सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“बूढा बा, थेम्स” अतुलनीय बेलाइती सम्पदा

“बूढा बा, थेम्स” अतुलनीय बेलाइती सम्पदा

“बूढा बा, थेम्स” अतुलनीय बेलाइती सम्पदा

बेलाइतका ब्यूँझनुहोस्‌! लेखक

बेलाइतमा थेम्स नदीलाई माया गरेर बूढा बा थेम्स भनिन्छ। बेलाइतको दक्षिणको बीचतिर पर्ने सुन्दर कट्‌सवल्ड पहाडहरूबाट बग्ने चारवटा खोलाहरूको संगमपछि थेम्सको उत्पत्ति हुन्छ। त्यसपछि यो नागबेली खेल्दै ३५० किलोमिटर पूर्वतर्फ बहन्छ र बीच-बीचमा अरू थुप्रै नदीहरूलाई आफूसित गाभ्दै लग्छ। अन्तमा २९ किलोमिटर चौडा नदीमुख हुँदै नर्थ सी भन्‍ने समुद्रमा विलय हुन्छ। अरू नदीको तुलनामा थेम्स छोटो भए तापनि, यसले बेलाइती जनजीवनमा पारेको अमेट छापको इतिहास भने लामो नै छ।

रोमी सम्राट जुलियस सिजरले ईसापूर्व ५५ मा आफ्नो विशाल सेना लिएर बेलाइतमाथि पहिलो पटक चढाइ गरेका थिए। लगत्तै अर्को वर्ष तिनी फेरि बेलाइत पुगे तर थेम्स नदीले तिनको विजय अभियानलाई अघि बढ्‌न दिएन। यस्तो दुस्साहस गर्ने नदीलाई तिनले तेमसिस्‌ भन्‍ने नाउँ दिएका थिए। यसको ९० वर्षपछि क्लाउडियस भन्‍ने अर्कै रोमी सम्राटले बेलाइतलाई कब्जा गरे।

त्यतिखेर थेम्स नदीको दुवै किनारामा ठूलो सिमसार थियो। समुद्रमा ज्वारभाटा आउँदा समुद्रको पानी थेम्सभित्र पसेर नदीको सतह बढ्‌थ्यो। रोमीहरूले नदीमुख हुँदै ५० किलोमिटर मास्तिर ज्वारभाटा पुग्ने ठाउँमा काठको पुल निर्माण गरे अनि नदीको उत्तरतर्फ जहाज बिसाउन घाट पनि बनाए र त्यसलाई लन्डिनियम भन्‍ने नाउँ दिए। a

त्यसपछिका चार शताब्दीभित्र रोमीहरूले यही थेम्सको मदत लिएर युरोपका अन्य देशहरूसित व्यापार बढाए र भूमध्यसागर पारिका देशहरूबाट विलासीका सामानहरू भित्राए। उनीहरूले लेबनान जस्तो टाढा ठाउँबाट समेत काठहरू झिकाए। बेलाइतको भित्री भागहरूबाट लन्डनसम्म सामान ओसारपसार गर्न पनि रोमीहरू थेम्सलाई नै रोज्थे। फलतः थेम्सबाट देशको चारैतिर आवतजावत गर्न मिल्ने बाटोघाटोहरू बनाइए र लन्डन महत्त्वपूर्ण व्यापारिक केन्द्र बन्यो।

राजा विलियम प्रथमको प्रभाव

रोमी साम्राज्यको पतनपछि, इस्वी संवत्‌ ४१० मा रोमी सेनाहरूले बेलाइत छाडे। फलतः लन्डनको चहलपहल कम हुनुका साथै थेम्स नदीमा चलिरहेको व्यापार स्वात्तै घट्यो। रोमी साम्राज्य हटेपछि बेलाइतमा एंग्लो-स्याक्सन राजाहरूले शासन गरे। उत्तिखेर थेम्स नदीको मास्तिर झन्डै १९ किलोमिटर पर, हिंडेरै नदी तर्न सकिने ठाउँ किङ्‌सटनलाई एंग्लो-स्याक्सन राजाहरूले आफ्नो राजधानी बनाएका थिए। एघारौं शताब्दीमा नर्मेन्डीका राजा विलियम प्रथमले बेलाइत कब्जा गरेपछि इतिहासले अर्कै मोड लियो। सन्‌ १०६६ मा वेस्टमिनिस्टरमा राज्याभिषेक भएपछि राजा विलियमले रोमी पर्खालभित्र टावर अफ लन्डन नाउँको किल्ला निर्माण गरे। थेम्स नदीको बन्दरगाह अनि त्यहाँ हुने व्यापारलाई आफ्नो नियन्त्रणमा राखेर विस्तार गर्न तिनले सो किल्ला निर्माण गरेका थिए। त्यसपछि लन्डन सहरको व्यापारका साथै जनसंख्या पनि बढेर लगभग ३०,००० पुग्यो।

