सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के धुमधामसित बिहे गर्नै पर्छ?

के धुमधामसित बिहे गर्नै पर्छ?

युवा जनहरू सोध्छन्‌ . . .

के धुमधामसित बिहे गर्नै पर्छ?

“मेरी प्रेमिका अर्चिताले सबै नातेदार अनि साथीहरूलाई नबोलाई साधारण बिहे गर्ने विचार पोखिन्‌। हामी दुवैले राम्ररी सोच्यौं र तनाव कम गर्न अनि समय बचाउन साधारण ढङ्‌गले बिहे गर्नु नै बेस हुनेछ भन्‍ने निर्णय गऱ्‍यौं।”—विवेक। a

यदि तपाईंको बिहे गर्ने उमेर भइसकेको छ र कसैलाई मन पराइराख्नु भएको पनि छ भने धेरैलाई खबर नदिईकन दुई/चार जना साक्षी राखेर बिहे गर्नु नै तपाईंलाई बेस लाग्न सक्छ। अझ, केही युवायुवतीहरू त आमाबाबुलाई समेत खबर नदिई सुटुक्क बिहे गर्छन्‌। b यदि तपाईंहरू बिहे गर्ने विचार गर्दै हुनुहुन्छ भने कुन सिद्धान्तहरूलाई ध्यान दिंदा लाभदायी हुन सक्छ?

के तपाईंले पनि अरूले जस्तै धुमधामसित बिहे गर्नै पर्छ?

बिहाबारी गर्ने चलन सबै समाजमा पाइन्छ तर बिहे गर्ने तरिकामा भने समाजअनुसार आकाश पातालको भिन्‍नता हुन सक्छ। बिहे गर्ने विचार गरिरहेका मसीही युवायुवतीहरू आफ्नो बिहे मानिसहरूको परम्पराअनुसार हुने हो वा होइन भनेर चिन्ता गर्दैनन्‌। (रोमी १२:२) उनीहरू यहोवा परमेश्‍वरको आदर गर्छन्‌। त्यसकारण, बिहेअघि होस्‌ वा बिहेको बेला, सबै कुरा उहाँको इच्छाअनुसार होस्‌ भन्‍ने चाहना गर्छन्‌।—१ कोरिन्थी १०:३१.

विवाह, पहिलेदेखि समाजमा चल्दै आएको पुरानो परिपाटी भएकोले धेरैजसो युवायुवतीहरू आफ्नो बिहे गोप्य राख्न चाहँदैनन्‌। प्रायजसो मुलुकमा यहोवाका साक्षीहरू स्थानीय राज्यभवनमा बिहे गर्छन्‌। c बिहेपछि धेरैले प्रीतिभोज पनि गर्छन्‌ र नातेदार अनि साथीहरूसित मीठो भोज खान्छन्‌ अनि रमाइलो गर्छन्‌। राज्यभवनमा हुने यस्तो विवाह अनि प्रीतिभोज भव्य हुनु भने आवश्‍यक छैन। तथापि, विवाह अनि प्रीतिभोजको लागि सबै कुराको बन्दोबस्त मिलाउनु पक्कै पनि बायाँ हातको खेल होइन र खर्च पनि उत्तिकै लाग्छ। अमेरिकामा प्रीतिभोज गर्न मात्रै १५ लाख रूपैयाँ खर्च हुन्छ।

तनाव अनि खर्च कम गर्न केही युवायुवतीहरू साधारण ढङ्‌गले बिहे गर्न रूचाउँछन्‌। अर्चिता भन्छिन्‌, “हामीले आफ्ना बुबाआमासित कुरा गऱ्‍यौं र कम खर्च गरेर साधारण बिहे गर्ने इच्छा व्यक्‍त गऱ्‍यौं। मेरो बुबाआमाले हाम्रो कुरा बुझिदिनुभयो।” अर्कोतिर अर्चिताका प्रेमी विवेकको बुबाआमालाई भने उनीहरूको निर्णय पटक्कै चित्त बुझेन। विवेक भन्छन्‌, “उहाँहरू त आफूलाई पो दोष दिन थाल्नुभयो र उहाँहरूले गर्दा मेरो चित्त दुखेकोले नै मैले त्यस्तो निर्णय गरेको होला भनेर सोच्नुभयो। तर कुरा त्यसो थिएन।”

तपाईंले साधारण ढङ्‌गले बिहे गर्ने विचार गर्दा बुबाआमालाई चित्त नबुझ्ने अर्को कारण पनि छ। छोराछोरीको बिहे भएकोले उहाँहरू सायद सकेसम्म धेरै मान्छेलाई बोलाएर अरूसित खुसियाली बाँड्‌न चाहनुहुन्छ होला। तर तपाईंले बिहे गर्नु त परै जाओस्‌ बिहे गर्ने विचार गरेको समेत बुबाआमालाई मन परिरहेको छैन भने के गर्ने? के त्यतिबेला उहाँहरूलाई खबरै नदिई सुटुक्क बिहे गर्नु उचित छ?

