सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यहोवाबाहेक अरू सत्य परमेश्‍वर नै छैन त?

के यहोवाबाहेक अरू सत्य परमेश्‍वर नै छैन त?

बाइबल के भन्छ

के यहोवाबाहेक अरू सत्य परमेश्‍वर नै छैन त?

मोलेक, अश्‍तारोत, बाल, दागोन, मरोदक, जूपिटर, मर्करी र डायना। यी हुन्‌, बाइबलमा नाउँ तोकेरै उल्लेख गरिएका केही देवीदेवताहरू। (लेवी १८:२१; न्यायकर्त्ता २:१३; १६:२३; यर्मिया ५०:२; प्रेरित १४:१२; १९:२४) तर सर्वोच्च परमेश्‍वरको नाउँ लिनुपर्दाचाहिं बाइबलले यहोवाको नाउँ मात्र लिन्छ। एउटा विजयगीतमा इस्राएलीहरूको नेतृत्व गर्दै मोशाले यसरी गाए: “हे परमप्रभु [“यहोवा,” NW ], देवताहरूमा तपाईंझैं को छ र?”—प्रस्थान १५:११.

कुरा स्पष्ट छ, बाइबलले यहोवालाई अरू सबै देवीदेवताहरूभन्दा उच्च स्थानमा राखेको छ। त्यसोभए, अरू देवीदेवताहरूको स्थानचाहिं के नि? बाइबलमा उल्लेख गरिएका यी देवीदेवताहरू लगायत मानव इतिहासको दौडान पूजापाठ गरिएका अन्य असंख्य देवीदेवताहरू साँच्चै थिए त? अनि तिनीहरू सर्वोच्च परमेश्‍वर यहोवाभन्दा साना तर उपासनाको लायक छन्‌ कि?

कल्पनाको उपज

एक मात्र सत्य परमेश्‍वर यहोवा (हिब्रू, יהוה, YHWH) हुनुहुन्छ भनेर बाइबल बताउँछ। (भजन ८३:१८, NW; यूहन्‍ना १७:३) स्वयम्‌ यहोवाले आफ्नो ईश्‍वरत्वको विषयमा के भन्‍नुभयो, अगमवक्‍ता यशैयाले यसरी लेखे: “मेरो अघि कोही परमेश्‍वर थिएन, नता मेरो पछि कोही हुनेछ। म, अवश्‍य मनै परमप्रभु [“यहोवा,” NW ] हुँ। मबाहेक अरू कोही उद्धार गर्नेछैन।”—यशैया ४३:१०, ११.

अरू सबै देवीदेवताहरू यहोवाभन्दा महत्त्वहीन त छँदैछन्‌। तर त्यति मात्र होइन, तीमध्ये अधिकांश त अस्तित्वमा नै छैनन्‌। ती मानव कल्पनाका उपज मात्र हुन्‌। बाइबलअनुसार यी देवीदेवताहरू “मानिसहरूका हातले बनाएका, देख्न नसक्ने, सुन्‍न नसक्ने, खान नसक्ने, सुँध्न नसक्ने . . . देवताहरू” हुन्‌। (व्यवस्था ४:२८) यहोवा नै एक मात्र सत्य परमेश्‍वर हुनुहुन्छ भनेर बाइबलले स्पष्टसित सिकाएको छ।

त्यसैले, यहोवाबाहेक अरू कुनै पनि देवीदेवताहरूको पूजाआजा नगर्नू भनी बाइबलले कडा चेतावनी दिनु कुनै नौलो कुरा होइन। उदाहरणका लागि, मोशामार्फत दिइएको दस आज्ञामध्येको पहिलो आज्ञाले इस्राएलीहरूलाई अरू कुनै पनि देवीदेवताहरू नमान्‍नू भन्‍ने आदेश दिएको थियो। (प्रस्थान २०:३) किन यस्तो आज्ञा दिएको?

