सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

एउटा अनुमानअनुसार सन्‌ २००० मा विश्‍वभरि ८३ लाख नयाँ क्षयरोगीहरू देखा परे भने, झण्डै २० लाख यो रोगले गर्दा मरे। यसरी मर्नेहरू जति सबै प्रायः गरिब मुलुकका थिए।—मेडिकल जर्नल अफ अस्ट्रेलिया। (g 1/06)

बिमासम्बन्धी एउटा इन्स्टिच्युटले तयार पारेको सूचीअनुसार “३० वर्षको उमेरमा धूम्रपान गर्ने पुरुषहरूको आयु ५१/२ वर्षले घट्‌छ भने आइमाईको ६१/२ वर्ष।” अर्कोतिर ३० वर्षको उमेरमा धुम्रपान छोड्यो भने सुर्तीजन्य पदार्थले गर्दा मृत्यु हुने सम्भावना धेरै कम हुन्छ।—द टाइम्स, इङ्‌गल्यान्ड। (g 2/06)

सन्‌ २००४ मा पेट्रोलियम पदार्थको विश्‍वव्यापी खपत ३.४ प्रतिशतले बढेर प्रतिदिन ८ करोड २४ लाख ब्यारेल पुगेको थियो। विश्‍वभर खपत भएको पेट्रोलियम पदार्थको लगभग ५० प्रतिशत खपत त संयुक्‍त राज्य अमेरिका अनि चीनले गऱ्‍यो। हाल अमेरिकामा प्रतिदिन २ करोड ५ लाख अनि चीनमा ६६ लाख ब्यारेलको दरले पेट्रोलियम पदार्थको खपत हुँदैछ।—भाइटल साइन्ज्‌ २००५, वर्ल्डवाच इन्स्टिच्युट। (g 2/06)

“आमालाई मुरी-मुरी धन्यवाद दिनुहोस्‌”

दुई जना स्कूले केटाकेटी हुने आमाले घरकै कामधन्दामा समय बिताउने हो भने, कति खर्च जोगिन्छ, क्यानाडाका श्रम विशेषज्ञहरूले हालै अनुसन्धान गरेका थिए। उनीहरूको अनुमानअनुसार एक जना गृहणीलाई तलब दिने हो भने, ओभरटाइमसमेत जोडेर वर्षेनी ९२ लाख ८० हजार रुपैयाँ तिर्नु पर्नेछ। किनकि जागिर नखाई घरकै काम गर्ने आमाले शिशु स्याहार केन्द्र, शिक्षिका, ड्राइभर, घरेलु कामदार, कूक, नर्स र मेकानिक सबैको काम गर्छिन्‌। भ्यानकुभर सन समाचारपत्र यसो भन्छ, “हप्ताको ६ दिन दैनिक १५ घण्टा र एकदिन १० घण्टाको दरले हप्तामा १०० घण्टा” काम गर्ने मानिसहरूलाई चलनचल्तीअनुसार दिनुपर्ने तलब दिएर हेर्नुहोस्‌, त्यसपछि आफ्नी “आमालाई मुरी-मुरी धन्यवाद दिनुहोस्‌। किनकि तिनले ज्यादै कम तलबमै सबै काम गरिरहेकी छिन्‌।” (g 2/06)

