सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राचीन समाधिस्थल रूढिवादी विश्‍वासको आँखीझ्याल

प्राचीन समाधिस्थल रूढिवादी विश्‍वासको आँखीझ्याल

प्राचीन समाधिस्थल रूढिवादी विश्‍वासको आँखीझ्याल

कल्पना गर्नुहोस्‌, तपाईं हजारौं वर्षअघि बेबिलोनिया, सुमेर देशको राजा बास गर्ने भव्य ऊर सहरमा हुनुहुन्छ। मानिसहरू आफ्नो प्रिय राजाको मृत शरीर बोकेर लावालस्करसहित चिहानतिर जाँदै गरेको तपाईं देख्नुहुँदैछ। सिपाही, नोकरचाकर, आइमाईको एक हूल बाजागाजासहित हिंड्‌दैछन्‌। सबैले चिटिक्क परेको रङ्‌गीबिरङ्‌गी पोशाक लगाएका छन्‌, आइमाईहरू पनि सोह्र सिंगारले सजिएका छन्‌। अफसरहरू आ-आफ्नो ओहोदाका तक्मा भिरेर छाती फुलाउँदै बुट बजार्दैछन्‌। बग्गी, गोरुगाडा अनि गधागाडा पनि मानिसहरूको हूलसँगै अगाडि बढ्‌दैछ। सइसहरू आ-आफ्नो घोडाको लगाम समात्दै हिंडिरहेका छन्‌। उनीहरू समाधिस्थलभित्र पस्छन्‌। समाधिस्थलभित्र भुइँमा अनि भित्तामा समेत गलैंचै-गलैंचा छ। आकर्षक सुमेर कलाकृति पनि यत्रतत्र छन्‌। भित्र पसेपछि सबै जना आ-आफ्नो ओहोदाअनुसार उभिन्छन्‌। बाजागाजा अझ बन्द भएको छैन। यत्तिकैमा काजक्रिया सुरु हुन्छ।

राजाको अन्तिम संस्कार सकेपछि, बाजा बजाउने मानिसदेखि लिएर नोकरचाकर सबैले, कसैले माटोको, कसैले ढुंगाको अनि कसैले धातुको कचौरा हात-हातमा लिन्छन्‌ र तामाको भाँडामा डुबाउँदै पिउन थाल्छन्‌। यस समारोहका लागि भनेर तयार पारिएको विशेष झोल पिइसकेपछि मानिसहरू फेरि आ-आफ्नो ठाउँमा जान्छन्‌ र गलैंचामा आरामसित पल्टन्छन्‌। त्यसपछि बिस्तारै निद्राको काखमा, अनि अन्तमा मृत्युको काखमा निदाउँछन्‌। एक जनाले तुरुन्त पशुबलि चढाउँछ। त्यसपछि, कामदारहरूले समाधिस्थलभित्र पस्ने मुख सिल गर्छन्‌। सुमेर देशका राजा अनि देव अब बग्गी चढेर आफ्ना नोकरचाकर, भारदार र पहरादारसहित राजसी ठाँटका साथ अर्को लोकको यात्रामा जाँदैछन्‌।

दक्षिण इराकमा उत्खनन्‌ गर्दा पुरातत्त्वविद्‌ सर लियोनार्दो वुलीले माथि दिइएका विवरणसित मेल खाने प्राचीन ऊर सभ्यताका १६ वटा शाही समाधिस्थल फेला पारे। हुन त, त्यस्तो चिहान वा समाधिस्थल देखेपछि कसको पो आङ जिरिङ्‌ग नहोला? र पनि यसलाई उल्लेखनीय खोज मान्‍नुपर्छ। पल बानको किताब, समाधिस्थल, चिहान अनि मम्मी (टुम्ब्स, ग्रेभ्स एण्ड मम्मिज) यसो भन्छ: “मेसोपोटामिया सभ्यतासित सम्बन्धित अहिलेसम्म फेला परेकाभन्दा कैयन्‌ गुना अमूल्य कुरा यी समाधिस्थलहरूमा फेला परेका छन्‌। त्यहाँ भेट्टाइएका उत्कृष्ट अनि लोकप्रिय सुमेर कलाकृतिहरूले अहिले बेलाइती संग्रहालय अनि पेन्सिलभेनिया विश्‍वविद्यालय संग्रहालयको रौनक बढाइरहेको छ।”