राजा विलियम प्रथमले लन्डनबाट लगभग ३५ किलोमिटर पश्‍चिमतिर चुनको विशाल ढिस्कोमाथि पनि दरबार बनाउन लगाए। हाल, यो ठाउँ विन्डसर नाउँले चिनिन्छ। त्यसपछि स्याक्सन राजपरिवारको पुरानो दरबारलाई त्यागेर राजा विलियमका परिवार नयाँ विन्डसर दरबारमा आएर बस्न थाले। विन्डसर दरबारबाट थेम्सका साथै परपरको मनमोहक दृश्‍यावलोकन गर्न सकिन्थ्यो। कालान्तरमा यो विन्डसर दरबारमा कोठा थप्ने, परिवर्तन गर्ने थुप्रै कामहरू भए। ती सबैको नतिजा अहिले विन्डसर दरबार बेलाइतकै सबैभन्दा लोकप्रिय पर्यटकीय आकर्षण बन्‍न पुगेको छ।

सन्‌ १२०९ मा थेम्स नदीमा युरोपकै पहिलो ढुङ्‌गे पुल निर्माण भयो। बनाइसिध्याउन झन्डै ३० वर्ष लागेको यो पुललाई अतुलनीय मान्‍नुपर्छ। किनकि यो पुलमाथि पसल, घरका साथै गिर्जाघरसमेत थियो। त्यति मात्र होइन, आवश्‍यक परेमा पुलको आधा भागलाई नदीवारि र अर्को आधा भागलाई नदीपारि उठाउन सकिन्थ्यो। पुलको सुरक्षाका लागि भनेर पुलको दक्षिणतिर साउथवार्कमा गढ निर्माण गरिएको थियो।

सन्‌ १२१५ मा राजा जोनले (११६७-१२१६) विन्डसर नजिकै, थेम्सको छेवैमा पर्ने रनिमिड भन्‍ने ठाउँमा प्रसिद्ध माग्न कार्ट बडापत्रमा हस्ताक्षर गरेका थिए। यो ऐतिहासिक बडापत्रमा हस्ताक्षर गरेपछि बेलाइती महाराजले लोक स्वतन्त्रता दिनुका साथै विशेष गरी लन्डन सहर र बन्दरगाहमा हुने व्यापार तथा व्यापारीहरूलाई स्वतन्त्र रूपले काम गर्ने अधिकार दिनुपऱ्‍यो।

थेम्स नदीले गर्दा भएको उन्‍नति

एक पछि अर्को शताब्दी बित्दै जाँदा, लन्डनको व्यापारले निकै ठूलो फड्‌को माऱ्‍यो। तर थेम्स नदीका भौतिक पूर्वाधारहरूले भने बढ्‌दो व्यापारसँगसँगै प्रगति गर्न सकेन। दुई सय वर्षअघि थेम्सको घाटमा ६०० वटा जहाजहरू मात्र अटाउँथे। जहाज बाँध्ने ठाउँ नपाएर कहिलेकाहीं त १,७७५ वटासम्म जहाजहरूले आफ्नो पालो कुरेर बस्नुपर्थ्यो। विभिन्‍न सर-सामानहरूले टम्म लादिएका यस्ता अनगन्ती जहाजहरू समुद्री डाकुँहरूका लागि सुनको फूल पार्ने कुखुरा पो भयो। उनीहरू राती मौका छोपेर घाटमा बाँधेर राखेका जहाजको डोरी काट्‌थे र जहाज बग्दै-बग्दै अलि पर पुगेपछि आरामसित सामानहरू चोर्थे। चोरहरूको यस्तो रजाइँले गर्दा सानातिना नाउ खियाउनेहरूले पनि खुबै काम पाए। किनकि चोरहरू यस्तै साना नाउहरूमा चोरीको सामान बोकेर लन्डनका अन्यत्र ठाउँतिर लैजान्थे। तर छिट्टै लन्डनले यसको हल निकाल्यो र विश्‍वकै पहिलो जल-प्रहरी परिचालन गऱ्‍यो, जुन आजको दिनसम्म यथावतै छ।

