विशेष हेरचाह आवश्यक पर्ने छोराछोरीलाई हुर्काउने
विशेष हेरचाह आवश्यक पर्ने छोराछोरीलाई हुर्काउने
फिनल्याण्डका ब्यूँझनुहोस्! लेखक
मर्कूस (बायाँ) २० वर्षको भइसक्यो, तर अरूको मदतबिना ऊ आफै खान, पिउन र नुहाउनसमेत सक्दैन। उसलाई राम्ररी निद्रा पनि पर्दैन र रातभरि रुँग्नुपर्छ। जतासुकै लड्ने र सजिलै घाइते भइहाल्ने भएकोले उसलाई बारम्बार मलमपट्टी गरिरहनुपर्छ। तैपनि मर्कूसका आमाबाबु उसलाई असाध्यै माया गर्छन्। मर्कूसको नम्र र मायालु बानी उनीहरूलाई साह्रै मन पर्छ। अशक्त भए पनि उनीहरूलाई आफ्नो छोरामाथि गर्व छ।
यस पृथ्वीको झन्डै ३ प्रतिशत जनसंख्या कुनै न कुनै किसिमको मानसिक रोगले ग्रस्त छ भनी विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ। वंशाणुगत समस्याहरूका साथै जन्मँदा कुनै चोट लागेमा, सानैमा मस्तिष्क संक्रमण भएमा अनि कुपोषणले गर्दा बच्चाहरू सुस्त हुन सक्छन्। यसबाहेक, जाँडरक्सी र लागू पदार्थ सेवन गरेमा वा रासायनिक तत्त्वको असरले गर्दा पनि मानसिक क्षमता मन्द भएको बच्चा जन्मिन सक्छ। तर प्रायजसो अवस्थामा बच्चा सुस्त हुनुको कारण थाह हुँदैन। विशेष हेरचाह आवश्यक पर्ने यस्ता बच्चाहरूलाई हुर्काउनु कस्तो हुन्छ? अनि यस्ता बच्चाहरूका आमाबाबुलाई कसरी आड-भरोसा दिन सकिन्छ?
बच्चा सुस्त छ भनेर पहिलो पटक थाह हुँदा
बच्चा सुस्त छ भनेर थाह पाउँदा आमाबाबु छाँगाबाट खसेझैं हुन्छन्। “छोरीलाई डाउन सिन्ड्रोम (एक किसिमको मानसिक सुस्तता) छ भनेर थाह पाउँदा हामीलाई घर भत्किएर छानाले थिचेजस्तै लाग्यो,” सिर्खा सन्झिन्छिन्। मर्कूसकी आमा आन्नाचाहिं यसो भन्छिन्: “ऊ सुस्त छ भनेर पहिलो पटक थाह पाउँदा अरूले ऊसित कस्तो व्यवहार गर्लान् भनेर चिन्ता लागेको थियो। तर मैले तुरुन्तै त्यस्तो चिन्ता गर्न छोडिदिएँ र उसका आवश्यकताहरू कसरी पूरा गर्ने र उसलाई कसरी मदत गर्ने, त्यसमै ध्यान दिन थालें।” इरमगार्डलाई पनि त्यस्तै लागेको थियो। “छोरी युनिक सुस्त हुन्छे भनेर डाक्टरले बताउँदा छोरीलाई कसरी स्याहार्ने होला भनेर सोच्न थालें।” बच्चा सुस्त छ भनेर थाह पाउँदा सिर्खा, आन्ना र इरमगार्डजस्ता आमाबाबुले के गर्न सक्छन्?
