सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सेतो ड्र्यागनदेखि” सावधान!

“सेतो ड्र्यागनदेखि” सावधान!

“सेतो ड्र्यागनदेखि” सावधान!

स्वीजरल्याण्डका ब्यूँझनुहोस्‌! लेखकद्वारा

पखेटा छैन उड्‌छ, हात छैन चड्‌काउँछ र आँखा छैन देख्छ। के होला?—सेतो ड्र्यागनबारे १४ औं शताब्दिदेखि जनजिब्रोमा रहेको गाउँखाने कथा।

हिमपहिरोलाई सेतो ड्र्यागन भनिन्छ। कति सुहाउने नाम! आँखा झिमिक्क नगर्दै यसले पर्वतारोहीदेखि लिएर एउटा सिङ्‌गो गाउँलाई नै खर्लप्पै निल्न सक्छ। त्यसैले त मानिसहरू हिमपहिरोलाई सेतो काल पनि भन्‍ने गर्छन्‌। सुन्दै आङ सिरिङ्‌ग हुने यो विध्वंस के कारणले हुन्छ? हिउँले टम्मै ढाक्ने हिमाली भेकमा बस्नुहुन्छ भने, कारण बताउनु नपर्ला। तर गर्मी या तराई भेकमा बस्नुहुन्छ भने तपाईंले यसको सुर्ता गर्नु पर्दैन। किनभने यसले तपाईंलाई कुनै हानि पुऱ्‍याउँदैन। तर हिमपहिरो आउने ठाउँतिर जानुहोस्‌ त अनि देख्नुहुन्छ यसको विकराल रूप!

हिमपहिरो कहाँबाट सुरु हुन्छ? अत्यधिक हिउँ पर्ने अग्ला हिमालहरूबाट। अचानक हिउँ, बरफ, माटो, चट्टान, रूखका ठुटाहरू हिमाली भीर र खोच हुँदै सुइँकिएर बग्न थालेपछि हिमपहिरो सुरु हुन्छ। यसले अगाडि भेटे जति सबै सोरसार पार्छ। यसरी बग्दा उत्पन्‍न हावाको झोक्काले पनि घना जङ्‌गल नै सखाप पार्न सक्छ। पुल, सडक वा रेलमार्ग तहसनहस पार्छ।

प्राकृतिक घटना

भयावह रूप देखाउने बरफका यी ठूलठूला ढिकाहरू खासमा हिउँका ससाना कणहरू मिलेर बनेका हुन्छन्‌। फुस फुस झर्ने नरम र सुन्दर फुसफुसे हिउँले कसरी त्यस्तो भयावह रूप लिन सकेको होला? हिउँको आकार-प्रकारले गर्दा। हिउँ विभिन्‍न आकारको हुन्छ। तारा जस्तो, ट्याबलेट जस्तो र दानादार। यी विभिन्‍न प्रकारका हिउँ आफैमा अचम्मलाग्दो छ। तारा आकारको हिउँ छ चुच्चे हुन्छ, त्यो पनि अनेकौं ढाँचामा। भुइँमा खसेपछि यसले अर्कै आकार लिन सक्छ। तापक्रम अनि आफ्नै थाकले थिचेकोले यस्तो हिउँ थेप्चिंदै जान्छ। त्यसैले १ फिट बाक्लो यस्तो हिउँ २४ घण्टामै घटेर चार इञ्च हुन्छ।

हिमचुलीमा थुप्रेको हिउँको पत्र भत्कने या नभत्कने, हिउँको आकार-प्रकारमा भर पर्छ। तारा जस्तो छ चुच्चे हिउँ एकअर्कामा टाँसिन्छ। तर दानादार र ट्याबलेट जस्तो हिउँ भने एकअर्कामा टाँसिंदैन र सजिलै चिप्लिन्छ। यस्तो हिउँ जमेर कडा भएको पुरानो पत्रमाथि थुप्रन खोज्दा अडिन नसकेर चिप्लिन्छ। तसर्थ, हिउँको प्रकार, थुप्रो, भिरालोपन, तापक्रम र हावाको झोक्कामा हिमपहिरो जाने-नजाने कुरा निर्भर हुन्छ। कोही बेला हिउँले डम्मै ढाकेको भीरमा मानिस वा जनावर अन्जानमै पुग्दा पनि हिमपहिरो जान्छ। किनभने शरीरको वजनले पनि हिउँको पत्र सजिलै भत्कन सक्छ। तर अन्य प्रकारका हिमपहिरोहरू पनि छन्‌।