तर बन्दरगाहको बोझ कम गर्न जल-प्रहरी गठन गरेर मात्र के पुग्थ्यो र। तसर्थ, १९ औं शताब्दीमा थेम्स नदीको दुवै किनाराको होचो जमिनलाई भित्रसम्म काटेर विश्‍वकै सबैभन्दा ठूलो बन्द नौकाघाट बनाउन बेलाइती संसद्‌ राजी भयो। सन्‌ १८०० दशकको सुरुतिर निर्मित सर्री कमर्सियल डक, लन्डन डक र वेस्ट र इस्ट इन्डिया डक सबैभन्दा पहिला निर्माण गर्न सकिएका घाटहरू हुन्‌। त्यसपछि, सन्‌ १८५५ मा रोयल भिक्टोरिया डक र सन्‌ १८८० मा यसको सहायक रोयल अल्बर्ट डक निर्माण गर्न सकियो।

सन्‌ १८४० मा मार्क आइ. र इजमबार्ड के. ब्रनेल नाउँ गरेका दुई बाबु-छोरा इन्जिनियरले संसारमै पहिलो पटक पानीमुनि सुरुङ खनेर थेम्स नदीका दुई किनाराको मिलन गराए। चार सय उन्‍नानसाठी मिटर लामो यो सुरुङ अहिले लन्डन महानगरको भूमिगत रेल कुद्‌ने मार्गसित जोडिएको छ। लन्डन घुम्न आउने पर्यटकहरू टावर ब्रिज भनेपछि हुरुक्क हुन्छन्‌। सन्‌ १८९४ मा निर्माण भएको यो पुललाई पनि लन्डन ब्रिजलाईजस्तै आधा-आधा भाग गरी उठाउन सकिन्छ। यसरी पुललाई उठाउन मिल्ने भएकोले बडे-बडेमानका जहाजहरू टावर ब्रिजको दुई अग्ला टावर बीच ७६ मिटर चौडा खुला बाटो हुँदै आरामसित अगाडि बढ्‌न सक्छ। यदि तपाईंलाई लगभग ३०० वटा खुड्‌किलो उक्लिन थकाइ लाग्दैन भने टावर ब्रिजको टुप्पोसम्म चढ्‌ने हो कि? तपाईं बलियो आँतको मान्छे हुनुहुन्छ भने एउटा टावरको टुप्पोलाई अर्को टावरको टुप्पोसँग जोड्‌ने साँघुरो पुल पनि पार गर्न सक्नुहुन्छ। यहाँबाट देखिने थेम्स नदीको दृश्‍य बयान गरेर साध्य छैन।

बीसौं शताब्दीसम्ममा लन्डनको बन्दरगाह निकै सुविधासम्पन्‍न भइसकेको थियो। फलतः द्रुत गतिले फस्टाउँदै गएको व्यापारसँगसँगै बढ्‌दै गएको विशाल जहाजहरूको भार थाम्न त्यति कठिनाइ परेन। सन्‌ १९२१ मा महाराज जर्ज पाँचौंको नाउँ राखेर अन्तिम घाट निर्माण गर्न सिद्धिएपछि लन्डन “विश्‍वकै सबैभन्दा ठूलो अनि धनी बन्दरगाह” बन्‍न पुग्यो।

