सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संकट टार्ने कसरी?

संकट टार्ने कसरी?

संकट टार्ने कसरी?

“सहरी क्षेत्रमा बसोबास गर्ने सबै जनताका लागि भोजनको प्रबन्ध गर्नु अहिलेको जल्दोबल्दो समस्या हो, जसको समाधान गर्न किसानलगायत थोक तथा खुद्रा व्यापारी अनि ढुवानीकर्ता एकजुट भई काम गर्नु आवश्‍यक छ।”—झाक जूफ, महानिर्देशक, संयुक्‍त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन।

खाद्य सङ्‌कटबारे अध्ययन गर्ने विशेषज्ञहरू नगरवासीहरूका लागि भोजन जुटाउनु २१ औं शताब्दीको “सबैभन्दा ठूलो समस्या” हुन सक्छ भन्‍न हिचकिचाउँदैनन्‌।

हरेक नगरवासीले “निरोगी अनि फूर्तिलो जीवन बिताउन चाहिने भोजन पाउन सकिरहेका छैनन्‌” भने त्यस्तो अवस्थालाई खाद्य सङ्‌कट मान्‍नुपर्छ। हुन त, सबैलाई पुग्ने गरी बराबर खानेकुरा बाँड्‌ने हो भने अहिले पनि पृथ्वीको उब्जनीले सबैको पेट भर्न पुग्छ। तर दुःखको कुरा, ८४ करोड मानिसहरू हरदिन आधा पेट खाएर सुत्न बाध्य छन्‌। यीमध्ये धेरैजसो सहरी क्षेत्रमा बस्छन्‌। आउनुहोस्‌, यस समस्याका केही पक्षहरू विचार गरौं।

ठूलो सहरको ठूलै पेट

घर, कलकारखाना अनि बाटोघाटो बनाउन जमिन नै चाहिने हुँदा सहरी क्षेत्र फैलदै जाँदा खेती योग्य जमिनको ह्रास हुन्छ। फलतः सहरवासीको पेट भर्न नजिकको खेतबाट खानेकुरा ल्याउन गाह्रो हुँदै जान्छ। अक्सर सहरको परिसरमा कुनै खेती हुँदैन र माछामासु पनि टाढैबाट आउँछ। यसबाहेक, थुप्रै अल्प विकसित देशहरूमा बाटोको समस्याले गर्दा खाद्यान्‍न ढुवानी गर्न धेरै समय लाग्छ। जसले गर्दा बाटोमै खानेकुरा बिग्रने सम्भावना पनि हुन्छ। अन्ततः उपभोक्‍ताहरूले, जसमध्ये धेरै त गरिबै छन्‌, धेरै दाम नतिरी खानेकुरा पाउन सक्दैनन्‌।

अल्प विकसित मुलुकका केही सहरहरूको जनघनत्व अहिल्यै धेरै भइसक्यो भने भविष्यमा झन्‌ बढ्‌ने निश्‍चित छ। सन्‌ २०१५ भित्र, मुम्बईको जनसंख्या २.२६ करोड, दिल्लीको २.०९ करोड, मेक्सिको सिटीको २.०६ करोड अनि साऊ पाउलोको २ करोड पुग्ने अनुमान छ। एउटा अध्ययनअनुसार हाल मनिला वा रियो दे जेनेरियो जस्ता एक करोड जनसंख्या हुने सहरहरूले दैनिक ६,००० टन खाद्य पदार्थ भित्र्याउँछन्‌।

