सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वस्थ दाँत, मीठो मुस्कान

स्वस्थ दाँत, मीठो मुस्कान

स्वस्थ दाँत, मीठो मुस्कान

क्यानाडाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

ऐना हेर्दा, के हेर्नुहुन्छ? कपाल? अनुहार? अनि दाँत नि? किन दाँत? किनकि दाँत स्वस्थ छ भने, मुस्कुराउँदा हिसी देखिन्छ। दूधे दाँत झरेपछि पलाउने दाँत फेरि झऱ्‍यो भने, अर्को उम्रदैन। त्यसैले दाँतको ख्याल त राख्नै पऱ्‍यो! दाँतको काम चपाउन र स्पष्ट उच्चारण गर्न सघाउने मात्र होइन। सोच्नुहोस्‌ त, थोते भइयो भने तपाईंको रूप कस्तो होला? खोपिल्टिएका गाला, चोसो परेको थुतुना! कुरूपै बनाइदिन्छ। अनि कसरी मुस्कुराउने?

कसरी जोगाउने?

दाँत स्वस्थ राख्न दाँत माझेर मात्र पुग्दैन, राम्रो खानपान पनि चाहिन्छ। भिटामिन ए, बि, सी र क्याल्सियमयुक्‍त तागतिलो खानाले दाँत पछिसम्मै बलियो रहन्छ। a त्यसैले, पोषिलो खाना खानुहोस्‌, दाँत स्वस्थ राख्नुहोस्‌। तर गुलियोदेखि सावधान! यसले दाँत सडाउन सक्छ। दुःखको कुरा, गुलियोले दाँत बिगार्छ भन्‍ने थाह हुँदाहुँदै पनि अमेरिकामा वर्षभरि एक जनाले मात्र ५०/६० किलो गुलियो खान्छन्‌! तर गुलियोले कसरी दाँतलाई हानि पुऱ्‍याउँछ?

दुई किसिमको ब्याक्टेरियाले दाँत सडाउँछ। ती हुन्‌, म्युटन स्ट्रेप्टोकोकी र ल्याक्टोब्यासिली। दाँतमा अड्‌केको खाना ब्याक्टेरियासँग मिलेर पातलो पत्र बन्छ र त्यो दाँतमा टाँसिन्छ। यसलाई प्लाक अथवा दन्त लेउ भनिन्छ। दन्त लेउ यी दुई हानिकारक ब्याक्टेरियाहरूको घर हो। यी ब्याक्टेरियाहरू गुलियो भनेपछि हुरुक्कै हुन्छन्‌। यिनीहरूले गुलियोलाई हानिकारक अम्लमा परिणत गरिदिन्छन्‌ र दाँत सडाउँछ। कुनै-कुनै गुलियो खानालाई यी ब्याक्टेरियाहरूले यति छिटो अम्लमा परिणत गरिदिन्छन्‌, दाँत छिट्टै सड्‌छ। b बेलैमा दन्त लेउ हटाइएन भने जमेर ढिक्का बन्छ। यसलाई टार्टर वा दन्त कसर भनिन्छ। दन्त कसर गिजानिर जम्छ।

दन्त लेउ र विशेष गरी म्युटन स्ट्रेप्टोकोकी ब्याक्टेरियालाई दाँतमा बास दिएनौं भने दाँत सड्‌दैन। तसर्थ, मीठो मुस्कानको लागि दिन-दिनै दाँत सफा गर्नैपर्छ। दाँत र गिजासम्बन्धी एउटा अमेरिकी विद्यालय यसो भन्छ: “धागोले दुई दाँतबीच अड्‌केको खानेकुरा निकाल्नु [र दाँत माझ्नु] नै स्वस्थ दाँत र गिजाको रहस्य हो।” कसरी ठीकसित दाँत माझ्ने र दुई दाँतबीच सफा गर्ने (फ्लस), यस लेखको चित्र हेर्नुहोस्‌। दाँत सफा गर्न दन्त चिकित्सकले अन्य औजार र उपायहरू पनि बताउन सक्छन्‌। यसो गऱ्‍यौं भने दाँत स्वस्थ हुन्छ र तपाईंको मुस्कान कहिल्यै फिक्का हुनेछैन।

ब्याक्टेरियाहरूले पैदा गरेको अम्लले दाँतको इनामेललाई क्षति पुऱ्‍याउँछ। तर यसको क्षतिपूर्ति हरेक दिन गर्न सकिन्छ। कसरी? फ्लोराइडको प्रयोगले। एउटा दाँत सड्यो भने अरू पनि सड्‌दै जान्छ। तर फ्लोराइड प्रयोग गरेर त्यसलाई कम गर्न वा रोक्न सकिन्छ।

