सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के बाइबलले स्त्री र पुरुषबीच भेदभाव गर्छ?

के बाइबलले स्त्री र पुरुषबीच भेदभाव गर्छ?

बाइबलको दृष्टिकोण

के बाइबलले स्त्री र पुरुषबीच भेदभाव गर्छ?

एक पटक, तेस्रो शताब्दीका बाइबलविद्‌ टर्टुलियनले आइमाईलाई “दियाबलको प्रवेशद्वार” भनेका थिए। त्यसै गरी अरू कतिपयले स्त्री र पुरुष बराबर छैनन्‌ भनेर देखाउन बाइबल प्रयोग गरेका छन्‌। त्यसकारण, प्राय मानिसहरूलाई बाइबलले स्त्रीजातिलाई होच्याउँछ भनेर लाग्नु स्वाभाविकै हो।

अमेरिकामा १९ औं शताब्दीतिर महिला हकहितको लागि लड्‌ने एलिजाबेथ क्याडी स्टानटनले पनि “बाइबल र चर्च नै महिला मुक्‍तिको सबैभन्दा ठूलो तगारो हो” भनेर टिप्पणी गरेकी थिइन्‌। “अरू कुनै किताबले बाइबलका प्रथम पाँच पुस्तकहरूले जत्ति आइमाईलाई दबाएको र होच्याएको छैन” भनेर पनि तिनले आफ्नो विचार पोखेकी थिइन्‌।

हुन त, अहिले पनि कतिपयले त्यस्तै कट्टर धारणा राखेका छन्‌ होला। नराखे पनि, बाइबलले अलि-अलि भए पनि आइमाईलाई होच्याइएको छ भन्‍ने महसुस गरेका होलान्‌। तर के कुरा यस्तै हो त?

हिब्रू शास्त्रमा आइमाईप्रतिको दृष्टिकोण

“तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) आलोचकहरू यही पद औंल्याउँदै के भन्छन्‌ भने, हव्वालाई यस्तो न्यायदण्ड सुनाउनुको अर्थ नै परमेश्‍वरले पुरुषहरूलाई स्त्रीहरूमाथि दमन गर्ने अधिकार दिनु हो। तर यो कुरा गलत हो। किनकि, आदम र हव्वाले परमेश्‍वरको सार्वभौमिकतालाई इन्कार गरेको हुँदा तिनीहरूले कस्तो फल र दुःखद्‌ परिणाम भोग्नेछन्‌, उहाँले त्यो मात्र बताइरहनुभएको थियो। स्त्रीहरूप्रतिको दुर्व्यवहार मानव असिद्धताको फल हो, परमेश्‍वरको इच्छा होइन। पापकै फलले गर्दा नै प्राय सबै समाजका लोग्नेमान्छेहरूले आफ्नी स्वास्नीहरूलाई दबाउँदै आएका छन्‌। तर परमेश्‍वरको उद्देश्‍य यस्तो थिएन।

आदम-हव्वा दुवै परमेश्‍वरको स्वरूपमा बनेका थिए। दुवैले परमेश्‍वरबाट फल्दै-फुल्दै पृथ्वीलाई भर्ने र अधिकार गर्ने आदेश पाएका थिए। तिनीहरूले एक साथ मिलेर काम गर्नुपर्थ्यो। (उत्पत्ति १:२७, २८) स्पष्ट छ, त्यस्तो वातावरणबीच एउटाले अर्कोलाई दबाउने प्रश्‍नै उठ्‌दैन। उत्पत्ति १:३१ यसो भन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”

बाइबलमा लिपिबद्ध सबै घटनाहरूले परमेश्‍वरको धारणा व्यक्‍त गर्दैन। केही घटनाहरू त केवल ऐतिहासिक जानकारी दिनका लागि बाइबलमा राखिएका छन्‌। जस्तै, लूतले सदोमीहरूलाई आफ्नी छोरीहरू सुम्पन खोज्नु नैतिक तवरमा ठीक थियो वा थिएन अथवा परमेश्‍वरले निको मान्‍नुभयो वा भएन, केही खुलाइएको छैन। aउत्पत्ति १९:६-८.