तीव्र गतिले जनघनत्व बढिरहेकोले सहरको पेट भर्नु झन्‌-झन्‌ गाह्रो हुँदैछ। उदाहरणको लागि, पाकिस्तानको लाहोर सहरलाई लिनुहोस्‌। लाहोरमा जन्मदर अरू सहरहरूमा भन्दा धेरै (२.८ प्रतिशत) छ। त्यसमाथि गाउँबाट सहर पस्ने मानिसहरूको संख्या पनि “चिन्ताजनक” तवरले अकासिंदै छ। थुप्रै अल्प विकसित देशहरूको अहिले उस्तै हाल छ। पहिल्यै मान्छेले खचाखच भरिसकेका सहरहरूमा लाखौं मानिसहरू राम्रो काम, सुविधा, बजारको राम्रो व्यवस्थादेखि आकर्षित भई सहर पस्ने क्रम झन्‌-झन्‌ बढिरहेको छ। गाउँबाट आउने मानिसहरूले गर्दा बंगलादेशको ढाका सहरको जनसंख्या प्रति वर्ष १० लाख बढ्‌ने अनुमान छ। चीनमा गरिएको सर्वेक्षणअनुसार अहिले त्यहाँको लगभग ६६ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका छन्‌। तर सन्‌ २०२५ भित्र सबैभन्दा धेरै जनघनत्व सहरी क्षेत्रमा हुनेछ। त्यस्तै, भारतीय सहरहरूको जनसंख्या चाहिं ६० करोड पुग्ने अनुमान छ।

मानिसहरूको बसाइँ सराइले गर्दा पृथ्वीका थुप्रै ठाउँहरूको अनुहार फेरिंदैछ। उदाहरणको लागि, सन्‌ १९६० तिर पश्‍चिम अफ्रिकाका १४ प्रतिशत जनता मात्र सहरी क्षेत्रमा बस्थे। सन्‌ १९९७ मा यो संख्या बढेर ४० प्रतिशत पुग्यो र सन्‌ २०२० मा अझ बढेर ६३ प्रतिशत पुग्ने अनुमान छ। त्यसै गरी पूर्वी अफ्रिकामा पर्ने धेरैजसो देशहरूमा एक दशकभित्र सहरको जनसंख्या दोब्बर हुने आशा गरिएको छ। अल्प विकसित देशको कुल जनसंख्या वृद्धिको ९० प्रतिशत वृद्धि त सहरहरूमा हुने निश्‍चित छ।

सहरी क्षेत्रमा खाने मुख दिनानुदिन थपिंदै गरेकोले सबैलाई पुग्दो भोजनको प्रबन्ध गर्नु अत्यन्तै गाह्रो हुँदैछ। खाद्यान्‍न उत्पादनमा लागेका हजारौं किसान, त्यसलाई बजारसम्म ढुवानी गर्ने र बेच्ने भार आफ्नो काँधमा लिने खुद्रा तथा थोक व्यापारीहरूले एकजुट भई काम नगरेसम्म नगरवासीहरूको पेट भर्न सम्भव छैन। तथापि, केही सहरी क्षेत्रमा खाद्य पदार्थको माग अत्यन्तै बढेकोले त्यसलाई वरपरका इलाकाबाट पूरा गर्न नसकिने भइसकेको छ। यसबाहेक, धेरैजसो सहरका गोदामघर, बजार, वधशाला अनि ढुवानी सेवा अरू थप भार बोक्न नसक्ने स्थितिमा पुगिसकेका छन्‌।

व्यापक गरिबी

यदि कुनै सहर गरिबीले ग्रस्त छ भने त्यहाँका जनताहरूलाई खुवाउनु झन्‌ चुनौतीपूर्ण हुन्छ। ढाका, फ्रिटाउन, ग्वाटेमाला सिटी, लागोस अनि ला पाज जस्ता थुप्रै अल्प विकसित मुलुकका महानगरहरूमा गरिबी दर ५० प्रतिशत वा सोभन्दा धेरै छ।

यस्ता गरिब निमुखा जनताहरूको पेट कसरी भर्ने भन्‍ने विषयमा चर्चा गर्नुपर्दा केही विश्‍लेषकहरू सुलभ भोजन र उचित दामको कुरा गर्छन्‌। उनीहरूको भनाइअनुसार बजारमा भनेको बेला भोजन त पाइएला तर गरिबले किन्‍नै नसक्ने गरी महँगो छ भने समस्या हल हुन सक्दैन। अनुभवले के देखाएको छ भने, केही सहरहरूमा मानिसहरूको आम्दानी बढ्‌ने बित्तिकै भोजनको मात्रा मात्र होइन परिकारको माग पनि बढ्‌दै जान्छ। अर्कोतिर भोका गरिब जनताले भने एक छाकमै चित्त बुझाउनुपर्ने अवस्था हुन्छ। गरिब नगरवासीहरूले प्राय आफ्नो ६० देखि ८० प्रतिशत आम्दानी त हातमुख जोर्नमै खर्च गर्नुपर्ने हुन्छ।

