सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सहरमा खाद्य संकट!

सहरमा खाद्य संकट!

सहरमा खाद्य संकट!

केही देशका सहरवासीहरू आफूले चाहेको बेला, चाहेको दाममा सजिलै भोजन पाइन्छ भन्ठान्छन्‌। कहाँबाट, कसरी खाद्य पदार्थहरू बजारसम्म आइपुग्यो होला, उनीहरू कहिल्यै सोच्दैनन्‌। खाद्यान्‍न सङ्‌कट परेपछि मात्र, बल्ल उनीहरू कसरी पो भोजन भान्साकोठासम्म पुग्दो रहेछ भनेर विचार गर्न थाल्छन्‌। कथम्‌कदाचित्‌ भनेको बेला सहरमा खाद्यान्‍न आइपुगेन भने त्यसको नतिजा डरलाग्दो हुन सक्छ।

उदाहरणको लागि, उत्तर अफ्रिकामा पर्ने एउटा गरिब राष्ट्रलाई लिनुहोस्‌ न। सरकारले खाद्यान्‍नमा दिइरहेको अनुदानमा कटौती हुनेबित्तिकै खानेकुराको भाउ रातारात दुई गुणा भयो। त्यसको विरोध गर्दै जनता सडकमा उत्रिए र पसल, बैंक अनि हुलाक कार्यालयहरूमा तोडफोड गरे। हेर्दाहेर्दै यति छिटो देशभरि आन्दोलन चर्कियो कि सरकारले तुरुन्तै सङ्‌कटकाल घोषणा गर्नुपऱ्‍यो। दङ्‌गाफसाद नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा, १२० जनाले आफ्नो ज्यान गुमाए अनि कैयौं घाइते भए।

आर्थिक तवरमा सम्पन्‍न मुलुकहरूमा समेत खाद्यान्‍न सङ्‌कट हुन सक्छ। यसको उदाहरणको रूपमा सेप्टेम्बर २००० मा बेलाइतमा घटेको घटनालाई लिन सकिन्छ। सरकारले तेलको भाउ असाध्यै बढाएकोले मानिसहरूले तेल प्रशोधन केन्द्रमा धर्ना दिए। धर्नाले गर्दा तेल वितरण हुन पाएन। केही दिनमै पेट्रोल पम्पहरू सुक्खा भए। तेल नपाएपछि गाडीहरू थन्किए। खाद्यान्‍न वितरण त ठप्पै भयो। “खानेकुरा स्टकमा नराख्ने” देशभरिका पसल तथा बजारहरू डङडङी खाली भए।

अल्प विकसित मुलुकमा विभिन्‍न कारणले भनेको बेला खाद्य पदार्थ ठाउँमा नपुग्न सक्छ। संयुक्‍त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको एउटा प्रकाशनअनुसार (फिडिङ द सिटिज्‌) खडेरी, आर्थिक सङ्‌कट, हडताल अनि युद्धलगायत अरू थुप्रै कारणले गर्दा “भोजन ढुवानी अनि वितरण कार्य पटक-पटक ठप्प हुनसक्छ।” “अनि समस्या सानो होस्‌ वा ठूलो, त्यसको सबैभन्दा बढी मार त गरिबलाई नै पर्छ।”

तीव्र सहरीकरणले गर्दा खाद्य पदार्थ वितरण गर्नु “असाध्यै ठूलो चुनौती” हुन सक्छ भन्‍ने विश्‍लेषकहरूको भनाइ छ। एउटा अनुमानअनुसार सन्‌ २००७ भित्र विश्‍वको आधा जनसंख्या सहरमा बसोबास गर्नेछन्‌। त्यसो भएको खण्डमा विश्‍व खाद्य संघअनुसार “मानिसहरूको घर-घरमा सुरक्षित अनि सस्तो खाद्य पदार्थ पुऱ्‍याउनु फलामको चिउरा चपाए सरह हुनेछ।”

बजारबाट तपाईंको भान्सासम्म खानेकुरा पुऱ्‍याउनु चानचुने कुरो होइन। तर खाद्यान्‍न आपूर्ति प्रणाली कत्तिको भरपर्दो छ? किन विशेषज्ञहरू यो प्रणालीले अब धेरै बेर थेग्न सक्दैन भनेर चिन्ता गर्छन्‌? भरे चुल्हो कसरी बाल्ने भनेर चिन्तै गर्नु नपर्ने दिन के कहिल्यै आउला? (g05 11/22)

[पृष्ठ ३-मा भएको चित्र]

खाद्यान्‍न सङ्‌कटको बेला लुटपाट

[स्रोत]

BETAH/SIPA