मानिसहरू कसरी घरबारविहीन हुन्छन्?
मानिसहरू कसरी घरबारविहीन हुन्छन्?
संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार “विश्वमा दस करोडभन्दा धेरै घरबारविहीन मानिसहरू छन्।” यदि यो आँकडा सही हो भने, त्यसको मतलब हरेक ६०-६५ जनामध्ये एक जनासित आफ्नो टाउको लुकाउने ठाउँ छैन! तथापि, वास्तवमा घरबारविहीन मानिसहरू कति छन्, किटेर भन्न गाह्रो छ। किन?
घरबारविहीन कसलाई भन्ने विषयमा मानिसहरूको आ-आफ्नै विचारले गर्दा! घरबारविहीन मानिसहरूको समस्या समाधान गर्न तल्लीन व्यक्तिविशेष अनि संघ-संस्थाहरूको आ-आफ्नै तौरतरिका अनि लक्ष्य भएकोले उनीहरूले दिने परिभाषा अत्यन्तै फरक हुने गर्छ। भिन्न परिभाषाले गर्दा, उनीहरूले निकाल्ने आँकडा पनि भिन्ना-भिन्नै हुन्छ। त्यसकारण, घरबारविहीन मानिसहरूको समस्या कति विकराल छ, यकिन गर्न असम्भव छ भने पनि हुन्छ।
संयुक्त राष्ट्रसंघको मानव आवास केन्द्रले लेखेको एउटा किताबले (स्ट्राटजिज टु कम्ब्याट होमलेसनेस) घरबारविहीनको परिभाषा यसरी दिन्छ: “चित्तबुझ्दो बासको व्यवस्था नहुने मानिस।” आफू बस्ने समाजको स्तरअनुसार यदि कसैको बस्ने ठाउँ “चित्तबुझ्दो वा पटक्कै स्वीकार्य छैन भने” त्यस्तो अवस्थामा बस्न बाध्य व्यक्तिलाई घरबारविहीन भन्न सकिन्छ। घरबारविहीन मानिस कोही फुटपाथमा, भत्केको घरमा, खाली भवनमा बस्छन् भने केहीले चाहिं विभिन्न संघ-संस्थाहरूले खोलेको धर्मशालामा बास पाएका हुन्छन्। कतिचाहिं आफ्ना साथीहरूकहाँ डुल्दै कहिले यसकहाँ त कहिले उसकहाँ गर्दै बस्छन्। तथापि, जहाँसुकै होस्, “घरबारविहीन व्यक्तिको अवस्था देख्ने बित्तिकै ‘तुरुन्त केही गर्नै पर्छ’ भन्ने निष्कर्षमा पुग्न गाह्रो हुँदैन भने, त्यस्तो अवस्थामा जीवन गुजारिरहेका मानिसलाई घरबारविहीन भन्नुपर्छ” भन्ने भनाइ संयुक्त राष्ट्रसंघको छ।
लगभग चार करोड जनसंख्या भएको पोल्याण्डमा तीन लाख भन्दा धेरै मानिस घरबारविहीन भएको अनुमान छ। यद्यपि, घरबार नहुनेको नाउँ दर्ता गर्ने व्यवस्था नभएकोले र उनीहरू ठाउँ-ठाउँ डुलेर हिंड्ने भएकोले केही विशेषज्ञहरू पोल्याण्डमा कम्तीमा पनि पाँच लाख मानिस घरबारविहीन हुनुपर्छ भनेर टिप्पणी गर्छन्।
अहिले यति धेरै मानिस घरबारविहीन भएका छन् कि, हामीले चिनेजानेकै मान्छे त्यसको सिकार भइरहेको हुन सक्छ। यसरी
आफ्नो टाउको लुकाउने छत नहुने मानिसहरूको दुःख देख्दा हाम्रो मनमा केही प्रश्न उठ्न सक्छन्। कसरी उनीहरूको घरबार उजाड भयो? उनीहरू कसरी गुजारा चलाउँछन्? उनीहरूलाई कसले मदत गर्छ? अनि उनीहरूको भविष्य कस्तो होला?घरीघरी उठीबास
