तिलाई नै बिस्तारै रक्सीको लत बस्छ। अचम्मको कुरा, प्रायजसो दुर्घटना, हिंसा र सामाजिक विसंगति जस्ता कुराहरू रक्सीमाथि निर्भर भएकाहरूले गर्दा हुने होइन। विश्‍व स्वास्थ्य संगठनले के भन्छ, विचार गर्नुहोस्‌: “समाजमा रक्सीसित सम्बन्धित समस्याहरू घटाउने सर्वोत्तम उपाय जँड्याहाहरूलाई पिउनदेखि रोक्नु नभई ठिक्क पिउनेहरूले जति पिउँछन्‌, त्यसको मात्रा कम गर्नु हो।” (छड्‌के अक्षर हाम्रो।) के तपाईं स्वास्थ्यकर्मीहरूले तोकेकोभन्दा बढी पिउनुहुन्छ? के तपाईं चनाखो हुनुपर्ने र तुरुन्तै प्रतिक्रिया देखाइहाल्नुपर्ने बेलामा पिउनुहुन्छ? तपाईंको पिउने बानीले परिवारमा वा काम गर्ने ठाउँमा समस्या निम्त्याइरहेको त छैन? पछि गम्भीर समस्याहरू खडा हुन नदिने “सर्वोत्तम उपाय” जति पिउनुहुन्छ, त्यो हानिकारक पो छ कि भनी केलाउनु र मात्रा कम गर्दै लैजानु हो। एक पटक रक्सीमाथि निर्भर भइसकेपछि बरु भात छोड्‌न सजिलो होला, रक्सी छोड्‌न गाह्रो हुन्छ।

अचाक्ली रक्सी पिउनेहरूको एउटै समस्या धेरै पिउँछु भनेर स्वीकार्न तयार नहुनु हो। तिनीहरू भन्छन्‌, “कहाँ धेरै पिएको छु र? अरूले जति नै पिएको त हो नि।” वा यसो भन्लान्‌, “चाहें भने तुरुन्तै छोड्‌न सक्छु।” रूसका कोन्स्टान्टिन भन्छन्‌, “रक्सीले ज्यानै लिन लागिसक्दा पनि आफूलाई रक्सीको लत लागेको कुरा मैले स्वीकारिनँ। त्यसैले रक्सी छोड्‌ने प्रयासै गरिनँ।” पोल्याण्डका मारेक आफ्नो विगत यसरी सम्झन्छन्‌, “रक्सी छोड्‌न मैले धेरै कोसिस गरें। तर म जँड्याहा हुँ भनेर चाहिं मैले कहिल्यै स्वीकारिनँ। रक्सीले गर्दा आइपरेका समस्याहरूलाई म वास्ता गर्दिनथें।”

कुनै व्यक्‍तिलाई रक्सीको लत लागेको छ भनेर स्वीकार्न अनि आवश्‍यक कदमहरू चाल्न उसलाई कसरी मदत दिन सकिन्छ? पहिला, अचाक्ली रक्सी पिएको कारण नै समस्याहरू खडा भएको हो र रक्सी छोडेमा आफ्नो जीवनस्तर उकासिन्छ भनेर मानि लिनुपर्छ। एउटा फ्रान्सेली पुस्तकले (ला रिभ्यु डु प्राटिसिन—मेडिसिन जेनेरली) बताएअनुसार रक्सी छोड्‌ने हो भने “स्वास्नीले छोडेकीले र जागिर पनि चट्‌ भएकोले मैले पिउन थालें” भन्‍ने सोचाइ त्यागेर “मैले पिएकोले स्वास्नीले मलाई छोडी र जागिर पनि चट्‌ भयो” भन्‍ने सोच्नुपर्छ।

