सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महिनावारी सुरु हुन थालेपछि के गर्ने, छोरीलाई सिकाउनुभो?

महिनावारी सुरु हुन थालेपछि के गर्ने, छोरीलाई सिकाउनुभो?

महिनावारी सुरु हुन थालेपछि के गर्ने, छोरीलाई सिकाउनुभो?

किशोरावस्था थुप्रै परिवर्तन हुने समय हो। विशेष गरी केटीहरूले किशोरावस्थामा पाइला टेक्ने बित्तिकै पहिलो पटक महिनावारीको अनुभव गर्छन्‌।

पहिलो पटक महिनावारी हुँदा हुर्किरहेका केटीहरूलाई असाध्यै अप्ठ्यारो हुन्छ। त्यतिखेर उनीहरूले भावनात्मक उतारचढाव महसुस गर्न सक्छन्‌। किशोरावस्थामा थुप्रै परिवर्तनहरू हुँदा अलमल्ल परेझैं पहिलो पटक महिनावारी हुँदा पनि केटीहरू अलमल्लमा पर्छन्‌। अझ, महिनावारीबारे गलत वा पटक्कै जानकारी नभएकोले थुप्रै केटीहरू डराउँछन्‌, अतालिन्छन्‌।

अर्कोतिर महिनावारी सुरु हुँदा के गर्ने भनेर थाह पाइसकेका केटीहरू भने पहिलो पटक पर सर्दा अक्सर निकै ढुक्क भएको पाइएको छ। तर एउटा अध्ययनअनुसार प्रायजसो केटीहरूसित महिनावारीबारे पर्याप्त जानकारी हुँदैन। तेइस मुलुकका विभिन्‍न सहभागीहरूको सर्वेक्षण लिंदा झन्डै एक तिहाइले पहिलो पटक महिनावारी हुँदा के गर्ने आफूलाई थाह थिएन भनेर बताए। अचानक महिनावारी सुरु हुँदा उनीहरू आत्तिएका रहेछन्‌।

पहिलो पटक महिनावारी हुँदाखेरिको तीतो अनुभव सुनाउनेहरू अक्सर यसबारे राम्रो जानकारी नभएकाहरू नै भेटिए। पहिलो पटक महिनावारी हुँदाको आफ्नो अनुभव बताउँदा सहभागीहरूले “अत्यास लागेको,” “खङ्‌ग्रङ्‌ग भएको,” “लाजले भुतुक्कै भएको,” र “आत्तिएको” जस्ता शब्दहरू प्रयोग गरेको अर्को एउटा अध्ययनले देखाएको छ।

मानिसहरू अक्सर रगतदेखि डराउँछन्‌। किनकि रगत देख्ने बित्तिकै घाउ लाग्यो भन्‍ने निष्कर्षमा अक्सर हामी पुग्ने गर्छौं। केटीहरूलाई महिनावारीबारे सही अनि पर्याप्त जानकारी दिइएको छैन भने सामाजिक परम्परा, रूढिवादी धारणा, अज्ञानता आदिले गर्दा थुप्रैले महिनावारी हुँदा रोग वा घाउ लाग्यो भन्ठान्‍न सक्छन्‌। अथवा महिनावारी हुनु लाजमर्दो कुरा हो भनेर सोच्न सक्छन्‌।

महिनावारी हुनु भनेको सामान्य अनि सबै स्वस्थ केटीहरूले अनुभव गर्ने कुरा हो भनेर तपाईंकी छोरीले थाह पाउनै पर्छ। छोरीको डर कम गर्न तपाईं जन्मदाताहरूले कसरी मदत गर्न सक्नुहुन्छ?

आमाबाबुको जिम्मेवारी महत्त्वपूर्ण छ

महिनावारीबारे थाह पाउने थुप्रै तरिका छन्‌। जस्तै: स्कूलका शिक्षकशिक्षिका, स्वास्थ्यकर्मी, पत्रपत्रिका, शिक्षामूलक चलचित्र आदि। यी माध्यम मार्फत थुप्रै आमाबाबुले महिनावारी चक्र र सर-सफाइबारे महत्त्वपूर्ण जानकारी पाउन सक्छन्‌। तैपनि आफूलाई सोध्न मन लागेजति सबै प्रश्‍नको जवाफ यी माध्यमहरूसित नहुन पनि सक्छ। पहिलो पटक पर सर्दा के गर्ने, तपाईंकी छोरीलाई थाह भए पनि त्यतिखेर भोग्नुपर्ने भावनात्मक उथलपुथलको सामना कसरी गर्ने त्यो अक्सर राम्ररी थाह नहुन सक्छ।

