सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बरफ र हिउँमा कुँदिएका बाइबल कथा

बरफ र हिउँमा कुँदिएका बाइबल कथा

बरफ र हिउँमा कुँदिएका बाइबल कथा

जर्मनीका ब्यूँझनुहोस्‌! लेखक

“एकदम गजबको!” यो थियो, आन्याको प्रतिक्रिया। जर्जले भने, “मान्छेले चाह्‍यो भने गर्न नसक्ने के पो रहेछ र?” यस्ता टिप्पणीहरू सुन्दा, जर्मनीको उत्तरी भेगमा पर्ने लूबेकमा आयोजना गरिएको बरफको मूर्तिकला प्रदर्शनी, आइस वर्ल्ड हेर्न हामीलाई कुतकुती लाग्यो। त्यसैले एउटा समूह बनाएर हामी लूबेकतर्फ लाग्यौं। उक्‍त प्रदर्शनीको शीर्षक थियो: “बाइबल—पुरानो तथा नयाँ नियमका कथाहरू।”

हामी लूबेक आइपुग्दा सुप्रसिद्ध होलस्टिन गेटमाथि कालो बादल मडारिरहेको थियो। अलि पर एउटा बडेमानको पाल टाँगिएको थियो। बाहिरबाट हेर्दा साधारण देखिए तापनि भित्र भने रंगीबिरंगी बत्तीले दुलहीझैं सिंगारिएको थियो। छिनछिनमा परिवर्तन हुने बत्तीको रंग सँगैसँगै हिउँ र बरफका चम्किला मूर्तिहरूले काँचुली फेरेको दृश्‍य असाध्यै आकर्षक थियो।

पालभित्र पस्ने बित्तिकै एकदम चिसो महसुस भयो। त्यति बेला न्यानो लुगा लगाउन हाम्रो साथीले दिएको सल्लाह सम्झ्यौं। तपाईं चिसो ठाउँमा बस्नुहुन्छ भने -१०° सेल्सियस त केही पनि होइन जस्तो लाग्ला। तर हामीमध्ये कोही-कोहीले स्कार्फ र पञ्जा बोक्न बिर्सेकोले थकथक लाग्यो। तर बरफले बनेका रंगीबिरंगी मूर्तिहरू देखेपछि भने हामीले सब कुरा बिर्स्यौं।

बरफमा कुँदिएका बाइबल कथाहरू

हामीले एउटा स्वर्गदूत देख्यौं। साह्रै राम्ररी बनाइएको रहेछ। लुगाको मुजा हेर्दा कतै साँच्चैको लुगा पो हो कि जस्तो देखिने! यो मूर्ति हावामा उडिरहेको जस्तो देखिन्थ्यो। अर्को ठाउँमा, आदमको सृष्टिलगायत सृष्टिका अन्य विभिन्‍न दृश्‍यहरू झल्काउने कलाकृतिहरू पनि थिए। त्यसको नजिकै नूहको जहाज थियो। एउटा जलगैंडा जहाजभित्र छिर्न नसकेर ढोकैमा अड्‌किएछ। त्यसपछि उसको जोडीले चाहिं पछाडिबाट मरीमरी ठेलिरहेको रहेछ। ढोकामा अड्‌किएको जलगैंडाको टाङमुनिबाट एउटा फुच्चे मुसो जहाजभित्र पस्दै थियो। यी सब देख्दा हामीले हाँसो थाम्नै सकेनौं। नूहचाहिं काठको थाकनेर उभिरहेका थिए। तर नझुक्किनुस्‌ नि। यो काठ साँच्चैको नभई बरफको हो।

त्यसपछि, हामी अदनको बगैंचामा आदम र हव्वाले फल खाइरहेको दृश्‍य भएको ठाउँमा पुग्यौं। त्यसपछिको अर्को एउटा निकै भव्य मूर्तिकलालाई भने हामीले राम्रैसित नियाल्यौं। यस मूर्तिमा मोशाले व्यवस्थाका दुई वटा पाटी बोकिरहेका थिए। हामीले यस मूर्तिलाई ध्यान दिएर हेर्नुको कारण के होला, अनुमान गर्न सक्नुहुन्छ?

बरफको पाटीमा दस आज्ञा नभई टेट्राग्रामाटन अर्थात्‌ परमेश्‍वरको नाउँ यहोवा पो लेखिएको रहेछ! परमेश्‍वरको नाउँ यसरी हिब्रू भाषाका ठूलठूला अक्षरमा देख्न पाउँदा हामी औधी रमायौं। प्रदर्शनी ब्रोसरको मुखपृष्ठमा समेत मोशाको यो मूर्तिकला थियो। अनि झट्टै आँखामा पर्ने कुरा त्यही टेट्राग्रामाटनको चित्र थियो। यो मूर्तिको फोटो खिच्न हामीले कुनै कञ्जुस्याइँ गरेनौं। नजिकै एउटा बाछो थियो। बत्तीको सहायताले यसलाई सुनौलो रंग दिइएको थियो। त्यो बाछो देख्दा, मिश्रबाट छुटेको केही समयपछि नै इस्राएलीहरू अनैतिकता र मूर्तिपूजामा फसेको घटना हामीले सम्झ्यौं।