बुबाआमाको भावनाको कदर गर्नुहोस्‌

सायद तपाईंको बिहे गर्ने उमेर भई नसकेकोले त्यस्तो गम्भीर निर्णय गरेको बुबाआमा चाहनुहुन्‍न होला। तपाईंले पछि गएर पछुताउनुहुनेछ भनेर उहाँहरूलाई डर लागिरहेको पनि हुन सक्छ। अथवा तपाईंको बिहे गर्ने उमेर भइसके तापनि तपाईंले रोज्नुभएको केटा वा केटीमा कुनै खोट पाउनुभएको हुन सक्छ। अर्कोतिर, तपाईंले बेग्लै धार्मिक विश्‍वास राख्ने व्यक्‍तिसित बिहे गर्ने विचार गर्नुभएकोले पनि उहाँहरूले रोक्न खोज्नुभएको हुन सक्छ।

तपाईंका बुबाआमा साँचो मसीहीहरू हुन्‌ भने उहाँहरूले चिन्ता गर्नुको पछाडि कुनै न कुनै शास्त्रीय कारण अवश्‍य छ। आफूलाई शङ्‌का लागेको वा चित्त नबुझेको कुरा व्यक्‍त गर्नु उहाँहरूको अधिकारको कुरा हो। वास्तवमा भन्‍ने हो भने, उहाँहरूले केही भन्दै भन्‍नुभएन वा कुनै वास्तै गर्नुभएन भने त यहोवाले त्यस्तो लापरवाही अनि प्रेमको अभावलाई हल्कासित लिनुहुन्‍न। त्यसकारण बुबाआमाको कुरा सुन्‍नुहोस्‌, किनकि त्यसो गर्दा तपाईंकै भलाइ हुन्छ।—हितोपदेश १३:१, २४.

बुबाआमाको राय लिनु किन राम्रो कुरा हो, त्यसलाई बुझ्न यस उदाहरणलाई विचार गर्नुहोस्‌: बजारमा लुगा वा जुत्ता किन्दा तपाईंलाई सुहाउँछ कि सुहाउँदैन भनेर के तपाईं आफ्नो साथीलाई सोध्नुहुन्‍न? साथीको सुझाव सधैं तपाईंलाई चित्त बुझ्छ नै भन्‍ने छैन। र पनि तपाईं आफ्नो घनिष्ठ साथीले लुगाको रङ वा स्टाइलबारे मनमा लागेको कुरा प्रस्ट भनेको चाहनुहुन्छ नि, होइन र? तपाईं पक्कै पनि उनीहरूको सुझावको कदर गर्नुहुन्छ, किनकि त्यसो गर्दा तपाईंको पैसा खेर जानदेखि जोगिन सक्छ। अब विचार गर्नुहोस्‌, विवाहजस्तो गम्भीर निर्णय गर्दा के बुबाआमाको विचारधारा बुझ्नु अनि त्यसको कदर गर्नु महत्त्वपूर्ण नहोला र? लुगा त पछि चित्त बुझेन भने मिल्काउन वा साट्‌न पनि सकिन्छ तर तपाईंको श्रीमती वा श्रीमान्‌लाई त्यसो गर्न मिल्दैन। यहोवा परमेश्‍वर तपाईंले जससित विवाह गर्नुभयो, उसैसित जीवनभर सँगै बसेको हेर्न चाहनुहुन्छ। (मत्ती १९:५, ६) तपाईंले व्यक्‍तित्व नमिल्ने वा बेग्लै धर्म मान्‍ने मान्छेसित बिहे गर्नुभयो भने उसित पूरै जीवन काट्‌नुभन्दा त बरु उकुसमुकस हुने गरी कस्सिने लुगा लगाउनु नै सजिलो हुनेछ। (उत्पत्ति २:१८; हितोपदेश २१:९) तपाईं आफ्नो वैवाहिक जीवनसित रत्तिभर खुसी हुनुहुनेछैन।—हितोपदेश ५:१८; १८:२२.

