सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैको आफ्नै घर—तर कसरी?

सबैको आफ्नै घर—तर कसरी?

सबैको आफ्नै घर—तर कसरी?

“एक छाक खुवाए एक दिनको भोजन, हलो जोत्न सिकाए दिन-दिनको भोजन।” एक दिनको गर्ज टारेर मात्र घरबारविहीन मानिसको समस्या समाधान हुन सक्दैन भन्‍ने कुरा यो उक्‍तिबाट प्रस्ट देखिन्छ। उनीहरूलाई समस्या समाधान गर्न अनि आफ्ना आवश्‍यकताहरू पूरा गर्न सिकाउनुपर्छ। नयाँ सीपका साथै जीवनलाई फरक दृष्टिले हेर्न पनि उनीहरूलाई सिकाउनु उत्तिकै जरुरी छ।

घरबारविहीन मानिसहरूलाई मदत गर्ने सबैभन्दा राम्रो उपाय उनीहरूलाई जीवन बिताउने सर्वोत्तम तरिका सिकाउनु नै हो भन्‍ने कुरामा यहोवाका साक्षीहरू विश्‍वस्त छन्‌। तर त्यसका लागि घरबारविहीन मानिसहरूले सर्वोत्तम सल्लाह अर्थात्‌ सृष्टिकर्ताको सल्लाह पालन गर्नुपर्छ। हुन पनि, हाम्रो सृष्टिकर्ताले भन्दा राम्रो सल्लाह दिन सक्ने अरू को छ र? उहाँको सल्लाह सुनेर थुप्रै मानिसहरू त्यस्ता धेरै समस्याहरूबाट उम्केका छन्‌ जसले गर्दा उनीहरूले सजिलै घरबार गुमाउन सक्थे। घरबार गुमाइसकेका मानिसहरूलाई पनि बाइबलले पुनर्बास पाउन मदत गरेको छ। तथापि, बाइबल पढ्‌दैमा समस्याहरू आफसेआफ बिलाएर जाँदैन। तर पालन गरेको खण्डमा चाहिं खर्चिला कुलतहरू त्याग्न, गुमाइसकेको आत्म-सम्मान फिर्ता पाउन अनि समाजमा भला मानिसको जीवन बिताउन सकिन्छ।

नशालु पदार्थको दुरुपयोग, अपराध, आर्थिक संकट वा पारिवारिक समस्याले गर्दा नै प्रायजसो मानिसहरूको उठीबास हुन्छ। यी समस्याहरूलाई कसरी पन्छाउन सकिन्छ, बाइबलले व्यावहारिक सल्लाह दिन्छ। हजारौं मानिसले बाइबलको कुरा सुनेर आफ्नो जीवनलाई बेग्लै दृष्टिकोणले हेर्न मात्र होइन आफ्नो व्यक्‍तित्व नै परिवर्तन गर्न सकेका छन्‌। हुन त, सल्लाह दिएर-सुनेर मात्रै सबै समस्या पाखा लाग्दैन। प्राकृतिक प्रकोप, रोगबिमार, व्यापक गरिबी, दुर्व्यसन आदि समस्याहरूको निवारणका लागि बेग्लै खाले मदत चाहिन्छ। यस्ता समस्याले पिल्सिएका मानिसहरूलाई यहोवाका साक्षीहरू आफूले सकेजति मदत गर्न चाहन्छन्‌। तथापि, यी समस्या जरैसमेत उखेल्न भने, सृष्टिकर्ताको मदत नभई हुन्‍न भन्‍ने कुरामा उनीहरू विश्‍वस्त छन्‌। तर के सृष्टिकर्ताले मदत गर्नु होला त?