अमेरिकामा पनि थुप्रै घरबारविहीन मानिस छन्। त्यसकारण, त्यहाँको सरकारले लामो समयसम्म घरबारविहीन भएर बस्नुपर्ने नागरिकहरूका लागि सहर-सहरमा सुरक्षित धर्मशालाको व्यवस्था मिलाएको छ। सब्रिना a न्यु योर्क, हार्लेमको गरिब टोलमा बस्थिन्। दस कक्षा पढ्दापढ्दै तिनले बीचैमा पढाइ छोडिन्। त्यसपछि घर छोडेर हिंडिन्। अहिले उनका दस वर्ष, तीन वर्ष र दस महिनाका गरी जम्मा तीन छोरा छन् जसलाई आफू एक्लैले हुर्काइरहेकी छिन्। उनको आफ्नै घर छैन। त्यसकारण आफ्ना तीन छोरासित धर्मशालाको एउटै कोठामा कोचिएर बस्नुपरेको छ।
दस वर्षअघि आफ्नी आमालाई छोडेर सब्रिना घरबाट निस्केकी थिइन्। त्यसपछि, कहिले आफ्नो प्रेमीकहाँ त कहिले नातेदार र साथीकहाँ अनि परिस्थिति नाजुक हुँदा धर्मशालामा बस्दै आएकी छिन्। “म आक्कलझुक्कल अरूको कपाल बाट्ने काम गरेर खर्च टार्ने कोसिस गर्छु। तर धेरैजसो त सरकारले दिने भत्ताकै भरमा बाँचिरहेकी छु,” सब्रिना भन्छिन्।
पेरेन्ट्स पत्रिकाअनुसार हाँसउठ्दो कुरा के छ भने, होटेलमा कोठा सफा गर्ने राम्रो जागिर खान थालेपछि सब्रिना घरबारविहीन हुन पुगेकी थिइन्। जागिर खाइरहेको मान्छे भनेर सरकारले भत्ता दिन मानेन। अर्कोतिर सब्रिनाको तलब यति कम कि घरभाडा, खाना, लत्ताकपडा, बाटो खर्च र छोराहरूलाई हुर्काउन लाग्ने खर्च टार्न सधैं धौ-धौ। घरभाडा तिर्न नसक्दा घरधनीले लघार्न खोज्यो। अन्तमाः हरेस खाएर तिनले जागिर छोडिन् र धर्मशालामा गएर बस्न थालिन्। तर त्यहाँ पनि धेरै बेर टिक्न पाइनन्। किनकि तिनी बस्ने ठाउँमा आपत् परेका मानिसहरूलाई केही समयसम्म मात्र राख्ने अनुमति रहेछ। अहिले तिनी माथि उल्लेख गरेझैं अर्कै धर्मशालाको एउटै कोठामा तीन छोरासित कोच्चिएर बसिरहेकी छिन्।
सब्रिना भन्छिन्, “घरीघरी सरिरहनुपरेकोले छोराहरूलाई साह्रै गाह्रो भयो। जेठोले त तीन पटक स्कूल फेरिसक्यो। पाँच कक्षामा पुग्नुपर्ने मेरो छोरा फेरि दोहोऱ्याएर चार कक्षामै पढिरहेको छ।” सब्रिना अहिले सरकारी अनुदानमा पाइने घरको प्रतीक्षामा छिन्।
फुटपाथमा जीवन बिताउने मानिसहरूका लागि सायद सब्रिनाको कुरा परी कथा भन्दा कम नहोला। तर सबैले रहरैले धर्मशालामा दिन काटिरहेका हुँदैनन्। पोल्याण्डको सामुदायिक सहयोग केन्द्रअनुसार केही व्यक्तिहरू “धर्मशालाको अनुशासन अनि नियमदेखि डराउँछन्।” त्यसकारण, धर्मशालामा बस्ने सुविधा दिंदासमेत स्वीकार्दैनन्। धर्मशालाको सुविधा लिने हो भने घरबारविहीन मानिसले पेटपालाको काम गर्नुपर्छ र जाँडरक्सी अनि लागू पदार्थ खान पाइँदैन। सबै जना यस्तो नियम मान्न कहाँ तयार हुन्छन् र! तसर्थ, मौसम हेरी घरबारविहीन मानिसहरू कहिले रेल स्टेसनमा, कहिले पुलमुनि, कहिले भऱ्याङमुनि, कहिले