हो, केही बुबाआमाहरू स्वार्थी हुन्छन्‌ र तपाईंले बिहे गर्न खोज्दा त्यसको विरोध गर्छन्‌। उदाहरणका लागि, केही बुबाआमाहरू छोराछोरीलाई सधैं आफ्नै मुठ्ठिमा राख्न खोज्छन्‌। तर बुबाआमालाई स्वार्थीको लेबल लगाइहाल्न हतार नगर्नुहोस्‌। उहाँहरूले किन चिन्ता वा विरोध गर्नुभएको होला, बुझ्ने प्रयास गर्नुहोस्‌।

होसियार हुनुपर्ने कारण

परिपक्व हुँदै गएपछि मानिसको रूचि अनि विचार फेरिन्छ भन्‍ने कुरामा कसैको दुई मत नहोला। प्रेरित पावल भन्छन्‌, “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्थें, तर अब म जवान भएको छु, र केटा-केटीको कुरो छोड़िदिएको छु।” (१ कोरिन्थी १३:११) किशोरावस्थामा छँदा तपाईं आफ्नो प्रेमी वा प्रेमिकाको जुन कुरा देखेर मख्ख पर्नुहुन्थ्यो, पछि पाको भएपछि त्यही कुरा मनै नपर्नसक्छ। तसर्थ, बाइबलको सुझाव स्वीकार्नुहोस्‌ र “बैंस” नबितुन्जेल विवाह गर्नेजस्तो गम्भीर कदम नचाल्नुहोस्‌। बैंसालु उमेरमा यौनइच्छा तीव्र हुने भएकोले तपाईंले गलत निर्णय गर्ने सम्भावना धेरै हुन्छ।—१ कोरिन्थी ७:३६.

तर तपाईंको बुबाआमालाई तपाईंले रोज्नुभएको व्यक्‍ति नै मन नपरेको हो भने के गर्ने? जीवनमा धेरै उतारचढाव अनुभव गरिसक्नुभएकोले राम्रो/नराम्रो छुटाउने क्षमता तपाईंसितभन्दा उहाँहरूसित धेरै छ। (हिब्रू ५:१४) तपाईंले देख्नै नसकेको त्रुटी उहाँहरूले छर्लङ्‌ग देखिरहनुभएको हुन सक्छ। यस सन्दर्भमा बुद्धिमान्‌ राजा सुलेमानले के भने सुन्‍नुहोस्‌: “दोस्रो व्यक्‍ति अघि सरेर प्रश्‍नहरू नगरूञ्जेल, मुद्दा हाल्ने पहिलो व्यक्‍ति नै ठीक देखा पर्छ।” (हितोपदेश १८:१७, NRV) तपाईंको जोसित मायाप्रीति बस्यो ऊ नै तपाईंको निम्ति सबैभन्दा असल जीवनसाथी हो भन्‍ने तपाईंलाई पक्का लागेको हुन सक्छ। तर बुबाआमाले “अघि सरेर प्रश्‍नहरू” गर्नुहुँदा, तपाईले विचार गर्नैपर्ने केही तथ्यहरू उहाँहरूले फेला पार्नुभएको हुन सक्छ।

जस्तै, यदि तपाईंले रोज्नुभएको व्यक्‍तिको बेग्लै धर्म छ भने उसित विवाह गर्ने निर्णय “प्रभुमा मात्र” विवाह गर्नु भन्‍ने बाइबलको सिद्धान्त विपरित छ भनेर उहाँहरूले ठाडै भन्‍न सक्नुहुन्छ। (१ कोरिन्थी ७:३९) अरूले पनि त बाहिरको मान्छेसित बिहे गरेर अहिले दुवैले यहोवाको सेवा गरिरहेका छन्‌ नि भनेर सायद तपाईं जिद्दी गर्नुहुन्छ होला। हो, बेग्लै धर्म हुने केही मानिसहरूले विवाहपछि मसीही धर्म स्वीकारेका छन्‌। तर यो आक्कलझुक्कल मात्र हुने कुरा हो। बेग्लै धर्म मान्‍ने मानिससित बिहे गर्नु, यहोवाको स्तरलाई कुल्चिनु अनि आफ्नै आध्यात्मिकतामा बन्चरो हान्‍नु बराबर हो।—२ कोरिन्थी ६:१४. d

