सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो संसार कतातिर लम्कँदैछ?

यो संसार कतातिर लम्कँदैछ?

यो संसार कतातिर लम्कँदैछ?

अबको १०, २० अथवा ३० वर्षमा के हुन्छ होला? आतंकवादले ग्रस्त वर्तमान समयमा भविष्य कस्तो होला भनेर सोच्दा मात्र पनि आङै सिरिङ्‌ङ हुन सक्छ। प्राविधिक क्षेत्रमा द्रूत गतिले प्रगति भइरहेको छ। विश्‍वव्यापीकरणले गर्दा थुप्रै राष्ट्रहरू नजिक हुने क्रम बढ्‌दो छ। के विश्‍व-नेताहरूले एक जूट भएर उज्ज्वल भविष्य निर्माण गर्न सक्लान्‌? कसै-कसैको भनाइअनुसार सक्छन्‌। किनकि सन्‌ २०१५ सम्ममा विश्‍व-नेताहरूले गरिबी र भोकमरी निर्मूल पार्ने, एड्‌स रोगलाई नियन्त्रण गर्ने अनि सफा पिउने पानी र व्यवस्थित ढलनिकासबाट वञ्चितहरूको संख्या आधाले कम गर्ने आशा राखेका छन्‌। तर के यी प्रत्याशाहरू साँच्चै पूरा होलान्‌?—“हात्ती आयो, हात्ती आयो, फुस्सा” शीर्षकको पेटी हेर्नुहोस्‌।

तथापि, भविष्यप्रति मानिसको धारणा अक्सर मृगतृष्णाजस्तै भएको छ। उदाहरणको लागि, केही दशकअघि एक जना विशेषज्ञले सन्‌ १९८४ सम्ममा पानीमुनी चल्ने ट्याक्टरहरू प्रयोग गरेर समुद्रको पींधमा किसानहरूले हलो जोत्नेछन्‌ भनेका थिए। अर्को एक जनाले चाहिं सन्‌ १९९५ सम्ममा मोटर गाडीहरू कम्प्युटरबाट चल्ने भएकोले दुर्घटनाहरू नै हुनेछैनन्‌ भनेका थिए। अझै अर्को विशेषज्ञले यसोसम्म भने, सन्‌ २००० सम्ममा लगभग ५०,००० मानिसहरू त अन्तरिक्षमा बस्ने र काम गर्नेछन्‌। यसरी धक्कु लाउनेहरू त्यतिखेर मुखमा बुजो लाएर बसेको भए पनि हुन्थ्यो नि भनेर सायद पछुताउँदै होलान्‌। कुनै एक पत्रकारले एक पटक यसो भनेका थिए: “समयले कोल्टे फेर्दा संसारका एकसे एक बुद्धिमान्‌हरू पनि महामूर्ख देखिंदा रहेछन्‌।”

हामीलाई डोऱ्‍याउने “नक्सा”

मानिसहरू भविष्यबारे नानाथरिका अनुमान लगाउँछन्‌ तर तिनीहरूको अनुमान व्यावहारिक भन्दा पनि काल्पनिक बढी हुन्छ। त्यसोभए, भरपर्दो स्रोत कहाँ पाइन्छ त?

यो उदाहरण विचार गर्नुहोस्‌। मानिलिनुहोस्‌, तपाईं कुनै नौलो ठाउँमा बस यात्रा गर्दै हुनुहुन्छ। ठाउँ चिन्‍न नसकेर तपाईंलाई असजिलो लागिरहेको छ। ‘हैन, म कहाँ आइपुगें? यो बस सही बाटोमा त कुदिराख्या छ? अब पुग्न कतिबेर लाग्ने हो?’ तपाईंको हातमा राम्रो नक्सा छ भने उक्‍त नक्सा अनि बसको झ्यालबाट बाहिरका संकेतपाटीहरू हेरेर यी प्रश्‍नहरूको जवाफ सजिलै पाउन सक्नुहुन्छ।

