सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गुनिलो रातो रक्‍तकोष

गुनिलो रातो रक्‍तकोष

गुनिलो रातो रक्‍तकोष

दक्षिण अफ्रिकाका ब्यूँझनुहोस्‌! लेखक

रगत किन रातो देखिन्छ? रगतमा भएका राता रक्‍तकोषहरूले गर्दा! हाम्रो रगतमा सबैभन्दा धेरै पाइने तत्त्व रातो रक्‍तकोष नै हो। एक थोपा रगतमा मात्रै करोडौं राता रक्‍तकोषहरू हुन्छन्‌। सूक्ष्मदर्शक यन्त्रले हेर्दा रातो रक्‍तकोष हामीले चियासँग खाने गरेको डुनोटजस्तै देखिन्छ। फरक यत्ति, डुनोटको बीचमा प्वाल हुन्छ तर रातो रक्‍तकोष बीचमा प्वालको सट्टा खोपिल्टो हुन्छ। हरेक रातो रक्‍तकोषभित्र गोलो आकारका हेमोग्लोबिनका अणुहरू करोडौंको संख्यामा हुन्छन्‌। हेमोग्लोबिनभित्र हाइड्रोजन, कार्बन, नाइट्रोजन, अक्सिजन र सल्फरका दस हजार परमाणुहरूका साथै आइरनका चार गह्रौं परमाणुहरू हुन्छन्‌। हाम्रो रातो रक्‍तकोषले यी नै हेमोग्लोबिनको मदत लिंदै कार्बन डाइअक्साइडलाई फोक्सोसम्म पुऱ्‍याउने र तपाईंले सास फेरेर लिएको ताजा अक्सिजनलाई चाहिं शरीरको कुनाकाप्चासम्म लैजाने गर्छ।

रातो रक्‍तकोषको अर्को महत्त्वपूर्ण भाग भनेको यसको झिल्ली हो। यो असाध्यै लचिलो भएकोले रातो रक्‍तकोष आरामसित तन्किन अनि खुम्चिन सक्छ र तपाईंको शरीरको अत्यन्तै मसिना रक्‍तनलीहरूमा समेत मजाले छिर्न सक्छ।

हाम्रो हड्डीको मासी, रातो रक्‍तकोष बन्‍ने कारखाना हो। कारखानाबाट रक्‍तनलीमा पसेपछि रातो रक्‍तकोषले हाम्रो शरीरको मुटु अनि अन्य भागहरूमा एक लाखभन्दा धेरै पटक घुमफिर गर्छ। तर अरू कोषजस्तो रातो रक्‍तकोषको न्युक्लियस हुँदैन। न्युक्लियस नभएपछि हुलुको हुने भएकोले हाम्रो मुटुले खरबौं राता रक्‍तकोषहरूलाई शीरदेखि पैतालासम्मै सजिलै पठाउन सक्छ। तर न्युक्लियस नभएकोले, रातो रक्‍तकोषभित्र पुरानो भएर बिग्रेका तत्त्वहरू मर्मत हुन सक्दैन। लगभग १२० दिनपछि, तपाईंको रातो रक्‍तकोष बूढो हुँदै जान्छ र पहिलेजस्तो लचिलो हुन छोड्‌छ। त्यसपछि, ठूलो सेतो रक्‍तकोष, फागोसाइटले यी थोत्रा राता रक्‍तकोषहरूलाई क्वाप्प निल्छ तर आइरनका चारवटा परमाणुलाई चाहिं बाहिर ओकल्छ। त्यसपछि, यी आइरनका परमाणुहरू प्लाज्मा प्रोटिन चढेर रातो रक्‍तकोषको कारखाना, हड्डीको मासीसम्म यात्रा गर्छन्‌ र त्यहाँ नयाँ राता रक्‍तकोषहरू निर्माण हुँदा, ती आइरनका परमाणुहरू फेरि प्रयोग हुन्छन्‌। हड्डीको मासीले एक सेकेण्डमा २० देखि ३० लाखसम्म राता रक्‍तकोषहरू उत्पादन गरेर रक्‍तनलीमा पठाउँछ।

यदि हाम्रो शरीरको खरबौं राता रक्‍तकोषहरूले एकछिन मात्र हड्‌ताल गर्ने हो भने उत्तिखेरै, हाम्रो शरीरको सबै काम ठप्प हुन्छ र हामी मर्छौं। यहोवा परमेश्‍वर साँच्चै कत्ति धन्यवादको योग्य हुनुहुन्छ। किनकि उहाँको सृष्टि, गुनिलो रातो रक्‍तकोषले गर्दा हामीले बाँच्न अनि जीवनको आनन्द उठाइरहन सकेको छौं। तपाईं पक्कै पनि भजनरचयितासित सहमत हुनुहुन्छ, जसले भने: “हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्‍नुभएको छ। म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।”—भजन १३९:१, १४. (g 1/06)

[पृष्ठ ३०-मा भएको रेखाचित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

रातो रक्‍तकोष

झिल्ली

हेमोग्लोबिन (ठूलो आकारमा)

अक्सिजन