हजुरआमा, दिदी र विशेष गरी आमाहरूले तरुनी छोरीहरूलाई थप जानकारी अनि भावनात्मक मदत दिन सक्छन्‌। केटीहरूले अक्सर आफ्नी आमालाई नै महिनावारीबारे बुझ्ने सबैभन्दा भरपर्दो माध्यमको रूपमा लिन्छन्‌।

बुबाहरू नि? थुप्रै केटीहरूलाई आफ्नो बुबासित महिनावारीबारे कुरा गर्न लाज लाग्छ। केही छोरीहरू बुबाले आफ्नो अवस्था बुझिदिएर अप्रत्यक्ष ढंगले सघाएको चाहन्छन्‌। तर केहीचाहिं बुबालाई थाहै नहोस्‌ भन्‍ने इच्छा गर्छन्‌।

केही दशक यता थुप्रै मुलुकमा बुबा मात्र भएको परिवारहरू धमाधम बढ्‌दै छन्‌। त्यसकारण, छोरीलाई कसरी महिनावारीबारे राम्ररी जानकारी दिने हो, त्यो बुबाहरूले पनि सिक्नै पर्ने भएको छ। बुबाहरूले महिनावारीबारे पहिले आफैले केही थाह पाउनुका साथै छोरीले भोगिरहेको शारीरिक तथा भावनात्मक परिवर्तनहरू पनि बुझ्नुपर्छ। यस सन्दर्भमा बुबाहरूले आफ्नी आमा अथवा दिदीबहिनीहरूसित व्यावहारिक सर-सल्लाह माग्न सक्छन्‌।

कुरा कहिले थाल्ने

अमेरिका, दक्षिण कोरिया अनि पश्‍चिम युरोपका केही मुलुकलगायत अन्य औद्योगिक राष्ट्रहरूमा धेरैजसो केटीहरूको १२/१३ वर्षमा पहिलो पटक महिनावारी हुन्छ। यद्यपि, कसै-कसैको छिटोमा ८ वर्ष, ढिलोमा १६/१७ वर्षमा महिनावारी सुरु हुन थालेको उदाहरण पनि छ। अफ्रिका र एसियाका कुनै-कुनै ठाउँमा भने अक्सर अलिक उमेर चढेपछि मात्र केटीहरू पहिलो पटक पर सर्छन्‌। जस्तै, नाइजेरियामा अक्सर १५ वर्ष पुगेपछि पर सर्छन्‌। वंशाणुगत कारण, आर्थिक स्थिति, पोषण, शारीरिक क्रियाकलाप अनि भौगोलिक कारणहरूले गर्दा पहिलो पटक महिनावारी हुने उमेर फरक-फरक हुन सक्छ।

छोरी पहिलो पटक पर सर्नु अगावै उसलाई त्यसबारे बताइहाल्नु बेस हुन्छ। त्यसकारण, छोरी आठ वर्षको जति हुँदा नै उसलाई शरीरमा हुने परिवर्तनहरू र महिनावारीबारे बताउनुहोस्‌। ‘ओहो, अलि छिटो भएन र’ जस्तो तपाईंलाई लाग्ला तर अक्सर ८/१० वर्षकी हुँदा केटीहरूको हर्मोन बढ्‌ने भएकोले तपाईंकी छोरीको शरीर भित्रभित्रै परिवर्तन हुन थालिसकेको हुन्छ। किशोरावस्थामा प्रवेश गर्न लागेकी छोरीको छाती उठ्‌न थालेको र उसको शरीरमा रौं बढ्‌न थालेको तपाईंले देख्नु हुनेछ। थुप्रै केटीहरू पहिलो पटक महिनावारी हुनुअघि (उचाइ र तौलमा) हलक्क बढ्‌छन्‌।

कुरा कसरी थाल्ने

पहिलो पटक महिनावारी हुने समय नजिकिंदै जाँदा केटीहरूमा कौतूहलता जाग्छ। यसबारे स्कूलमा अरू केटीहरूले कुरा गरिरहेको उनीहरूले सुनेका हुन सक्छन्‌। उनीहरूको मनमा नानाथरीका प्रश्‍न पनि होलान्‌ तर सोध्न भने अप्ठ्यारो लागिरहेको हुन सक्छ। अथवा उनीहरूलाई कुरा उठाउनै लाज लागिरहेको पनि हुन सक्छ।

अर्कोतर्फ तपाईं आमाबाबुलाई पनि त्यस्तै लागिरहेको होला। महिनावारीबारे जानकारी दिने मुख्य व्यक्‍ति आमा नै भए तापनि अक्सर आमाहरू यसबारे कुरा गर्न अप्ठ्यारो महसुस गर्छन्‌ अथवा के भन्‍ने अनि कहाँबाट कुरा सुरु गर्ने भनेर अलमल्लमा परेका हुन सक्छन्‌। के तपाईंलाई पनि त्यस्तै लागिरहेको छ? त्यसो भए छोरीसित कसरी कुरा थाल्ने?

