सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पिल्ग्रिम र प्यूरिटन को थिए?

पिल्ग्रिम र प्यूरिटन को थिए?

पिल्ग्रिम र प्यूरिटन को थिए?

उत्तर अमेरिकाको मासाचुसेट्‌समा प्लीमथ भन्‍ने ठाउँ छ। तपाईं यो ठाउँको समुद्री किनारतिर घुम्न निस्कनुभयो भने, १६२० कुँदेको भीमकाय ग्रेनाइटको चट्टान भेट्टाउनुहुनेछ। प्लीमथ नाउँ गरेको यही चट्टाननजिकै लगभग ४०० वर्षअघि, बेलाइतबाट आएका एक हूल उपनिवेशी अंग्रेजहरूले पहिलो चोटि अमेरिकी भूमिमा पाइला टेकेका थिए रे। तिनीहरूलाई उतिखेर, पिल्ग्रिम वा पिल्ग्रिम फादर भनिन्थ्यो। तपाईंले कहिल्यै सुन्‍नुभएको थियो कि?

प्रशस्त उब्जनी भएकोले रैथाने पाहुनापाछालाई बोलाएर पिल्ग्रिमहरूले ठूलो भोज खुवाएको रमाइला कथाहरू अमेरिकी जनमानसबीच निकै लोकप्रिय छन्‌। तर पिल्ग्रिमहरू को थिए अनि किन तिनीहरू उत्तर अमेरिका पुगे? यसको जवाफ फेला पार्न, अंग्रेज महाराज हेन्री आठौंको जमानामा पुगि हेरौं।

बेलाइतमा धार्मिक उथलपुथल

पिल्ग्रिमहरूले आफ्नो मातृभूमि छोड्‌नुभन्दा करिब १०० वर्षअगाडि, बेलाइतमा रोमन क्याथोलिक धर्मको बाहुल्यता थियो। त्यतिखेर महाराज हेन्री आठौंले धर्म रक्षक (डिफेन्डर अफ द फेथ) भन्‍ने उपाधि धारण गरेका थिए। तर पोप क्लेमेन्ट सातौंले महाराज हेन्री र तिनकी छवटी महारानीहरूमध्ये जेठी, आरागनकी क्याथरिनबीचको विवाहलाई खारेज गर्न अस्वीकार गर्दा, महाराज र क्याथोलिक धर्मबीच फाटो पऱ्‍यो।

महाराज हेन्री आफ्नो पारिवारिक खिचलो पाखा लगाउन व्यस्त हुँदा, उता युरोप महादेशभरि प्रोटेस्टेन्ट सुधारवादले गर्दा रोमन क्याथोलिक चर्चलाई हनहनी ज्वरो आइरहेको थियो। चर्चले दिएको इज्जत महाराज हेन्री हतपती गुमाउन चाहँदैनथे। त्यसकारण सुरु-सुरुमा प्रोटेस्टेन्ट सुधारवादीहरूलाई बेलाइतभित्र चियाउनै दिएनन्‌। तर क्याथोलिक चर्चले विवाह खारेज गर्न नमानेपछि तिनले उल्टै क्याथोलिक चर्च खारेज गरे। सन्‌ १५३४ मा तिनले अंग्रेज क्याथोलिकहरूमाथि चल्दै आएको पोपको अख्तियार खोसे र आफैलाई चर्च अफ इङ्‌गल्यान्डको प्रमुख घोषणा गरे। त्यसपछि तिनले क्याथोलिक चर्चका धर्मशालाहरू बन्द गराउनुका साथै चर्चको अकूत सम्पत्ति बेच्न थाले। भनौं भने, सन्‌ १५४७ मा महाराज हेन्रीको मृत्यु हुँदा बेलाइतमा प्रोटेस्टेन्ट धर्मकै बाहुल्यता भइसकेको थियो।