एकैचोटि ग्वाम्म किन्‍न सके कम दाममै खानेकुरा पाइन सक्छ। तर पैसा नहुने गरिबलाई त्यसो गर्नु आकाशको फल ताक्नु बराबर छ। अहिले थुप्रै परिवारले आफ्नो दैनिक खुराकसमेत जुटाउन नसकिरहेका हुँदा उनीहरू कुपोषणको सिकार हुने निश्‍चित छ। उदाहरणको लागि, सहारा मरुभूमि नजिक पर्ने सहरमा कुपोषणले “गम्भीर अनि विकराल समस्याको रूप” लिइसकेको छ।

गाउँबाट भर्खर सहर पस्ने मानिसहरू सहरी वातावरणसित घुलमिल हुन सकिरहेका हुँदैनन्‌। तसर्थ, प्राय यिनीहरू नै कुपोषणको सिकार हुने गर्छन्‌। विशेष गरी लोग्ने नहुने आमा, भनेको बेला तलब नपाउने तल्लो तहका निजामती कर्मचारीहरू, अपाङ्‌ग, बूढाबूढी, रोगी आदि कुपोषणको सिकार हुने सम्भावना बढी हुन्छ। भर्खर सहर पस्नेहरू अक्सर बाक्लो फोहोर बस्तीमा बस्छन्‌, जहाँ बाटो, बिजुली, पानी, ढल निकास, अनि फोहोर मैला उठाउने व्यवस्था जस्ता कुनै भौतिक पूर्वाधारहरू हुँदैनन्‌। उनीहरूले बनाएको टाउको लुकाउने छत पनि उत्तिकै असुरक्षित हुन्छ। भोजन आपूर्ति कम हुने बित्तिकै त्यसको सबैभन्दा पहिलो सिकार यस्तै ठाउँहरूमा जीवन गुजारा गरिरहेका लाखौं मानिसहरू नै हुन्छन्‌। त्यसबाहेक, बजार टाढा भएकोले नजिकै चर्को दाम तिरेर कमसल खानेकुरा किन्‍नु सिवाय अर्को उपाय उनीहरूसित हुँदैन। उनीहरूको अवस्था साँच्चै कहालीलाग्दो छ।

अनिश्‍चित अनि अस्वास्थ्यकर परिस्थिति

धेरैजसो सहरहरूमा प्राय अव्यवस्थित अनि गैर-कानुनी ढङ्‌गले मानिसहरूको बस्ती फैलिरहेको हुन्छ। यस्ता ठाउँमा अपराध धेरै हुन्छन्‌, वरपरको वातावरण पनि असुरक्षित अनि अस्वास्थ्यकर हुन्छ। खाद्य तथा कृषि संगठनको एक प्रकाशनअनुसार (फिडिङ द सिटिज्‌) “थोरै जनसंख्या मात्र धान्‍न सक्ने इलाकामा जनसंख्याको चाप असाध्यै बढेकोले अल्प विकसित देशका प्रशासकहरूलाई हम्मेहम्मे परिरहेको छ।”

अफ्रिकी महादेशका अधिकांश सहरहरूमा बजार व्यवस्था राम्रो छैन। मानिसहरू जहाँ मन लाग्यो त्यहीं बजार खोल्छन्‌। यसरी खोलिएको बजारमा न्यूनतम भौतिक पूर्वाधारहरूको समेत व्यवस्था हुँदैन।

अहिले श्रीलङ्‌काको कोलोम्बो सहरका थोक तथा खुद्रा बजारहरू अप्ठेरो ठाउँमा छन्‌ र मानिसहरूको घुइँचो लागिरहने हुँदा, खुट्टा टेक्ने ठाउँसमेत हुँदैन। ट्रक चालकहरू बजारभित्र पस्न र बाहिर निस्कन मात्र घण्टौं लाग्ने गरेको दुखेसो पोख्छन्‌। साँघुरो ठाउँले गर्दा गाडी पार्क गर्न, सामान चढाउन अनि ओराल्न पनि उत्तिकै कठिनाइ सहिरहनुपरेको छ।