परमेश्‍वरको मूल उद्देश्‍य

सृष्टिकर्ताले घरबारविहीन मानिसहरूलाई मदत गर्नुहुनेछ भनेर विश्‍वास गर्ने ठोस आधार छ। कस्तो आधार? यो कुरा विचार गर्नुहोस्‌: परमेश्‍वरले पहिलो मानव दम्पती सृष्टि गर्नुभएपछि उनीहरूलाई असाध्यै राम्रो घर अर्थात्‌ प्रमोदवनमा राख्नुभएको थियो, जहाँ कहिल्यै कुनै कुराको कमी हुने थिएन। पहिलो मानव दम्पतीले आफ्नो सृष्टिकर्ताको कुरा सुनेको भए अहिले पूरै पृथ्वी प्रमोदवन भइसक्ने थियो। उनीहरूको सन्तानले सबै असल थोक अनि आरामदायी घरको भरपूर आनन्द उठाउने थिए। मानवजातिले एकअर्काको माया अनि सहयोग पाउने थिए। परमेश्‍वरको चाहना पनि त्यस्तै थियो। खुसीको कुरा, उहाँको त्यो कामना बद्‌लिएको छैन।—भजन ३७:९-११, २९.

परमेश्‍वर जे इच्छा गर्नुहुन्छ, त्यो पक्कै पूरा हुन्छ। (यशैया ५५:१०, ११) अब चाँडै सबै मानवजातिले आफ्नै घरमा बसेर प्रशस्त भौतिक चीजबीजको उपभोग गर्नेछन्‌ भनेर बाइबलले भविष्यवाणी गरेको छ। हो, हामीले त्यो दिन देख्नुअघि यो समाज परिवर्तन हुनु आवश्‍यक छ। अहिले मानवजातिले गरिरहेका काममा हस्तक्षेप गर्नुभएर परमेश्‍वरले त्यस्तो परिवर्तन ल्याउनुहुनेछ। यही परिवर्तनलाई मनमा राख्दै येशूले आफ्ना चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभएको थियो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।”—मत्ती ६:९, १०.

परमेश्‍वरको धार्मिक राज्य सुरु भएपछि सबै आज्ञाकारी मानवजातिले मनै छुने यो भविष्यवाणी पूरा भएको आफ्नै आँखाले देख्नेछन्‌: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, . . . तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, . . . छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।” (यशैया ६५:२१, २२) हो, सबैको आफ्नै घर हुनेछ।

अहिले मानिसजातिलाई चाहिएको मदत, आध्यात्मिक मदत हो र यहोवाका साक्षीहरू त्यस्तै मदत दिने कोसिस गर्छन्‌। येशूले भन्‍नुभएझैं उनीहरू अरूको भलाइ हुने कुरामा चासो लिन्छन्‌। (मत्ती २२:३६-३९) प्राकृतिक प्रकोपले गर्दा घरबारविहीन भएका मानिसहरूलाई मदत गर्न पनि उनीहरू अग्रसर हुन्छन्‌। a

तथापि, अहिले यस जगत्‌मा सबैलाई मदत गर्न भने सम्भव छैन भनेर यहोवाका साक्षीहरूलाई थाह छ। घरबारविहीन भएर दुःख खाइसकेका पोल्याण्ड निवासी यात्सेक अरू घरबारविहीन मानिसबारे यस्तो टिप्पणी गर्छन्‌: “कोही त असाध्यै जंगली स्वभावका हुन्छन्‌। कोहीचाहिं चौबीसै घण्टा लागू पदार्थ खाएर लठ्ठ परेर बसेका हुन्छन्‌। अरूचाहिं धर्मको कुरा गर्नै बित्तिकै जंगिहाल्छन्‌। परमेश्‍वरले उनीहरूजस्तो मान्छेको पनि चासो लिनुहुन्छ भनेर उनीहरू विश्‍वास गर्नै चाहँदैनन्‌। तर परमेश्‍वरको वचन सुन्‍न मन पराउनेहरू पनि छन्‌।” यसको उदाहरण यात्सेक स्वयम्‌ हुन्‌। तिनी बाइबलका धेरै कुराहरू सिक्दैछन्‌।

परमेश्‍वरको कुरा सुनेर सान्त्वना पाउने अर्को व्यक्‍ति, रोमन हुन्‌। रोमन एड्‌स रोगी हुन्‌ र केही समयअगि मात्र तिनको बास सडकमै हुने गर्थ्यो। रोमन भन्छन्‌: “म सामाजिक सेवा केन्द्र धाइरहन्थें। तर नजिकै यहोवाको साक्षीहरूको भेला हुने ठाउँ छ भनेर चाहिं यादै गरेको थिइनँ। एक दिनको कुरा हो, उनीहरूले मलाई बाइबलको कुरा सुनाए र घरबारविहीन मानिसहरूले बगाएको आँसु परमेश्‍वरले खेर जान दिनुहुन्‍न भनेर बताए। उनीहरूले मलाई सभामा पनि बोलाए।”—भजन ७२:१२, १३.