भविष्यबारे सोच्दा थुप्रैलाई नौलो ठाउँमा जाँदाजस्तै असजिलो महसुस हुन्छ। तिनीहरू सोध्छन्‌, ‘हामी कहाँ जाँदैछौं? के हामी विश्‍वभरि शान्ति ल्याउने सही बाटोमा हिंडिरहेका छौं? छौं भने त्यो लक्ष्यमा कहिले पुगिएला?’ बाटो ठिम्याउन नक्साले मदत गरेजस्तै यी प्रश्‍नहरूको जवाफ पाउन हामीलाई बाइबलले मदत गर्छ। बाइबललाई ध्यानसित पढ्यौं र बसको झ्यालबाट बाहिर हेरेझैं विश्‍व परिस्थितिले के संकेत दिंदैछ राम्ररी नियाल्यौं भने हामी कहाँ पुग्यौं र कतातिर जाँदैछौं, थाह पाउन सक्छौं। तथापि, यो संसारलाई किन उज्ज्वल भविष्यको आवश्‍यकता पऱ्‍यो, सर्वप्रथम त्यो थाह पाउनु जरुरी छ।

यात्राको सुरुमै दुर्घटना

परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुहुँदा तिनीहरू सिद्ध थिए र उहाँले तिनीहरूलाई रमाइलो बगैंचामा राख्नुभएको थियो भनी बाइबल बताउँछ। आदम र हव्वा सधैंभरि बाँच्नका लागि बनाइएका थिए; ७०/८० वर्ष मात्र होइन। परमेश्‍वरले तिनीहरूलाई “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ” भन्‍नुभएको थियो। आदम, हव्वा र तिनीहरूको सन्तानले पूरै पृथ्वीलाई प्रमोदवनमा परिणत गरोस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो।—उत्पत्ति १:२८; २:८, १५, २२.

तर आदम र हव्वाले विद्रोह गरे। त्यसैकारण, तिनीहरू प्रमोदवनरूपी आफ्नो घरमा बस्न पाएनन्‌। यसबाहेक, तिनीहरू शारीरिक अनि मानसिक तवरमा बिस्तारै जीर्ण हुँदै गए। अनन्त जीवनको बाटो छोडेर तिनीहरू चिहानको बाटोतर्फ बढ्‌न थाले। आफ्नो सृष्टिकर्ताको विरोध गरेर तिनीहरूले पाप गरे र “पापको ज्याला मृत्यु हो।”—रोमी ६:२३.

केही छोराछोरी जन्माइसकेपछि आखिरीमा आदम र हव्वा मरे। तर के तिनीहरूका सन्तान परमेश्‍वरको सुरुको उद्देश्‍य अनुरूप सिद्ध हुन सके? अहँ, सकेनन्‌। किनकि असिद्ध आमाबाबुको असिद्धता तिनीहरूमा पनि सऱ्‍यो। भनौं भने, एक पुस्ताबाट अर्को पुस्ता गर्दै आदमका सबै सन्तानले पाप र मृत्यु पाए। हामी पनि पापी छौं र मर्छौं। बाइबल भन्छ: “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।”—रोमी ३:२३; ५:१२.

अहिले हामी कहाँ पुग्यौं त?

आदम र हव्वाको विद्रोहपछि दुःखकष्टले भरिएको लामो अनि थकाइलाग्यो यात्रा सुरु भयो, जुन अहिलेसम्म टुंगिएको छैन। बाइबलका एक जना लेखकले भनेझैं “सृष्टि व्यर्थताको अधीनमा रह्‍यो।” (रोमी ८:२०) मानिसजातिले गरेको संघर्षको कत्ति जीवन्त वर्णन! हुन त, आदमका सन्तानले विज्ञान तथा प्रविधि जगत्‌मा ठूलो तहल्का मच्चाए तर यिनीहरूमध्ये कसैले पनि परमेश्‍वरले मानिसजातिको लागि साँच्नुभएको उद्देश्‍य पूरा गरेर विश्‍वशान्ति ल्याउन र चाहेजस्तो सुस्वास्थ्य दिन सकेका छैनन्‌।