तर नरबली र पशुबली फेला पारिएको समाधिस्थल भने यो पहिलो होइन। प्रायः सबै प्राचीन सभ्यतामा, ठूलाबडा अनि राजघरानाका सदस्यहरूले आफ्नो मृत्यु अनि मृत्युपछिको जीवनका लागि भनेर दिल खोलेर खर्च गर्ने गरेको र निरंकुश व्यवहारसमेत गर्ने गरेको पाइन्छ। बहुमूल्य सर-समान तथा कलाकृतिहरूले टन्‍न भरिएको यस्ता राजा-रजौटाका समाधिस्थल जिउँदो मान्छे बस्ने दरबारभन्दा कम हुँदैनथे। अहिले यिनै भव्य अनि अरू थुप्रै साधारण समाधिस्थल, लोप भइसकेका प्राचीन सभ्यताको धार्मिक विश्‍वास, संस्कृति, कला वा प्रविधिलाई नियालेर हेर्ने आँखीझ्याल साबित भएको छ।

राजसी ठाँटसहित चिहानमा

सन्‌ १९७४ को कुरा हो, चीनको झ्याङ सहर नजिकै केही किसानहरू इनार खन्दै थिए। उनीहरूले पानी त भेटनन्‌ तर माटोको मूर्तिका टुक्रा, ढलौटको कमान अनि बाणका तीखा चुच्चाहरू भेटाए। ती किसानहरूले २,१०० वर्ष पुरानो किन्‌ टेराकोटा सिपाही अर्थात्‌ माटोले बनेका ७,००० लडाकूहरूको डफ्फा अनि घोडाहरू फेला पारेछन्‌। हेर्दा जीवितै जस्तो देखिने माटाका सिपाही तथा घोडाहरू आफ्ना मर्यादाक्रमअनुसार उभिएका थिए। किसानले खन्‍नलाई त इनार खनेका थिए तर सम्राट किन्‌ सि ह्वाङ्‌टीको विशाल शाही समाधिस्थल पो फेला पारे! सम्राट किन्‌ सि ह्वाङ्‌टीले ईसापूर्व २२१ मा चीनमा सधैं आपसमा लडिरहने स-साना राज्यलाई एकीकरण गरेर विशाल साम्राज्य खडा गरेका थिए।

सम्राट ह्वाङ्‌टीको समाधिस्थललाई भूमिगत दरबार भन्‍न सुहाउँछ। तर माटोका सिपाही अनि घोडा किन चाहियो? झाङ वन्लीले आफ्नो किताब सम्राट किन्‌ सि ह्वाङ्‌टीका सिपाहीहरू-मा (द किन्‌ टेराकोटा आर्मी) के लेखेका छन्‌ भने “सम्राट ह्वाङ्‌टीको समाधिस्थल किन्‌ साम्राज्यको गौरव अनि वैभवताको प्रतीक थियो र सम्राट किन्‌ सि ह्वाङ्‌टीले आफ्नो मृत्युपछि पनि पहिलेजस्तै सान अनि सामर्थ्यको अनुभव गरून्‌ भन्‍ने विचारले बनाइएको हो।” सम्राट ह्वाङ्‌टीको समाधिस्थल अनि नजिकै फेला पारिएका अन्य ४०० चिहानलाई अहिले विशाल संग्रहालयमा परिवर्तन गरिएको छ।

