बैजनी रङको छोटो इतिहास
बैजनी रङको छोटो इतिहास
मेक्सिकोका ब्यूँझनुहोस्! लेखक
“अब हे मानिस, टायर शहरको निम्ति विलाप गर्। . . . तेरो जहाजको पाल मिश्र देशको महिन बुट्टेदार मलमलको थियो। त्यही तेरो झण्डा थियो। एलीश टापूको समुद्र–किनारका नीलो र बैजनी रंगका कपड़ाको तेरो चँदुवा थियो। . . . असल पोशाकहरू, . . . यिनै चीजहरूको तिनीहरूले तँसित व्यापार गर्थे।”—इजकिएल २७:२, ७, २४.
टायर सहर पहिले फोनिसिया र हाल लेबनान भनेर चिनिने देशको प्रमुख बन्दरगाह थियो। यस सहरमा बैजनी कपडाको व्यापार निकै फस्टाएकोले यो चहकिलो रङलाई रोमी साम्राज्यमा टायरको बैजनी भन्ने गरिन्थ्यो।
बैजनी रङका कपडाहरू निकै महँगा हुने भएकोले राजघरानाकाहरू र हुनेखानेले मात्र लगाउन सक्थे। a प्राचीन रोममा बैजनी रङको लुगा लगाउने दुस्सहास गर्ने “सर्वसाधारणलाई” राजद्रोहको दण्ड दिने शाही उर्दी नै थियो।
यो बैजनी रङ अहिलेजस्तै पहिले पनि समुद्री शंखेकीराबाटै निकालिन्थ्यो। एउटा शंखेकीराबाट एक थोपा मात्र रङ निस्कन्छ। टायरवासीहरू विशेष गरी भूमध्यसागर वरपर पाइने ब्रान्दारिस र ट्रुन्कुलस जातिका शंखेकीराबाट बैजनी रङ निकाल्थे। ठाउँअनुसार शंखेकीराबाट निस्कने रङ फिक्कादेखि लिएर गाढासम्म विभिन्न थरीका हुन्थे।
बैजनी रङको मेक्सिकाली इतिहास
धेरै अघिको कुरा हो, स्पेनीहरूले दक्षिण अमेरिकालाई कब्जा गरेपछि पहिलो पटक बैजनी रङका कपडाहरू
देखेका थिए। बैजनी रङ कपडामा राम्ररी बसेको देखेर तिनीहरूले चित खाए। बैजनी रङका कपडाहरू धोएपिच्छे रङ खुइलिनुको साटो झन्-झन् उज्यालो भएको तिनीहरूले याद गरे। यी आदिवासीहरूले बैजनी रङका विभिन्न खाले लुगा लगाउने गरेको पुरातात्त्विक प्रमाणबाट पत्ता लागेको छ।मेक्सिकोका मिक्सटेक आदिवासीहरू पुर्पुरा पाटुला पान्सा भनिने शंखेकीराबाट निस्केको रसले धागो रङाउँथे। टायरवासीहरूले प्रयोग गर्ने गरेका शंखेकीरा र पुर्पुरा पाटुला पान्सा एकै प्रजातिका शंखेकीराहरू हुन्। यी दुवै थरीका शंखेकीराले पहेंलो-पहेंलो देखिने रस निकाल्छ जुन हावामा मिसिने बित्तिकै बैजनी रङको हुन्छ। शंखेकीराको रसबाट निस्कने यो बैजनी रङ एकदम विशेष छ। किनकि, कपडा रंगाउन त्यसमा अरू कुरा मिसाउनै पर्दैन। कुनै अन्य तत्त्व नमिसाईकनै यो रङ पक्का गरी बस्छ।
टायरवासी र रोमीहरूले शंखेकीरालाई मारेर रङ निकाल्थे। तिनीहरूले मारेर फालेका शंखेकीराको डङ्गुर अहिले पनि छ। तर मिक्सटेक आदिवासीहरू प्रशान्त महासागरमा पुर्पुरा खोज्थे र रङ “दुहुन्थे।” शंखेकीरालाई फुक्दा त्यसले अनमोल रस निकाल्थ्यो र त्यो रसलाई सोझै धागोमा थापिन्थ्यो। त्यसपछि त्यो शंखेकीरालाई फेरि समुद्रमै छोडिन्थ्यो। मिक्सटेक आदिवासीहरू शंखेकीरालाई फुल पार्ने मौसममा “दुहुँदैनथे।” वास्तवमा यस्तो चलनले गर्दा नै आजसम्म शंखेकीरा लोप हुन पाएको छैन।
जैविक विविधताको संरक्षणका लागि खडा गरिएको राष्ट्रिय आयोगअनुसार सन् १९८० दशकको सुरुतिर अक्टोबरदेखि मार्चमा शंखेकीरा खोज्न मिक्सटेक आदिवासीहरू २०० किलोमिटर हिंडेर वातुल्को खाडीसम्म पुग्थे। शंखेकीरालाई हानि नहुने गरी रङ निकाल्ने तरिकाले गर्दा पर्यावरण सन्तुलित थियो। तर सन् १९८१ देखि १९८५ मा विदेशी कम्पनीले जथाभावी शंखेकीरा पक्रँदा पर्यावरणीय सन्तुलन बिग्रियो। फलतः पुर्पुरा शंखेकीरा स्वात्तै घट्यो। त्यसपछि, शंखेकीरा मार्न नपाउने र मिक्सटेक आदिवासीहरूले मात्र रङ निकाल्न पाउने कानुन बनाइयो।
पुर्पुरा शंखेकीरा मार्न प्रतिबन्ध लगाइए तापनि पर्यटन उद्योग फस्टाएकोले पूरै खतरा टरिसकेकै चाहिं छैन। जे होस्, यो उदेकलाग्दो प्राणीको संरक्षण होस् र यसले सुन्दर रङ निरन्तर दिइरहोस् भन्ने कामना थुप्रैले गरेका छन्। (g05 12/08)
[फुटनोट]
a निलो र रातो रङ मिसाएर बनाइने भएकोले बैजनी रङ रातो-बैजनीदेखि निलो-बैजनी अर्थात् गाढा रातोदेखि प्याजी हर किसिमको रङमा पाइन्छ। उहिले कलेजी रङलाई पनि “बैजनी” भनिन्थ्यो।
[पृष्ठ १६-मा भएको चित्र]
“पुर्पुरा” शंखेकीरा
[पृष्ठ १६-मा भएको चित्र]
शंखेकीरा “दुहिन्छ” र फेरि समुद्रमै छोडिन्छ
[स्रोत]
© FULVIO ECCARDI
[पृष्ठ १७-मा भएको चित्र]
कपडा बुन्न तयार पारिएको बैजनी धागो
[पृष्ठ १७-मा भएको चित्र]
“पोसावाङ्को” (जामा) बुन्दै