रक्सीमाथि निर्भर व्यक्‍तिको सोचाइमा यस्तो परिवर्तन ल्याउन मदत गर्न चाहनुहुन्छ भने निम्न सुझावहरू प्रयोगमा ल्याउनु बेस हुन्छ: उसको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌, उसको भावना र सोचाइ खुलस्त व्यक्‍त गर्न लगाउने खालका प्रश्‍नहरू सोध्नुहोस्‌, उसको समस्या तपाईंले बुझ्नुभएको छ भनी देखाउनुहोस्‌, अलिकता प्रगति गरेको छ भने पनि तारिफ गर्नुहोस्‌, उसलाई दोषी ठहराउने वा त्यस्तै अरू काम नगर्नुहोस्‌। यसो गर्नुभयो भने उसले आफ्नो कुरा खुलस्त बताउँछ र तपाईंसित मदत माग्न हिचकिचाउँदैन। रक्सी पिइरहँदा हुने बेफाइदाहरू र पिउन छोड्‌दा हुने फाइदाहरूको दुइटा सूची तयार गर्न लगाउनु पनि राम्रो हुन सक्छ।

मदत खोज्ने

कुनै व्यक्‍तिले अचाक्ली रक्सी पिउन थाल्दा अब उसलाई सुधार्नै सकिंदैन भनेर आश मार्नु पर्दैन। कोही-कोही अरूको मदतविनै यस दलदलबाट निस्कन सक्छन्‌। तथापि, रक्सीमाथि निर्भर भइसकेकाहरूलाई भने चटक्कै रक्सी छोड्‌न विशेषज्ञहरूको मदत चाहिन सक्छ। b कोही-कोहीले घरैबाट उपचार केन्द्र धाएर पनि रक्सी छोड्‌न सक्छन्‌। तर रक्सी छोड्‌दा विभिन्‍न लक्षणहरू देखा परे भने अस्पतालमै भर्ना हुनुपर्ने हुन सक्छ। दुईदेखि पाँच दिनपछि, रक्सी छोड्‌दा सुरु-सुरुमा देखा पर्ने गडबडीहरू ठीक भइसकेपछि डाक्टरहरूले रक्सीको तलतल घटाएर रक्सीदेखि टाढा रहिरहन मदत गर्ने औषधीहरू दिन सक्छन्‌।

तथापि, रक्सी छुटाउने उपाचरहरू शत प्रतिशत सफल हुन्छन्‌ नै भन्‍ने ग्यारेण्टी छैन। औषधोपचार अस्थायी समाधान मात्र हो, पूर्ण उपचार होइन। फ्रान्सका एलेनले रक्सी छोड्‌न थुप्रै उपचारहरू अपनाए। तिनी भन्छन्‌, “अस्पतालबाट बाहिर निस्कने बित्तिकै म फेरि पिउन थाल्थें किनकि मैले पहिला सँगै बसेर रक्सी पिउने पुराना साथीहरू छोडेको थिइनँ। भन्‍ने हो भने ममा रक्सी छोड्‌ने भित्री उत्प्रेरणा नै थिएन।”

रिक्‍तता पुर्ने

वास्तवमा, रक्सी छोड्‌दा एक प्रकारको रिक्‍तता र कोही घनिष्ठ साथी गुमाएजस्तो महसुस हुने हुनाले धेरैले रक्सी छोड्‌न सक्दैनन्‌। रूसका भ्यासिली भन्छन्‌, “चौबीसै घण्टा म रक्सीबारे मात्र सोचिरहेको हुन्थें। कुनै दिन रक्सी नपिई बित्यो भने आजको दिन त्यसै खेर गयो जस्तो लाग्थ्यो।” रक्सीमाथि निर्भर भइसकेकाहरूको लागि रक्सीको तलतल मेटाउनु जति महत्त्वपूर्ण कुरा अरू केही पनि हुँदैन। पोल्याण्डका जर्जी यसरी सम्झन्छन्‌, “मेरो जीवनको एक मात्र लक्ष्य पिउनु र पिउने पैसा जम्मा गर्नु थियो।” कुरा प्रस्ट छ, रक्सी छोड्‌दै गरेका व्यक्‍तिहरूले फेरि रक्सी पिउन सुरु नगर्ने हो भने जीवनमा एउटा नयाँ लक्ष्य लिएर रिक्‍तता पुर्नुपर्छ।