गोदामघरतिर त कहिले सार्वजनिक पार्कको बेन्चमा रात काटिरहेका हुन्छन्। अझ कोहीकोही त कलकारखानामा समेत रात गुजार्न अप्ठेरो मान्दैनन्। पोल्याण्डमा मात्रै होइन, अरू देशमा पनि घरबार नहुने मानिसहरू यसरी नै रात काट्छन्।घरबारविहीन सम्बन्धी एउटा किताबले पोल्याण्डमा धेरै मानिस घरबारविहीन हुनुको थुप्रै कारण उल्लेख गरेको छ। जागिर गुम्नु, ऋण चुक्ता गर्न नसक्नु, पारिवारिक समस्या, तीमध्ये केही हुन्। यसबाहेक, वृद्धाश्रमको कमी र अपांग अनि एच आइ भी पीडितका लागि बस्ने उचित ठाउँको व्यवस्था नभएकोले गर्दा पनि थुप्रै मानिस घरबारविहीन हुन्छन्। घर नहुने थुप्रै मानिसको मानसिक अनि शारीरिक समस्या हुनुका साथै धेरैले दुर्व्यसन अझ विशेष गरी रक्सीको दुर्व्यसनलाई पालेर राखेका हुन्छन्। थुप्रै घरबारविहीन आइमाईचाहिं लोग्ने त्यागेर हिंडेकाले, घरबाट निकालिएकाले वा वेश्यावृत्तिमा लागेकोले फुटपाथमा उत्रिएका हुन्। कसैले रहरले घर छोड्दैन। घर नहुने हरेकले आफ्नो दुःखी अनुहारभित्र कुनै न कुनै पीडा अवश्य लुकाएको हुन्छ।
परिस्थितिको सिकार
अर्थ-सामाजिक विशेषज्ञ स्टानिसवाभा गलिनभोस्का यसो भन्छिन्: “यहाँ [पोल्याण्डमा] राजीखुसीले घरबार छोड्ने कमै होलान्। . . . धेरैजसो त आफूले भोग्नुपरेको असफलताले गर्दा जीवनदेखि वाक्क भएर घरबारविहीन भएका छन्।” यसो हेर्दा विभिन्न कारणले समस्याहरूसित जुझ्न नसकेका मानिसहरूले नै घरबार गुमाउँछन् जस्तो देखिन्छ। उदाहरणको लागि, जेलबाट भर्खर छुटेका केही मानिसहरू घर फर्कने मीठो सपना देख्छन्। तर त्यहाँ पुग्दा, कुनबेला गुण्डाहरूले ध्वस्त पारिसकेको अवस्थामा आफ्नो घर फेला पार्छन्। कतिलाई घरबाट घोक्रेठ्याक लगाएर निकालेको हुन्छ। धेरैजसोले चाहिं प्राकृतिक प्रकोपले गर्दा टाउको लुकाउने छत गुमाउँछन्। b
पोल्याण्डमा घरबारविहीन मानिसहरूको सर्वेक्षण लिंदा आधाभन्दा धेरैजसो त पहिले परिवार वा पतिपत्नीसित जीवन बिताइरहेको तर पारिवारिक समस्या चर्कंदै गएपछि घर छोड्न बाध्य भएको पाइयो। कति त घरबाट घोक्य्राएर निकालिएका रहेछन्। अरूले चाहिं असाध्यै दुःख पाएकोले घर छोडेका रहेछन्। सर्वेक्षण गरिएका मानिसहरूमध्ये १४ प्रतिशतले मात्र आफूले राजीखुसी घर छोड्ने निर्णय गरेको खुलासा गरे।
यसरी घरबारविहीन हुनेमध्ये केही आफ्नै खुट्टामा उभिन सक्ने भएपछि धर्मशाला छोडेर आफ्नै घरमा बस्न थाल्छन्। तर अरू कतिको भने, परिस्थिति झन्-झन् बिग्रदै जान्छ।