एक खाले हिमपहिरो बतासले ल्याउँछ। स्की खेलाडीहरूले मन पराउने भर्खरै परेको दानादार हिउँ र तारा जस्तो फुसफुसे हिउँलाई बतासको झोक्काले लपेटेर उडाउँदा हिमपहिरो जान्छ। हल्का भएकोले यस्तो हिउँ बतासको झोक्कामा प्रतिघण्टा ३०० किलोमिटरको गतिले भीर खोच हुँदै बत्तिन्छ। यस्तो पहिरो जाँदा आउने हुरी-बतासले केही सेकेण्डभित्रै घरको छाना उडाउने मात्र होइन घर नै तहसनहस पार्न सक्छ।

जमेर बसेका बरफका कडा ढिकाहरू भत्कँदा आउने हिमपहिरो सबैभन्दा भयानक हुन्छ। वर्षौंदेखि थुप्रिएर खाँदिएको हिउँका माथिल्ला पत्रहरू भत्केर ठूलठूला ढिकोहरूमा टुक्रँदै ५० देखि ८० किलोमिटर प्रतिघण्टाको गतिले झर्छ। यी ढिकाहरू भीरको टुप्पोमा अड्‌किन पनि सक्छ। स्की खेलाडीहरूका लागि यो एकदमै खतरा हो। किनभने एक व्यक्‍तिको शरीरको वजनले मात्र पनि अड्‌किएका ती ढिकाहरू झरेर तिनलाई पुर्न सक्छ।

वसन्त ऋतुमा हिमपहिरो जाने खतरा झन्‌ बढी हुन्छ। वर्षा वा चर्को घामले हिउँ गिलो हुन्छ। गिलो हिउँ लतत बग्न थाल्छ र हिमपहिरो जान्छ। यस्तो हिमपहिरो बिस्तारै बग्छ। तर भीरतिरको सबै हिउँ सोरसार पारेर लैजान सक्छ। हिउँको यस्तो भेलले ढुङ्‌गा, रूख, माटो केही बाँकी राख्दैन। अनि बगेर जहाँ पुग्छ, त्यहाँ डङ्‌गुर बन्छ।

अघिल्लो अनुच्छेदमा बताइएको हिमपहिरो र हिमनदी झन्डै एउटै जस्तो देखिन्छ। हिमनदीलाई बरफको पहिरो पनि भनिन्छ। अत्यन्त चिसो ठाउँमा बनेका बरफका ठूलठूला ढिकाहरू बिस्तारै बग्नु नै हिमनदी हो। हिमनदीको मुहान हिमालको खोच र घाम नपर्ने भाग हो जहाँ कहिल्यै हिउँ पग्लँदैन। नपग्लेको हिउँ जमेर बरफ बन्छ। त्यही बरफ हिमनदीको रूपमा अत्यन्तै बिस्तारै बग्छ। हिमनदीहरू कतातिर बग्ने हो भनेर पत्ता लगाउन सकिने भएकोले यसले त्यति हानि पुऱ्‍याउन पाउँदैन।

हिमपहिरो कहाँ-कहाँ जान्छ?

हिउँ पर्ने जति सबै ठाउँमा हिमपहिरो जाँदैन। हिमपहिरो जान खास उचाइ भएको हिमाल हुनुपर्छ र हिउँ पर्ने र बरफ बन्‍ने खालको हावापानी चाहिन्छ। तथ्याङ्‌कअनुसार, हरेक वर्ष विश्‍वभरि लगभग दस लाख हिमपहिरो जान्छ। हिमपहिरो जाने केही ठाउँहरू हुन्‌: दक्षिण अमेरिकाको एन्डिज पर्वतमाला, उत्तर अमेरिकाको रक्की हिमालहरू, एसियाको हिमालय पर्वतमाला र युरोपको आल्पस्‌ पर्वतमाला। आल्पस्‌ पर्वतमाला फ्रान्सको उत्तरपूर्वदेखि सुरु भएर इटाली, स्वीजरल्याण्ड, जर्मनी, अल्बेनिया हुँदै अस्ट्रियासम्म फैलिएको छ। हरेक वर्ष हिमपहिरोले यी इलाकामा सरदर २०० मानिसको ज्यान लिन्छ। यीमध्ये २६ जना त स्वीजरल्याण्डमा मात्र मर्छन्‌।