सबैभन्दा मुख्य कुरा त अस्तित्वसमेत नभएका देवीदेवताहरूको उपासना गर्नु सृष्टिकर्ताको घोर अपमान गर्नु हो। यी झूटा देवहरूका उपासकहरूलाई बाइबलले ‘परमेश्‍वरको सत्यतालाई झूटमा परिवर्तन गर्नेहरू र सदासर्वदाको परमधन्य सृष्टिकर्तालाई त्यागेर सृष्टिको पूजा र सेवा गर्नेहरू’ भनी बताउँछ। (रोमी १:२५) अक्सर ढुंगा, माटो, काठ, सुन, चाँदी जस्ता प्रकृतिमा पाइने वस्तुहरू प्रयोग गरेर यी काल्पनिक ईश्‍वरहरूको मूर्ति बनाइन्छ। प्रायः त प्रकृतिकै देन वा विशेषतालाई देवीदेवताको नाउँ दिएर पूजा गर्ने चलन छ। कुनै वर्षाको देवता, कुनै जलदेव अनि कुनै वायुदेव। त्यसैले यो कुरामा कुनै शंका छैन, यस्ता काल्पनिक देवीदेवताहरूको उपासना गर्नु सर्वोच्च परमेश्‍वरको घोर बेइज्जती हो।

सृष्टिकर्तासामु झूटा देवताहरू र तिनका मूर्तिहरू घिनलाग्दा छन्‌। विशेष गरी जसले यी झूटा देवहरूको उपासना सुरु गरे, तिनीहरूसित परमेश्‍वर अप्रसन्‍न हुनुहुन्छ। निम्न शब्दहरूमा उहाँको असन्तुष्टि जोडदार ढंगमा झल्किएको छ: “अन्यजातिका मूर्तिहरू ता सुन र चाँदी हुन्‌, ती ता मानिसका हातका काम हुन्‌। तिनीहरूका मुख छन्‌, तर बोल्दैनन्‌। आँखा छन्‌, तर देख्तैनन्‌। कान छन्‌, तर सुन्दैनन्‌। तिनीहरूका मुखमा केही सास हुँदैन। तिनीहरूलाई बनाउने जस्ता छन्‌, ती पनि त्यस्तै हुन्छन्‌। तिनीहरूमाथि भरोसा राख्नेहरू पनि सबै उस्तै हुन्छन्‌।”—भजन १३५:१५-१८.

यहोवा परमेश्‍वरबाहेक अरू देवीदेवता वा वस्तुहरूको पूजाआजा नगर्न बाइबलले कडा चेतावनी दिनुको अर्को कारण पनि छ। यस्तो पूजाआजा बालुवामा पानी हाले सरह हो। अगमवक्‍ता यशैयाले यसो भन्‍नु एकदमै ठीक हो: “कसले देवता बनायो, अथवा केही काम नलाग्ने खोपेको मूर्तिलाई ढालेर बनायो?” (यशैया ४४:१०) “मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्‌” भनेर पनि बाइबल बताउँछ। (भजन ९६:५) झूटा देवताहरू अस्तित्वमै छैनन्‌। जुन चीज अस्तित्वमै छैन, त्यसको उपासना गर्नु व्यर्थ हो।

के येशू, स्वर्गदूतहरू अनि शैतान उपासनायोग्य छन्‌?

वास्तविक व्यक्‍तिहरूलाई बुझाउन पनि बाइबलमा कहिलेकाहीं “परमेश्‍वर” वा “देव” भन्‍ने शब्द चलाइएको छ। तर ध्यान दिएर हेर्ने हो भने ती व्यक्‍तिहरू उपासनाको योग्य छन्‌ भन्‍न खोजिएको होइन भन्‍ने कुरा छर्लङ्‌ग हुन्छ। बरु, सुरुमा बाइबल जुन भाषामा लेखियो, त्यस भाषामा परमेश्‍वरको जस्तै गुण भएको वा सर्वोच्च परमेश्‍वरसित घनिष्ठ सम्बन्ध हुने शक्‍तिशाली व्यक्‍तिलाई बुझाउन पनि “परमेश्‍वर” भन्‍ने पदवी चलाइन्थ्यो।