त्यसो हुनुको एउटा कारण त, उनीहरूको मानसिक वा शारीरिक बिमारी पनि हो। कोहीकोही नशालु पदार्थको दुर्व्यसनी हुन्छन्। कतिचाहिं काम गर्नै मान्दैनन् भने, काम गर्ने बानी नभएकोले गर्दा कोही ढंग पुऱ्याएर काम गर्न सक्दैनन्। त्यसै गरी पर्याप्त शिक्षा नहुँदा वा माथि उल्लिखित दुई-तीनवटा आपत् एकैचोटि आइपर्दा उनीहरू समस्याले झन् चोइटिन्छन्। अमेरिकामा केही घरबारविहिन मानिसहरू पालैसँग होस्टेल, अस्पताल अनि दुःखको कुरा जेल चाहर्दै बस्छन्। यसलाई “घरबारविहीन प्रणाली” भन्न मन पराउने एक गैरसरकारी संगठनअनुसार लगभग ३० प्रतिशत मानिसहरू यो चक्रबाट मुक्त हुन सकेका छैनन्। अमेरिकी सरकारले घरबारविहीन मानिसका लागि भनेर छुट्याएको ९० प्रतिशत बजेट त यस्तै मानिसहरूले सिध्याउँछन् रे।खुला आकाशमुनि सुत्नेहरूका लागि छत
केही धर्मशालाले घरबारविहीन व्यक्तिको पुनर्बास गराउन विभिन्न सेवा प्रदान गर्छ। जस्तै, सरकारले दिने आर्थिक सहयोग, घर, खाना, औषधी भत्ता इत्यादि मिलाउने। सरकारीबाहेक अरू स्रोतबाट आर्थिक मदत जुटाइदिने, कानुनी मदतको प्रबन्ध मिलाइदिने, परिवारसित पुनः सम्बन्ध गाँस्न र आधारभूत सीप हासिल गर्न सहयोग गर्ने आदि। लण्डनमा घरबारविहीन युवाहरूका लागि खोलिएको धर्मशालाले स्वास्थ्यकर भोजन, स्वास्थ्यकर जीवन शैलीबारे जानकारी दिनुका साथै पाक कला पनि सिकाउँछ र जागिर खोज्नसमेत मदत गर्छ। घरबारविहीन व्यक्तिलाई आफ्नो आत्म-सम्मान बढाउन, आफ्नै खुट्टामा उभिएर बासको प्रबन्ध मिलाउन परामर्श दिने निकायहरू पनि छन्। यी पक्कै पनि सराहनीय प्रबन्धहरू हुन्।
तथापि, कहिलेकाहीं यी धर्मशालाले घरबारविहीन मानिसले असाध्यै खोजिरहेको मदत दिन सकिरहेको हुँदैन। पोल्याण्ड, वारसाका यात्सेकलाई विचार गर्नुहोस्। यात्सेक स्वयम् घरबारविहीन व्यक्ति हुन्। घरबारविहीन भएपछि तिनले धर्मशालाको सहारा लिएका थिए। तिनको भनाइअनुसार धर्मशालाभित्र बिताइने जीवनले बाहिरी संसारसित लड्न सिकाउँदैन। हरबखत आफूजस्तैसित मात्र बसाउठी भइरहने हुँदा उनीहरू “कुवाको भ्यागुतो” हुन बेर लाग्दैन। तिनी भन्छन्: “धर्मशालाले बाहिरी संसारसित भिज्न मदत नगर्ने हुँदा, लामो समयसम्म यहाँ बस्ने मानिसहरूले वयस्क व्यक्तिले जस्तो व्यवहार गर्न बिर्सन्छन्।” तिनको विचारअनुसार धर्मशालामा
बस्ने धेरैजसो मानिसको “दिमागले ठीकसित काम गर्न छोडिसकेको हुन्छ।”यद्यपि, पोल्याण्डमा गरिएको एउटा अध्ययनअनुसार घरबार गुमाउने मानिसले सामना गर्ने सबैभन्दा कटु भावनात्मक पीडा, एकाकीपन नै हो। आर्थिक समस्या अनि समाजको हेपाइले गर्दा उनीहरू आफैलाई धिक्कार्छन्। आफ्ना समस्यासित लड्न नसकेर केही त रक्सीको आड लिन थाल्छन्। यात्सेक भन्छन्: “कतैबाट आशाको किरण नदेखेपछि बिस्तारै हामीजस्ता थुप्रै मानिसहरू जीवनसित पूरै हार मान्छन्।” घरबार नहुने मानिसहरू आफ्नो रूपरङदेखि, आफ्नो गरिबीदेखि, आफ्नो निस्सहायपनदेखि आजित भइसकेका हुन्छन्। घरबारविहीन हुनपरेकोमा उनीहरू आफैलाई धिक्कार्छन्।