किशोरावस्थामा प्रवेश गर्न लागेका १०/१२ वर्षका केटीहरूले सरल तर सीधा कुरा गरेको खण्डमा सजिलै बुझ्छन्‌। कुरा गर्दा कति दिनको फरकमा अनि कति दिनसम्म महिनावारी हुन्छ, कति रगत बग्छ आदि बताउन सकिन्छ। यसरी सुरु-सुरुमा कुरा थाल्दा पहिलो पटक महिनावारी हुँदा के गर्ने व्यावहारिक कुराहरूमा ध्यान खिच्नु बेस हुन सक्छ। यसबाहेक, त्यतिखेर कस्तो हुन्छ? अथवा उसले के गर्नुपर्छ? जस्ता प्रश्‍नहरूको जवाफ पनि तपाईंले दिनुपर्ने हुन सक्छ।

त्यसपछि, महिनावारी किन हुन्छ विस्तृत रूपमा बताउन सक्नुहुन्छ। स्वास्थ्यकर्मीसित, पुस्तकालयमा वा किताब पसलमा महिनावारीबारे लेखिएका किताब वा पर्चाहरू हुन सक्छ। यस्ता किताबहरू पढेर विस्तृत जानकारी दिन सकिन्छ। कुनै-कुनै केटीहरू आफैले यस्ता किताबहरू पढ्‌न रुचाउलान्‌। अन्य कतिपयलाई आफ्नो आमासितै बसेर पढ्‌न सजिलो लाग्ला।

कुराकानी थाल्न शान्त र एकान्त ठाउँ रोज्नुहोस्‌। हुर्कंदै जाँदा उसमा देखिएका परिवर्तनहरूबारे सामान्य कुराकानी थाल्नुहोस्‌। सायद तपाईं यस्तै केही भन्‍न सक्नुहुन्छ: “अब तिमी ठूली भयौ। अब तिमीले अरू केटीहरूले जस्तै नयाँ कुरा अनुभव गर्नेछौ। तिमीलाई यसबारे केही थाह छ कि?” अथवा आमाहरूले आफूले भोगेको कुरा सुनाएर कुराकानी थाल्न सक्छन्‌। जस्तै: “तिमी जत्रै छँदा, मलाई पनि महिनावारी भयो भने कस्तो होला जस्तो लागेको थियो। हामी स्कूलमा साथीहरूसित यसबारे कुरा गर्थ्यौं। तिम्रा साथीहरूले पनि कुरा गर्न थालिसके कि?” महिनावारीबारे छोरीले के-के थाह पाइसकी पत्ता लगाउनुहोस्‌ र गलत जानकारी पाएकी रहिछ भने तुरुन्तै सही जानकारी दिनुहोस्‌। पहिलो पटक कुराकानी गर्दा हुन सक्छ, तपाईंकी छोरी लाजले एक शब्दै नबोली बस्ली। त्यसकारण, सुरु-सुरुमा तपाईं आफू एक्लैले बोलेकोबोल्यै गर्नुपर्नेछ भनेर चाहिं नबिर्सनुहोस्‌।

तपाईं आफैले पहिलो पटक महिनावारी हुँदाको डर अनि चिन्ता महसुस गरिसक्नुभएकोले आफ्नै अनुभव पनि बताउन सक्नुहुन्छ। जस्तै: त्यतिखेर तपाईंलाई के थाह थिएन? तपाईं के बुझ्न चाहनुहुन्थ्यो? कस्तो जानकारीले मदत गऱ्‍यो? महिनावारीबारे सकारात्मक कुरा गर्नुहोस्‌। छोरीले सोध्ने प्रश्‍नहरूको जवाफ दिन पनि तयार हुनुहोस्‌।

एक-दुई पटक मात्र बताएर पुग्दैन

महिनावारीबारे एक-दुई पटक मात्र कुरा गरेर पुग्दैन। एकै पटक सबै कुरा बताइहाल्नुपर्छ भन्‍ने पनि छैन। एकै पटकमा सबै कुरा बताउनुभयो भने ऊ अतालिन सक्छे। बच्चाहरूले बिस्तारै-बिस्तारै सिक्छन्‌। त्यसकारण, मौका छोपेर बेला-बेला यी जानकारीहरू दोहऱ्‍याइरहनुहोस्‌। हुर्कंदै जाँदा उनीहरूले अझ राम्ररी बुझ्दै जानेछन्‌।

