सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘परमेश्‍वरको सेवा नगरी म मर्न चाहन्‍नँ’

‘परमेश्‍वरको सेवा नगरी म मर्न चाहन्‍नँ’

‘परमेश्‍वरको सेवा नगरी म मर्न चाहन्‍नँ’

मामी फ्रीको कथा

सन्‌ १९९० मा लाइबेरियामा गृहयुद्ध सुरु भयो। युद्ध चर्कंदै गयो र १२ वर्षीया क्राहन केटी मामी र उनको परिवार राजधानी सहर मनरोभियास्थित आफ्नो घरबाट बाहिर निस्कनै सकेनन्‌। मामी भन्छिन्‌, “हामीले नजिकै ड्‌वाङ्‌ग बम पड्‌केको सुन्यौं। एउटा बम हाम्रो छिमेकीको घरमा लागेछ र त्यस घरमा दनदनी आगो बल्यो। आगोको लप्काले हाम्रो घरलाई पनि भेट्यो।” गोली हानाहान भइरहे तापनि मामी, उनकी आमा अनि उनको मामा घर छोडेर भागे।

मामी सम्झिन्छिन्‌, “एक्कासी मलाई केले हो लाग्यो।”

“के भो?” आमाले सोध्नुभयो।

“खोइ केले हो लाग्यो! गोली लाग्योजस्तो छ,” मैले जवाफ दिएँ।

पीडाले छटपटाउँदै मामी भुइँमा पछारिइन्‌। उनले यसरी प्रार्थना गरिन्‌: “हे भगवान्‌, बिन्ती छ, मेरो पुकार सुन्‍नुहोस्‌। म मर्छुजस्तो छ तर तपाईंको सेवा नगरी म मर्न चाहन्‍नँ।” त्यसपछि उनी बेहोस भइन्‌।

मामी मरिसकिन्‌ होला भन्ठानेर छिमेकीहरू उनलाई नजिकैको समुद्री किनारमा गाड्‌न चाहन्थे। तर उनकी आमाले एकचोटि भए पनि अस्पताल लैजान अड्डी कसिन्‌। दुःखको कुरा, त्यहाँको अस्पताल घाइते पुरुष, स्त्री र बच्चाहरूको ओइरो थाम्न सक्ने गरी सुविधासम्पन्‍न थिएन। मामीको मामा पनि घाइते भएका थिए र त्यही रात तिनको मृत्यु भयो। मामी भने बाँचिन्‌! तर उनको शरीर कम्मरदेखि मुनि नचल्ने भयो।

उनलाई आन्तरिक रक्‍तश्राव भयो र असाध्यै पीडा हुन्थ्यो। गोली कहाँनेर अड्‌केको छ भनेर पत्ता लगाउन बल्ल-बल्ल चार महिनापछि डाक्टरहरूले एक्सरे गरे। गोली उनको मुटु र फोक्सोको बीचमा रहेछ। अप्रेसन गर्दा ज्यानै जान सक्थ्यो। त्यसैले मामीकी आमाले उनलाई वैद्यकहाँ लगिन्‌। त्यति बेलाको घटना मामी यसरी सम्झिन्छिन्‌: “उसले ब्लेडले काटेर घाऊ बनायो अनि मुखले चुसेर गोली निकाल्ने कोसिस गऱ्‍यो। एकछिनपछि मुखबाट एउटा गोली निकाल्दै भन्यो, ‘यी गोली निस्क्यो।’ हामी पैसा तिरेर बाटो लाग्यौं।”

तर त्यो मान्छेले त ढाँटेको पो रहेछ। पछि एक्सरे गर्दा गोली जहाँको त्यहीं थियो। त्यसैले मामी र उनकी आमा फेरी त्यस वैद्यकहाँ गए। तर एक्सरेमा गोली नदेखिन नौ महिना लाग्छ भनेर उसले फकाइफुस्लाइ गरी पठायो। उनीहरू घर फर्केर चूपचाप बसे। दुखाइ कम गर्न मामीले विभिन्‍न औषधीहरू खाइन्‌। नौ महिनापछि फेरि एक्सरे गरियो। फेरि पनि गोली जहाँको त्यहीं रहेछ। त्यो वैद्य टाप कस्यो।