कम्प्युटर युगमा अन्धविश्‍वासमा वृद्धि

जर्मनीको जनधारणा संकलन गर्ने एउटा संस्था, अललेन्सबाखअनुसार “विज्ञान तथा प्रविधिको राज चलिरहेको वर्तमान युगमा पनि अन्धविश्‍वासले आफ्नो पकड गुमाइसकेको छैन।” “आँखा चिम्लेर शकुन-अपशकुनमा विश्‍वास गर्नेहरूको संख्या घट्‌नु त परै जाओस्‌, २५ वर्ष पहिलेभन्दा झन्‌ बढेको छ” भनेर लामो समयसम्म चलेको अनुसन्धानबाट थाह लाग्यो। सन्‌ १९७० को दशकमा २२ प्रतिशत जनताले मात्र तारा खसेको देख्दा भाग्य राम्रो हुन्छ भनेर विश्‍वास गर्थे। अहिले ४० प्रतिशतले त्यस्तो विश्‍वास गर्छन्‌। हाल हरेक ३ वयस्कमध्ये १ जना मात्र हर प्रकारको अन्धविश्‍वासले ग्रस्त प्रचलनहरूदेखि पूरै अलग बसेको पाइन्छ। विश्‍वविद्यालयमा अध्ययनरत १,००० जर्मन विद्यार्थीहरूमाझ गरिएको एउटा अर्को अध्ययनबाट के पत्ता लाग्यो भने, उनीहरूमध्ये एक तिहाईले जन्तरमा भरोसा गर्नुका साथै आफूले चढ्‌ने गाडीमा वा साँचो झुन्ड्याउने रीङमा बोकेरसमेत हिंड्‌दा रहेछन्‌। (g 1/06)

आधुनिक दासप्रथा

संयुक्‍त राष्ट्रसंघको अन्तरराष्ट्रिय श्रम संगठनको (आइ एल ओ) रिपोर्टअनुसार अहिले “विश्‍वमा १ करोड २३ लाख मानिसहरू आफ्नो इच्छाविपरीत श्रमिक हुनु परेको छ। यिनीहरूमध्ये २४ लाखभन्दा धेरै मानिसहरू ता अवैध मानव बेचबिखन तथा ओसारपसारका सिकार हुनेहरू हुन्‌ भन्‍ने अनुमान गरिएको छ। अरूको इच्छाविपरीत गराइने कामहरूको उदाहरण दिनुपर्दा जबरजस्ती वा धम्की दिएर गराइने वेश्‍यावृत्ति र सैन्य सेवाका साथै बधुँवा मजदुरीको नाउँ आउँछ। एउटा रिपोर्टअनुसार थुप्रै बधुँवा मजदुरहरूले आफूले लिएको ऋण तिर्न विनाज्याला वा नाउँ मात्रैको ज्याला लिएर काम गर्नु परिरहेको छ। श्रम संगठनका प्रमुख निर्देशक ह्वान सोमाभियाअनुसार यसरी जबरजस्ती गराइने श्रमले “आधारभूत मानव अधिकार तथा सम्मानको हनन गर्छ।”

बन्द गाडीभित्रको तापक्रम

अमेरिकामा सन्‌ २००४ भित्र ३५ जना केटाकेटीहरूले बिसाएर राखेको गाडीभित्र ज्यान गुमाउनुपऱ्‍यो भनेर पिडियाट्रिक्स नामक पत्रिका रिपोर्ट गर्छ। बाहिरी तापमान ३० डिग्री सेल्सियस हुँदा बिसाएर राखेको गाडीभित्रको तापमान तुरुन्तै ५७ देखि ६८ डिग्री सेल्सियस पुग्छ भनेर विभिन्‍न अध्ययनहरूले देखाएको छ। गाडीबाहिरको तापमान २२ डिग्री सेल्सियस मात्र छ भने पनि १५ देखि ३० मिनेटमा नै गाडीभित्रको तापक्रम दुई गुणा बढ्‌न सक्छ। यदि तपाईं गाडी हाँक्दा एअर कन्डिसनर चलायो भने गाडी बिसाउँदा तापक्रम बढ्‌न पाउँदैन भनेर सोच्नुहुँदैछ वा गाडी बिसाएपछि चार सेन्टिमिटर जति झ्याल खोलेर हावा पस्न दियो भने समस्या समाधान हुन्छ भनेर विचार गर्दै हुनुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ। गाडी हाँक्ने व्यक्‍तिहरू सचेत हुने हो भने थुप्रै केटाकेटीहरूले बित्थामा ज्यान गुमाउनु पर्नेछैन भन्दै पत्रिकाले आफ्नो लेख टुंग्याएको छ। (g 3/06)