झाङअनुसार “चीन साम्राज्यभरि उर्दी जारी गरेर ७,००,००० जनतालाई जबरजस्ती” सम्राटको समाधिस्थल बनाउन लगाइएको थियो। ईसापूर्व २१० मा सम्राट किन्‌को मृत्यु हुनअघि नै बनाउन सुरु गरिएको समाधिस्थल सिध्याउन ठ्याम्मै ३८ वर्ष लाग्यो। समाधिस्थलमा गाडिएका सबै कुरा माटाका मात्र थिएनन्‌। किन्‌का उत्तराधिकारीले सम्राटका बाँझी उपपत्नीहरूलाई पनि सँगै गाड्‌नू भन्‍ने आदेश दिएकोले, “अनगन्ती” निर्दोष मानिसहरूले अकालमै ज्यान गुमाउनुपऱ्‍यो भनेर इतिहासकारहरू बताउँछन्‌। तर यस्तो चलन संसारका अरू ठाउँहरूमा पनि थियो।

मेक्सिको सिटी भन्‍ने सहरको उत्तरपूर्वमा प्राचीन सहर तेओतीवाकानका भग्नावशेषहरू छन्‌। यो प्राचीन सहरमा ‘मुर्दा मार्ग’ भनेर नामाकरण गरिएको बाटो थियो। माथि उल्लिखित पल बान भन्छन्‌, “संसारकै उत्कृष्ट स्मारकहरूमध्ये केही” अहिले पनि “यो बाटोको दायाँबायाँ” देख्न सकिन्छ। जस्तै, इस्वी संवत्‌ पहिलो शताब्दीताक निर्माण गरिएका पिरामिड अफ द सन अनि पिरामिड अफ द मुन र क्वेट्‌स्लक्वाट मन्दिरको भग्नावशेष।

भनिन्छ, पिरामिड अफ द सनमा थुप्रै ठूलाठालु अनि सम्भवतः पुरेतहरू समेत गाडिएका हुन सक्छन्‌। वरपरका सामूहिक चिहानमा फेला परेको अवशेषहरूको प्रकृति हेर्दा, पिरामिडभित्र गाडिएका ठूलाठालुहरूको रक्षा गर्न थुप्रै योद्धाहरूको बलि चढाइएको हुनुपर्छ। समाधिस्थल अनि नजिकैका सामूहिक चिहानहरूको बनौटलाई विचार गर्दा, यस क्षेत्रमा कम्तीमा २०० जना मानिसहरूको अवशेष हुनुपर्छ भन्‍ने पुरातत्त्वविद्‌हरूको विश्‍वास छ। स्मारकहरू अर्पण गर्दा केटाकेटीहरूको बलिसमेत चढाइएको हुनसक्ने अनुमान पनि उनीहरूले लगाएका छन्‌।

पानी जहाज वा घोडा चढेर अर्को जुनीको यात्रा

लगभग हजार वर्षअघि पूरै युरोपलाई थर्काउने समुद्री योद्धा, भाइकिङहरू पनि मृत्युपछि भौतिक सुखको आनन्द उठाइरहने कामना गर्थे। मरेको मान्छे घोडा चढेर वा लामो जहाज चढेर अर्को लोकमा जान्छ भन्‍ने उनीहरूको विश्‍वास थियो। त्यसैकारण, भाइकिङहरूको चिहानमा घोडाको अस्थिपञ्जर वा लामो आकारका जहाजका सडेका काठका टुक्राहरू भेट्टाइनु अनौठो कुरा होइन। गीन जोन्स आफ्नो किताब भाइकिङहरूको इतिहास (अ हिस्ट्री अफ द भाइकिङ्‌स) मा लेख्छन्‌: “मृत व्यक्‍तिले पृथ्वीमा बाचुन्जेल भोगेको सुख अनि सम्मान मृत्युपश्‍चात्‌ पनि पाइरहून्‌ भन्‍ने हेतुले मृत पुरुष वा स्त्रीलाई उसलाई चाहिने सब चीजबीजसहित गाडिन्थ्यो। . . . डेनमार्कको लाथब्युमा भेटिएको [गाडिएको] पानी जहाजमा . . . लंगरसमेत थियो। सायद, गन्तव्यमा पुग्ने बित्तिकै लंगर झारेर जहाजलाई रोक्न सकोस्‌ भनेर होला।”