हेन्रीका छोरा, एडवर्ड छैटौंले आफ्नो बुबाको पदचिह्नमा चल्दै रोमन क्याथोलिक चर्चसित नाता गाँसेनन्‌। तर सन्‌ १५५३ मा महाराज हेन्री र महारानी क्याथरिनकी छोरी मेरीले गद्दी सम्हालेपछि समयले कोल्टे फेऱ्‍यो। महारानी मेरी रोमन क्याथोलिक थिइन्‌। अतः तिनले बेलाइतलाई फेरि एकपल्ट पोपको अधीनमा राख्ने प्रयास गरिन्‌। तिनले थुप्रै प्रोटेस्टेन्टहरूलाई देश निकाला गरिन्‌ र ३०० जनालाई काठमा बाँधेर जिउँदै जलाउन लगाइन्‌। तिनको यस्तो अत्याचारले गर्दा महारानी मेरीले रक्‍तपिपासु भन्‍ने नाउँ नै कमाएकी थिइन्‌। तर महारानी मेरीले समयले ल्याएको परिवर्तनको बाढीलाई रोक्न सकिनन्‌। सन्‌ १५५८ मा तिनको मृत्यु भएपछि तिनकी सौतिनी बहिनी इलिजाबेथ प्रथम बेलाइतकी महारानी भइन्‌। राजदण्ड आफ्नो हातमा लिएपछि, महारानी इलिजाबेथले रोमन क्याथोलिक पोपले आइन्दा अंग्रेजहरूको धार्मिक आस्थामाथि तुषारापात गर्ने कुनै मौका नपाउने सुनिश्‍चित गरिन्‌।

तथापि, केही प्रोटेस्टेन्टहरूलाई त्यतिले चित्त बुझेन। राज्यले रोमन क्याथोलिक चर्चसँग सम्बन्ध टुटाएर मात्र पुग्दैन, त्यसलाई जरैसमेत उखेलेर फ्याँक्नुपर्छ भन्‍ने उनीहरूको धारणा थियो। उनीहरू चर्चमा गरिने उपासनालाई शुद्ध बनाउन चाहन्थे। यस्तो अडानले गर्दा उनीहरूले प्यूरिटन, अर्थात्‌ शुद्धवादी भन्‍ने नाउँ कमाए। अझ केही प्यूरिटनहरूले त चर्चलाई विशपको कुनै आवश्‍यकता छैन भन्दै आफू-आफू चर्च चलाउन थाले र चर्च अफ इङ्‌गल्यान्डसित कुनै नाता गाँसेनन्‌। यस्तो कदम चाल्ने प्यूरिटनहरूले चाहिं सेपरटिस्ट अर्थात्‌ पृथकवादी भन्‍ने नाउँ पाए।

महारानी इलिजाबेथ प्रथमले बेलाइती शासन सम्हालुन्जेल यी विवादप्रिय प्यूरिटनहरूले निकै चर्चा पाए। तर चर्चका केही पादरीहरूले आफूखुसी अनौपचारिक पोशाक लगाएको महारानीलाई पटक्कै चित्त बुझेन। तसर्थ, सन्‌ १५६४ मा महारानी इलिजाबेथले कान्टबेरीका आर्कविशपलाई आफ्ना पादरीहरूलाई औपचारिक पोशाक लगाउने निर्देशन दिन हुकुम गरिन्‌। तर प्यूरिटनहरूले रोमन क्याथोलिक पादरीहरूले जस्तो औपचारिक पोशाक लगाउन मानेनन्‌। यसबाहेक विशप र आर्कविशपको पुरानो रोलक्रमले गर्दा विवादमाथि विवाद थपिन पुग्यो। तर विशपहरूलाई हटाउनुको साटो महारानी इलिजाबेथले उल्टो आफूलाई चर्च प्रमुखको रूपमा स्वीकार्न र निष्ठावान्‌ हुन विशपहरूलाई कसम खुवाइन्‌।