किशोरावस्थाभरि महिनावारीबारे केटीहरूको धारणा फेरिरहन्छ। पहिलो महिनावारी पछि तपाईंकी छोरीको मनमा अरू नयाँ शंका वा चिन्ताहरू उब्जन सक्छ। त्यसैकारण, आफूलाई थाह भएको कुरा छोरीलाई बताइरहन अनि उसको प्रश्‍नको जवाफ दिइरहन तत्पर भइरहनुहोस्‌। छोरीको उमेर र बुझ्नसक्ने क्षमताअनुसार अर्थपूर्ण अनि उपयुक्‍त जवाफ दिनुहोस्‌।

आफै अग्रसर हुनुहोस्‌

तर यसबारे छोरीले जान्‍ने-बुझ्ने इच्छा नै नदेखाएमा के गर्नुहुन्छ? उसलाई आफ्नो व्यक्‍तिगत कुरा बताउन मन नलागेको हुन सक्छ। अथवा त्यसबारे सोध्नै अप्ठ्यारो मानिरहेकी हुन सक्छे। मलाई सबै कुरा थाह छ भनेर उसले जवाफ दिन पनि सक्छे।

संयुक्‍त राज्य अमेरिकामा ११ वर्षका केटीहरूको सर्वेक्षण लिंदा प्रायजसो केटीहरूले पहिलो पटक महिनावारी हुँदा के गर्नुपर्छ, आफू तयार छु भनेर टिप्पणी गरेका थिए। तर थप प्रश्‍न गर्दा त उनीहरूसित पूरा जानकारी नभएको अथवा उनीहरूसित भएको जानकारी पनि परम्परा तथा मिथ्याले कुरूप बनाएको पाइयो। त्यसकारण, छोरीले पहिलो पटक पर सर्दा के गर्नुपर्छ थाह छ भनेर बताए तापनि उसलाई यसबारे जानकारी दिनु आवश्‍यक छ।

छोटकरीमा भन्‍नुपर्दा, महिनावारीबारे छोटो कुरा थाल्न र पछि-पछि पनि त्यसबारे कुरा गरिरहन तपाईं नै अग्रसर हुनुपर्छ। वास्तवमा यो कर्तव्य तपाईंकै हो। छोरीले आवश्‍यक महसुस गरोस्‌ वा नगरोस्‌, उसलाई तपाईंको मदत चाहिन्छ। तपाईंलाई पनि झर्को लाग्ला अथवा असमर्थ महसुस होला तर हार नमान्‍नुहोस्‌। धैर्य गर्नुहोस्‌। समयमा तपाईंकी छोरीले तपाईंले गर्नुभएको प्रयासको अवश्‍य कदर गर्नेछे। (g 5/06)

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

छोरी पहिलो पटक पर सर्नु अगावै उसलाई त्यसबारे बताइहाल्नु बेस हुन्छ

[पृष्ठ १३-मा भएको पेटी]

छोरीसित महिनावारीबारे कसरी कुरा थाल्ने

उसलाई के-कति थाह छ पत्ता लगाउनुहोस्‌। गलत जानकारीहरू हटाउनुहोस्‌। तपाईं र छोरीसित भएको जानकारी सही हो कि होइन पक्का गर्नुहोस्‌।

आफ्नो अनुभव बाँड्‌नुहोस्‌। पहिलो पटक महिनावारी हुँदा आफूले भोगेका कुराहरू बताउँदा छोरीले खोजेकै भावनात्मक मदत पाउन सक्छे।

व्यावहारिक जानकारी दिनुहोस्‌। अक्सर केटीहरूले सोध्ने सामान्य प्रश्‍न यस्तो हुन्छ: “स्कूलमै भयो भने के गर्ने होला?” “के प्रयोग गरूँ?” “कसरी प्रयोग गरूँ?”

सजिलो अनि बुझ्ने गरी सही जानकारी दिनुहोस्‌। छोरीको उमेर र बुझ्न सक्ने क्षमताअनुसार विषयवस्तु काँटछाँट गर्नुहोस्‌।

बारम्बार बताइरहनुहोस्‌। पहिलो पटक महिनावारी सुरु हुनु अगावै छोरीलाई जानकारी दिनुहोस्‌ र महिनावारी नियमित भइसकेपछि पनि आवश्‍यकताअनुसार छोरीसित कुरा गरिरहनुहोस्‌।

[पृष्ठ १३-मा भएको चित्र]

उसलाई बुझ्नुहोस्‌। छोरीलाई आफ्नो व्यक्‍तिगत कुरा बताउन अप्ठ्यारो लागिरहेको हुन सक्छ