आदम र हव्वाको विद्रोहले हामीलाई व्यक्‍तिगत तवरमा पनि असर गरेको छ। उदाहरणको लागि, अन्याय र अत्याचारको बोझले नदबिएको, अपराधको डरै-डरमा बाँच्नु नपरेको, गम्भीर रोगले नपिल्सिएको अथवा आफ्नो प्रिय व्यक्‍तिको मृत्युको शोकले नपिरोलिएको के कुनै मानिस छ? शान्त तलाउको पानीलाई ढुंगा हानेर खलल पुऱ्‍याएजस्तै तीता घटनाहरूले हाम्रो शान्त जीवनलाई क्षणभरमै अस्तव्यस्त पारिदिन्छ। कसै गरी जीवन रमाइलोसँगै बितिहालेछ भने पनि हाम्रा पूर्खा अय्यूबले वर्णन गरेजस्तै “मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।”—अय्यूब १४:१.

हाम्रो यात्राको थालनी र अहिले यात्रामा भोगिरहनु परेको दुःखदायी परिस्थितिलाई विचार गर्दा यात्राको अन्त राम्रै होला भन्‍न गाह्रो लाग्न सक्छ। तर परमेश्‍वरले सधैंभरि दुःखको ताँती लाग्न दिनुहुनेछैन भनी बाइबलले हामीलाई आश्‍वस्त गराउँछ। उहाँले जे उद्देश्‍य राखेर मानिसको सृष्टि गर्नुभएको थियो, त्यो अवश्‍य पूरा हुनेछ। (यशैया ५५:१०, ११) तर हामी कसरी ढुक्क हुन सक्छौं?

बाइबलअनुसार अहिले हामी “आखिरी दिनमा” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) तर यसको अर्थ पृथ्वी र यसमा भएका यावत्‌ थोक नै नामेट हुने भने पक्कै होइन। बरु, यसको अर्थ हो, वर्तमान रीतिरिवाज अनि हाम्रो दुःखकष्टको अन्त। (मत्ती २४:३) आखिरी दिनमा हुने घटनाहरू र मानिसहरूले देखाउने स्वभावबारे बाइबलमा राम्ररी बताइएको छ। यीमध्ये केही पृष्ठ ८ को पेटीमा हेर्नुहोस्‌ र त्यसपछि बसको झ्यालबाट बाहिर हेरेझैं बाहिर संसारमा के भइरहेको छ, तुलना गर्नुहोस्‌। खुसीको कुरा, हाम्रो नक्सा, बाइबलअनुसार हामी यस वर्तमान रीतिरिवाजको अन्त हुनैलागेको समयमा बाँचिरहेका छौं। त्यसपछि के हुनेछ त?

हाम्रो गन्तव्य

आदम र हव्वाले विद्रोह गर्ने बित्तिकै परमेश्‍वरले ‘कहिल्यै नाश नहुने’ एउटा राज्य खडा गर्ने उद्देश्‍य प्रकट गर्नुभएको थियो। (दानियल २:४४) येशूले सिकाउनुभएको प्रार्थनामा समेत उल्लिखित यो राज्यले मानिसजातिमाथि अनगन्ती आशिष्‌हरू बर्साउनेछ।—मत्ती ६:९, १०.

तर परमेश्‍वरको राज्यको नाउँ सुनेर, यो त मनको लड्डु घिउसित खानु मात्र हो भनेर नसोच्नुहोस्‌। किनकि यो राज्य स्वर्गबाट शासन गर्ने वास्तविक सरकार हो र यो राज्यले पृथ्वी र पृथ्वीवासीहरूका लागि ठूल्ठूला परिवर्तनहरू गर्नेछ। कृपया यीमध्ये केहीलाई विचार गर्नुहोस्‌। यो राज्यले सबैभन्दा पहिले “पृथ्वीका नष्टकारीहरूलाई नष्ट” गर्नेछ भनेर बाइबल बताउँछ। (प्रकाश ११:१८) परमेश्‍वरको आज्ञा पालन गर्नेहरूका लागि यसले के गर्नेछ? उहाँको लिखित वचनमा बताइएअनुसार उहाँले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।” (प्रकाश २१:४) के मानिस आफैले कहिल्यै यस्ता परिवर्तनहरू ल्याउन सक्लान्‌? कदापि, सक्दैनन्‌। परमेश्‍वरले मात्र आफ्नो उद्देश्‍य पूरा गर्न सक्नुहुन्छ।