दन्त चिकित्सककहाँ जाँदा

अधिकांशलाई दन्त चिकित्सककहाँ जान डर लाग्छ। सर्वेक्षण गर्दा मानिसलाई सबैभन्दा पिरोल्ने डरको सूचीमा यो दोस्रो स्थानमा पऱ्‍यो। तर के त्यस्तो विधि डराउनुपर्छ र? हाल धेरैजसो मुलुकमा अत्याधुनिक ड्रिल मेसिन तथा बेहोस पार्ने वा मासु लाटो बनाउने औषधीले गर्दा नदुख्ने गरी उपचार गर्न सकिन्छ। चिकित्सकले कसरी उपचार गर्छ, पहिल्यै थाह पाइराखेमा डर केही कम हुनसक्छ।

दन्त अस्पतालमा, सबैभन्दा पहिले दाँतको स्केलिङ्‌ग गरिन्छ अर्थात्‌ बुरुस वा धागोले नभेटिएका अप्ठेरो ठाउँमा जमेका प्लाक सफा गरिन्छ। दाँत सफा गर्न वा स्केलिङ्‌ग गर्न दन्त चिकित्सक नै चाहिन्छ भन्‍ने छैन। साधारण दन्तकर्मीले पनि गर्न सक्छ। त्यसपछि तपाईंको दाँतलाई टिलिक्क टल्काउन र पहेंलो दाग हटाउन पालिस लगाइन्छ। अब तपाईंको मुस्कान कति मीठो होला सोच्नुहोस्‌ त!

फ्लोराइडले दाँत सड्‌नदेखि जोगाउने भएकोले दन्तकर्मीहरू बच्चाहरूको दाँतमा फ्लोराइडको लेप वा झोल दलिदिन्छन्‌। अधिकांश देशमा धाराको पानीमै फ्लोराइड मिसाइन्छ र अक्सर टुथपेस्टमा पनि फ्लोराइड पाइन्छ।

के गर्छ दन्त चिकित्सकले?

आजकाल दन्त चिकित्सकहरू दाँतको उपचार गर्नभन्दा पनि दाँतलाई सड्‌न नदिन विभिन्‍न उपायहरू खोज्न बढी जागरुक छन्‌। दाँतमा सानोतिनो समस्या देखिने बित्तिकै उपचार थालेमा पूरै दाँत सड्‌न पाउँदैन। त्यसकारण, दाँतमा सानो समस्या देखा पर्ने बित्तिकै दन्त चिकित्सककहाँ जानुभयो भने पछि धेरै पीडा भोग्नु पनि पर्दैन।

तर, दन्त लेउले उत्पन्‍न गर्ने अम्ल नहटाएमा त्यसले दाँतलाई बिगार्छ। बेलैमा रोकथाम गरिएन भने अरू दाँत पनि सड्‌न थाल्छ। त्यसपछि त उपचार नगरी धरै छैन। तर तपाईंको दाँत सडे पनि जरा चाहिं सडेको छैन भने सिमेन्ट भरे मात्र पुग्छ।

दाँत सडेर प्वाल परेको छ भने, दन्त चिकित्सकले ड्रिल गरेर सफा गर्छ र त्यहाँ सिमेन्ट भरिदिन्छ। सिमेन्ट भर्दा आमल्गम हालेको छ भने यो छिट्टै कडा हुन्छ र दाँतमा मजाले बस्छ। दाँतमा कम्पोजिट रेजिन भर्दा चाहिं निलो फाइबर अप्टिक लाइट प्रयोग गरेर सुकाइन्छ। सड्‌ने क्रम बेलैमा रोकिएन भने जरासम्मै पुग्छ। त्यसपछि दुइटा विकल्प छन्‌। रुट क्यानल थेरापी गर्ने वा दाँतै झिक्ने। रुट क्यानल थेरापी गर्ने हो भने दाँत झिक्नु पर्दैन। रुट क्यानल थेरापी गर्दा दाँतमा नक्कली जरा हालिन्छ र दाँतलाई सील गरिन्छ। साह्रै नराम्ररी दाँत बिग्रेको छ भने दाँतमा सुन, चाँदी जस्ता धातुले मोहरेर खोल पनि लगाइन्छ। दाँत झिक्नै परेमा चाहिं नक्कली पनि लगाउन सकिन्छ। c

