सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रेसम—“रेसाहरूकी रानी”

रेसम—“रेसाहरूकी रानी”

रेसम—“रेसाहरूकी रानी”

जापानका ब्यूँझनुहोस्‌! लेखक

जापानी किमोनो, भारतीय सारी अनि कोरियाली हानबोक-लगायत संसारका प्रायजसो सुन्दर पोसाकहरू अक्सर रेसमबाट बनेका हुन्छन्‌। रेसाहरूकी रानी भनिने यो चम्किलो धागोले उहिलेका राजारजौटाहरूदेखि अहिलेका मामुली जनतासम्म सबैलाई आफ्नो सौन्दर्यले मोहित बनाउँदै आएकी छे। अहिले रेसम अनि रेसमी कपडा सजिलै पाउन सकिने भए तापनि उहिले त्यस्तो अवस्था थिएन।

प्राचीन युगमा चीनले रेसम खेती अनि व्यापारलाई आफ्नो मुठीभित्र कैद गरेर राखेको थियो। रेसमको धागो कसरी बनाउने भनेर त्यतिखेर अरू कसैलाई थाह थिएन। चीनमा रेसमको धागो बनाउने रहस्य खोल्ने व्यक्‍तिले देशद्रोहको आरोपमा प्राणदण्डसमेत पाउन सक्थ्यो। भनिरहनु नपर्ला, चीनको यस्तो एकाधिकारले गर्दा त्यसताका रेसम असाध्यै महँगो पर्थ्यो। उदाहरणका लागि, रोमी साम्राज्यमा रेसम सुन जत्तिकै किम्मती थियो।

पछि, इरानले चीनबाट बाहिरी मुलुकतर्फ निर्यात हुने रेसमलाई आफ्नो नियन्त्रणमा लियो। इरानी व्यापारीहरूलाई पाखा लगाउन चीनले खुबै प्रयास गऱ्‍यो तर सकेन। तथापि, यसको बावजुद रेसमको भाउ भने घटेन। त्यतिखेरैको कुरा हो, तुर्क सम्राट जस्टिनियनले रेसम खेती गर्ने गोप्य विधि हासिल गर्ने जुक्‍ति निकाले। इस्वी संवत्‌ ५५० तिर उनले दुई जना भिक्षुलाई चीनको गोप्य मिसनमा पठाए। दुई वर्षपछि उनीहरू फर्के। बाँसको लठ्ठीभित्र उनीहरूले रेसम कीराका फुलहरू लुकाएर ल्याएका थिए। यसरी रेसम खेती गर्ने विधि पर्दाफास हुनुका साथै चीनको एकाधिकार पनि अन्त भयो।

रेसम धागोको रहस्य

रेसमको धागो बनाउन रेसम पुतलीको झुसिल्कीरो चाहिन्छ। रेसम कीराका थुप्रै प्रजाति छन्‌। यीमध्ये सबैभन्दा राम्रो रेसम बनाउने कीराको वैज्ञानिक नाउँचाहिं बम्बिक्स मोरी हो। रेसमी कपडा तयार पार्न धेरै कीरा चाहिने भएकोले रेसम खेतीको जन्म भयो। जापानमा अहिले पनि लगभग २,००० परिवारले धेरै समय र श्रम खर्चिनुपर्ने यो खेती गरिरहेका छन्‌। यीमध्ये जापानको गुन्मा प्रान्तमा बस्ने सोइची कावाहारादाले कसरी रेसम खेती गर्छन्‌, हामी यहाँ चर्चा गर्नेछौं। कावाहारादाले डाँडामा रेसम खेतीका लागि ठिक्क मिल्ने किसिमको घर बनाएका छन्‌। उनले किम्बुका बुट्यानहरू पनि लगाएका छन्‌ (१)।

रेसमको पुतलीले आलपिनको छातो जत्रो ५०० वटा फुल पार्छे (२)। लगभग २० दिनपछि फुलबाट रेसम कीरा निस्कन्छ। यी साना कीराहरू असाध्यै खन्चुवा हुन्छन्‌। रातदिन यी कीराहरूले किम्बुका पातहरू खाएको खाएकै गर्छन्‌। रेसम कीराले किम्बुको पात मात्र खान्छ (३, ४)। लगभग १८ दिनभित्रै यी साना कीराहरू ७० गुणा ठूला हुन्छन्‌ र चार पटकसम्म नयाँ छाला फेर्छन्‌।