उदाहरणका लागि, केही बाइबल पदहरूमा येशू ख्रीष्टलाई परमेश्‍वर भनेर उल्लेख गरिएको छ। (यशैया ९:६, ७; यूहन्‍ना १:१) के यसको अर्थ येशूको उपासना गर्नुपर्छ भनेको हो? येशू आफैले यसो भन्‍नुभयो: “तैंले परमप्रभु [“यहोवा,” NW ], आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नू, र उहाँकै मात्र सेवा गर्नू।” (लूका ४:८) हो, येशू शक्‍तिशाली हुनुहुन्छ र उहाँसित परमेश्‍वरका जस्तै गुणहरू छन्‌। तर येशूको उपासना गर्नुपर्छ भनेर बाइबलले कतै पनि बताएको छैन।

हुन त, स्वर्गदूतहरूलाई पनि ठूलो स्थान दिइएको छ। (भजन ८:५; हिब्रू २:७) तर स्वर्गदूतहरूको उपासना गर्नू भनेर बाइबलमा कतै पनि लेखिएको छैन। अझ साँच्चै भन्‍ने हो भने त एक पटक वृद्ध प्रेरित यूहन्‍नाले स्वर्गदूतलाई देख्दा श्रद्धाले ओतप्रोत भई तिनलाई दण्डवत्‌ गर्दा स्वर्गदूतले यसो भनेका थिए: “तिमीले यसो नगर, . . . परमेश्‍वरलाई दण्डवत्‌ गर।”—प्रकाश १९:१०.

प्रेरित पावलले शैतानलाई “यस संसारको देव” भने। (२ कोरिन्थी ४:४) “यस संसारको मालिक” भएर बसेको शैतानले असंख्य देवीदेवताहरूको उपासनालाई अघि सारेको छ। (यूहन्‍ना १२:३१) त्यसैले मानिसहरू आफैले सिर्जना गरेको जुनसुकै देवीदेवतालाई पूजाआजा गरे तापनि वास्तवमा त्यो शैतानकै उपासना हो। तर शैतान हाम्रो उपासनाको योग्य छैन। ऊ स्वघोषित शासक हो। त्यसले परमेश्‍वरको पदवी जबरजस्ती हत्याउन खोजेको छ। समय आएपछि, शैतानलगायत त्यसले प्रवर्धन गरेको सबै प्रकारका झूटा उपासनाहरूको नामोनिसान रहनेछैन। त्यसपछि, सारा मानिसहरू र सृष्टिले यहोवा नै एक मात्र सत्य र जीवित्‌ परमेश्‍वर हुनुहुँदो रहेछ भनेर सदाका लागि स्वीकार्नेछन्‌।—यर्मिया १०:१०. (g 2/06)

के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?

▪ मूर्तिपूजाबारे बाइबलले के सिकाउँछ?–भजन १३५:१५-१८.

▪ येशू र स्वर्गदूतहरूको उपासना गर्न हुन्छ?–लूका ४:८.

▪ एक मात्र सत्य परमेश्‍वर को हुनुहुन्छ?–यूहन्‍ना १७:३.

[पृष्ठ १५-मा भएको चित्र]

बायाँदेखि दायाँसम्मका मूर्तिहरू: मरियम, इटाली; मायाहरूको अन्‍नदेव, मेक्सिको र मध्यअमेरिका; अश्‍तारोत, कनान; तन्त्र-मन्त्रको देव, सियरा लियोन; बुद्ध, जापान; एज्टेकहरूको चिकोमेकोआटल, मेक्सिको; बाजको टाउको भएको होरस, मिश्र; ज्यूस, ग्रीस

[स्रोत]

Maize god, Horus falcon, and Zeus: Photograph taken by courtesy of the British Museum