सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

सुमधुर सम्बन्ध, स्वस्थ मुटु

स्पेनी अखबार डियारो मेडिको बताउँछ, “मित्रताको बलियो बन्धन र परिवारसितको सुमधुर सम्बन्ध नै हुन्‌, हृदयघात वा मस्तिष्कघातको खतरा कम गर्ने ओखती। लामो समयदेखि डाक्टरहरूले भन्दै आएका थिए: कोलस्ट्रोल, रक्‍तचाप र बढी वजनले मुटुलाई असर गर्छ। तर छाती दुखाइ खेपिरहेका लगभग ५०० स्त्रीहरूमा हालै गरिएको अध्ययनले पुष्टि गर्छ, साथीभाइ र परिवारसितको सम्बन्धलाई पनि ध्यान दिनुपर्छ। अध्ययनमा देखियो, “परिवार वा साथीभाइसित सुमधुर सम्बन्ध रहेका स्त्रीहरूभन्दा खटपट हुने स्त्रीहरू [अकालमै] मर्ने सम्भावना दुई गुना बढी हुन्छ।” अध्ययनकर्तामध्येका कार्ल जे. पेपिन भन्छन्‌, “एक वा दुई हितैषी मित्रको न्यानोपनले मात्र पनि [मष्तिष्कघात वा हृदयघात ] भगाउन” सकिने तथ्य पत्ता लाग्यो।” (g05 11/22)

गजबको स्पन्ज

जर्मन अखबार डी भेल्ट लेख्छ, स्टुटगार्ट विश्‍वविद्यालयका अनुसन्धनकर्ताहरूले गजबको कुरा पत्ता लगाए। गोलाकार सेतो स्पन्जको कमाल। यो एकदमै सानो हुन्छ, तैपनि हालसम्म पाइएकोमध्ये सबैभन्दा छिटो हिंड्‌ने स्पन्ज हो। हरेक दिन केही सेन्टिमिटर त हिंडेकै हुन्छ। एकनासले चुमुक्क-चुमुक्क खुम्चिंदा पानी निचोरिन्छ र आकार ७० प्रतिशतसम्म घट्‌छ। फेरि फुकिंदा पानी सोस्छ अनि पौष्टिक तत्त्व र घुलिएको अक्सिजन लिन्छ। यसलाई अक्वेरियममा राखेर गँगटो जातिको कुनै जीव हालिदिंदा यो झन्‌ बेसी खुम्चियो। “गजबै भयो। किनकि स्पन्जको स्नायु प्रणाली नै हुँदैन”, अनुसन्धानकर्ता माइकल निकेल भन्छन्‌। स्नायु प्रणालीविना यो स्पन्ज कसरी चलहल गर्छ वा अरू जीव आएको थाह पाउँछ? सो जान्‍न अनुसन्धानकर्ताहरू लागिपरेका छन्‌। (g05 11/22)

प्यानिक डिस्‌अर्डर

भ्यानकुभर सन अखबार लेख्छ, “प्यानिक डिस्‌अर्डरले कुनै पनि बेला अत्याउन सक्छ। आधा राततिर पनि। यसले समात्दा छाती दुख्ने, स्याँ-स्याँ हुने, अति डर लाग्ने, निस्सासिने, खलखली पसिना आउने र छटपटी हुने गर्छ।” हालै ३६,८९४ व्यक्‍तिमा गरिएको अध्ययनअनुसार, क्यानाडाको १५ वर्षमाथिका दस लाखलाई यो समस्या छ। यो कुल जनसंख्याको ३.७ प्रतिशत हो। त्यसमा पनि पुरुषलाई (२.८ प्रतिशत) भन्दा स्त्रीलाई (४.६ प्रतिशत) बढी। माथिकै अखबार अझ लेख्छ, पीडितहरूले “रोगसित जुध्ने निहुँमा सामान्य मानिसभन्दा रक्सी पिउने सम्भावना दोब्बर र चुरोट तान्‍ने सम्भावना तेब्बर हुन्छ।” खुसीको कुरा, ७० प्रतिशत जति रोगी डाक्टर जचाउँछन्‌। रिपोर्ट बताउँछ, यो रोग वंशानुगत वा शारीरिक विकारले हुने भए तापनि ओटावा विश्‍वविद्यालयको मनोरोग विभागका प्रमुख डा. झाक ब्य्राड्‌वेन भन्छन्‌: “तनाव पनि यसको प्रमुख कारण हो।” (g05 9/22)