आफ्नो पिउने बानीमा परिवर्तन ल्याउने कोसिस गरिरहेकाहरूको लागि विश्‍व स्वास्थ्य संगठनले एउटा निर्देशिका तयार पारेको छ। फेरि रक्सी पिउन सुरु नगर्ने हो भने उद्देश्‍यपूर्ण काममा लाग्नुपर्छ भनेर त्यस निर्देशिकाले जोड दिन्छ। त्यसमा दिइएका सुझावहरूमध्ये एउटा धार्मिक गतिविधिहरूमा भाग लिनु हो।

आध्यात्मिक कामकुरामा व्यस्त हुँदा रक्सीको दलदलबाट निस्कन मदत गर्न सक्छ। उदाहरणका लागि, रक्सीको कारण तेस्रो पटक झ्यालखानामा परेर त्यहाँबाट निस्केपछि एलेनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। तिनी भन्छन्‌, “बाइबल अध्ययन गरेपछि मैले आफ्नो जीवनको उद्देश्‍य थाह पाएँ। यसले मलाई रक्सीको लतमा फेरि नफस्न मदत गऱ्‍यो। मेरो लक्ष्य पिउन छोड्‌नु मात्र थिएन, यहोवालाई खुसी बनाउनु पनि थियो।”

लक्ष्यबाट चुक्दा त्यसको सामना गर्ने

मद्यव्यसनसम्बन्धी सल्लाहकारहरूका अनुसार रक्सी छोड्‌दै गरेका मद्यव्यसनीहरूलाई मदत र प्रोत्साहनको खाँचो पर्छ। तिनीहरूको दयनीय अवस्थाको कारण थुप्रैले आफ्नो परिवार र साथीभाइहरू गुमाएका हुन्छन्‌। यसले गर्दा ऊ निराश हुन वा आत्महत्यासमेत गर्न सक्छ। पिउने समस्या भएकाहरूलाई मदत गरिरहेका व्यक्‍तिहरूलाई माथि उल्लिखित निर्देशिका यस्तो सुझाव दिन्छ: “तपाईंले मदत गरिरहनुभएको व्यक्‍तिको आनीबानीको कारण रिस उठ्यो वा हैरान हुनुभयो भने पनि सहनुहोस्‌। नबिर्सनुहोस्‌, कुनै पनि बानी त्याग्न सजिलो हुँदैन। कुनै हप्ता ऊ नपिई बस्न सक्ला, तर कुनै हप्ता पिउला। यस्तो भई नै हाल्छ। तपाईंको प्रोत्साहन, सकेसम्म कम पिउन वा पिउँदै नपिउनको लागि मदत र रचनात्मक सुझाव आवश्‍यक छ।”

तीस वर्षसम्म रक्सी पिएका हिलारियो भन्छन्‌, “यहोवाका साक्षीहरूको स्थानीय मण्डलीका साथीहरूको प्रेम र हेरचाहले मलाई रक्सी छोड्‌न मदत गऱ्‍यो। म बराम्बार चुकें तर मलाई प्रोत्साहन दिन र बाइबलबाट उपयुक्‍त सल्लाह दिन तिनीहरू सधैं मेरो साथमा थिए।”