त्यसो भए, परमेश्‍वरको राज्यले दिने यस्ता आशिष्‌हरू पाउन तपाईंले के गर्नुपर्छ? यूहन्‍ना १७:३ यसो भन्छ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” यहोवाका साक्षीहरूले २३० भन्दा धेरै मुलुकहरूमा विश्‍वव्यापी शैक्षिक कार्यक्रमद्वारा मानिसहरूलाई यस्तो ज्ञान लिन मदत गरिरहेका छन्‌। अहिले यो ज्ञान सिक्न मदत दिने साहित्यहरू ४०० भन्दा धेरै भाषाहरूमा प्रकाशित हुन्छ। यदि तपाईं थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने स्थानीय यहोवाका साक्षीहरूलाई भेट्‌नुहोस्‌ अथवा पृष्ठ ५ मा तपाईंलाई पायक पर्ने ठेगाना छानेर पत्राचार गर्नुहोस्‌। (g 1/06)

पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

तिमीहरू यसो भन्‍नेहरू, ‘आज कि भोलि हामी फलानो शहरमा जाऔंला, र त्यहाँ एक वर्ष बिताऔंला, र किनबेच गरेर नाफा गरौंला।’ तर यो जान्दैनौ, कि भोलि के हुने हो। तिम्रो जिन्दगी के छ? तिमीहरू ता पानीको वाफ हौ, जो केही बेरको निम्ति देखा पर्दछ, अनि बिलाइहाल्छ।”—याकूब ४:१३, १४

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलमा पहिलो पुरुष र स्त्रीको सृष्टिदेखिको इतिहास पाइन्छ। त्यसकारण, हामी कहाँबाट आइपुग्यौं र कतातिर जाँदैछौं, बाइबलले राम्ररी बताउन सक्छ। तर बाइबलमा लेखिएको कुरा बुझ्न नक्सालाई राम्ररी हेरेझैं बाइबल ध्यानसित पढ्‌नुपर्छ

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

गलत काम गर्नु वा गलत काम गर्ने झुकावलाई “पाप” भन्‍न सकिन्छ। हामी पापमै जन्मियौं। तसर्थ, “संसारमा यस्तो कुनै धर्मी मानिस छैन जसले सबै काम ठीक गर्छ र कहिल्यै भूल [“पाप,” NRV] गर्दैन।”—उपदेशक ७:२०

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

कालो धब्बा भएको पानाको फोटोकपी गर्नुभयो भने प्रत्येक प्रतिलिपिमा त्यो धब्बा निस्कन्छ। हामी आदमको सन्तान अर्थात्‌ प्रतिलिपि हौं। त्यसैले आदमको पापको धब्बा हामीमा पनि छ

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन,” बाइबल भन्छ। (यर्मिया १०:२३) विश्‍वशान्ति ल्याउने मानव प्रयास किन असफल भयो उक्‍त पदले स्पष्टै बताउँछ। परमेश्‍वरको कुनै सहायताविनै “आफ्नो पाइलालाई ठीक मार्गमा” हिंडाउने क्षमता मानिसलाई दिइएको छैन

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

बाइबलका भजनरचयिताले परमेश्‍वरलाई यसो भने: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” (भजन ११९:१०५) बत्तीले ठीक ठाउँमा टेक्न मदत गरेझैं परमेश्‍वरको वचनले हामीलाई बुद्धिमान्‌ निर्णयहरू गर्न मदत गर्छ। ‘हाम्रो बाटोको निम्ति उज्यालो’ भइदिएर बाइबलले हाम्रो भविष्य छर्लङ्‌ग पारेको छ

[पृष्ठ ७-मा भएको पेटी]

हात्ती आयो, हात्ती आयो, फुस्सा

सन्‌ २००० सेप्टेम्बरमा संयुक्‍त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले सन्‌ २०१५ सम्ममा केही लक्ष्यहरू हासिल गर्ने प्रस्ताव सर्वसम्मतिद्वारा पारित गरे। तीमध्ये केही यसप्रकार छन्‌:

◼ प्रतिदिन १ अमेरिकी डलरभन्दा कम आम्दानी हुनेहरू र भोकमरीको सिकार भएकाहरूको संख्या आधाले घटाउने।