कावाहारादाले एक पटकमा १,२०,००० कीराहरू हुर्काउँछन्‌। कीराहरूले किम्बुका पात चपाउँदा झरी परेको जस्तै सुनिन्छ। रेसम कीरा पूरै हुर्केर ठूलो हुँदा त्यसको तौल १०,००० गुणा बढिसकेको हुन्छ! अनि यसपछि रेसम कीराले गुँड अर्थात्‌ ककुन बनाउन सुरु गर्छ।

हल्लाखल्ला नगरी धागो कात्ने जीव

पूरै हुर्किसकेको रेसम कीराको जीउ फिका चिया रङको हुन्छ। अब रेसमको रेसा निकाल्ने समय भो! ककुन बनाउने बेला भएपछि रेसम कीरा आड खोज्न थाल्छ। त्यसपछि रेसम कीरालाई किम्बुको बोटबाट टिपेर साना कोठा-कोठा भएको बाकसमा राखिन्छ। त्यही बाकसमा रेसम कीराले सेतो मिहिन रेसा (५) निकालेर ककुन बनाउँछ।

एक लाख २० हजार रेसम कीराहरूले एकै चोटि ककुन बनाउन सुरु गरेपछि कावाहारादालाई कामको चटारो पर्छ। उनले दोस्रो तलाको शीतल हावा खेल्ने बुइँगलमा रेसम कीरा राख्ने बाकसहरू लहरै झुन्ड्याएर राखेका छन्‌ (६)।

यसबीच रेसम कीराको शरीरभित्र अद्‌भुत परिवर्तन भइरहेको हुन्छ। रेसम कीराले किम्बुको पातबाट आफ्नो जीउजत्रै लामो एक जोडी ग्रन्थीमा फाइब्रोन नाउँको प्रोटिन बनाउँछ। त्यसपछि मुख सँगैको दुइटा प्वालबाट फाइब्रोन बाहिर ठेलेर निकाल्छ र त्यसमा सेरिसिन भन्‍ने लेसाइलो पदार्थ दल्छ। अनि बाहिर निस्कने बित्तिकै रेसमका दुइटा फाइब्रोन मिलेर एउटा सिंगो फिलामेन्ट बन्छ।

एक पटक रेसम कीराले धागो निकाल्न थालेपछि आफ्नो पूरै शरीरलाई नढाकेसम्म बेह्रेको बेह्रै गर्छ। यसले प्रति मिनेट ३० देखि ४० सेन्टिमिटरको दरले आफूलाई रेसमले बेर्छ। एउटा स्रोतअनुसार पूरै ककुन बनाउन रेसम कीराले १,५०,००० पटक फन्को मार्छ। रेसम कीराले दुई दिन दुई रातभित्र १,५०० मिटर लामो धागो बनाउन सक्छ। यसलाई तन्काएर सीधा बनाउने हो भने गगनचुम्बी भवनभन्दा चार गुणा लामो हुनेछ।

एक हप्ताभित्र, कावाहारादाले १,२०,००० ककुन संकलन गर्छन्‌ र प्रशोधनका लागि पठाउँछन्‌। एउटा किमोनो बनाउन ९,००० वटा ककुन चाहिन्छ। टाइ बनाउन १४० वटा अनि रेसमी स्कार्फ बनाउनचाहिं १०० वटाभन्दा धेरै ककुन चाहिन्छ।

रेसमी कपडा कसरी तयार पारिन्छ

ककुनबाट रेसमको धागो तानेर निकाल्ने विधिलाई रिलिङ भनिन्छ। ककुनबाट धागो निकाल्ने तरिका कसरी सुरु भयो त? यसबारे थुप्रै किंवदन्तीहरू छन्‌। त्यस्तै एउटा किंवदन्तीअनुसार चीनियाँ साम्राज्ञी शी लिङसीले चिया खाइरहेको बेला किम्बुको रूखबाट कपमा ककुन खसेछ। कपबाट ककुन निकाल्न खोज्दा, मसिनो धागो फुर्र फुत्केर निस्केको तिनले देखिछिन्‌। यसरी धागो निकाल्ने विधिको जन्म भयो अरे। अचेल ककुनबाट धागो तानेर निकाल्न मेसिनको प्रयोग गरिन्छ।