सधैं भिड्‌न मनपराउने भाइकिङ जातिको अर्को अनौठो विश्‍वास थियो। उनीहरू युद्ध लड्‌दालड्‌दै मारियो भने सीधै अजगार्ड अर्थात्‌ देवलोक पुगिन्छ भन्ठान्थे। वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार बस्‌ त्यहाँ पुगेपछि अरू के चाहियो? “दिनभरि युद्ध रातभरि भोज।” भाइकिङहरूको अन्त्येष्टि गर्ने बेला नरबली पनि चढाइन्थ्यो। एउटा किताबअनुसार (द भाइकिङ्‌स) “मुखियाको मृत्यु भयो भने उसका दासदासी अनि नोकरचाकरलाई को-को मालिकसँग परलोक जाने भनेर सोधिन्थ्यो रे।”

उत्तर युरोपका प्राचीन सेल्ट जाति पनि कम थिएनन्‌। उनीहरू ता जिउँदो छँदा लिएको ऋण अर्को जुनीमा तिर्न सकिन्छ भन्थे—ऋण छल्ने कति चतुर बहाना! उता मेसोपोटामियामा केटाकेटीको मृत्यु हुँदा, खेलौना पनि सँगै पुरिन्थ्यो। त्यसैगरि प्राचीन बेलाइतका कुनै-कुनै ठाउँमा भेडाको साँप्रोलाई सिपाहीको लाससँगै पुर्थे—अर्को जुनीमा भोकले रन्थनिनु नपरोस्‌ भनेर! प्राचीन मध्य अमेरिकामा चाहिं माया जातिका राजा-रजौटाको मृत्यु हुँदा पन्‍नाका विभिन्‍न गर-गहनाहरूलाई लाससँगै राखिन्थ्यो। हरियो रङको यस रत्नभित्र हावा र पानी हुन्छ र मरेपछि पनि जिउँदो रहिरहन काम लाग्छ भनी उनीहरू विश्‍वास गर्थे।

लगभग ईसापूर्व १,००० पछिको कुरा हो, अहिलेको बुल्गेरिया, उत्तरी ग्रीस अनि तुर्क देश पर्ने भू-भागमा थ्रासियन भन्‍ने जाति बस्थे। उतिखेर वरपरका राष्ट्रहरू उनीहरूसित खूबै डराउँथे। थ्रासियनहरू सुनका सुन्दर गर-गहना अनि कलाकृतिहरू बनाउन पनि निकै सिपालु थिए। त्यसैले होला, थ्रासियनहरू आफ्नो मुखियाको मृत्यु हुँदा सुनका गर-गहनाले झकिझकाउ पारेर गाड्‌थे। तथापि उनीहरूको चिहानमा मुखियाको लास मात्र होइन रथ, घोडा, उच्चकोटिका हातहतियार अनि उनीहरूका पत्नीका अवशेषसमेत फेला पारिएका छन्‌। थ्रासियन जातिका स्त्रीहरू मृत्युलाई अँगालेर पतिसँगै चिहान जानुलाई आफ्नो ठूलो सौभाग्य सम्झन्थे।