तपाईं रक्सीको दलदलबाट निस्कन सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने नबिर्सनुहोस्‌, चुक्ने सम्भावना छँदैछ। घोडा चढ्‌ने अवश्‍य लड्‌छ। हरेस नखानुहोस्‌! के कारणले गर्दा चुक्नुभयो राम्ररी केलाउनुहोस्‌ र भविष्यमा फेरि त्यही गल्ती नदोहऱ्‍याउने प्रयास गर्नुहोस्‌। तपाईंलाई पिउन तलतल लाग्ने त्यस्ता कुनै खास अवस्थाहरू छन्‌ भने ती चिन्‍नुहोस्‌। अल्छी लाग्दा, निराश हुँदा, एक्लो महसुस हुँदा, कसैसित विवाद हुँदा, तनाव हुँदा वा अरूले पिउँदा तपाईंलाई पनि पिउन मन लाग्छ कि? त्यसो हो भने त्यस्ता अवस्थाहरूदेखि जोगिनुहोस्‌! चटक्कै रक्सी छोड्‌न दुई वर्ष लागेका जर्जी भन्छन्‌, “कुन कुराले गर्दा मलाई पिऊँ-पिऊँ लाग्छ, त्यो मैले ठम्याएँ। अहिले म त्यस्ता अवस्थाहरूदेखि दस हात परै बस्छु। रक्सी पिउने ठाउँमा म जान्‍नँ। रक्सी मिसाइएको खानेकुरा पनि खान्‍नँ। अल्कोहल भएको शृङ्‌गार सामग्री वा औषधीसमेत प्रयोग गर्दिनँ। रक्सीको विज्ञापन पनि हेर्दिनँ।” रक्सीको तलतल दबाउने “असामान्य शक्‍ति[का]” लागि परमेश्‍वरलाई प्रार्थना गर्नु पनि थुप्रैले मदतकारी पाएका छन्‌।—२ कोरिन्थी ४:७, NW; फिलिप्पी ४:६, ७.

मुक्‍त!

गाह्रो त हुन सक्छ, तर पनि रक्सीमाथिको निर्भरताबाट छुटकारा पाउन सम्भव छ। यस लेखमा उल्लेख गरिएका सबै व्यक्‍तिहरू यसमा सफल भएका छन्‌। तिनीहरू पहिलेभन्दा हट्टाकट्टा छन्‌ र आफ्नो परिवार अनि काम गर्ने ठाउँमा रक्सी छोड्‌दाका लाभहरू अनुभव गरिरहेका छन्‌। एलेन भन्छन्‌, “अहिले म रक्सीको पञ्जाबाट मुक्‍त छु।” कोन्स्टान्टिन भन्छन्‌, “यहोवालाई चिनेको कारण मेरो परिवार जोगियो। अहिले मेरो जीवनको उद्देश्‍य छ। मेरो आनन्द रक्सीमा निर्भर छैन।” भिक्टर भन्छन्‌, “अहिले म स्वतन्त्र महसुस गर्छु। ममा आत्मसम्मान छ र मेरो आफ्नै परिचय छ।”

दुर्घटनामा पर्नसक्ने गरी अचाक्ली रक्सी पिउने व्यक्‍ति होस्‌ वा रक्सीको कारण समस्याहरू झेलिरहेको व्यक्‍ति, उसले रक्सी छोड्‌न सक्छ। ऊ रक्सीमाथि निर्भर भइसकेकै भए तापनि ढिलो भइसकेको छैन। पिउने बानीले तपाईंको स्वास्थ्य र आनन्दमा असर पुऱ्‍याइरहेको छ भने आवश्‍यक परिवर्तन गर्न पछि नहट्‌नुहोस्‌। रक्सी छोड्‌नुमै तपाईं र तपाईंका प्रिय जनहरूको भलाइ छ। (g05 10/8)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b रक्सी छोड्‌न मदत गर्ने थुप्रै उपचार केन्द्र, अस्पताल र सुधार गृहहरू छन्‌। यहोवाका साक्षीहरूले कुनै खास प्रकारको उपचारविधि सिफारिस गर्दैनन्‌। धर्मशास्त्रीय सिद्धान्त विपरीतका उपचारहरू नअपनाउन होसियार हुनै पर्छ। जे होस्‌, कस्तो प्रकारको उपचार आवश्‍यक छ भनेर व्यक्‍ति आफैले निर्णय गर्नुपर्ने हुन्छ।

[पृष्ठ १०-मा भएको चित्र]

समस्या स्वीकार्नु पहिलो कदम हो

[पृष्ठ ११-मा भएको चित्र]

क्सी छोड्‌न थुप्रैलाई विशेषज्ञहरूको मदत चाहिन्छ

[पृष्ठ १२-मा भएको चित्र]

प्रार्थनाले मदत गर्न सक्छ

[पृष्ठ १२-मा भएको चित्र]

अलग रहन कटिबद्ध हुनुहोस्‌!