सेपरटिस्टबाट पिल्ग्रिम

महारानी इलिजाबेथपछि सन्‌ १६०३ मा जेम्स प्रथम बेलाइतको गद्दीमा बसे। तिनले सेपरटिस्टहरूलाई आफ्नो अधीनमा ल्याउन खुबै दबाब दिए। महाराजको अत्याचार सहन नसकेर सन्‌ १६०८ मा स्क्रूबी भन्‍ने सहरका सेपरटिस्ट मण्डली हल्याण्डतिर भागे। हल्याण्डमा धार्मिक स्वतन्त्रता भएकोले उनीहरूले दुवै हातमा लड्डु पर्ने भो भन्ठानेका थिए। तर हल्याण्डको सबै धर्मप्रतिको उदारनीति र छाडा नैतिकताले गर्दा सेपरटिस्टहरूलाई चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेझैं भयो। अन्ततः केही गरी सुख नपाएपछि तिनीहरूले युरोपलाई त्यागेर उत्तर अमेरिकातर्फ लाग्ने निर्णय गरे। आफ्नो धर्म बिटुलो हुन नदिन घरबारसमेत छोड्‌न तयार हुने यी सेपरटिस्ट वा पृथकवादीहरूलाई नै कालान्तरमा पिल्ग्रिम अर्थात्‌ तीर्थालु भनेर चिनिन थालियो।

यी तीर्थालुहरूले, जसमध्ये धेरै त सेपरटिस्ट समूहका थिए, भर्जिनिया भन्‍ने बेलाइती उपनिवेशमा बसोबास गर्ने अनुमति प्राप्त गरेपछि सेप्टेम्बर, सन्‌ १६२० मा मेफ्लावर नाउँको पानी जहाज चढेर उत्तर अमेरिकाको यात्रामा निस्के। यसरी यात्रा गर्नेहरू झण्डै १०० जना वयस्क र केटाकेटीहरू थिए। उत्तरी आन्द्र महासागरमा दुई-दुई महिनासम्म समुद्री आँधीको चुटाइ खाइसकेपछि उनीहरू भर्जिनियाको उत्तरतिर लगभग ८०० किलोमिटर पर केप कड भन्‍ने ठाउँ पुगे। तिनीहरूले त्यहाँ आफ्नै समाज स्थापित गर्ने अनि स्थानीय कानुन पालन गर्ने वाचा गर्दै मेफ्लावर सन्धिमा हस्ताक्षर गरे। लामो समुद्री यात्रा गरेर आइपुगेका यी तीर्थालुहरूले अन्ततः डिसेम्बर २१, १६२० मा प्लीमथनजिकै आफ्नै बस्ती बसाले।

नयाँ मुलुकको जीवन

ज्यूँत्यूँ उत्तर अमेरिका पुगेका यी पिल्ग्रिमहरूले त्यहाँको मौसम कति निठूरी हुन्छ भनेर कल्पनै गरेका थिएनन्‌। अमेरिका पुगेको दुई/तीन महिना बित्न नपाउँदै आधा समूह जाडोले सखाप भए। वसन्त ऋतुको आगमनपछि बल्ल उनीहरूले सुखको श्‍वास फेर्न सके। त्यसपछि एक पल खेर नफाली उनीहरूले जाडो छल्न सक्ने घर बनाउनुका साथै रैथाने अमेरिकीहरूसित स्थानीय अन्‍नपात खेती गर्न सिके। उनीहरूले निकै छिटो प्रगति गरे। किनकि सन्‌ १६२१ को शरद्‌ ऋतु सुरु हुनेबेलासम्ममा धेरै फलिफाप भएकोले परमेश्‍वरलाई धन्यवाद चढाउन उनीहरूले समय निकाले। अहिले अमेरिकालगायत अन्य ठाउँहरूमा धन्यवादको चाड अर्थात्‌ थ्याङ्‌सगिभिङ होलिडे मनाउने चलन यसै समयदेखि सुरु भएको हो। समय बित्दै जाँदा अझ अरू थुप्रै प्रवासी ओइरिए र १५ वर्ष पुग्दा न पुग्दै प्लीमथको जनसंख्या बढेर २,००० नाघ्यो।