पेरूको एन्डिज पर्वतमालामा अघि कहिल्यै नआएको विनाशकारी हिमपहिरो आयो। यहाँको ६,७६८ मिटर उचाइको हुस्क्यारन हिमालको चुचुरोमा ५० मिटर बाक्लो हिउँ थुप्रेको थियो। थुप्रेको यो हिउँबाट सन्‌ १९६२ मा १ किलोमिटर लामो हिउँको ढिको चोइटियो। वजन नै चालीस हजार टन थियो, चारवटा एम्पायर स्टेट बिल्डिङको तौल बराबर! यो बडेमाको ढिको १५ मिनेटमा १८ किलोमिटरसम्म गुड्यो। सात गाउँ पुरियो। हिउँ र फोहोरको थुप्रो १३ मिटर अग्लो थियो र २ किलोमिटर परसम्म फैलिएको थियो। यस पहिरोमा ३,००० देखि ४,००० मानिसको ज्यान गुम्यो। सन्‌ १९७० मा त्यही हिमालमा अर्को हिमपहिरो गयो। तर यसपटक चाहिं भुइँचालोको धक्काले उत्तरी चुचुरोको हिउँको थुम्कोलाई हल्लाएर उप्काइदियो। सिङ्‌गो हिमाल नै भत्कियो। साँघुरो खोचबाट हजारौं टन हिउँ, चट्टान र बरफहरू प्रतिघण्टा ३०० किलोमिटरको गतिले बग्यो। ढुङ्‌गा, माटो, घर केही बाँकी राखेन। जम्माजम्मी २५,००० मानिस मरेको अनुमान गरिन्छ। हिमाली भेगमा बस्ने मानिसहरूलाई यस्तो दुःखद्‌ घटनाबाट बचाउन के गर्न सकिन्छ?

हिमपहिरो रोकथाम गर्ने कुनै उपाय छ?

कुनै हिमपहिरो रोकथाम गर्न सकिन्छ, कुनै सकिंदैन। मौसमले गर्दा आउने हिमपहिरोलाई रोक्न सकिंदैन। जसरी बर्खामा पानी पर्नु सामान्य हो, त्यसरी नै मौसमी हिमपहिरो जानु स्वाभाविकै हो। सरकारी अधिकारीहरूले विगतका घटनाबाट हिमपहिरोको रोकथामबारे धेरै सिकेका छन्‌। जस्तो, हिमपहिरो जान सक्ने इलाकामा घर बनाउन नदिने, सुरुङ मार्गहरू निर्माण गर्ने आदि। अर्कोतर्फ, दिइएको सावधानी बेवास्ता गर्ने अट्टेरीहरूले गर्दा पनि हिमपहिरो जान्छ। स्की खेल्नेहरू निषेधित इलाकामा खेलिदिन्छन्‌। यसमा पनि रोक लगाउन सकिन्छ।

विगतका घटनाबाट स्वीजरल्याण्ड सरकारले अग्रिम सतर्कता अपनाउनुपर्ने खाँचो बुझ्यो। सन्‌ १९३१ मा स्वीस अनुसन्धान आयोग गठन गरियो। अनि पहिलो पटक सन्‌ १९३६ मा एउटा साहसिक अनुसन्धान टोलीले २,६९० मिटरको उचाइमा रहेको भिसफ्लूयक इलाकामा वैज्ञानिक अनुसन्धान थाले। यो इलाका डाभोस शहरभन्दा माथि छ। फेरि, सन्‌ १९४२ मा हिउँ र हिमपहिरोबारे अनुसन्धान गर्ने संस्था स्थापना भयो। हिमालका विभिन्‍न स्थानमा अन्य अत्याधुनिक अनुसन्धान केन्द्रहरू पनि खडा गरिए। यी संस्थाहरूले मौसम परिवर्तन र हिमपहिरोको पूर्वसूचना दिइरहन्छन्‌।