लगभग थ्रासियनहरूकै पालामा, अलिक टाढा कृष्ण सागरको उत्तरतर्फ साइथियन भन्‍ने अर्को जाति बस्थे। लडाइँ गर्न भनेपछि यिनीहरू पनि हुरुक्कै हुन्थे। शत्रुलाई रत्तिभर दयामाया गर्दैनथे। कतिसम्म भने, आफ्नो शत्रुको खोपडीलाई रक्सी पिउने कप अनि कपालचाहिं तालुको छालासमेत लुछेर आफ्नो ओढ्‌ने बनाउँथे। यिनै साइथियन जातिको एउटा चिहानमा आइमाईको अवशेषसँगै एक पोका गाँजा फेला पऱ्‍यो। उनको खोपडीमा तीन वटा साना प्वालहरू थिए। सायद मस्तिष्क सुज अनि त्यसले गर्दा हुने पीडा कम गर्न होला। एक पोका गाँजा सँगै गाड्‌नुको कारणचाहिं अर्को लोकमा गएपछि टाउको दुखेको बेला गाँजा तानेर पीडा कम गर्नका लागि हुन सक्छ।

मिश्री विश्‍वासअनुसार मृत्युपछिको जीवन

इजिप्ट देशको राजधानी, कायरोका पिरामिड अनि लक्जर नजिकैको शाही चिहान अर्थात भ्याली अफ द किङ्‌स संसारकै लोकप्रिय प्राचीन समाधिस्थलहरूको गन्तीमा आउँछ। उहिलेका मिश्रीहरूले “समाधिस्थल” बुझाउन चलाउने पर शब्दको अर्थ “घर” हुन्थ्यो। “मतलब, उनीहरूको बाँचुन्जेल एउटा घर, मरेपछि अर्को घर हुन्थ्यो,” भनेर क्रिस्टिन एल महडीले इजिप्टका प्राचीन समाधिस्थलसम्बन्धी आफ्नो किताबमा (मम्मिज, मीथ, एन्ड म्याजिक इन एन्सियन्ट इजिप्ट) उल्लेख गरेकी छिन्‌। “[मिश्रीहरू] मानव देहमा तीन तत्त्व अर्थात्‌, का, बा र आक हुन्छ र देहविना यी तीन तत्त्व जीवित रहन सक्दैनन्‌ भनेर विश्‍वास गर्थे,” भनेर पनि तिनले बताएकी छिन्‌।

मिश्री विश्‍वासअनुसार का मानव शरीरको हुबहु अलौकिक कपि हो र का-सित उसको आफ्नै आशा, आकांक्षा अनि आवश्‍यकता हुन्छ। मृत्युपछि का-ले देह त्याग गर्छ र चिहानमा बास गर्छ। तर का मानव देहको हुबहु कपि भएकोले त्यसलाई ती सबै चीज चाहिन्छ, जुन जिउँदो मान्छेलाई चाहिन्छ। एल महाडी भन्छिन्‌ “मुख्यतः यही का-को इच्छा तृप्त पार्न नै चिहानभित्र विभिन्‍न असल थोकहरू राख्ने गरिएका हुन्‌।” बा-चाहिं मान्छेको चरित्र वा व्यक्‍तित्व जस्तै हो भनिन्छ र प्रायः मान्छेको टाउको भएको चराद्वारा चित्रण गरिन्थ्यो। जन्मिंदा मानव देहमा बा प्रवेश गर्छ र मृत्युपछि देह त्याग गर्छ भनेर मिश्रीहरू विश्‍वास गर्थे। त्यस्तैगरि तेस्रो तत्त्व आक देव लोकमा हुन्छ तर कसैले मृत शरीर अर्थात्‌ मम्मीमाथि मन्त्र फुक्यो भने “निस्केर” आउँछ भन्‍ने मिश्री आस्था थियो। a

मिश्रीहरूले मानव देहलाई तीन तत्त्वमा बाँडेझैं प्राचीन युनानी दार्शनिकहरूले दुई तत्त्वमा—देह अनि सचेत “आत्मा” मा बाँडेका थिए। अहिले पनि उत्तिकै लोकप्रिय यो शिक्षालाई बाइबलले भने पटक्कै समर्थन गर्दैन। किनकि बाइबलअनुसार “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।”—उपदेशक ९:५.

मृत्युप्रति किन यतिबिघ्न मोह?