विवाह गर्ने गलत निर्णय

केही युवायुवतीहरू अनैतिक काम गरेपछि घरबाट भागेर बिहे गर्छन्‌। सायद त्यसरी बिहे गर्दा दोषी अन्तस्करणको आवाजलाई दबाउन सकिएला कि भन्‍ने तिनीहरूको विचार होला। अथवा इच्छा नहुँदा नहुँदै गर्भ रहेकोले आफ्नो पाप लुकाउन खोजेका हुन सक्छन्‌।

आफ्नो पाप लुकाउन बिहे गर्दै हुनुहुन्छ भने तपाईंले गल्तीमाथि गल्ती गर्दै हुनुहुन्छ। सुलेमान यस्तो चेतावनी दिन्छन्‌, “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड़्‌यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” (हितोपदेश २८:१३) आफ्नो कुकर्म लुकाउन खोज्नु मूर्खता हो भनेर सुलेमानको मातापिता दाऊद र बेतशेबाले नमीठो पाठबाट सिक्नुपऱ्‍यो। (२ शमूएल ११:२–१२:२५) तसर्थ, आफ्नो पाप लुकाउनुको साटो बुबाआमा अनि मण्डलीका प्राचीनहरूसित कुरा गर्नुहोस्‌। यसो गर्नु पक्कै पनि सजिलो छैन, तर तपाईं साँच्चै पश्‍चात्तापी हुनुहुन्छ भने यहोवाले क्षमा गर्नुहुनेछ भनी निश्‍चिन्त हुनुहोस्‌। (यशैया १:१८) अन्तस्करण सफा भएपछि, तपाईंले बिहे गर्ने विषयमा सन्तुलित निर्णय गर्न सक्नुहुन्छ।

पछि पछुताउनु नपरोस्‌

आफ्नो बिहे सम्झँदै विवेक यसो भन्छन्‌: “हामीले साधारण बिहे गर्ने निर्णय गरेकोले बिहे हुने दिन त्यति तनाव खेप्नुपरेन। बरु मलाई एउटै कुरामा दुःख लाग्छ, मैले त्यतिखेर बुबाआमालाई राम्ररी बुझाउन सकेको भए पनि हुन्थ्यो।”

बिहे, धुमधामसित गर्ने हो कि साधारण, त्यो व्यक्‍तिगत रूचिको कुरा हो। तर हतारमा चाहिं कहिल्यै बिहे नगर्नुहोस्‌। परिवारसित राम्ररी कुरा गर्नुहोस्‌। ‘आफ्ना पाइलाहरू सतर्कसाथ चाल्नुहोस्‌।’ यी सब गर्नुभयो भने पछि पुर्परोमा हात राख्नु पर्नेछैन।—हितोपदेश १४:१५. (g05 11/22)

[फुटनोटहरू]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

b कसैलाई खबरै नगरी भागेर बिहे गर्नुलाई पोइल जानु पनि भनिन्छ।

c नेपालमा विवाह गर्न चाहने यहोवाका साक्षीहरूले सर्वप्रथम अड्डा अदालतमा गई कानुनअनुसार विवाह गर्छन्‌। त्यसपछि स्थानीय मण्डलीका प्राचीनद्वारा बाइबल आधारित भाषण दिने समारोहजस्तो केही जनघोषणाद्वारा तिनीहरूको विवाहको सार्वजनिक घोषणा हुन्छ। त्यसपछि तिनीहरू वैवाहिक जोडीको रूपमा सँगै बस्छन्‌। राज्यभवन, यहोवाका साक्षीहरूको उपासनास्थल भएकोले यस किसिमको समारोह गर्न उपयुक्‍त छ। निस्सन्देह, वैवाहिक समारोहको निम्ति राज्यभवन चलाएवापत्‌ कुनै शुल्क तिर्नु पर्दैन।

d यस विषयमा अझ धेरै कुरा बुझ्न चाहनुहुन्छ भने जुलाई १, २००४ अंकको प्रहरीधरहरा-को पृष्ठ ३०-३१ अनि नोभेम्बर १, १९८९ को वाचटावर, पृष्ठ १८-२२ हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

बिहे गर्ने निर्णय गर्नुअघि परिवारसित कुरा गर्नुहोस्‌