अशक्त बच्चाहरूको हेरचाहसम्बन्धी जानकारी दिने एउटा अमेरिकी संस्थाले (यु. एस. नेसनल डिस्सेमिनेसन सेन्टर फर चिल्ड्रेन विथ डिसेबिलिटिज्) दिएको सल्लाहअनुसार “तपाईंले गर्न सक्ने पहिलो कुरा भनेकै आफ्नो बच्चाको सुस्तता, उपलब्ध मदत अनि तपाईं आफैले बच्चाको स्याहार गर्न चाल्न सक्ने खास कदमहरूबारे जतिसक्दो धेरै जानकारी हासिल गर्नु हो।” यसरी जानकारी हासिल गर्दा तपाईंले बच्चाको ख्याल गर्न के-कस्तो छाँटकाँट गर्नु वा निर्देशन पालन गर्नुपर्छ पहिल्यै राम्ररी थाह हुन्छ। यसो गर्नु भनेको एक किसिमले पूर्ण जानकारी दिने नक्सा लिएर यात्रामा निस्कनु बराबर हो।
आस नमार्नुहोस्
सुस्त बच्चा हुर्काउनु जत्ति नै गाह्रो भए तापनि आस नमार्नुहोस्। किन?
पहिलो कारण त, प्रायजसो सुस्त बच्चाहरूले दुःख पाइरहेका हुँदैनन्। डाक्टर रबर्ट आइज्याकसन आफ्नो पुस्तक सुस्त बच्चा-मा (द रिटार्डेट चाइल्ड) यसरी लेख्छन्: “प्रायजसो सुस्त बच्चाहरू खुसी हुन्छन्। अरू सामान्य बच्चाहरूजस्तै उनीहरू पनि मानिसहरूसित घुलमिल गर्दा, बाजा बजेको सुन्दा, खेल्दा, मीठो खाना खाँदा र साथीहरूसित खेल्न पाउँदा रमाउँछन्।” यिनीहरूले गर्न सक्ने अनि बुझ्न सक्ने कुराहरू थोरै भएकोले सामान्य बच्चाहरूको तुलनामा यिनीहरूको संसार सानो हुन्छ। तर त्यही “सानो संसारमै” उनीहरू रमाएर बसेका हुन्छन्।
दोस्रो, बच्चाले बल्लतल्ल हासिल गरेको सफलता देख्दा पनि “संसारै जितेर आएजस्तो” लागेर आमाबाबुको छाती गर्वले ढक्क फुल्छ। बच्चाले सिकेको असाध्यै सानो कुरा पनि आमाबाबुलाई कुनै अग्लो चुचुरामा पुगेझैं लाग्न सक्छ। उदाहरणको लागि ब्रायनलाई नै लिऔं। उसलाई ट्युबेरस सिरोसिस र अटिजम भनिने एक प्रकारको मानसिक रोग छ र ऊ बेला-बेला मूर्छा परेर लड्छ र काँप्छ। हुन त, उसको दिमाग त्यति सुस्त छैन तैपनि ऊ बोल्न भने सक्दैन। ऊ सामान्य मान्छेले जस्तो हातखुट्टा चलाउन पनि सक्दैन। अहिले ऊ आफूलाई सबैभन्दा मनपर्ने पेय, दूध नपोखाईकन आफै पिउन सक्नेसम्मको भएको छ। ब्रायनको मस्तिष्क अनि शरीरका अंगहरूबीच सही तालमेल नभएकोले यसरी आधा कप मात्र भए पनि आफैले दूध पिउन सक्नु ठूलो उपलब्धी हो।
ब्रायनको यो सफलतालाई उसका आमाबाबुले ठूलो जीतको रूपमा लिएका छन्। “हामीलाई आफ्नो छोरा सालको रूखजस्तै लाग्छ,” उसकी आमा लरी भन्छे। “अरू रूखजस्तो सालको रूख हलक्क हुर्कंदैन। तापनि सालको काठ निकै बहुमूल्य हुन्छ। त्यसै गरी अरू बच्चाको तुलनामा सुस्त बच्चाहरू अलि बिस्तारै हुर्कन्छन्। तर आमाबाबुको लागि यी बच्चाहरू सालको काठ अग्राखजत्तिकै अनमोल छन्।”