वास्तवमा, परमेश्‍वर हर प्रकारको शोषण वा दुर्व्यवहारलाई घृणा गर्नुहुन्छ। (प्रस्थान २२:२२; व्यवस्था २७:१९; यशैया १०:१, २) मोशाको व्यवस्थाले बलात्कार र वेश्‍यावृत्तिलाई निन्दा गरेको छ। (लेवी १९:२९; व्यवस्था २२:२३-२९) अवैध यौन सम्बन्ध राख्नु निषेधित थियो भने यस्तो सम्बन्ध राखेको पाइएमा दुवैले ज्यान सजाय पाउँथे। (लेवी २०:१०) मोशाको व्यवस्थाले आइमाईहरूको शोषण गर्ने छुट होइन बरु शोषण हुनदेखि जोगाएको थियो। किनकि त्यतिखेर वरपरका राष्ट्रहरूमा आइमाईको शोषण गर्नु सामान्य कुरा थियो। मोशाको व्यवस्थाले आइमाईलाई सम्मान पनि दिएको थियो। सुयोग्य यहूदी आइमाईको निकै सम्मान अनि कदर गरिन्थ्यो। (हितोपदेश ३१:१०, २८-३०) आइमाईको सम्मान गर्न सिकाउने व्यवस्था इस्राएलीहरूले पालन गर्न नसक्नु तिनीहरूकै गल्ती हो, परमेश्‍वरको इच्छा होइन। (व्यवस्था ३२:५) अन्ततः यस अनाज्ञाकारी राष्ट्रलाई परमेश्‍वरले सजाय दिनुभयो।

के अधीनता शोषण हो?

हरेकले आ-आफ्नो स्थान चिनेर त्यसअनुसार चल्दा मात्र समाज व्यवस्थित हुन्छ। तर हरेकलाई आ-आफ्नो स्थानमा रहने मदत दिन अख्तियार चलाउने व्यक्‍ति पनि चाहिन्छ। सबैले मनपरी गर्ने हो भने भद्रगोल अनि अराजकता हुन्छ। “परमेश्‍वर गोलमालका परमेश्‍वर होइन, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।”—१ कोरिन्थी १४:३३.

परिवारमा कस्तो शिरत्वको प्रबन्ध हुनुपर्छ त्यसबारे प्रेरित पावलले यसो भने: “हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) परमेश्‍वरबाहेक बाँकी सबै कसै न कसैको अधीनमा बस्छन्‌। येशू पनि अधीनमा बस्नुहुन्छ। त्यसोभए, के उहाँको शोषण भएको छ त? अहँ! छैन। बाइबलले पुरुषहरूलाई मण्डली र परिवारमा नेतृत्व लिने जिम्मेवारी दिनुको अर्थ स्त्रीको शोषण पक्कै होइन। परिवार होस्‌ वा मण्डली, स्त्री र पुरुष दुवैले प्रेम र आदरसहित आ-आफ्नो भूमिका निर्वाह गरेमा मात्र राम्रो हुन सक्छ।—एफिसी ५:२१-२५, २८, २९, ३३.

येशू स्त्रीहरूसित सधैं आदरसहित व्यवहार गर्नुहुन्थ्यो। फरिसीहरूले बसालेका परम्पराले स्त्रीहरूलाई होच्याउँथ्यो। तर येशू फरिसीहरूका त्यस्ता नियम अनि परम्पराअनुसार चल्नुभएन। उहाँ गैर-यहूदी स्त्रीहरूसित पनि कुरा गर्नुहुन्थ्यो। (मत्ती १५:२२-२८; यूहन्‍ना ४:७-९) उहाँले स्त्रीहरूलाई पनि शिक्षा दिनुभयो। (लूका १०:३८-४२) विनाकारण स्वास्नी त्याग्ने चलनको भर्त्सना गरेर येशूले महिला हकहितको सुरक्षा गर्नुभयो। (मर्कूस १०:११, १२) येशूले स्त्रीहरूलाई पनि आफ्नो घनिष्ठ मित्र बनाउनुभयो, जुन त्यतिखेर समाजमा असाध्यै अपाच्य कुरा थियो। (लूका ८:१-३) परमेश्‍वरको सिद्ध छाया येशूले स्त्री होस्‌ या पुरुष प्रत्येक व्यक्‍ति परमेश्‍वरको नजरमा बराबर छन्‌ भनी देखाउनुभयो। वास्तवमा, प्रथम शताब्दीमा पुरुष र स्त्री दुवैले परमेश्‍वरको पवित्र आत्मा पाएका थिए। (प्रेरित २:१-४, १७, १८) यी अभिषिक्‍त जनहरूले पुनरुत्थानपश्‍चात्‌ ख्रीष्ट सँगसँगै राजा अनि पूजाहारीको रूपमा सेवा गर्नेछन्‌। स्वर्गमा नर-नारी भन्‍ने भेद हुँदैन, सबै येशूमा एउटै हुनेछन्‌। (गलाती ३:२८) त्यसकारण, बाइबलका ग्रन्थकार यहोवा परमेश्‍वर स्त्री र पुरुषबीच भेदभाव गर्नुहुन्‍न। (g05 11/8)

[फुटनोट]

[पृष्ठ १८-मा भएको चित्र]

अरूले जस्तो, येशूले आइमाईहरूसित दुर्व्यवहार गर्नुभएन