◼ केटाकेटीहरू सबैलाई प्राथमिक शिक्षा दिने।

◼ छोरीलाई पनि छोरालाई जत्तिकै शैक्षिक अधिकार दिलाउने।

◼ पाँच वर्षमुनिका बच्चाहरूमा बालमृत्यु दर दुईतिहाईले घटाउने।

◼ मातृ मृत्युदर ७५ प्रतिशतले घटाउने।

◼ एच आई भी/एड्‌स नियन्त्रण गर्नुका साथै औलोज्वरो जस्ता भयानक रोगहरू पनि नियन्त्रण गर्न यथासक्य गर्ने।

◼ सफा पिउने पानीको सुविधा नपाउनेहरूको संख्या आधाले घटाउने।

के यी लक्ष्यहरू हासिल गर्न सकिएला? यी लक्ष्यहरू के-कति हासिल भए भनेर सन्‌ २००४ मा लेखाजोखा गरिसकेपछि विश्‍वभरिका स्वास्थ्य क्षेत्रमा कार्यरत अफिसरहरू यस्तो निष्कर्षमा पुगे: घाँटी हेरेर हाड निल्नुपर्छ; अन्यथा यी लक्ष्यहरू पूरा गर्न खोज्नु हात्ती आयो, हात्ती आयो, फुस्सा भनेजस्तो मात्रै हुनेछ। सन्‌ २००५ को विश्‍व अवस्था (स्टेट अफ द वर्ल्ड २००५) पुस्तकको भूमिकामा यस्तो रिपोर्ट छ: “अहिले पनि प्रगतिको बाधक गरिबी नै भइरहेको छ। एच आई भी/एड्‌स जस्तै रोगहरू धमाधम बढ्‌दै गएकोले थुप्रै मुलुकमा यो समस्या पड्‌कनै लागेको टाइम बमसरह भएको छ। पानीबाट सर्न सक्ने रोगको कारण गत पाँच वर्षमा लगभग दुई करोड केटाकेटीले अकालमै आफ्नो ज्यान गुमाए। तर बेलैमा कदम चालेको भए यी रोगहरू रोकथाम गर्न सकिन्थ्यो। अझै पनि करोडौं व्यक्‍तिहरू सफा पिउने पानी र व्यवस्थित ढलनिकासको सुविधा नपाएर दिनहुँ दुर्गति भोगिरहेका छन्‌।”

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

‘आखिरी दिनका’ केही विशेषताहरू

अपूर्व युद्धपात।–मत्ती २४:७; प्रकाश ६:४.

अनिकाल।–मत्ती २४:७; प्रकाश ६:५, ६, ८.

रूढी।–लूका २१:११; प्रकाश ६:८.

बढ्‌दो अधर्म।–मत्ती २४:१२.

पृथ्वीको नाश।–प्रकाश ११:१८.

ठूला ठूला भैंचालो।–लूका २१:११.

कठिन समयहरू।–२ तिमोथी ३:१.

धनको लोभ।–२ तिमोथी ३:२.

आमाबाबुप्रति अनाज्ञाकारी।–२ तिमोथी ३:२.

स्वाभाविक प्रेमको अभाव।–२ तिमोथी ३:३.

परमेश्‍वरभन्दा सुखविलास रुचाउने।–२ तिमोथी ३:४.

आत्मसंयमको अभाव।–२ तिमोथी ३:३.

असल नरुचाउने।–२ तिमोथी ३:३.

आइ पर्नै लागेको खतराको वास्ता नगर्ने।–मत्ती २४:३९.

ठट्टा गर्नेहरूले अन्तिम दिनको प्रमाणलाई तिरस्कार गर्छन्‌।–२ पत्रुस ३:३, ४.

परमेश्‍वरको राज्यको विश्‍वव्यापी प्रचार।–मत्ती २४:१४.

[स्रोत]

© G.M.B. Akash/Panos Pictures

© Paul Lowe/Panos Pictures

[पृष्ठ ९-मा भएको चित्र]

यहोवाका साक्षीहरू परमेश्‍वरको राज्यको सुसमाचार प्रचारकहरूको रूपमा चिरपरिचित छन्‌