यसबीच बेलाइतका केही प्यूरिटनहरूले पनि सेपरटिस्टहरूले जस्तै आन्द्र महासागर पारी आफ्नै “सुन्दर देश” बसाल्ने विचार गरे। सन्‌ १६३० मा उनीहरू पनि एक हूल बाँधेर प्लीमथको उत्तरतिर उत्रे र मासाचुसेट्‌स बे नाउँको आफ्नै बस्ती बसाले। सन्‌ १६४० भित्र लगभग २०,००० अंग्रेज आप्रवासीहरूले अमेरिकाको न्यु इङ्‌गल्यान्ड इलाकामा डेरा जमाइसकेका थिए। सन्‌ १६९१ मा मासाचुसेट्‌स बे बस्तीले प्लीमथ बस्तीलाई पनि ओगटेपछि सेपरटिस्ट अर्थात्‌ पृथकवादी पिल्ग्रिमहरू पृथक भइरहन सकेनन्‌। अमेरिकाको न्यु इङ्‌गल्यान्डमा प्यूरिटनहरूकै बाहुल्यता हुन थालेपछि बस्टन अमेरिकाको धार्मिक केन्द्रमा परिवर्तन भयो। उनीहरू परमेश्‍वरको उपासना कसरी गर्थे?

प्यूरिटनहरूको उपासना

प्यूरिटनहरू पहिले त काठले बनेको घरमा उपासनाका लागि भेला हुने गर्थे। उनीहरू हरेक आइतबार बिहान भेला हुन्थे। मौसम राम्रो हुँदा कोठाभित्र बसेर प्रवचन सुन्‍न त्यति कठिन नहुने भए तापनि जाडोले पाइला टेक्न थालेपछि चाहिं कट्टर प्यूरिटनहरूको समेत परीक्षै हुन्थ्यो। भेला हुने कोठाभित्र जीउलाई न्यानो बनाउने कुनै बन्दोबस्त नहुँदा, चिसोले कामेर भक्‍तहरूको दाँतसमेत बज्न थाल्थ्यो। हात हल्लाईहल्लाई प्रवचन दिने बानी परेका प्रवचकहरू चाहिं आफ्ना औंलाहरू कक्रक्क नपरोस्‌ भनेर पञ्जा लगाउँथे।

प्यूरिटनहरू फ्रान्सेली प्रोटेस्टेन्ट सुधारक जोन क्याल्भिनका शिक्षाअनुसार चल्थे। कसको भाग्यमा स्वर्ग अनि कसको भाग्यमा नर्क पर्छ पहिल्यै निश्‍चित भइसकेको हुन्छ र कसैले पनि भाग्यको लेखा फेर्न सक्दैन भन्‍ने विश्‍वासलाई उनीहरूले अगाँले। मरेपछि बादलपारी स्वर्गको आनन्द उठाउने हो वा तल नर्कको आगोले भतभती पोलिने हो, कसैलाई थाह हुँदैन भनेर उनीहरू विश्‍वास गर्थे।

पछि गएर, प्यूरिटन प्रवचकहरूले पश्‍चात्तापको विषयमा पनि प्रचार गर्न थाले। परमेश्‍वर क्षमाशील हुनुहुन्छ, तापनि उहाँको आज्ञा पालन नगर्ने पापीहरूले सीधै नरकको बाटो तताउनेछन्‌ भनेर उनीहरू तर्साउँथे। मानिसहरूलाई तर्साएर तहमा राख्न यी प्रवचकहरू ओर्कीफर्की नरककै कुरा मात्र गरिरहन्थे। जोनाथान एडवड्‌र्स भन्‍ने १८ औं शताब्दीका प्रवचकले एक पटक “क्रोधित परमेश्‍वरले पापीहरूलाई दिनुहुने दण्ड” विषयमा भाषण दिएका थिए। तिनले नरकको यति भयानक वर्णन गरे कि तिनको प्रवचन सुनेर सातोपुत्लो उडेर हतास भएका स्रोताहरूलाई अरू पादरीहरूले गएर थुमथुमाउनु पऱ्‍यो।