मोबाइलमा लट्ठ तन्‍नेरीहरू

लण्डनको डेली टेलिग्राफ लेख्छ, “बेलायतका तरुनी-तन्‍नेरीहरू एकछिन मोबाइल नपाउँदा पानीविनाको माछाझैं तड्‌पिन्छन्‌।” अनुसन्धानको क्रममा १५ देखि २४ वर्षकाहरूलाई दुई हप्तासम्म मोबाइल दिइएन। रिपोर्ट लेख्छ, “नौलो अनुभव। जवानहरू आमाबाबुसित कुराकानी गर्न अनि साथीहरू र उनीहरूको आमाबाबुलाई घरमै गएर भेट्‌न बाध्य भए।” बेलायत, ल्याङ्‌कस्टर विश्‍वविद्यालयका प्रोफेसर माइकल ह्‍युम बताउँछन्‌, युवाहरूको लागि त मोबाइल “मन रिझाउने र सानको कुरा हो।” माथिकै पत्रिका लेख्छ, एउटी केटीलाई मोबाइलविना “उकुसमुकुस, के गरौं, कसो गरौं” भयो रे। अनि एक जना केटोले चाहिं “जतिबेला चाह्‍यो त्यति नै बेला साथीसित कुरा गर्न” नमिल्ने तर “पहिल्यै समय मिलाइराख्नुपर्ने” झन्झट आइपरेको र एक्लो महसुस भएको गुनासो गरे। (g05 11/8)

“सानदार सजावट”

लण्डनको द सन्डे टेलिग्राफ लेख्छ, “पश्‍चिमा मुलुकका पर्यटक र व्यापारीहरू चीनबाट बाघको छाला लुकीछिपी किन्‍ने गर्छन्‌। अति लोपोन्मुख बाघको चोरीसिकारी हुनुको कारण यही हो।” सय वर्षअघि लगभग १,००,००० को संख्यामा रहेको बाघ अहिले ५,००० भन्दा कम छ। धेरैजसो बाघ भारतमा पाइन्छ। केही दक्षिण एसिया र सुदूरपूर्वका देशहरूमा पनि छन्‌। लण्डनको पर्यावरण अनुसन्धान एजेन्सीको रिपोर्टअनुसार, छाला किन्‍नेहरू यसलाई “सानदार सजावट” ठान्छन्‌ “तर आफूले बाघलाई लोपोन्मुख बनाएको चाहिं तिनीहरूलाई हेक्कै छैन! . . . बाघ यत्ति डरलाग्दो सङ्‌कटमा परेको छ, सायद बीउ पनि रहन्छ कि रहँदैन।” सन्‌ १९९४ देखि २००३ बीचमा ६८४ वटा छाला जफत गरियो। तर यो संख्या त केही पनि होइन। कति छाला तस्करी गरिए, गनेर साध्य छैन। (g05 11/8)

आँधीबेहरीले बेह्रेको वर्ष

असोसिएटेड प्रेस लेख्छ, “सन्‌ १९९० यताको १० साललाई सर्वाधिक गरम वर्ष मानिन्छ। सन्‌ २००४ चौथौं नम्बरमा पर्छ। यही साल आँधीबेहरीले क्यारिबियन क्षेत्र र एसियामा दानवी रूप देखायो।” गत साल पनि आँधीहुरीले गर्नुसम्मको खति गऱ्‍यो। अमेरिका र क्यारिबियनमा मात्रै लगभग ४३ अरब डलर (ने.रू. ३० खरब ९६ अरब) क्षति भयो। संयोग पनि कस्तो! कतै हुरी-बतास र उखरमाउलो गर्मी त कतै मुटु कमाउने जाडो। जस्तै, जुन र जुलाईमा पनि दक्षिण अर्जेन्टिना, चिली र पेरूमा हिउँ परिरहेको र लुगलुग कमाउने चिसो थियो। माथिकै पत्रिका लेख्छ, “बढ्‌दो तापक्रमले सायद विश्‍वकै हावापानीमा फेरबदल ल्याउँछ भनी वैज्ञानिकहरू भन्छन्‌।” (g05 11/8)

सुसेलीमा बोल्ने

कनेरी टापूको ला गोमेराका गोठालाहरू सुसेलीमा बोल्छन्‌। यो भाषालाई सिल्बो भनिन्छ। उनीहरू दुई स्वरवर्ण र चार व्यञ्जनवर्णलाई चर्को-धीमा विभिन्‍न पाराले सुसेल्दै निकै टाढा-टाढासम्म पनि बातचीत गर्न सक्छन्‌। हालै, अनुसन्धानकर्ताहरूले एम आर आई प्रविधि प्रयोग गरेर स्पेनी भाषा मात्र जान्‍ने पाँच जनाको मस्तिष्क र सिल्बो-स्पेनी दुवै भाषा जान्‍ने पाँच गोठालाको मस्तिष्क दाँजेर हेरे। स्पेनी अखबार एल पाइस बताउँछ, गोठालाहरू “सुसेलीमा बोल्दा उनीहरूको मस्तिष्कले स्पेनी भाषामा कुराकानी गर्दा जस्तै सिग्नल दिएको” अनुसन्धानकर्ताहरूले पाए। एक अनुसन्धनकर्ता भन्छन्‌, “यी प्राप्त तथ्यले के थप सबुत दिन्छ भने, मानव मस्तिष्कले कुनै पनि भाषा सिक्न तालमेल मिलाइहाल्छ।” (g05 11/22)