तैपनि, मौसम परिवर्तनको पूर्वानुमान सधैं सही नहुने भएकोले खतराबाट पूर्णतः मुक्‍त हुन सकिंदैन। त्यसैले, हिमपहिरो जानसक्ने भेकमा बस्नेहरू र जाडो बिदामा आउनेहरूले हिमपहिरोबारे दिइएका सावधानीहरू पालन गर्नैपर्छ। चाखलाग्दो कुरा, अघि-अघि हवाईजहाजको गर्जन र मानव आवाजले पनि हिमपहिरो जान्छ भन्‍ने विश्‍वास गरिन्थ्यो। तर यो सत्य होइन भनेर फ्रन्समा गरिएको परीक्षणद्वारा पुष्टि भयो।

सुरक्षाको लागि सरकारी प्रयास

हिमाली भेकमा बसोबास गर्न थालेदेखि नै मानिसहरूले हिमपहिरोको खतराबारे थाह पाइसकेका थिए। घरलाई हिउँले पुरिनबाट जोगाउन बस्ती मास्तिरको भीरमा तिनीहरूले रूख रोप्थे। यसरी रूख रोपेर पनि कुनै-कुनै हिमपहिरो रोकथाम गर्न सकिन्थ्यो। त्यसैले आज पनि सरकारी अधिकारीहरू ती रूखहरू जोगाउन लागिपरेका छन्‌। हिमपहिरो रोक्ने सबै भन्दा प्रभावकारी प्राकृतिक उपाय यही नै हो। तर जङ्‌गल बाक्लो हुनुका साथै अग्लो-होचो विभिन्‍न खाले रूख र बोटबिरुवा पनि हुनुपर्छ भनेर अघि-अघि आएको हिमपहिरोले सिकाएको छ।

आजकल इन्जिनियरहरूले फलामका बलिया बारहरू बनाउन थालेका छन्‌। यस्ता बारहरू जङ्‌गलभन्दा अलिक माथि बलियो गरी अड्‌काइन्छ। बार चार मिटर अग्लो हुन्छ। तर सबै भीरमा बार लगाउन साह्रै खर्चिलो हुन्छ। अर्को तरिका चाहिं भीरको फेदमा ढुङ्‌गा, माटो र चट्टानको ढिस्को थुपार्नु हो। यसरी थुपारेको ढिस्कोले हिमपहिरोलाई अर्कैतिर मोडेर गाउँभित्र पस्न दिंदैन। हिमपहिरो रोक्ने त्यस्तै अर्को तरिका हो, V आकारको पर्खाल लगाउनु। यस्तो पर्खाल दुई मिटर बाक्लो र पाँच मिटर अग्लो हुन्छ। पर्खालको चुच्चो भीरतिर फर्काएर राखिन्छ। यसले हिमपहिरोलाई दुई भागमा छुट्याएर गाउँभित्र पस्न दिंदैन। एकपट्टिको पर्खाल नै ९० देखि १२० मिटरसम्म लामो हुन्छ र यसले पूरै सहर जोगाउँछ। तर राजमार्ग वा रेलमार्गलाई हिमपहिरोबाट बचाउने सर्वोत्तम उपाय त सुरुङ नै हो। सुरुङ काठ, स्टिल र सिमेन्टले बनाइन्छ र अति खर्चिलो हुन्छ।

हिउँका बडेमाका ढिकाहरू फुटाएर पनि हिमपहिरो रोकथाम गर्न सकिन्छ। क्यानाडाका सैनिकहरू जाडो याममा सहर-सहर गस्ती गर्दै जमेका हिउँहरू फुटाउँछन्‌। यसरी तिनीहरूले ट्रान्स-क्यानाडा राजमार्गमा जमेको हिउँ फुटाएर हिमपहिरो जान दिंदैनन्‌ र सडक हिउँले पुरिनबाट बचाउँछन्‌। यही तरिका स्वीजरल्याण्डमा पनि अपनाउने प्रयास गरिंदैछ। यहाँ हिमपहिरो जाने खतरा भएको भीरमा हेलिकोप्टरबाट विस्फोटक पदार्थहरू खसालेर जमेको हिउँ फुटाइन्छ।