अरू सहरको पनि उस्तै हाल छ। न बजारमा कुनै कुराको सुविधा छ, न बजार व्यवस्थित नै छ। यस्ता बजारहरूबाट निस्कने जैविक अनि अजैविक फोहोरहरू स्वास्थ्यको लागि हानिकारक हुन्छन्‌। दक्षिण एसियाको एउटा सहरका मेयरको भनाइअनुसार “यी समस्याहरूले गर्दा बिस्तारै जीवनस्तर खस्किंदैछ।”

बजारमा सरसफाइको राम्रो व्यवस्था नहुँदा त्यसले कस्तो समस्या निम्त्याउन सक्छ भन्‍ने कुरा बुझ्न दक्षिणपूर्वी एसियाको एउटा सहरमा कसरी मासु बेचिन्छ, ध्यान दिनुहोस्‌। यहाँका बजारहरूमा मासुलाई “भुइँमा राखेर बेच्नु, मासुमा धूलो, फोहोर पानी जे परे पनि त्यसको ख्यालै नगर्नु सामान्य कुरा हो।” बजारमा बेचिने विभिन्‍न मासुहरूको अध्ययन गर्दा ४० प्रतिशत बङ्‌गुरको मासुमा र ६० प्रतिशत गोरुको मासुमा साल्मोनेला भन्‍ने हानिकारक जीवाणु पाइयो। इ. कोली भन्‍ने जीवाणु चाहिं शतप्रतिशत गोरुको मासुमा भेट्टाइयो। यी जीवाणुबाहेक सिसा, पारो जस्ता हानिकारक धातुहरू पनि ती जनावरहरूको मासुमा फेला पऱ्‍यो।

सहरहरूको अर्को समस्या पनि छ। भनेको बेला खानेकुरा नपाइने हुँदा सहरवासीहरू सानो टुक्रो जमिन भेट्‌ने बित्तिकै बाली लगाइहाल्छन्‌। नाइजेरियाको कानो भन्‍ने सहरमा अहिले थुप्रै मानिसहरू त्यसै गरिरहेका छन्‌। तर तिनीहरूले बाली लगाएका प्रायजसो जमिनमा उनीहरूको कुनै हक अधिकार हुँदैन। तसर्थ, कुनै पनि बेला उनीहरूले जमिन मात्र होइन, उब्जनीको समेत माया मार्नुपर्ने हुन्छ।

खाद्य तथा कृषि संगठनका भोजन विशेषज्ञ ओलिभियो अर्जेन्टी, मेक्सिको देशका नगरवासीहरूले कसरी खेती गर्दा रहेछन्‌, यसरी सुनाउँछन्‌। त्यहाँको एउटा सहरमा खोला छेवैमा मानिसहरूले खेती गरेका रहेछन्‌। अनि नजिकै पर्ने गाउँको ढल त्यही खोलाको पानीमा मिसाइँदो रहेछ। मानिसहरू त्यही खोलाको पानी बोटमा हाल्ने र त्यही खोलाको माटोमा बेर्ना लगाउने गर्दा रहेछन्‌। अर्जेन्टी भन्छन्‌: “मैले त्यो ठाउँको प्रशासकहरूलाई त्यसबारे जानकारी गराउँदा उनीहरूले पैसा अनि प्रविधिको कमीले गर्दा अहिले केही गर्न सकिन्‍न भन्‍ने जवाफ दिए।” मेक्सिको देशको मात्र होइन अरू थुप्रै अल्प विकसित मुलुकहरूको कथा उस्तै छ।