तेस्रो, बच्चाहरू स्नेही स्वभावको भएकोले आमाबाबुको मन पनि मायाले भरिन्छ। इरमगार्ड भन्छिन्: “युनिक राती छिट्टै सुत्न मन पराउँछे। ऊ सधैं हामी सबैलाई म्वाइ खाएपछि मात्र सुत्छे। तर हामी घर पुग्नुअघि नै निद्रा लाग्यो भने पर्खन नसकेकोले माफी माग्दै सानो चिठी लेख्छे। अनि चिठीमा उसले ऊ हामीलाई माया गर्छे र भोलि बिहान भेट्ने इच्छा गर्छे भनेर पनि लेखेकी हुन्छे।”
मर्कूस बोल्न सक्दैन। तैपनि आमाबाबुलाई माया गर्छु भन्न उसले पसिना काढी-काढी इशारा गरेर भन्न सिक्यो। झन्-झन् सुस्त हुँदै गएकी टीयाका आमाबाबु आफ्नो अनुभूति यी शब्दहरूमा व्यक्त गर्छन्: “उसले हाम्रो जीवन माया, स्नेह र न्यानोपनले भरिदिएकी छे। ऊ हामीलाई अँगालिरहन्छे र म्वाइँ खाइरहन्छे।” भनिरहनै पर्दैन, यस्ता बच्चाहरूलाई आमाबाबुले पनि मौखिक अनि शारीरिक दुवै तरिकामा धेरै माया अनि स्नेह देखाइरहनुपर्छ।
चौथो, आफ्नो बच्चाले साँचो परमेश्वरलाई चिन्न सकेको देख्दा पनि मसीही आमाबाबु एकदमै ढुक्क महसुस गर्छन्। युहालाई यसको उपयुक्त उदाहरणको रूपमा लिन सकिन्छ। बुबाको अन्त्येष्टिमा उसले प्रार्थना गर्न अनुमति माग्दा सबै जना छक्क परे। आफ्नो छोटो प्रार्थनामा युहाले आफ्नो बुबा यहोवाको सम्झनामा रहेको अनि उहाँले आफ्नो समयमा बुबाको पुनरुत्थान गर्नुहुने विश्वास व्यक्त गऱ्यो। त्यसपछि उसले परिवारका प्रत्येक सदस्यको नाउँ नै काढेर उनीहरूलाई मदत गरिदिन परमेश्वरसित आग्रह गऱ्यो।
त्यसै गरी युनिकले परमेश्वरमाथि भरोसा राखेकोले उसका आमाबाबु पनि खुसी छन्। आफूले सिकेको सबै कुरा युनिक बुझ्न सक्दिन। जस्तै, उसलाई बाइबलका थुप्रै पात्रहरूको नाउँ थाह छ तर ती पात्रहरू र उनीहरूले गरेका कामलाई भने ऊ मिलान गर्न सक्दिन। तर जे होस्, सर्वशक्तिमान् परमेश्वरले एकदिन पृथ्वीबाट सबै समस्या हटाउनुहुनेछ भन्ने कुरा भने उसलाई राम्ररी थाह छ। परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा जीवन बिताउने युनिकको धोको छ र त्यतिखेर युनिक अहिलेजस्तो सुस्त हुनेछैन।
आत्मनिर्भर बनाउनुहोस्
