सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरलाई कुनै एउटा जाति अरूभन्दा बढी प्यारो लाग्छ?

के परमेश्‍वरलाई कुनै एउटा जाति अरूभन्दा बढी प्यारो लाग्छ?

बाइबल के भन्छ

के परमेश्‍वरलाई कुनै एउटा जाति अरूभन्दा बढी प्यारो लाग्छ?

कसै-कसैले तिनीहरूको जाति वा राष्ट्रमाथि परमेश्‍वरको निगाह छ भन्छन्‌। यसको प्रमाण माग्दा विगतमा आफ्नो राष्ट्रले पाएको गौरवशाली सफलता, जस्तै: आफ्नो सेनाले जितेका युद्धहरू, आर्थिक सम्पन्‍नता आदिको कुरा गर्छन्‌। अथवा भोकाहरूलाई खुवाउने, बेसहारालाई सहारा दिने वा सबैलाई समान न्याय दिनेजस्ता क्षेत्रमा पाएको सफलताको विषयमा चर्चा गर्लान्‌। कतिले भने आफ्नो देशको प्राकृतिक सुन्दरता नै परमेश्‍वरको अनुग्रहको प्रमाण हो भन्छन्‌।

सबै मानिसहरू आफ्नो देशबारे यसरी घमन्ड गर्ने गर्छन्‌। तर के बाइबलमा परमेश्‍वरलाई कुनै देश वा जाति अरूभन्दा बढी प्यारो लाग्छ भन्‍ने छनक पाइन्छ?

परमेश्‍वरका प्रमुख गुणमध्ये एक

परमेश्‍वर निष्पक्ष हुनुहुन्छ भनेर बाइबलले जोड दिन्छ। यो कुरा बुझ्यौं भने उहाँलाई कुनै खास देश वा जाति अरूभन्दा बढी प्यारो लाग्छ कि लाग्दैन, जवाफ पाइहाल्छौं। उदाहरणको लागि प्रेरित १०:३४ ले प्रस्टै यसो भनेको छ: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न।” यहोवा परमेश्‍वर “कसैको पक्षपात गर्नुहुन्‍न” र उहाँ “अन्याय, पक्षपात र घूस लिएको सहनुहुन्‍न” भनेर पनि बाइबलमा लेखिएको छ। (व्यवस्था १०:१७; २ इतिहास १९:७) परमेश्‍वरले पक्षपातलाई घृणा गर्नुका साथै त्यसलाई कुकर्मसित दाँज्नुभएको छ।

तर तपाईं सोध्नु होला, ‘के परमेश्‍वरले प्राचीन इस्राएललाई अरू जाति भन्दा धेरै रुचाउनुभएको होइन र? के यो पक्षपाती व्यवहार भएन र?’ हो, प्राचीन समयमा परमेश्‍वरले इस्राएल राष्ट्रलाई विशेष जातिको रूपमा छान्‍नुभएको थियो अनि अन्य राष्ट्रसित युद्ध हुँदा जोगाउनुभएको पनि थियो। यसबाहेक, परमेश्‍वरले “आफ्नो वचन याकूबलाई र आफ्नो नियम र इन्साफ इस्राएललाई देखाउनुहुन्छ। उहाँले अरू कुनै जातिमाथि यस्तो व्यवहार देखाउनुभएको छैन,” भनेर पनि बाइबलमा लेखिएको छ। (भजन १४७:१९, २०) तर के परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको व्यवहारले उहाँ पक्षपाती हुनुहुन्छ भनी देखाउँछ र? पटक्कै देखाउँदैन। यी तीन कारणहरू विचार गर्नुहोस्‌:

पहिलो: सारा राष्ट्र र जातिहरूको हित होस्‌ भनेर नै परमेश्‍वरले इस्राएलीहरूलाई विशेष जातिको रूपमा छान्‍नुभएको थियो। परमेश्‍वरले इस्राएलीहरूका पुर्खा अब्राहामसित यस्तो करार बाँध्नुभएको थियो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्पत्ति २२:१७, १८) हो, इस्राएलीहरूलाई छान्‍नुको प्रमुख उद्देश्‍य तिनीहरूबाट “सन्तान” खडा गर्नु थियो। किनकि, त्यही ‘सन्तानद्वारै’ “पृथ्वीका सबै जातिहरू” आशीर्वादी हुनेथिए।

दोस्रो: इस्राएलीहरूलाई मात्र आशिष्‌ दिने परमेश्‍वरको उद्देश्‍य थिएन। यहोवा परमेश्‍वरले निष्पक्ष भई अन्य राष्ट्रका मानिसहरूलाई पनि उहाँको उपासना गर्ने मौका दिनुभयो। (२ इतिहास ६:३२, ३३) थुप्रैले यो निम्तो स्वीकार्नुका साथै आशिष्‌ पनि पाए। मोआबी रूथ यसको ज्वलन्त उदाहरण हुन्‌।—रूथ १:३, १६.