जनसंख्या विशेषज्ञ, फ्रान्सेस जेगडी यसो भन्छन्: “मुम्बई अनि कोलकाताको फुटपाथमा जीवन बिताउने मानिसको होस् या लण्डनको सडकतिर सुत्ने थाङ्नेको अथवा ब्राजिलको सडक बालककै किन नहोस्, सबैको कथा एउटै छ। उनीहरूको अवस्था यति दयनीय छ कि उनीहरूको पीडा अनुभव गर्नु त परै जाओस्, कल्पना गर्नु मात्रै पनि गाह्रो छ।” तिनी अझ यसो भन्छन्: “जुनसुकै कारण वा कारणहरूले गर्दा यस्तो दयनीय परिस्थितिले जन्म लिएको होस्, हामी यो प्रश्न नगरी बस्नै सक्तैनौं: यति धेरै धन, बुद्धि अनि साधन हुँदाहुँदै पनि किन उनीहरूलाई टाउको लुकाउने छानो दिन सकिरहेका छैनौं?”
स्पष्ट छ, घरबार उजाडिएका मानिसहरूलाई भौतिक मदत मात्र होइन, मुटुमा लागेको घाऊ शीतल पार्ने मलम पनि चाहिएको छ। यस्तो मदत पाएको खण्डमा उनीहरू ती सबै समस्यासित लड्न सक्नेछन्, जसले गर्दा अहिले मानिसहरू घरबारविहीन भइरहेका छन्। तर त्यस्तो मदत कहाँ पाइन्छ? अनि कोही पनि कहिल्यै घरबारविहीन हुनु नपर्ने समय आउनेछ भन्ने के आशा छ? (g05 12/08)
[फुटनोटहरू]
a यस लेखमा केही नाउँहरू परिवर्तन गरिएका छन्।
b विश्वभरि करोडौं मानिसहरूले राजनैतिक अस्थिरता वा द्वन्दले गर्दा आफ्नो घर छोडेर अन्यत्र जानुपरेको छ। तिनीहरूले भोग्ने समस्याहरूबारे जानकारी हासिल गर्न, कृपया जनवरी २२, २००२ अंकको अवेक! पत्रिकाको “शरणार्थीहरू—के तिनीहरूको कहिल्यै आफ्नै घर होला?” लेख हेर्नुहोस्।
[पृष्ठ ६-मा भएको पेटी/चित्र]
चरम गरिबीको नतिजा
भारतमा लाखौं मानिसहरू फुटपाथमा जीवन बिताउँछन्। पुरानो आँकडाअनुसार मुम्बईमा मात्रै २,५०,००० मानिसहरू सडकमा रात काट्छन्। बस्ने-सुत्ने ठाउँको नाउँमा, नजिकैको खम्बा वा पर्खालमा डोरी बाँधेर तन्काइएको त्रिपालबाहेक उनीहरूसित केही छैन। तर सहरबाहिर अलि सस्तो ठाउँमा नबसेर उनीहरू किन सहरमै दुःख खाइरहन्छन्? कामले गर्दा। आफ्नो अनि परिवारको पेट पाल्न उनीहरूले सहरभित्र फुटपाथे पसल थापेका हुन्छन्, कतिले नाङ्लो पसल चलाइरहेका हुन्छन्, अरूचाहिं रिक्सा चलाउने वा खाली सिसी, पुरानो कागज जम्मा गर्ने काम गरिरहेका हुन्छन्। एउटा किताबअनुसार (स्ट्राटजिज टु कम्ब्याट होमलेसनेस) “उनीहरू त्यस्तै काम गर्न बाध्य छन्। गरिबीले गर्दा घरभाडा तिर्ने पैसा मुखमा माड लगाउनमै ठिक्क हुन्छ।”