ककुनलाई बजारमा बिक्री गर्नुअगाडि ककुनभित्रको कीरा अर्थात्‌ प्युपालाई पुतली बनेर बाहिर निस्कनुअगावै मार्नुपर्छ। रेसम किसानहरूले तातो पानी वा वाफमा ककुनलाई हालेर प्युपालाई मार्छन्‌। त्यसपछि कमसल जतिलाई एकातिर पन्छाएर असल ककुनलाई संकलन गर्ने काम सुरु हुन्छ। ककुनबाट धागो निकाल्नुअघि त्यसलाई तातो पानी वा वाफमा हालेर सफा गर्नुका साथै रेसाहरूलाई खुकुलो बनाइन्छ। यसरी खुकुलो पारेपछि मेसिनमा हालिन्छ र मेसिनको बुरुसले ककुनबाट धागोको टुप्पो टिपेर निकाल्छ (७)। आवश्‍यकताअनुसार दुई वा सोभन्दा धेरै ककुनबाट निस्केको धागोलाई मिसाएर सिंगो धागो पनि बनाउन सकिन्छ। त्यसपछि धागोलाई हावामा सुकाउँदै रीलमा बेर्ने काम गरिन्छ। यसरी रीलमा बेरिएको काँचो रेसमलाई फेरि ठूलो रीलमा बेरिन्छ र अन्तमा आवश्‍यक तौल वा लम्बाइअनुसारको लाछा तयार पारिन्छ (८, ९)।

रेसमी कपडा अति मुलायम अनि चिप्लो हुन्छ र हतपती खुम्चिंदैन। रेसमलाई कति मुलायम अनि चिप्लो बनाउने हो, डि-गमिङ (गम हटाउने) भन्‍ने अर्को विधिमा भर पर्छ। डि-गमिङ भनेको रेसम कीराले फाइब्रोन अर्थात्‌ रेसमको धागो निकाल्दा त्यसमा दल्ने लस्सा वा सेरिसिनलाई हटाउने विधि हो। पूरै लस्सा निकालेको रेसम असाध्यै मुलायम हुन्छ। अर्कोतिर लस्सा ननिकालेको धागो खस्रो हुनुका साथै त्यसले रङ पनि उति समात्दैन। सिफोन कपडा खस्रो हुनुको कारण पनि धागोमा अझै सेरिसिन बाँकी भएकोले हो।

दोस्रो कुरा धागोलाई कति पटक बटारिएको हो, त्यसले पनि रेसम कति मुलायम हुने हो, फरक पार्छ। जापानी हाबुताए कपडा असाध्यै मुलायम अनि छुँदा चिप्लो हुन्छ। किनकि यो कपडा बनाउन रेसमको धागोलाई असाध्यै कम त, कहिलेकाहीं एक पटक पनि बटारिंदैन। अर्कोतर्फ क्रेप कपडा खस्रो हुन्छ, किनकि यो कपडा बुन्‍न धेरै पटक बटारिएको धागो प्रयोग गरिन्छ।

रेसमी कपडा तयार पार्न रंगाउने विधिको पनि उत्तिकै भूमिका रहन्छ। रेसमले राम्ररी रङ समात्छ। फाइब्रोनको बनौटले गर्दा रङ भित्रसम्म पस्छ र हतपती उडेर जाँदैन। यसबाहेक कृत्रिम धागोमा जस्तो एउटा मात्र नभएर रेसममा नेगेटिभ र पोजेटिभ दुवै आयन हुन्छन्‌, जसले गर्दा जुनसुकै रङ यसले राम्ररी टिप्छ। रेसमलाई तानमा बुन्‍नुअघि (१०) वा बुनेर कपडा बनाइसकेपछि पनि रंगाउन सकिन्छ। जापानी किमोनो रंगाउने प्रसिद्ध युजेन विधिअनुसार रेसमी कपडामा सुन्दर आकृतिहरू कोरेर हातैले रंगाइन्छ।

अचेल चीन र भारतले सबैभन्दा धेरै रेसम उत्पादन गर्छ। तर रेसमका विभिन्‍न डिजाइन तयार पार्ने क्षेत्रमा भने फ्रान्स र इटलीका फेसन डिजाइनहरूलाई कसैले उछिन्‍न सकेको छैन। आजभोलि रेयन अनि नाइलनजस्ता कृत्रिम रेसाहरूबाट तयार पारिएका थुप्रै सस्ता कपडाहरूले बजार भरिभराउ छ। तथापि, कुनै पनि कपडा रेसमको बराबरीमा आउन सकेको छैन। रेसम धागोबारे जापान, योकोहामाको रेसम संग्रहालयका सञ्चालक यसो भन्छन्‌: “विज्ञानले गरेको प्रगतिको बावजुद, अहिलेसम्म कसैले कृत्रिम रेसम बनाउन सकेको छैन। हामीसित रेसमको आणविक सूत्रदेखि त्यसको बनौटसम्म सबैको ज्ञान छ। तैपनि यसको नकल अहिलेसम्म बनाउन सकेका छैनौं। त्यसैकारण म यसलाई रेसमको रहस्य भन्‍ने गर्छु।” (g 6/06)