तेस्रो: परमेश्‍वरले इस्राएल राष्ट्रसित गाँस्नुभएको विशेष सम्बन्ध क्षणिक थियो। इस्वी संवत्‌ २९ मा येशू ख्रीष्ट प्रतिज्ञा गरिएको “वंश” अर्थात्‌ “सन्तान” प्रमाणित हुनुभयो। (गलाती ३:१६) तर येशू जुन राष्ट्रमा जन्मिनुभएको थियो, त्यहींका बासिन्दाहरूले उहाँलाई मसीह स्वीकार्न चाहेनन्‌। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।” (मत्ती २३:३८) त्यसपछि यहोवाले कुनै एउटा जातिमा मात्र चासो लिन वा कुनै जातिको संघर्षलाई समर्थन गर्न छोड्‌नुभयो। बरु, उहाँले निष्पक्ष भई सम्पूर्ण मानिसजातिलाई नै उहाँको आशिष्‌ पाउने बाटो खोल्नुभयो। यसका केही उदाहरणहरू विचार गर्नुहोस्‌।

सबैका लागि परमेश्‍वरको वरदान

यहोवाले मानिसहरूलाई दिनुभएको सबैभन्दा ठूलो वरदान नै येशू ख्रीष्टको बलिदान हो। (रोमी ६:२३) ख्रीष्टको बलिदानले गर्दा मानिसजातिले पाप र मृत्युको बन्धनबाट छुटकारा पाउनुका साथै अनन्त जीवन पाउने मौका पनि पाए। यो वरदान “हरेक कुल, भाषा, मानिस र जाति[ले]” पाउन सक्छन्‌। (प्रकाश ५:९) हो, ‘येशूमाथि विश्‍वास गर्ने प्रत्येकले’ “अनन्त जीवन” पाओस्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्छ।—यूहन्‍ना ३:१६.

राज्यको सुसमाचार सुन्‍नेहरू सबैले परमेश्‍वरको आशिष्‌ पाउन सक्छन्‌। (प्रकाश १४:६, ७) यसले सुनिश्‍चित भविष्य दिनुका साथै अहिले आनन्दित जीवन बिताउन चाहिने बुद्धिमानी सल्लाह पनि दिन्छ। “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार” गर्ने निष्पक्ष प्रबन्ध परमेश्‍वरले मिलाउनुभएको छ। (मत्ती २४:१४; २८:१९, २०; प्रेरित १६:१०) यो सुसमाचार बाइबलमा छ र अहिले बाइबल पूर्ण वा आंशिक गरी २,३०० भन्दा धेरै भाषाहरूमा पाइन्छ। मायालु बुबाले जस्तै यहोवाले पृथ्वीका सबैलाई “अनन्त जीवनका कुरा” दिनुभएको छ।—यूहन्‍ना ६:६८; यहोशू १:८.

हो, परमेश्‍वरले हरेक राष्ट्र, जाति, वर्ण अनि भाषाका सबै मानिसहरूलाई यीलगायत अन्य वरदानहरू दिनुभएको छ। त्यसकारण, परमेश्‍वरको अनुग्रह र आशिष्‌ पाउन कुनै खास मुलुकमा जन्मनु अथवा कुनै खास जातिको हुनुपर्छ भन्‍ने छैन।

परमेश्‍वरले कसमाथि निगाह राख्नुहुन्छ?

त्यसोभए, परमेश्‍वरको निगाह पाउन हामीले के गर्नुपर्छ? यसको जवाफ प्रेरित पत्रुस यसरी दिन्छन्‌: “हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) परमेश्‍वरमाथि विश्‍वास गर्ने तर त्यो विश्‍वासअनुसार नचल्ने व्यक्‍तिले उहाँको निगाह पाउन सक्दैन। निष्कपट भई परमेश्‍वरलाई माया गर्नु र उहाँलाई रुष्ट तुल्याउनदेखि पर बस्नु आवश्‍यक छ। हामीले “उचित” अथवा परमेश्‍वरलाई मनपर्ने काम जोसिलो भई गरिरहनुपर्छ।

उदाहरणको लागि, प्रायजसो मुलुकहरूमा थुप्रै स्कूलहरू हुन्छन्‌। तर फाइदा लिन स्कूलमा भर्ना भएर मात्र पुग्दैन, स्कूल गएर पढ्‌नुपर्छ, सिक्नुपर्छ। त्यसै गरी परमेश्‍वरले सबैमाथि निगाह राख्नुहुन्छ। तर उहाँको निगाह प्राप्त गर्ने प्रयास हामीले पनि गरेको हुनै पर्छ। यसमा नियमित तवरले बाइबल पढ्‌नु, ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानमा विश्‍वास गर्नु र बाइबल सिद्धान्तअनुसार जीवन बिताउनु समावेश छ। ‘यहोवालाई खोज्यौं’ भने हामी उहाँसामु स्वीकार्य हुनेछौं।—भजन १०५:३, ४; हितोपदेश २:२-९. (g05 12/08)

[पृष्ठ १५-मा भएको चित्र]

परमेश्‍वरले सबै राष्ट्र अनि जातिका मानिसहरूलाई “अनन्त जीवनका कुरा” दिनुभएको छ