मामीको शरीरमा गोली छिरेको १८ महिना भइसकेको थियो। एक जना नातेदारले उनलाई जान्‍ने आइमाईकहाँ लगे। उनको उपचार गर्नु त कहाँ हो कहाँ, उल्टै तिनले मामी वा उनकी आमामध्ये एक जनाको मृत्यु हुनेछ भनेर दिन पो तोकिन्‌। यति बेला मामी १३ वर्षकी थिइन्‌। मामी भन्छिन्‌, “म दिनरात रोएँ। त्यतिकैमा त्यो आइमाईले तोकेको दिन आइपुग्यो। तर कोही पनि मरेन।”

मामीको काकाले उनलाई चर्चको एक जना अगुवाकहाँ लगे। मामीलाई गोलीले गर्दा नभई कसैले मन्त्र फुकेकोले पक्षघात भएको हो भनी आफूले दर्शन देखेको कुरा तिनले बताए। आफूले भनेअनुसार सबै नीति-नियमहरू पालन गर्ने हो भने हप्ताभरमा मामी हिंडडुल गर्न सक्छिन्‌ भनेर तिनले ठोकुवा गरे। मामी भन्छिन्‌: “मैले थुप्रै पटक धार्मिक नीति-नियमअनुसार समुद्रको पानीमा स्नान गरें, व्रत बसें, प्रत्येक मध्यरातमा घण्टौंसम्म भुइँमा लडीबुडी गरें। तर ती सब बेकार भए। मेरो स्वास्थ्यमा कुनै सुधार आएन।”

पछि गएर, अस्पताल पहिलेको भन्दा सुविधासम्पन्‍न र सुव्यवस्थित भयो अनि मामीको शरीरबाट गोली निकालियो। उनले असह्‍य पीडा सहेर बाँचेको दुई वर्षभन्दा बढी भइसकेको थियो। उनी सम्झिन्छिन्‌, “अप्रेसनपछि दुखाइ चट्टै भयो र सास फेर्न पनि सजिलो भयो। हुन त मेरो शरीर अझ पनि राम्ररी चल्दैनथ्यो तैपनि लट्ठीको सहारामा उभिन सक्नेसम्म भएँ।”

यहोवाका साक्षीहरूसित मामीको भेट हुन्छ

मामीको अप्रेसन गरेको केही हप्तापछि उनकी आमाको भेट दुई जना यहोवाका साक्षीहरूसित भयो। आफ्नी छोरीलाई बाइबल पढ्‌न मनपर्छ भन्‍ने कुरा थाह भएकोले उनले तिनीहरूलाई घरमा बोलाइन्‌। मामीले तुरुन्तै बाइबल अध्ययन गर्न थालिन्‌। तर केही महिनापछि उनी फेरि अस्पताल भर्ना हुनुपर्ने भयो र यहोवाका साक्षीहरूसित उनको सम्पर्क टुट्यो।

तैपनि बाइबलको ज्ञानप्रति मामीको तिर्खा मेटिएको थिएन। त्यसैले एउटा चर्चको अगुवाले मामीलाई सहयोगको हात बढाउँदा उनले स्वीकारिन्‌। चर्चमा हुने स्कूलको दौडान एक पटक एक जना विद्यार्थीले गुरुलाई यस्तो प्रश्‍न गरे, “के येशू र परमेश्‍वर बराबर हुनुहुन्छ?”

गुरुले जवाफ दिए, “उहाँहरू बराबर त हुनुहुन्छ। तर उत्तिकै बराबरचाहिं होइन।”

‘बराबर हुनुहुन्छ रे। फेरि उत्तिकै बराबरचाहिं होइन रे। हैन, के भन्या?’ ‘कस्तो नबुझिने कुरा गऱ्‍या। केही न केही चाहिं पक्कै गडबड छ,’ मामीले सोचिन्‌। बाइबलको सत्य कुरा सिकिरहेकी छु भन्‍ने कुरामा उनी विश्‍वस्त हुन सकिनन्‌। त्यसपछि चर्चसित संगत गर्नै छोडिन्‌।