त्यतिखेर मासाचुसेट्‌स राज्यबाहिरबाट पनि मानिसहरू प्रवचन सुनाउन आउँथे तर तिनीहरूले निकै जोखिम उठाउनुपर्थ्यो। मेरी डायर भन्‍ने त्यस्तै एक जना क्वेकर प्रवचकलाई मासाचुसेट्‌सका अख्तियारवालाहरूले तीन-तीन खेप खेदेका थिए। तर तिनी कसैको पर्वाह नगरी घरीघरी मासाचुसेट्‌स पसेर प्रचार गरिरहन्थिन्‌। प्यूरिटनहरूले जून १, १६६० मा तिनलाई बस्टनमा झुण्डाएर मारे। तिनीपछि फिलिप राट्‌क्लीफ भन्‍ने अर्को प्रचारकले त्यस्तै जोस देखाएर सरकार अनि सालेम चर्चविरुद्ध बोले। विरोधीहरूलाई खेद्‌न प्यूरिटन नेताहरू कति हौसिन्छन्‌, राट्‌क्लीफले बिर्से जस्तो छ। उनीहरूले राट्‌क्लीफलाई पक्रेर कोर्रा लगाए र जरिवाना तिराए। त्यतिले नपुगेर, आइन्दा बिर्सेर पनि मासाचुसेट्‌समा खुट्टा नहालोस्‌ भनेर तिनको कान काटे। भिन्दै धार्मिक विचारधारा राख्ने व्यक्‍तिहरूप्रति प्यूरिटनहरूको यस्तो खरो व्यहोराले गर्दा थुप्रैले मासाचुसेट्‌स छोडेर अन्यत्र आफ्नै बस्ती बसाले।

अहंकारले हिंसा निम्त्याउँछ

थुप्रै प्यूरिटनहरू आफूलाई परमेश्‍वरको “विशेष” जन ठान्थे र वरपरका रैथाने अमेरिकीहरूलाई मान्छे नै गन्दैनथे। रैथानेहरूलाई धपाउनुपर्छ भन्‍ने उनीहरूको दृष्टिकोण थियो। उनीहरूको यस्तो सोचाइले गर्दा रैथानेहरू आक्रोशित भए र केही त उनीहरूमाथि जाइलाग्न थाले। रैथानेहरूको यस्तो व्यवहारबाट बच्न प्यूरिटन नेताहरूले विश्राम दिनको नियमलाई खुकुलो पारेर चर्चमा समेत बन्दुक बोकेर लैजाने अनुमति दिए। तर सन्‌ १६७५ मा परिस्थिति झनै नाजुक भयो।

आफूले भोगचलन गर्दै आएको जमिन प्यूरिटनहरूले खोस्न थालेको देखेपछि वाम्पानोआग अमेरिकी आदिवासीहरूका राजा मेटाकमेट अर्थात्‌ फिलिपले प्यूरिटनहरूको बस्तीमाथि आक्रमण गरेर घरहरू जलाउने, त्यहाँका बासिन्दाहरूलाई मार्ने गर्न थाले। प्यूरिटनहरू चुप लागेर बसेनन्‌। फलतः महिनौंसम्म युद्ध चलिरह्‍यो। अन्तमा सन्‌ १६७६ को अगस्त महिनामा प्यूरिटनहरूले राजा फिलिपलाई रोढ आइल्याण्डमा पक्रे। प्यूरिटनहरूले राजा फिलिपलाई निकै सास्ती दिएर झुन्ड्याएर मारे। यसरी राजा फिलिपको संघर्षको साथसाथै न्यु इङ्‌गल्यान्डका आदिवासी जनताहरूको स्वतन्त्र जीवन सधैंको लागि टुंगियो।

प्यूरिटनहरूको जोस त्यतिकैमा सेलाएन। किनकि १८ औं शताब्दीमा केही प्यूरिटन धार्मिक प्रवचकहरूले बेलाइती शासनको विरोध गर्दै स्वतन्त्रताको आगो सल्काउन सुरु गरे। धर्म र राजनीतिको कुरा मिसाएर उनीहरूले क्रान्तिकारी भाषण छाँटे।

प्यूरिटनहरू मेहनती, सहासी अनि आफ्नो धर्ममा कट्टर भक्‍त मानिसहरू थिए। अमेरिकी जनता अहिले पनि “प्यूरिटन चरित्र,” “प्यूरिटन इमानदारी” भनेर उनीहरूको निष्कपट जोसको विषयमा कुरा गर्छन्‌। तर निष्कपट हुँदैमा, कसैको काम वा शिक्षा स्वतः चोखो हुँदैन। साँचो मसीही धर्मका संस्थापक येशू ख्रीष्टले कहिल्यै राजनीतिलाई धर्मसित मुछ्‌नु भएन। (यूहन्‍ना ६:१५; १८:३६) अनि कसैको बेग्लै धार्मिक विचार हुँदैमा निर्दयी भएर व्यवहार गर्नु येशू ख्रीष्टको यो शिक्षासित पटक्कै मेल खाँदैन: “प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।”—१ यूहन्‍ना ४:८.