भार थाम्न नसकिरहेका सहरहरू

तीव्र गतिले जनघनत्व बढिरहेका सहरहरूको कति समस्याहरू छन्‌, कुरा गरेर साध्य छैन। अन्तरराष्ट्रिय संघ-संगठन, परियोजना, अनि प्रशासकहरू आफूले सकेजति कोसिस गरिरहेका छन्‌। ग्रामीण क्षेत्रका कृषकहरूलाई प्रोत्साहन दिनेलगायत थप नयाँ सडक, बजार तथा वधशालाहरू निर्माण गर्ने, सुविधाजनक तरिकाले खाद्य पदार्थको प्रबन्ध गर्ने जस्ता थुप्रै कामहरू उनीहरूले गरिरहेका छन्‌। गोदाम घर निर्माण गर्ने, किसान, व्यापारी अनि ढुवानी सेवा दिनेहरूलाई सुलभ ऋण उपलब्ध गराउने, व्यापार आचारसहिंता अनि सरसफाइसम्बन्धी नियमहरू लागू गर्ने जस्ता कदमहरू चाल्नुपर्ने आवश्‍यकतामाथि पनि उनीहरू जोड दिंदै आएका छन्‌। तथापि, यी सबका बावजुद स्थानीय तहका थुप्रै प्रशासकहरूले यस्ता प्रयासहरूको महत्त्वै नबुझेको वा बुझ पचाएको थुप्रै विश्‍लेषकहरूको अवलोकन छ। कथम्‌कदाचित्‌ कसैले चासो दिइहाल्यो भने पनि पर्याप्त स्रोतको अभावले गर्दा केही गर्न सकिंदैन।

अहिले मुख्यतः अल्प विकसित देशहरूमा नगरवासीहरूको पेट भर्ने चुनौती दिनानुदिन गम्भीर हुँदै गएकोले तुरुन्तै केही गरिहाल्नुपर्ने स्थिति खडा भइसकेको छ। भोजनसम्बन्धी नीतिहरूको विश्‍वव्यापी अनुसन्धान गर्ने एक अमेरिकी संगठनअनुसार “सहरी क्षेत्रमा जनसंख्याको चाप कम हुने त कुरै छैन। बरु अहिले तुरुन्तै केही गरिएन भने त्यो सँगसँगै यी समस्याहरू [भोकमरी, कुपोषण अनि गरिबी] पनि बढ्‌दै जानेछन्‌।” सहरी क्षेत्रमा देखा परेका समस्याहरूको अध्ययन गर्ने संगठनहरूको अन्तरराष्ट्रिय सञ्जाल, मेगासिटी प्रोजेक्टकी जान्स पर्लमन गरिब सहरहरूको भविष्यबारे यसो भन्छिन्‌: “पहिले कहिल्यै यति धेरै आर्थिक अभाव अनि वातावरणीय समस्याहरूसित जुझ्दै यति धेरै मानिसहरूका लागि भोजन, बास, काम अनि बाटोको प्रबन्ध मिलाउनु परेको थिएन। सहरहरूले अब थप जनसंख्याको भार धान्‍नै सक्दैन।”

तथापि, अब छिट्टै पृथ्वीका सबै मानिसहरूले पेटभरि खान पाउनेछन्‌ भनेर ढुक्क हुने ठोस कारणहरू छन्‌। (g05 11/22)

[पृष्ठ ५-मा भएको पेटी]

सहरहरू फैलिंदैछन्‌

आगामी ३० वर्षमा सबैभन्दा धेरै जनसंख्या वृद्धि सहरहरूमा हुने अनुमान छ।

एउटा अनुमानअनुसार सन्‌ २००७ भित्र, पृथ्वीका आधाभन्दा बढी मानिसहरू सहरी क्षेत्रमा बसोबास गर्नेछन्‌।

सहरी क्षेत्रको जनघनत्व प्रति वर्ष १.८ प्रतिशतले बढ्‌ने अनुमान गरिएको छ; जसअनुसार ३८ वर्षमा सहरहरूको जनसंख्या दोब्बर हुनेछ।

सन्‌ २००३ मा ५० लाख जनसंख्या हुने सहरहरू ४६ थिए भनेर सन्‌ २०१५ मा त्यो संख्या ६१ पुग्नेछ।

स्रोत: विश्‍व सहरीकरण सर्वे—२००३ संस्करण, संयुक्‍त राष्ट्रसंघ, आर्थिक तथा सामाजिक विभाग, जनसंख्या शाखा

[पृष्ठ ६-मा भएको पेटी]