रोमनलाई यहोवाका साक्षीहरूको कुरा कस्तो लाग्यो त? “म सधैंभरि प्रमोदवनमा बस्न पाउनेछु र परमेश्‍वरले हामी जस्तालाई पनि मूल्यवान्‌ सम्झनु हुँदोरहेछ भनेर थाह पाउँदा असाध्यै खुसी लाग्यो। मैले नयाँ साथीहरू पाएँ र उनीहरूको संगतीले गर्दा आफ्नो दुर्दशालाई बिर्सेर बानीबेहोरा सुधार्न थालें। परमेश्‍वरको माया बढ्‌दै जान थालेपछि मैले चुरोट पिउन छोडिदिएँ र अबदेखि सधैं यहोवाले देखाउनुहुने बाटोमा चल्नेछु भनेर प्रार्थनामा वाचा पनि गरें।”

रोमनले आध्यात्मिक प्रगति गर्दै गए र छिट्टै बप्तिस्मा लिएर यहोवाको साक्षी पनि भए। अरू साक्षी मित्र अनि सरकारी कर्मचारीहरूको मदतले गर्दा उनले राम्रो बस्ने ठाउँसमेत पाए। आफ्नो खुसी व्यक्‍त गर्दै रोमन यसो भन्छन्‌: “अहिले म कत्ति आनन्दित छु, वर्णनै गर्न सक्‍तिनँ। मैले मायालु परमेश्‍वरलाई चिन्‍न पाएँ। उहाँले गर्दा मेरो जीवन सार्थक भयो। मैले दाजुभाइ दिदीबहिनी मात्रै होइन घरसमेत पाएँ!”

घरबारविहीन मानिसहरूको भविष्य

यहोवाका साक्षीहरू आफ्ना सबै छिमेकीका साथै घर नहुने मानिसहरूलाई पनि मदत गर्न चाहन्छन्‌। उनीहरू हाम्रो सुन्दर भविष्यबारे मात्र होइन अहिले हाम्रो जीवन परिवर्तन गर्न सक्ने थुप्रै राम्रा कुराहरू बाइबल खोलेर बताउन चाहन्छन्‌।—यूहन्‍ना ८:३२.

“जे बाङ्‌गो छ त्यो सोझो बन्‍नसक्‍तैन।” (उपदेशक १:१५) बाइबलको यो भनाइ कति सत्य छ! सरकार अनि थुप्रै संघसंस्थाहरूले राम्रै मनसायले कोसिस गरे तापनि घरबारविहीन मानिसहरूले भोग्ने पीडा अनि गरिबी जस्ता सामाजिक समस्याहरूलाई उखेलेर फ्याँक्न अत्यन्तै गाह्रो छ। तर हामी ढुक्क छौं। किनकि परमेश्‍वरको राज्य आएपछि सबै आज्ञाकारी मानिसजातिले सुखी जीवन बिताउन पाउनेछन्‌ भनेर बाइबल आश्‍वासन दिन्छ। (g05 12/08)

[फुटनोट]

a कृपया अवेक! जनवरी ८, १९९३, पृष्ठ १४-२१; ब्यूँझनुहोस्‌! नोभेम्बर ८, २००१, पृष्ठ २३-२७अवेक! अगस्त ८, २००३, पृष्ठ १०-१५ हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको चित्र]

रासन कार्ड हातमा लिइरहेकी सोमालिया देशकी शरणार्थी आमा

[स्रोत]

© Trygve Bolstad/Panos Pictures

[पृष्ठ ९-मा भएको चित्र]

घरबारविहीन मानिसहरूलाई सबैभन्दा पहिला उज्ज्वल भविष्यको आशा चाहिन्छ

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको राज्य आएपछि कोही पनि घरबारविहीन हुनेछैनन्‌