महल, राजसी ठाँट अनि आडम्बर

लन्डनमा माकुरोको जालोसरी फैलिएका बाटोघाटोहरूमा भने विकासको मूल फुट्‌न बेर लाग्यो। ढुंगा नबिछ्याएको हुनाले पानी पर्दा बाटो हिलाम्मे भएर हिंड्‌नै नसिकने हुन्थ्यो। लन्डनवासीहरू थलमार्गलाई भन्दा भरपर्दो अनि छिटो पुगिने थेम्स नदीको जलमार्गलाई नै बढी रुचाउँथे। यात्रीहरूको चापले गर्दा थेम्स नदी हरबखत व्यस्त हुन्थ्यो। नदीको तीर-तीरमा यात्रु कुरेर बसेका नौका चालकहरू अंग्रेजी भाषामा “ओर्स!” भनेर कराउँदै मानिसहरूलाई बोलाउँथे। थेम्स नदी मात्र होइन फ्लिट अनि वालब्रुकजस्ता थेम्सका सहायक नदीहरू भएर पनि मानिसहरू आवतजावत गर्थे। थेम्स आजको दिनसम्म यथावतै भएपनि त्यसका सहायक नदीहरू भने सुकेर अहिले उही नाउँ गरेका सडकहरूमा परिर्वतन भइसके।

समय बित्दै जाँदा थेम्सको दायाँबायाँ सानदार महलहरू बन्‍न थाले। नदीतर्फ फर्काएर बनाइएका सुन्दर कौसीहरूले सजिएका यी महलहरू हेर्दा लन्डन, लन्डन नभई भेनिस पो हो कि भन्‍ने भान हुन्थ्यो। विशेष गरी राजपरिवारका सदस्यहरूबीच थेम्समा महल बनाएर बस्नु, एक किसिमको फेसन नै हुन गयो। उतिखेरका घरानियाँहरूले निर्माण गरेका महलहरूको नमुना अझै पनि ग्रीनवीच, ह्वाइटहल अनि वेस्टमिनिस्टरमा देख्न पाइन्छ। बेलाइतका महाराज अनि महारानीहरू पनि थेम्स नदीकै छेउ ह्‍याम्पटन कोर्टमा बस्थे। थेम्सको मास्तिर नदीकै तीरमा बनाइएको अर्को महल, विन्डसर क्यासल त शाही निवासको रूपमा अहिले पनि छँदैछ।

थेम्समा शाही जलविहार कार्यक्रमहरू भइरहन्थे। सन्‌ १७१७ मा त्यस्तै एउटा शाही जलविहारको बेला जर्ज फ्रेडरिक हेन्डलले महाराज जर्ज प्रथमलाई रिझाउन “जलधून” रचना गरेका थिए। त्यो दिन महाराज जर्जको शाही नौकाको पछि-पछि “पूरै थेम्स नदी नै ढाक्ने गरी अरू डुंगाहरूको ताँती लागेको थियो” भनेर उतिखेरकै एउटा समाचारपत्रले रिपोर्ट गरेको थियो। शाही नौकासँगै अर्को नौकामा बसेका ५० जना संगीतकारहरूले चाहिं महाराजले वेस्टमिनिस्टरदेखि चेल्सीसम्म आठ किलोमिटर जलविहार गर्दा तीन-तीन पटक हेन्डलरचित धून बजाएका थिए रे।

मनोरञ्जनस्थल

सन्‌ १७४० को दशकमा वेस्टमिनिस्टर पुल बन्‍नुअघि थेम्स नदीमा लन्डन ब्रिजबाहेक अरू पुल थिएन। पछि एक पटक मर्मत-सम्भार गरिए तापनि सन्‌ १८२० को दशकमा लन्डन ब्रिजलाई हटाएर अर्कै पुल निर्माण गरियो। लन्डन ब्रिज यति ठूलो थियो कि त्यसका १९ वटा गुम्बजहरूको भार थाम्न बनाइएका जग अनि खम्बाहरूले गर्दा नदीको पानी सलल बग्न पाउँदैन थियो। लन्डन ब्रिजले गर्दा निकै सुस्तरी बहन पुगेको थेम्स नदी, पुल निर्माण भए यता ६०० वर्षमा कम्तिमा आठ पटक जमेर बरफ भएको इतिहास छ। नदीको सतहमा बाक्लो बरफको पत्र जम्दा एक किसिमको “मेला” नै लाग्थ्यो। मानिसहरू वरफमा विभिन्‍न खेल प्रतियोगिताहरू गर्थे, मासु पोलेर खान्थे। राजपरिवारका सदस्यहरू समेत वरफको आनन्द लिंदै मासु लुछिरहेको भेटिन्थे। व्यापारीहरू मौकाको सदुपयोग गर्दै “थेम्स नदीमा किनेको” भन्‍ने लेबल टाँसेर किताब तथा खेलौनाहरू बेच्थे। किन्‍न चाहने ग्राहकहरूको कुनै कमी हुँदैन थियो। केही त थेम्समा छापाखाना ठड्याएर समाचारपत्र अनि प्रभु येशूको प्रार्थना पत्रहरू समेत बेच्न भ्याउँथे।