हिमपहिरोमा उद्धारकार्य

हिमपहिरो जाने भीरहरूको परीक्षण भइरहेको बेला स्की खेल्नेहरू र पदयात्रीहरू रोकिनुपर्छ। दिइएको सावधानी अपनाउनुपर्छ। नबिर्सनुहोस्‌, अनुभवी स्की खेलाडीहरू पनि हिउँमा पुरिन सक्छन्‌। हिमपहिरोमा परिहाल्नुभयो भने, नआत्तिनुहोस्‌! विशेषज्ञहरू भन्छन्‌, खोलामा जस्तै पौडी खेल्नुहोस्‌। यसो गर्दा हिउँभित्र नपुरी माथि तैरिरहन सक्नुहुनेछ। नभए, एउटा हातले नाक र मुख थुनेर अर्को हात जतिसक्दो माथि उठाउनुहोस्‌। यसो गर्दा उद्धारकर्मीहरूले तपाईंलाई भेट्टाउन सक्छन्‌। तथ्याङ्‌कअनुसार, ३० मिनेटभित्र हिमपहिरोबाट उद्धार गर्न सकिएन भने फस्नेहरूमा आधा जति मात्र बाँच्ने गरेका छन्‌। आजकल, स्की खेल्ने कसै-कसैले ट्रान्समिटर साथमै लैजाने गर्छन्‌। अग्ला भेगहरूमा यो सेतो काल आउने नै भएकोले पहिरोमा फस्नेहरूलाई बचाउन तुरुन्तै कदम चालिहाल्नुपर्छ।

वर्षौंदेखि स्वीजरल्याण्डमा पर्ने आल्प्स्‌ पर्वतमालाको भेकमा बस्ने अगस्टिनियन पादरीहरूले सेन्ट बर्नार्ड कुकुरहरू पाल्दै आएका थिए। यी कुकुरहरू बाक्लो हिउँमा सजिलै हिंडडुल गर्न र कठ्याङ्‌ग्रिने चिसो पनि सहन सक्छन्‌। मानिसहरूले चाल नपाउने गन्ध, आवाज र दिशा यिनीहरूले पत्ता लगाउन सक्छन्‌। हुन त यी कुकुरहरूको अधिकांश चित्रमा यिनीहरूको घाँटीमा ब्राण्डीको बोतल झुन्ड्याइएको हुन्छ। तर उद्धारकार्यमा खटिंदा यिनीहरूले ब्रान्डीको बोतल नझुन्डाईकनै सयौंको ज्यान बचाउँथे। आज उद्धारकार्यमा संलग्न धेरैजसो कुकुरहरू जर्मन शेफर्ड जातका छन्‌ तर अरू जातका कुकुरहरूलाई पनि यस कामको लागि तालिम दिइएको छ। यसबाहेक, इलेक्ट्रोनिक प्रविधिहरूले पनि धेरै मदत पुऱ्‍याएको छ। साथै, उद्धाकर्मीहरूले कामप्रति जागरूकता देखाएमा पनि धेरैको ज्यान बच्न सक्छ। तर प्रभावकारी उद्धारकार्य त तालिमप्राप्त कुकुरले नै गर्छ।

“पखेटा छैन उड्‌छ, हात छैन चड्‌काउँछ र आँखा छैन देख्छ। के होला?” उत्तर त पाइसक्यौं। साँच्चै, प्रकृतिले देखाउने कत्ति भयानक रूप! सेतो ड्र्यागनदेखि सावधान! (g05 10/8)

[पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]

हिमपहिरोमा पर्नुभयो भने खोलामा जस्तै पौडी खेल्नुहोस्‌

[पृष्ठ १८-मा भएको चित्र]

सेन्ट बर्नार्ड कुकुरहरूको चित्र हेर्ने हो भने यिनीहरूको घाँटीमा अक्सर ब्राण्डीको बोतल झुन्ड्याइएको हुन्छ, तर उद्धारकार्यमा खटिंदा यिनीहरूले ब्रान्डीको बोतल झुन्ड्याउँदैनन्‌

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

AP Photo/Matt Hage