प्रयास खेर जाँदैन

दन्त चिकित्सककहाँ जान अझै डर लाग्छ भने नि? आफ्नो डर चिकित्सकलाई बताउनुहोस्‌। उपचार गर्दा दुख्यो भने कुनै सङ्‌केत दिन्छु (जस्तै हात उठाउने) भनी पहिल्यै भन्‍नुहोस्‌। उपचार गर्दा, के-के गरिन्छ, पहिल्यै सोध्नुहोस्‌। बच्चाहरूले बदमासी गर्दा दन्त चिकित्सककहाँ लान्छु भनी नतर्साउनुहोस्‌। यसरी सानैदेखि डर हटाउन सकिन्छ।

क्यानाडाका दाँतसम्बन्धी प्राध्यापक डा. ड्यानिएल क्याडलम्यान भन्छन्‌: “सबैले आफ्नो दाँत स्वस्थ राख्न र आजीवन जोगाइराख्न सक्छन्‌। त्यसकारण, आफ्नो मीठो मुस्कानलाई जोगाउन दाँतको ख्याल गर्नुहोस्‌।” तपाईंको यो प्रयास खेर जाँदैन है! (g05 11/8)

[फुटनोटहरू]

a गर्भावस्थामा र स्तनपान गराउँदा आमाले पोषिलो खाना खाएमा शिशुको स्वस्थ दाँत पलाउँछ र पछिसम्मै बलियो रहन्छ। तर १९, २० वर्ष पुगेपछि दाँतको विकास रोकिन्छ।

b दन्तविज्ञहरूले जाइलिटोल भन्‍ने तत्त्व पत्ता लगाएका छन्‌। यसले दन्त लेउमा बस्ने दाँत सडाउने हानिकारक ब्याक्टेरियाहरू मारिदिन्छ। कुनै-कुनै चुइङ्‌गममा जाइलिटोल हुन्छ।

c नक्कली दाँतबारे थप जानकारीको लागि अवेक!, फेब्रुअरी २२, १९९३, पृष्ठ १८-२० को “के तपाईंलाई नक्कली दाँतहरू चाहिन्छ?” लेख हेर्नुहोस्‌।

[पृष्ठ १६-मा भएको पेटी/चित्र]

दाँत माझ्ने

दाँत माझ्ने धेरै तरिकाहरू छन्‌। तर सावधान—टुथपेस्ट धेरै नराख्नुहोस्‌। किनकि धेरै टुथपेस्ट हालेर दाँत माझ्दा त्यसमा भएका “कडा रासायनिक तत्त्वहरूले दाँतको कोमल संरचनालाई हानि गर्छ।”

बुरुसलाई ४५ डिग्रीको कोणमा ढल्काएर तलमाथि हल्का-हल्का माझ्नुहोस्‌। दाँतको बाहिरी, भित्री र माथिको भाग राम्ररी माझ्नुहोस्‌।

बङ्‌गरामा बुरुसलाई दायाँ-बायाँ गर्दै माझ्नुहोस्‌

अगाडिको दाँतको भित्री भाग सफा गर्न, बुरुसलाई ठाडो पारेर समात्नुहोस्‌। त्यसपछि बुरुसलाई भित्रबाहिर गर्दै माझ्नुहोस्‌।

जिब्रो र मुखको तालुलाई पनि बुरुसले हल्का सफा गर्नुहोस्‌

[स्रोत]

Steps 1-4: Courtesy www.OralB.com

[पृष्ठ १७-मा भएको पेटी/चित्र]

दुई दाँतबीचको भाग धागोले सफा गर्ने (फ्लस गर्ने)

खाने बित्तिकै दाँत माझ्न र हरेक दिन धागोले दुई दाँतबीच अड्‌केका खानेकुराहरू निकाल्न अथवा फ्लस गर्न दन्त चिकित्सक सल्लाह दिन्छन्‌।

दुवै हातको माझी औंलामा दाँत सफा गर्ने धागो बेर्नुहोस्‌।

बूढी औंला र चोर औंलाले धागो तन्काउनुहोस्‌। दुई औंलाले धागोलाई भित्रबाहिर तान्दै दुई दाँतको बीचमा बिस्तारै धागो छिराउनुहोस्‌।

त्यसपछि धागोलाई दुई दाँतबीचमा गिजामा घाउ नहुने गरी तलमाथि गर्दै बिस्तारै फोहोर निकाल्नुहोस्‌।

[स्रोत]

Source: The Columbia University School of Dental and Oral Surgery’s Guide to Family Dental Care

Steps 1-3: Courtesy www.OralB.com