थेम्समा हुने खेल प्रतियोगिताहरूको कुरा गर्दा, हरेक वर्ष वसन्त ऋतुमा अक्सफोर्ड र क्याम्ब्रिज विश्‍वविद्यालयबीच हुने नौकादौडको कुरा पनि आउँछ। लगभग २० मिनेट लाग्ने सात किलोमिटर लामो यो दौडमा भाग लिने हरेक डुंगामा आठ प्रतियोगीहरू हुन्छन्‌। मानिसहरू उनीहरूलाई हौसला दिन पट्‌नीदेखि मोर्टलेकसम्म थेम्स नदीका दुवै किनारामा लाम लाग्छन्‌। सन्‌ १८२९ मा थेम्सको मास्तिर हेन्ली भन्‍ने ठाउँमा पहिलो नौकादौड प्रतियोगिता भएको थियो। पछि नौकादौडलाई थेम्सको तल्तिर सारेपछि हेन्ली सहरले रोयल रेगाटा नाउँको आफ्नै नौकादौडको थालनी गऱ्‍यो। रोयल रेगाटालाई युरोपकै सबैभन्दा पुरानो अनि सुविख्यात नौकादौड मानिन्छ। अहिले पनि विभिन्‍न मुलुकका उत्कृष्ट खेलाडीहरू १,६०० मिटर लामो यो दौडमा भाग लिन थेम्स पुग्छन्‌। रोयल रेगाटालाई वसन्त ऋतुकै सबैभन्दा फेसनदार सामाजिक घटना भन्‍नु सायद अत्युक्‍ति नहोला।

बेलाइत घुम्न आउने पर्यटकहरूका लागि तयार पारिएको एउटा गाइडबूकले थेम्स नदीको बखान गर्दै भनेको छ, ‘बेलाइती मौलिकताको परिचय दिने होचा पहाडहरू, रमणीय वन, घाँसे मैदान, पुरानो डिजाइनका हवेली, चिटिक्क परेका गाउँ अनि बजारका मन लोभ्याउने दृश्‍यहरू थेम्स हुँदो प्रशस्त पाइन्छन्‌। प्रायजसो ठाउँमा थेम्सको दायाँबायाँ घोडेटो बाटो मात्र छ। त्यसैकारण मोटरमा हुँइकन चाहनेहरूले सहर छेउ भएर बग्ने थेम्सको सौन्दर्य चुम्न सक्छन्‌ भने नदीको असली पारखीहरूले भने घोडेटो बाटोको पैदल यात्रा गरेर वा आफ्नै सुरमा नाउ खियाउँदै आँखा थाकुन्जेल नदीको आनन्द लिन सक्छन्‌।’

बेलाइततिर बरालिने विचार गर्दै हुनुहुन्छ कि? थेम्स र त्यसको इतिहासको स्वाद लिन चाहिं नबिर्सनुहोस्‌ है! सहरी हावाले बिगार्न नपाएको चोखो मुहानदेखि अति व्यस्त समुद्रको मिलनबिन्दुसम्म तपाईंले हेर्ने, गर्ने अनि सिक्ने थुप्रै कुराहरू थेम्समा छन्‌। ‘बूढा बा, थेम्सले’ तपाईंको बेलाइत यात्रालाई पक्कै अविस्मरणीय बनाउनेछ। (g 2/06)

[फुटनोट]

a लन्डन, लन्डिनियम भन्‍ने ल्याटिन नाउँबाट आएको भए तापनि सायद यी दुवै नाउँ सेल्ट शब्द लिन अनि डिन-बाट आएको हुनसक्छ। लिनडिन दुवैलाई जोड्‌दा, त्यसको अर्थ “तालछेउको सहर [वा गढ]” हुन्छ।