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा लगभग २,३०० लोग्नेमान्छे, स्वास्नीमान्छे अनि केटाकेटीहरू रेल स्टेसनमै सुत्छन्। झुत्रो दरी ओडेर वा कागजको बाकसभित्र पसेर उनीहरू खुल्ला आकाशमनि निदाउँछन्। धेरै जनाको काम छैन, काम पाइएला भन्ने आशा पनि छैन। रेल स्टेसनमा मात्रै होइन अरू ठाउँमा पनि हजारौं मानिसको हाल उस्तै छ। सफा खाने पानी, शौचालय अनि बिजुलीको प्रबन्ध नभएकोले उनीहरू छिट्टै रोगको सिकार हुन्छन्।
अरू थुप्रै देशमा पनि मानिसहरू यसरी नै घरबारविहीन भएर बाँच्न बाध्य हुनुको एउटै कारण हो: चरम गरिबी।
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
वर्तमान समाज कहाँनेर चुक्यो?
संयुक्त राष्ट्रसंघको मानव आवास केन्द्रले प्रकाशित गरेको किताबले (स्ट्राटजिज टु कम्ब्याट होमलेसनेस) वर्तमान सामाजिक, राजनैतिक अनि आर्थिक प्रणालीले सबैको निम्ति उचित आवासको प्रबन्ध गर्न किन सकेन, थुप्रै कारणहरू उल्लेख गरेको छ। तीमध्ये केही यसप्रकार छन्:
● “हरेक नागरिकले चित्तबुझ्दो बास पाउनु उसको नैसर्गिक अधिकार हो। तर यो अधिकार दिलाउन पर्याप्त बजेट विनियोजन गर्न सरकारहरू असक्षम छन्।”
● “बेकारको नीतिनियम अनि फितलो कार्यक्रमहरूले गर्दा . . . अधिकांश गरिब जनताले बास पाउन सकेका छैनन्।”
● “घर भत्ता वा घरभाडा भत्ता समानुपातिक ढंगले वितरण गर्न नसक्दा मानिसहरू घरबारविहीन हुन्छन्।”
● “घरबार गुमाउने स्थितिमा पुगिसकेका वा पुग्नै लागेका मानिसहरूलाई आर्थिक उतार-चढाउ, महँगो घर वा चर्को घरभाडा, लागू पदार्थको दुरुपयोग अनि शारीरिक तथा मानसिक समस्याले कति ठूलो असर पार्नसक्छ, त्यसलाई बिलकुलै वास्ता नगर्ने वा हल्कासित लिने नीतिनियमलाई जोड दिंदा पनि मानिसहरू घरबारविहीन हुन बाध्य हुन्छन्।”
● “घरबारविहीन मानिसलाई मदत गर्ने पेशेवरहरूलाई अझ ठीकसित प्रशिक्षण दिनु नितान्त आवश्यक छ। उदाहरणका लागि, घरबार नहुने मानिसलाई, अझ विशेष गरी सडक बालकहरूलाई समाजको बोझ सम्झनुको साटो सदुपयोग हुन नसकेको तर समाजलाई कामलाग्ने स्रोत सम्झनुपर्छ।”
[चित्र]
दुई छोरी काखी च्यापेर माग्दै गरेकी आमा (मेक्सिको)
[स्रोत[
©Mark Henley/ Panos Pictures
[पृष्ठ ६-मा भएको चित्र]
पुरानो रेल स्टेसन मर्मत गरेर घरबारविहीनका लागि बनाइएको धर्मशाला (प्रेटोरिया, दक्षिण अफ्रिका)
[स्रोत]
©Dieter Telemans/Panos Pictures
[पृष्ठ ४-मा भएको चित्रको स्रोत]
Left: © Gerd Ludwig/Visum/Panos Pictures; inset: © Mikkel Ostergaard/Panos Pictures; right: © Mark Henley/Panos Pictures