दुःखको कुरा, बरफको पर्खालमा कुँदिएका याकूब र एसावको चित्र अनि यूसुफ र फिरऊनको चित्र भने चिन्‍न गाह्रो पऱ्‍यो। गाह्रो नपरोस्‌ पनि कसरी? प्रदर्शनी सुरु भएको तीन हप्तामा लगभग १,००,००० मानिसले यो प्रदर्शनी हेरिसकेका रहेछन्‌। यत्तिका मानिसहरूको आउजाउ हुँदा बरफका मूर्तिहरू अलिअलि त पग्लने नै भए नि। तर शिमशोनको ठूलो मूर्ति भने जस्ताको तस्तै रहेछ। तिनले पलिश्‍तीहरूको मन्दिरका मूल-खाँबाहरू ढालिरहेका थिए। अर्को एउटा मूर्तिमा भने दलीलाले तिनको कपाल काटिरहेकी थिइन्‌।

बाइबलका अर्का पात्र दाऊद पनि छुटेका रहेनछन्‌। तिनले गोल्यतलाई पछारेको र बेतशेबाले नुहाउँदै गरेको दृश्‍य हेरिरहेका मूर्तिकलाहरू बनाइएका रहेछन्‌। अर्को ठाउँमा येशू जन्मँदाको क्षण देखाइएको थियो। यसको ठीक अर्कोपट्टि, येशूले आफ्ना चेलाहरूसित अन्तिम भोज खाइरहनुभएको दृश्‍य थियो।

यी सबै मूर्तिकलाहरू हेर्दा हामी जाडोले कठाङग्रिसकेका थियौं। त्यसैले बाहिर निस्केने बित्तिकै हामी होलस्टिन हलसँगैको चिया पसलभित्र छिऱ्‍यौं। हलभित्रका ठूलठूला पर्दाहरूमा, यी मूर्तिकलाहरू कसरी बनाइएका थिए भन्‍ने विषयमा भिडियो देखाइँदै रहेछ।

मूर्तिकलाहरू कसरी तयार पारिए?

सबैभन्दा सुरुमा, ६ फिट लम्बाइ, ३ फिट चौडाइ र २ फिट उचाइ भएका ३५० टन बरफका ढिकाहरू ट्रकमा राखेर बेल्जियमबाट ल्याइयो। त्यसपछि, कत्रो मूर्ति बनाउने हो, त्यसैअनुसार एउटा ढिकामाथि अर्को ढिका गर्दै चाङ लगाएर राखियो। मेसिनको सहायताले २०० टन हिउँ बनाएर त्यसलाई ठूलठूला बाकसमा खाँदेर बरफका ढिकाहरू बनाइएको रहेछ। करौंती, छिनु, दाँत माझ्ने बुरूस, स-साना नलीहरू चलाएर मूर्तिकारहरूले बरफका ढिका र हिउँका थुप्राहरूलाई बाइबलआधारित दृश्‍यहरूमा परिणत गरेका थिए।

यस परियोजनाकी नेतृ याना कुर्बिसका अनुसार सबैभन्दा ठूलो चुनौती भनेको ठिक्कको तापक्रम सिर्जना गर्नु र यसलाई घटबढ हुन नदिनु थियो। तर यो मेहनत त्यत्तिकै खेर गएन। यस प्रदर्शनीले सबैको वाहवाही पायो। “ओहो!,” एउटी स्त्री छक्क पर्दै थिइन्‌। एक जना पुरुषले यस प्रदर्शनीलाई “असाध्यै राम्रो” भनेर वर्णन गरे। तर तिनकी पत्नी भने पछुतो मान्दै थिइन्‌। किनभने बाइबलबारे धेरै ज्ञान नभएकोले तिनले प्रदर्शनी राम्ररी बुझ्न सकिनछिन्‌।

बच्चा, बूढा सबै नै घरी यता घरी उता गर्दै, मूर्तिनेर टाँसिएको बाइबल घटनाहरूको विवरण पढ्‌न व्यस्त थिए। हामी आइस वर्ल्डबाट बाहिर निस्कँदा त्यहाँ भित्रको संसार हाम्रो क्यामेरामा मात्र कैद भएको थिएन। तर हिउँ र बरफमा उतारिएका बाइबल कथाहरू हाम्रो दिमागमा पनि कहिल्यै नमेटिने गरी ठप्प बसेका थिए। (g05 12/22)

[पृष्ठ २६-मा भएको चित्र]

प्रदर्शनी ब्रोसरमा परमेश्‍वरको नाउँ हिब्रू भाषामा छापिएको थियो

[पृष्ठ २६-मा भएको चित्र]

आदमको सृष्टि

[पृष्ठ २७-मा भएको चित्र]

शिमशोन पलिश्‍तीहरूको मन्दिरको मूल-खाँबो ढाल्दैछन्‌

[पृष्ठ २७-मा भएको चित्र]

दाऊद र गोल्यत

[पृष्ठ २७-मा भएको चित्र]

नूहको जहाज

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Moses in ice: Foto von: Nils Bergmann; snow crystal: snowcrystals.net; creation of Adam: Foto von: Nils Bergmann