खाद्य संकटका केही कारण तथा प्रभावहरू

“संसारको सबैजसो ठाउँमा खानेकुराको भाउ बढ्‌ने बित्तिकै सहरी क्षेत्रमा हड्‌ताल अनि सामाजिक अराजकता बढ्‌ने गरेको थुप्रै उदाहरणहरू छन्‌।”—झाक जूफ, महानिर्देशक, संयुक्‍त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन।

सन्‌ १९९९ मा जोर्झ र मिच नाउँका समुद्री तुफानले क्यारेबियन र मध्य अमेरीकामा विध्वंस मच्चाउँदा धनजनको ठूलो क्षति भयो। सामान्य जनजीवन अस्तव्यस्त हुनुका साथै खाद्यान्‍न सङ्‌कट पनि भएको थियो।

सन्‌ १९९९ मा इक्वेडरमा र सन्‌ २००० मा बेलाइतमा सरकारले तेलको भाउ बढाउँदा, त्यसको ठूलो विरोध भएको थियो। विरोधले गर्दा खाद्यान्‍न आपूर्ति हुन पाएन।

युद्धले निम्त्याउने थुप्रै समस्याहरूमध्ये एक, अनिकाल पनि हो।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

उस्तै कथा, उस्तै व्यथा

कन्सुएल्यो आफ्ना १३ भुराभुरीसहित पेरूको लिमा सहरको सुकुमबासी इलाकामा बस्छिन्‌। (माथि चित्र हेर्नुहोस्‌।) तिनका तीन जना छोराछोरीलाई क्षयरोग लागेको छ। तिनी भन्छिन्‌ “हामी माथि हिमालमा बस्थ्यौं। तर एक दिन सब गाउँलेहरू सहरतिर झरे। हामी पनि उनीहरूकै पछि पछि लाग्यौं। सहर पसेपछि सबैले ‘हाम्रा छोराछोरीले पढ्‌न पाउँछन्‌, नाङ्‌गो खुट्टा हिंड्‌नुपर्दैन, मजाले जीवन कट्‌छ’ भन्थे क्यार। तर खै?” कन्सुएल्यो अनि उनीजस्तै अरू थुप्रै गाउँलेहरू आफूले बुनेको मान्द्रो काखी च्यापेर अँधेरो रात छिचोल्दै सहर झरे र त्यहीं मान्द्रोको छाप्रो बनाएर बसे। भोलिपल्ट बिहान यति धेरै सुकुमबासीहरू भए कि सरकारले सबैलाई उठाएर धपाउने हिम्मतै गर्न सकेन।

कन्सुएल्योको छाप्रोको छतमा भ्वाङ परिसकेको छ र माटोको भूइँमा बिछ्याउन फाटेको राडीसमेत छैन। वरपर कुदिरहेका चल्लाहरूतिर औंला तेर्स्याउँदै तिनी भन्छिन्‌ “यी यही चल्ला साहुलाई बेचेर जोहो गर्ने विचार गर्दैछु। छोरीलाई जुत्ता किनिदिने मन थियो। तर खै, के गर्ने, पहिले ओखती नकिनी भएन।”

कनसुएल्योको घरमा दुईचारवटा प्याजबाहेक खानलाई केही छैन। काम पाउन पनि गाह्रो। पाइहाल्यो भने पिउने पानी किन्‍न पनि नपुग्ने। फू गर्दै ढल्ला जस्तो तिनको छाप्रोमा चौबीसै घण्टा पानी बग्ने धारो त परै जाओस्‌, दिसा बस्ने ठाउँसमेत छैन। “हामी यही कोपरामा काम पूरा गर्छौं। भरे रात परेपछि केटाकेटीहरूले लगेर मिल्काउँछन्‌। अब अरू कुनै उपाय पनि त छैन नि,” तिनी भन्छिन्‌।

कन्सुएल्योको लोग्नेलाई आफ्नो परिवारको रत्तिभर वास्ता छैन। ऊ घरतिर त्यति देखा पनि पर्दैन। कन्सुएल्यो भर्खर ३०/३५ वर्ष मात्र पुगिन्‌ तर निकै बूढी देखिन्छिन्‌। उनको अन्तरवार्ता लिने लेखिका भन्छिन्‌, “भित्र धसेका काला साना आँखा निस्तेज देखिन्छन्‌। उनको अनुहार सुन्‍निएको छ र कुनै चमक छैन।”

[स्रोत]

स्रोत: इन कन्टेक्स्ट

AP Photo/Silvia Izquierdo

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

“सहर पसूँ कि?”