[पृष्ठ २५-मा भएको पेटी]

साहित्यमा थेम्सको योगदान

थ्रि मेन इन ए बोट नाउँ गरेको आफ्नो अंग्रेजी किताबमा जेरोम के. जेरोमले थेम्स नदीको रमाइलो वातावरणलाई जस्ताको तस्तै उतारेका छन्‌। तीन जना मित्र अनि उनीहरूको कुकुरले किङ्‌सटनदेखि अक्सफोर्डसम्म डुंगा चढेर छुट्टी मनाउँदा के-के भयो भनेर बखान गरिएको यो किताबलाई लोकप्रिय “हास्यव्यङ्‌ग्य कथा” मानिन्छ। हाल थुप्रै भाषाहरूमा अनुवाद भइसकेको यो कथा जेरोम के. जेरोमले सन्‌ १८८९ मा लेखेका हुन्‌।

केटाकेटी अनि वयस्क सबैले रुचाउने द विन्ड इन द विलोज्‌ भन्‍ने अर्को कथा पनि उत्तिकै लोकप्रिय छ। थेम्सनजिकै पर्ने सानो सहर, पाङबर्नका लेखक केनेथ ग्राहमले सन्‌ १९०८ मा यो कथा लेखिसिध्याएका थिए। कथामा थेम्स छेउछाउ बस्ने जनावरहरूले गरेका अचम्मलाग्दा कुराहरू छन्‌।

[पृष्ठ २५-मा भएको पेटी/चित्र]

अंग्रेज महाराज र थेम्सको घम्साघम्सी

सत्रौं शताब्दीको सुरुतिरको कुरा हो, अंग्रेज महाराज जेम्स प्रथमले लन्डन सरकारलाई २० हजार पाउन्ड बुझाउन हुकुम गरेछन्‌। लन्डनका मेयरले पैसा दिन नमानेपछि रीसले चूर भएका राजाले यस्तो धम्की दिएका थिए रे: “म तँलाईं अनि तेरो यो सहरलाई थाङ्‌ने बनाइदिन्छु। म मेरो न्यायालय, मेरो दरबार अनि मेरो संसद्‌ भवनलाई यहाँबाट हटाएर कि त विन्चेस्टर, नभए अक्सफोर्डमा सार्छु। अनि त्यसपछि तेरो अनि तेरो यो वेस्टमिनिस्टर सहरको हालत के होला, थाह पाउनेछस्‌!” मेयर पनि के कम थिए र, महाराजलाई यस्तो जवाफ फर्काएछन्‌: “सरकार, महाराजले आफ्नो इच्छाबमोजिम जे सुकै गरिबक्से पनि हामी लन्डनका व्यापारीहरूलाई एउटा कुराको सान्त्वना भने सधैं भइरहनेछ। महाराजले हाम्रो थेम्सलाई कहिल्यै आफूसित लगिबक्सन पाउनुहुनेछैन।”

[स्रोत]

From the book Ridpath’s History of the World (Vol. VI)

[पृष्ठ २२-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

बेलाइत

लन्डन

थेम्स नदी

[स्रोत]

Map: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ २३-मा भएको चित्र]

बिग बेन र संसद्‌ भवन, वेस्टमिनिस्टर, लन्डन

[पृष्ठ २३-मा भएको चित्र]

ढुंगाले बनेको लन्डन ब्रिज, सन्‌ १७५६

[स्रोत]

From the book Old and New London: A Narrative of Its History, Its People, and Its Places (Vol. II)

[पृष्ठ २४-मा भएको चित्र]

सन्‌ १८०३ तिर कुँदिएको यो चित्रमा थेम्स नदी र घाटमा बाँधेर राखिएका सयौं जहाजहरूको दृश्‍य उतारिएको छ

[स्रोत]

Corporation of London, London Metropolitan Archive

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १६८३ तिर थेम्सको पानी जम्दा मनाइएको मेलाको चित्र

[स्रोत]

From the book Old and New London: A Narrative of Its History, Its People, and Its Places (Vol. III)