ई. ओ. जेम्स आफ्नो किताब प्रागैतिहासिक धर्म-मा (प्रिहिस्टरिक रिलिजियन) लेख्छन्‌: “मानव जीवनलाई . . . उलटपलट पार्ने अनि व्याकुल बनाउने सबैभन्दा पीडादायी घटना मृत्यु नै हो। . . . तसर्थ, मानव सभ्यताको उत्पत्तिदेखि नै मृत व्यक्‍तिको पूजाअर्चनाले मानव समाजमा महत्त्वपूर्ण स्थान ओगट्‌दै आउनु कुनै अनौठो कुरा होइन।”

सबैभन्दा पुरानो अनि साँचो बुद्धिले भरिएको किताब बाइबलले भने मृत्युलाई मानिसको शत्रु भन्‍ने नाउँ दिएको छ। (१ कोरिन्थी १५:२६) मृत्युलाई योभन्दा सुहाउने नाउँ अरू के होला र? चाहे जुनसुकै जाति वा सभ्यताको होस्‌, मृत्युपछि सबै अस्तित्वविहीन हुन्छन्‌ भनेर मानवजातिले कहिल्यै स्वीकार्न सकेका छैनन्‌। तथापि, बाइबलले उत्पत्ति ३:१९ मा “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌” भनेर मृत्युपछि के हुन्छ प्रस्ट पारेको छ, जसको प्रमाण हरेक चिहान आफैले दिन्छ। तर मृत व्यक्‍तिको विषयमा चर्चा गर्दा बाइबलमा “सम्झनाको चिहान” भन्‍ने शब्द पनि चलाएको पाइन्छ। किन? किनकि कुहिसकेका वा जलेर खरानी भइसकेका धेरै जसो मानिसहरूलाई परमेश्‍वरले सम्झिरहनुभएको छ र यस पृथ्वीलाई प्रमोदवनमा परिवर्तन गर्नुभएपछि तिनीहरू सबैलाई फेरि एकपल्ट अनन्त जीवनको आनन्द उठाउने मौका दिनुहुनेछ।—लूका २३:४३, NW; यूहन्‍ना ५:२८, २९, NW.

त्यो समय नआउन्जेल राजा होस्‌ वा रंक, चिहानमा हुनेजति सबै अचेत अवस्थामै रहनेछन्‌। येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभएको थियो। (यूहन्‍ना ११:११-१४) निदाइरहेको व्यक्‍तिलाई पक्कै पनि असल चीजबीज वा नोकरचाकर चाहिंदैन। हुन पनि, हामीले आजसम्म देखे-सुनेको कुरा यही हो कि, चिहानमा गाडिएका अपार धन-सम्पत्तिले गर्दा कसैलाई फाइदा भएको छ भने, मरिसकेकालाई त होइन, जिउँदा डाँकुहरूलाई नै भएको छ! मरेपछि डुमै राजा! त्यसैकारण त बाइबल यसो भन्छ: “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं।” (१ तिमोथी ६:७) मृत्युको डर अनि मोहले गर्दा बितेको समयमा मानिसहरूले हुनसम्मको क्रूर अनि पाशविक व्यवहार गरे। अहिले पनि मृत्युको भक्‍ति गर्ने धर्मपन्थीहरूको कुनै कमी छैन। तथापि खुसीको कुरा, बाइबल पढेर तथ्य कुरा थाह पाउने व्यक्‍ति यी सब झूटा कुराहरूबाट “स्वतन्त्र” हुन्छ।—यूहन्‍ना ८:३२.