सन्‌ १९९६ मा मनरोभियामा फेरि हिंसा भड्‌कियो। मामीको परिवारका अरू दुई जनाको मृत्यु भयो र उनको घरमा दोस्रो चोटि आगलागी भयो। यसको केही महिनापछि, घर-घरको सेवकाईमा जाँदै गरेका यहोवाका दुई जना साक्षीहरूले मामीलाई भेट्टाए। मामीले फेरि बाइबल अध्ययन गर्न थालिन्‌। पहिलो पटक सभामा जाँदा मण्डलीका प्राचीनहरू लगायत सबैले राज्यभवन सरसफाइ गरिरहेका देखेर उनी छक्कै परिन्‌। त्यसै वर्षको अन्ततिर “ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनमा उपस्थित हुन पाउँदा खुसीले उनको खुट्टा भुइँमै थिएन। यसभन्दा अघि उनले यत्तिका धेरै यहोवाका साक्षीहरू कहिल्यै पनि देखेकी थिइनन्‌।

“म निकै प्रभावित भएँ। विभिन्‍न समुदायका भए तापनि साक्षीहरूबीच साँचो प्रेम थियो। अनि सबै कुरा सुव्यवस्थित थियो,” मामी भन्छिन्‌।

परमेश्‍वरको सेवा गर्ने उनको इच्छा पूरा हुन्छ

सन्‌ १९९८ मा फेरि युद्ध मच्चिएको कारण मामी र उनकी आमा छिमेकी मुलुक कोट डे’भ्वातर्फ भाग्नुपऱ्‍यो। त्यहाँ पुगेपछि उनीहरू लगभग ६,००० अरू लाइबेरियालीहरूसितै पिस टाउन शरणार्थी शिविरमा बस्न थाले। मामीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहिन्‌ र छिटछिटो प्रगति गरिन्‌। केही समयपछि नै उनले आफ्नो विश्‍वासबारे अरूलाई बताउने इच्छुकता देखाइन्‌। उनका साक्षी भाइबहिनीहरूले ह्विलचेयर ठेलेर उनलाई जनसेवकाईमा भाग लिन मदत गरे। यसरी मामीले अरू थुप्रै शरणार्थीहरूलाई साक्षी दिन सकिन्‌।

शारीरिक सीमितताले गर्दा आफू बस्ने ठाउँबाट लगभग छ किलोमिटर टाढा पर्ने राज्यभवनसम्म जान उनलाई निकै गाह्रो हुन्थ्यो। तैपनि उनले एउटै सभा छुटाइनन्‌। विशेष सम्मेलनमा उपस्थित हुन मे १४, २००० मा उनले १९० किलोमिटरभन्दा लामो यात्रा गरिन्‌। त्यसै सम्मेलनमा उनले पानीको बप्तिस्माद्वारा आफ्नो समर्पण जाहेर गरिन्‌। (मत्ती २८:१९, २०) बप्तिस्मा दिन मामीलाई बोकेर खोलामा लैजाँदा थुप्रैको आँखामा आँसु टल्पलाइरहेको थियो। मामी पानीबाट बाहिर निस्कँदा खुसीले उनको अनुहार उज्यालो देखिन्थ्यो।

अहिले घानाको शरणार्थी शिविरमा बसिरहेकी मामीको लक्ष्य नियमित अग्रगामी अर्थात्‌ पूर्ण-समय प्रचारक बन्‍ने छ। उनकी आमाले पनि यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेकी छिन्‌ र आफूले सिकिरहेको कुराबारे अरूलाई पनि बताउन थालेकी छिन्‌। अहिले आमा-छोरी दुवै परमेश्‍वरको यो प्रतिज्ञा पूरा हुने दिनको बाटो हेरिरहेका छन्‌: “लंगडा मृगझैं उफ्रनेछ, र गूंगाको जिब्रोले स्तुति गर्नेछ।”—यशैया ३५:५-७. (g 3/06)

[पृष्ठ २०-मा भएको चित्र]

मामीको शरीरबाट निकालिएको गोली

[पृष्ठ २१-मा भएको चित्र]

बप्तिस्मा दिन मामीलाई खोलामा लगिंदै

[पृष्ठ २१-मा भएको चित्र]

आफ्नी आमा इम्मालाई बाइबल अध्ययन गराउँदै