के तपाईंको धर्मले नरकको आगो, भाग्य वा बाइबलका शिक्षासित मेल नखाने अन्य कुराहरू सिकाउँछ? के तपाईंको धर्मका अगुवा कुनै राजनैतिक अभियानमा लागेका छन्‌? यदि तपाईं ‘पवित्र र शुद्ध धर्मको’ खोजीमा हुनुहुन्छ भने, सफा मनले परमेश्‍वरको वचन, बाइबलको अध्ययन गर्नुहोस्‌। तपाईंले निश्‍चय परमेश्‍वरले स्वीकार्नुहुने चोखो धर्म भेट्टाउनुहुनेछ।—याकूब १:२७. (g 2/06)

[पृष्ठ २९-मा भएको पेटी/चित्र]

प्यूरिटन अनि नरकको आगो

नरकको आगोबारे प्रचार गरेर प्यूरिटनहरूले परमेश्‍वरको वचन विपरीत काम गरे। किनकि मरिसकेका मानिसहरू अचेत अवस्थामा हुन्छन्‌, के आँसु, के हाँसो, उनीहरूलाई केही थाह हुँदैन भनेर बाइबलले सिकाउँछ। (उपदेशक ९:५, १०) अर्को कुरा, मानिसहरूलाई नरकको आगोमा पोल्ने विचारसमेत परमेश्‍वरको ‘मनमा कहिल्यै आएको थिएन’ भनेर बाइबलले प्रस्ट पारेको छ। (यर्मिया १९:५; १ यूहन्‍ना ४:८) बरु ठीक विपरीत उहाँ मानिसहरूलाई गलत काम त्याग्न आग्रह गर्नुहुन्छ। पश्‍चात्ताप गर्न नचाहने मानिसहरूलाई उहाँ पशुको जस्तो व्यवहार गर्नहुन्‍न। (इजकिएल ३३:११) तर बाइबलले सिकाउने यी सत्य कुरासित कहिल्यै मेल नखाने कुरा सिकाएर प्यूरिटनहरूले परमेश्‍वरलाई क्रूर अनि इखालु नाउँ दिए। विरोधीहरूको मुख सिउन बल प्रयोग गरेर उनीहरूले मानिसहरूसित निर्दयी व्यवहार गर्न पनि सिकाए।

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १६२०, उत्तर अमेरिकामा उत्रेका पिल्ग्रिमहरू

[स्रोत]

Harper’s Encyclopædia of United States History

[पृष्ठ २८-मा भएको चित्र]

सन्‌ १६२१, पहिलो थ्याङ्‌सगिभिङ चाड

पृष्ठ २८-मा भएको चित्र]

प्यूरिटनहरू भेला हुने ठाउँ, मासाचुसेट्‌स

[पृष्ठ २८-मा भएको चित्र]

जोन क्याल्भिन

[पृष्ठ २८-मा भएको चित्र]

जोनाथान एडवड्‌र्स

[पृष्ठ २९-मा भएको चित्र]

बन्दुक भिरेर चर्च जाँदै गरेका प्यूरिटन दम्पती

[पृष्ठ २७-मा भएको चित्रको स्रोत]

Library of Congress, Prints & Photographs Division

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

Top left: Snark/Art Resource, NY; top right: Harper’s Encyclopædia of United States History; John Calvin: Portrait in Paul Henry’s Life of Calvin, from the book The History of Protestantism (Vol. II); Jonathan Edwards: Dictionary of American Portraits/Dover

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

Photos: North Wind Picture Archives