यद्यपि, ती प्राचीन भव्य समाधिस्थलहरूलाई पूरै बेकार मानिहाल्नु पर्दैन। किनकि त्यहाँ भित्र फेला परेका थुप्रै कलाकृति अनि मानव अस्थिहरूले गर्दा लुप्त भइसकेका सभ्यताबारे धेरै कुरा सिक्न पाएका छौं। (g05 12/08)

[फुटनोट]

a “मम्मी” भन्‍ने शब्दको जन्म मम्मिया भन्‍ने अरबी शब्दबाट भएको हो, जसको अर्थ “अलकत्रा” हुन्छ। खोटो दलेर सुकाइएको लास कालो रङको हुने भएकोले मम्मी भन्‍ने चलन सुरु भएको हो। तथापि, अहिले दुर्घटनावश अथवा जानाजानी कुहिनबाट बचाइएको लास वा सिनोलाई बुझाउन यो शब्द प्रयोग गर्ने गरिन्छ।

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

कति स्वस्थ थिए त हाम्रा पुर्खा?

प्राचीन समाधिस्थलभित्र कक्रेर बसेका अवशेषका साथै धाप, हिउँ अनि वरफमुनि दबिएका र मरुभूमिको तातो बालुवाभित्र लुकेका सग्ला अवशेषहरूको अध्ययन गरेर वैज्ञानिकहरूले हाम्रा पुर्खाहरूको स्वास्थ्यबारे निकै जानकारी हासिल गरेका छन्‌। अहिले जेनेटिक्स विज्ञानले फड्‌को मारिसकेको हुँदा अत्याधुनिक यन्त्रहरूको प्रयोग गरेर मिश्री राजा-रानीहरूको नाता-सम्बन्धदेखि लिएर इन्का कुमारीको रक्‍त समूहसमेत पत्ता लगाउनु बायाँ हातको खेल भइसक्यो। हाम्रा पुर्खालाई पनि हामीलाई जस्तै जोर्नीशोथदेखि लिएर छालाको मुसोसमेतले पिरोल्दो रहेछ।

तर बिचरा प्राचीन मिश्रीहरू! उनीहरूको पोल्टोमा चाहिं बढ्‌तै रोग-व्याधि परेछ। उनीहरूलाई जुकोले साह्रै पिरोलेको रहेछ। नील नदी र सिंचाइ गर्न बनाइएका नहरहरूको पानीले गर्दा उनीहरूलाई रगतमा पर्ने जुका (सिस्टसोम), छाला छेडेर निस्कने जुका (गिनी वर्म्स), फित्ते जुकाले (टेप वर्म्स) ग्रस्त पार्दोरहेछ। यो कुरा सुन्दा, ईसापूर्व १५१३ मा आफ्ना मानिसहरूलाई मिश्र देशबाट छुटाएर ल्याउनुहुँदा परमेश्‍वरले भन्‍नुभएका यी कुरा झल्याँस्स याद आउँछ: “[यहोवाले] तिमीहरूले नदेखेका मिश्रका भयानक विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुनेछैन।”—व्यवस्था ७:१५.

[स्रोत]

© R Sheridan/ANCIENT ART & ARCHITECTURE COLLECTION LTD

[पृष्ठ १८-मा भएको चित्र]

शाही समाधिस्थलमा पाइएकी सुमेर दासीको शिरपोस र गरगहना

[स्रोत]

© The British Museum

[पृष्ठ १९-मा भएको चित्र]

सम्राट ह्वाङ्‌टीका माटाका डफ्फा—अनौठो कुरा, कसैको अनुहारको बान्की कसैसित मिल्दैन

[स्रोत]

Inset: Erich Lessing/Art Resource, NY; © Joe Carini / Index Stock Imagery

[पृष्ठ २१-मा भएको चित्र]

मेक्सिको, तेओतीवाकानको पिरामिड अफ द सन र ‘मुर्दा मार्ग’

[स्रोत]

Top: © Philip Baird www.anthroarcheart.org; painting: Pictorial Archive (Near Eastern History) Est.

[पृष्ठ २१-मा भएको चित्र]

बायाँ: मिस्री राजा टुटेनखामेनको अस्थिमा फेला परेको सुनको मुखौटा। तल: समाधिस्थलमा मान्छेको टाउको भएको चरो, बा को चित्र