सहरतिर बसाइँ सर्ने विचार गर्दै हुनुहुन्छ भने बसाइँ सर्नुअघि केही कुराहरू विचार गर्नु राम्रो हुनेछ। संयुक्‍त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले छापेको प्रकाशनले (फिडिङ द सिटिज्‌) के भन्छ भने, “गाउँघरमा भन्दा सहरमा थुप्रै मौका पाइने अनि जीवनस्तर पनि उकासिने सम्भावनाले धेरैलाई आकर्षित गरेको छ।” तथापि, “भन्‍ने बित्तिकै त परै जाओस्‌ दुई-तीन पुस्ता बित्दासमेत जीवनस्तर नउकासिन सक्छ।”

तथ्य कुरा के हो भने, सहरमा तुरुन्तै डेरा अनि जागिर पाइँदैन। फलतः पहिलेको भन्दा पनि चर्को गरिबीको सामना गर्नुपर्ने हुन सक्छ, त्यो पनि नौलो ठाउँमा। तसर्थ, सहर पस्ने विचार गर्दै हुनुहुन्छ भने यी प्रश्‍नहरू विचार गर्नुहोस्‌: के तपाईं परिवार पाल्न सक्छु भनेर निर्धक्क हुनुहुन्छ? सहरमा काम पाउन गाह्रो हुन्छ, पाए पनि प्राय ज्यादै कम पैसा मात्र हात लाग्छ। आफू र आफ्नो परिवारको पेट पाल्ने ज्याला हात पार्न तपाईंले महत्त्वपूर्ण जिम्मेवारीहरूलाई पन्छाउनुपर्ने हुन्छ कि?—मत्ती २८:१९, २०; हिब्रू १०:२४, २५.

केही आमाबाबुहरू परिवारलाई घरमै छोडेर सहरतिर बसाइँ सरेका छन्‌। तर के यो बुद्धिमानी निर्णय हो? मसीही आमाबाबुले अवश्‍य आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्नुपर्छ। तर परिवारदेखि टाढा बसेर काम गर्दा के तिनले परिवारको भावनात्मक अनि आध्यात्मिक आवश्‍यकतालाई ध्यान दिन सक्लान्‌ त? (१ तिमोथी ५:८) घरबाट टाढा जाने बुबाले के आफ्ना छोरीछोरीहरूलाई “प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण” गर्न सक्लान्‌? (एफिसी ६:४) पति-पत्नी अलग्गै बस्दा अनैतिकताको प्रलोभन पर्न सक्छन्‌ कि?—१ कोरिन्थी ७:५.

बसाइँ सर्ने/नसर्ने पक्कै पनि निजी कुरा हो। तर कुनै निर्णय गर्नुअगाडि मसीहीहरूले सबै कुरा विचार गर्नुका साथै प्रार्थनापूर्वक यहोवाको निर्देशन खोज्नुपर्छ।—लूका १४:२८.

[पृष्ठ ८, ९-मा भएको चित्र]

सबै सहरको उस्तै समस्या: थेग्नै गाह्रो सवारीसाधनको चाप अनि फोहोर

भारत

नाइजर

मेक्सिको

बंगलादेश

[पृष्ठ ८-मा भएको चित्र]

सहरी जीवन बिताउने थुप्रै गरिब परिवारहरूका छोराछोरीले समेत काम नगरी धरै छैन

[पृष्ठ ८-मा भएको चित्रको स्रोत]

India: © Mark Henley/Panos Pictures; Niger: © Olivio Argenti; Mexico: © Aubrey Wade/Panos Pictures; Bangladesh: © Heldur Netocny/ Panos Pictures; bottom photo: © Jean-Leo Dugast/Panos Pictures