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

रेसमका विशेषताहरू

बलियो: बराबर मोटाइको बनाउने हो भने रेसमको धागो स्टिलको धागो जत्तिकै बलियो हुन्छ।

टलक: रेसमको धागो मोतीको दानाजस्तै टल्कन्छ। फाइब्रोनको बनौट प्रिज्मको जस्तो अनि तह-तह परेको हुँदा, यसमा घामको उज्यालो पर्दा इन्द्रेनीको जस्तै विभिन्‍न रङहरू देखिन्छन्‌।

छाला नचिलाउने: रेसमको धागोमा पाइने एमिनो एसिड वा अम्लले छाला चिलाउँदैन। अझ भनौं भने रेसमको लुगा लगाउनाले थुप्रै चर्म रोगहरू लाग्दैन भन्‍ने धारणा छ। अचेल केही शृंगारका सामग्रीहरूसमेत रेसमको धूलोबाट तयार पारिन्छ।

पसिना सोस्ने: रेसमको धागोमा एमिनो एसिडका साथै धागोमा स-साना छिद्र हुने भएकोले रेसमी कपडाले मजाले पसिना सोसेर बाहिर हावामा फ्याँक्न सक्छ। त्यसैले गर्मीको बेला रेसमी कपडा लगाउँदा शीतल हुन्छ र पसिनाले जीउ चिपचिप हुँदैन।

ताप थेग्न सक्ने: रेसमी कपडालाई हतपती आगोले टिप्दैन र आगोले खाइहाल्यो भने पनि शरीरलाई हानि गर्ने विषालु धुवाँ निकाल्दैन।

घामबाट सुरक्षा: रेसमले छालालाई हानि गर्ने घामको अल्ट्राभ्वाइलेट किरणलाई सोस्न सक्छ।

कुचालक: रेसममा पोजेटिभ र नेगेटिभ दुवै आयन हुन्छ। यसबाहेक यसले पसिना र पानी मजाले सोस्छ। यी गुणहरूले गर्दा अरू कपडाहरूभन्दा रेसम राम्रो कुचालक हो।

रेसमी लुगाको हेरविचार कसरी गर्ने

धुने: रेसमी लुगाहरूलाई सकेसम्म ड्राइ क्लिन गर्नु राम्रो हो। धुनु नै परेको खण्डमा तातो पानीमा (लगभग ३० डिग्री सेल्सियस) नरम खालको साबुन वा पाउडर प्रयोग गर्नुहोस्‌। कपडालाई हल्कासित मिच्नुहोस्‌। बेस्सरी कहिल्यै ननिचोर्नुहोस्‌। त्यसपछि हावामा सुकाउनुहोस्‌।

इस्तिरी गर्ने: सीधै लुगामाथि कहिल्यै इस्तिरी नगर्नुहोस्‌। लुगामाथि अर्को एक तह कपडा राखेर, त्यसमाथि इस्तिरी गर्नुहोस्‌। इस्तिरी १३० डिग्री सेल्सियसभन्दा तातो हुनु हुँदैन। रेसमी कपडाको धागो माथिबाट तल वा दायाँबाट बायाँ कतातिर गएको छ राम्ररी हेर्नुहोस्‌। त्यसपछि धागो तलबाट माथि गएको छ भने इस्तिरी पनि तलबाट माथितिर धकेलेर गर्नुहोस्‌। इस्तिरीको प्रयोग गर्दा सकेसम्म कपडामा पानी नछर्कनुहोस्‌।

दाग हटाउने: तुरुन्तै दाग हटाउनु परेमा दाग लागेको भागलाई अर्को सुख्खा कपडामाथि पर्ने गरी लुगालाई फैलाउनुहोस्‌ र माथिबाट भिजेको कपडाले बिस्तारै ढ्याप-ढ्याप गर्नुहोस्‌। रेसमी लुगालाई अर्को कपडाले रगडेर दाग हटाउने कोसिस गर्नुहुँदैन। त्यसपछि ड्राइ क्लिन गर्नुहोस्‌।

थन्क्याउने: रेसमी लुगालाई ओस नहुने, ढुसी नलाग्ने अनि सीधै घाम नपर्ने ठाउँमा थन्क्याउनुपर्छ। सकेसम्म स्पन्जले मोडेको ह्‍याङ्‌गरमा झुन्ड्याउनुहोस्‌ वा पट्याएर राख्नुहोस्‌। तर कपडालाई धेरै मुजा पर्ने गरी नपट्याउनुहोस्‌।

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Photos 7-9: Matsuida Machi, Annaka City, Gunma Prefecture, Japan; 10 and close-up pattern: Kiryu City, Gunma Prefecture, Japan