घरबारविहीन मानिसहरू विश्वभरि बढ्दैछन्
घरबारविहीन मानिसहरू विश्वभरि बढ्दैछन्
पोल्याण्डका ब्यूँझनुहोस्! लेखक
“कस्तो गन्हाउने फोहोरी, रक्सी धोकेर हिंड्ने जँड्याहा, गाउँ न ठाउँको मान्छे!” घरबारविहीन मानिसहरूलाई हेपेर प्रायः यस्तै अपशब्द प्रयोग गर्ने गरिन्छ। पोल्याण्डको चेन्स्टकोभ भन्ने ठाउँका घरबारविहीनलाई मदत गर्न खटिएका स्वयंसेवकहरूको भनाइअनुसार टाउको लुकाउने ठाउँ नहुने मानिसहरूलाई अक्सर राम्रो दृष्टिले हेरिंदैन।
मंगोलियाको उलानबाटर सहरमा हजारौं सडक बालकहरू बाटोमुनि ढल अनि तातो पानीका पाइपहरू बिछ्याइएका दुर्गन्धित सुरुङमा बस्छन् भनेर केही वर्षअघि दि इकोनोमिस्ट पत्रिकाले आफ्नो रिपोर्टमा खुलासा गरेको थियो। मंगोलियाका नागरिकहरूलाई यसबारे जानकारी गराउँदा, थुप्रैले पहिले त जिब्रो टोके। तर “बाउआमाकै लापरवाही र अल्छेपनले गर्दा नै बच्चाहरूले दुःख पाएका हुन्” भनेर धेरैले हल्कासित लिए भनी माथि उल्लिखित पत्रिका टिप्पणी गर्छ।
संसारको अर्को कुनाको कुरा गर्ने हो भने एउटा देशमा थुप्रै सडक बालकहरूले आफ्नो ज्यान गुमाइरहेका छन्। कानुन आफ्नो हातमा लिएर केही मानिसहरू समाज सुधारको नाउँमा सडकमा सुत्न बाध्य केटाकेटीहरूको हत्या गर्दैछन्। तर हत्या नै किन? संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित किताब यस्तो जवाफ दिन्छ: “ल्याटिन अमेरिकामा कानुनी क्षेत्रमा संलग्न पेशेवरलगायत थुप्रै प्रहरी, मिडिया, व्यापारी अनि आम जनता सडक बालकहरूलाई सभ्य संसार दूषित बनाउने कसिंगर ठान्छन्।” सोही किताब अझ के भन्छ भने, “रियो दे जनेरियो प्रान्तमा दिनहुँजसो कम्तीमा तीन जना सडक बालकको हत्या हुन्छ।”
घरबारविहीन व्यक्ति देख्ने बित्तिकै मानिसहरू “डराउँछन्, शंकालु दृष्टिले हेर्छन्। . . . तर आखिर उनीहरू पनि मानिस नै हुन्। जस्तो हामीलाई भोकले भाउन्न छुट्छ, उनीहरूलाई पनि भोकले सताउँछ। उनीहरू धेरै छन् र दयनीय अवस्थामा छन्।” यो थियो, चेन्स्टकोभका घरबारविहीन मानिसहरूलाई मदत गर्ने स्वयंसेवकहरूले आफ्नो वेवसाइटमा व्यक्त गरेको विचारधारा। सोही स्रोत यस्तो थप टिप्पणी गर्छ: “हामी आशा गर्छौं, . . . यी दयनीय मानिसहरूको पीडा बुझेर धेरैले मदत गर्नेछन्।” तर घरबारविहीनहरूको पहिलो आवश्यकता के हो अनि त्यो कत्तिको तड्कारो छ? (g05 12/08)
[पृष्ठ ३-मा भएको चित्र]
बाटोमुनि सुरुङभित्र पस्ने यो प्वालमा थुप्रै घरबारविहीन केटाकेटीहरू बस्छन्
[स्रोत]
Jacob Ehrbahn/Morgenavisen Jyllands-Posten