सुस्त बच्चाहरू सधैंभरि बच्चै रहिरहँदैनन्। मानसिक तवरमा नहुर्के पनि उनीहरू शारीरिक तवरमा अरू सामान्य केटाकेटीझैं हुर्कन्छन्। त्यसैकारण, यस्ता बच्चाका आमाबाबुले आफ्नो बच्चालाई अरूमा बढ्तै भर नपर्न सिकाउनुपर्छ। मर्कूसकी आमा आन्ना भन्छिन्: “जुनसुकै काम मर्कूसलाई गराउनुभन्दा आफैले गरिदिनु सजिलो र छिटो हुन्थ्यो। तैपनि त्यसो गर्नुको साटो उसले गर्न सक्ने जति काम उसैलाई गर्न लगाउने अथक प्रयास हामीले गऱ्यौं।” युनिककी आमाचाहिं यसो भन्छिन्: “युनिकका अरू थुप्रै राम्रा गुणहरू भए पनि ऊ अलि जिद्दी छे। उसलाई मन नलागेको काम अह्राउनुपऱ्यो भने ऊ हामीलाई कत्ति माया गर्छे भनेर पहिला सम्झाउनुपर्छ। त्यसपछि उसले त्यो काम गर्न मानी भने पनि त्यो काम फत्ते नहोउन्जेल उसलाई हौसाइरहनुपर्छ।”
ब्रायनकी आमा लरी छोरालाई आत्मनिर्भर बनाउने तरिकाहरू खोजिरहन्छिन्। लरी र उनका श्रीमान्ले तीन वर्ष लगाएर ब्रायनलाई कम्प्युटरमा टाइप गर्न सिकाए। अहिले साथीभाइ र नातागोतालाई इमेल गर्न पाएकोमा ब्रायन दंग छ। तर टाइप गर्ने बेला ब्रायनको नाडीनेर कसैले आड दिनुपर्छ। अहिले उसका आमाबाबु उसलाई नाडीमा होइन कुहिनामा हलुका आड दिए पुग्ने बनाउने कोसिसमा लागिरहेका छन्। हुन त नाडीमा आड दिनु र कुहिनामा, त्यति फरक त देखिंदैन। तर ब्रायनका आमाबाबुको लागि यत्ति गर्न सक्नु पनि ठूलो फड्को मारेसरह हो।
त्यसो भन्दैमा आमाबाबुले जबरजस्ती गर्ने अथवा धेरै आशा गर्ने गर्नु हुँदैन। बालकैपिच्छे प्रगति गर्ने क्षमता पनि फरक-फरक हुन्छ। विशेष बच्चा (स्पेशल चाइल्ड) भन्ने पुस्तकअनुसार “बच्चालाई आत्मनिर्भर हुन प्रोत्साहन दिनुका साथै उनीहरूलाई हतोत्साही नहुन पनि मदत गरिरहनुपर्छ भनी अनुभवले देखाएको छ।”
सर्वोत्तम मदत
सुस्त बच्चाका आमाबाबु निकै धीरजी र सहनशील हुनुपर्छ। समस्यामाथि समस्या थपिंदै जाँदा थुप्रै आमाबाबु बेला-बेला हतास हुन्छन्। थाकेर लखतरान हुँदा तपाईंको मेहनत खेर जान सक्छ। कहिलेकाहीं आँसु झार्नुपर्ने वा आफैलाई धिक्कार्दै बस्ने अवस्थासमेत आउन सक्छ। त्यसो भए, के गर्न सकिएला?
त्यस्तो बेला आमाबाबुले “प्रार्थना सुन्नुहुने” परमेश्वरलाई पुकार्न सक्छन्। (भजन ६५:२) उहाँले तपाईंलाई चाहिने साहस, आशा र सहन सक्ने बल दिनुहुन्छ। (१ इतिहास २९:१२; भजन २७:१४) उहाँले हाम्रो दुःखी मनमा मलम लगाइदिनुहुन्छ। उहाँ हामीले बाइबलमा पाइने “आशामा आनन्द [गरेको]” चाहनुहुन्छ। (रोमी १२:१२; १५:४, ५; २ कोरिन्थी १:३, ४) साँचो परमेश्वर यहोवालाई चिन्ने आमाबाबुले भविष्यमा ‘अन्धाले देख्ने, बहिराले सुन्ने, लंगडाले हिंड्ने र गूंगाले स्तुति गर्ने’ बेला आफ्नो प्राणभन्दा प्यारो बच्चा मानसिक र शारीरिक तवरमा स्वस्थ अनि तन्दुरुस्त भएको पक्कै देख्न पाउनेछन्।—यशैया ३५:५, ६; भजन १०३:२, ३. (g 4/06)
आमाबाबुले गर्न सक्ने केही कुराहरू:
◼ सुस्त बच्चाबारे सकेजति जानकारी प्राप्त गर्नुहोस्।
◼ सकारात्मक हुने कोसिस गरिरहनुहोस्।
◼ बच्चालाई उसको क्षमताअनुसार सकेसम्म आत्मनिर्भर बनाउनुहोस्।
◼ परमेश्वरसित साहस, आशा अनि बल माग्नुहोस्।
अरूले गर्न सक्ने केही कुराहरू:
◼ बच्चासित तोतेबोलीमा होइन प्रस्ट बोलीमा कुराकानी गर्नुहोस्।
◼ आमाबाबुसित पनि कुरा गर्नुहोस् र उनीहरूको प्रयासको कदर गर्नुहोस्।
◼ आमाबाबुको भावना बुझ्ने प्रयास गर्नुहोस्।
◼ यस्ता विशेष बच्चाका आमाबाबु र परिवारसित संगत गर्नुहोस्।
[पृष्ठ १८-मा भएको पेटी/चित्र]
अरूले मदत गर्न सक्ने तरिकाहरू:
कहिल्यै नथाक्ने म्याराथन धावकजस्तै आमाबाबुले पनि हप्ताको सातैदिन अनि दिनको चौबीसै घण्टा लगनशील भएर सुस्त बच्चाको हेरचाह गरेको देख्दा तपाईं अचम्म मान्नुहुन्छ होला। म्याराथन धावकहरूले दौड पूरा गर्न सकून् भनी बाटो-बाटोमा बसेका प्रशंसकहरूले पानीका बोतलहरू दिने गर्छन्। हामीले पनि विशेष बच्चाको आजीवन हेरचाह गर्नुपर्ने आमाबाबुलाई त्यसरी नै आड-भरोसा दिनुपर्छ।
बच्चासित कुराकानी गरेर मात्र पनि हामीले ठूलो सहयोग गर्न सक्छौं। कुरा गर्दा बच्चाले कम वा कुनै प्रतिक्रिया नदेखाउँदा सुरुमा त तपाईंलाई अलि अप्ठ्यारो लाग्ला। तर नबिर्सनुहोस्, प्रायजसो यस्ता बच्चाहरूले तपाईंले भनिरहनुभएको कुरा राम्ररी सुनिरहेका हुन्छन् अनि कहिलेकाहीं त त्यसबारे गहिरिएर सोचिरहेका समेत हुन सक्छन्। उनीहरू वास्तवमा गहिरो इनारजस्तै हुन्छन्। उनीहरूको अनुहारले कुनै भाव व्यक्ति नगरे तापनि वास्तवमा उनीहरूको दिमागले काम गरिरहेको हुन्छ। a
सुस्त बालबालिकासित कसरी कुराकानी गर्ने, स्नायुविद् डा. आन्निक्की कइस्टिन यस्तो सुझाव दिन्छिन्: “पहिले उसको परिवार वा ऊ के गर्न मन पराउँछ भनेर कुरा सुरु गर्न सक्नुहुन्छ। तर सानो बच्चासित कुरा गरेजस्तो नगर्नुहोस्। उसको वास्तविक उमेरअनुसारै ऊसित व्यवहार गर्नुहोस्। एक पटकमा एउटै विषयमा मात्र कुरा गर्नुहोस् र त्यो पनि छोटा-मीठा वाक्यहरूमा। तपाईंले भन्न खोज्नुभएको कुरा उसले बुझेको चाहनुहुन्छ भने त्यसबारे सोच्न उसलाई समय दिनुहोस्।”
आमाबाबुसित पनि कुराकानी गर्नुपर्छ। उनीहरूले भोगिरहेको भावनात्मक चुनौतीलाई तपाईंले जत्ति बुझ्दै जानुहुन्छ, उनीहरूप्रतिको समानुभूति पनि उत्तिकै बढ्दै जानेछ। उदाहरणको लागि मर्कूसकी आमा आन्नालाई लिनुहोस्। आन्ना आफ्नो छोरालाई अझ राम्ररी बुझ्न चाहन्छिन्। छोराले आफूसित कुरा गर्न र मनको कुरा पोख्न नसकेकोले उनी दुःख मान्छिन्। आफू मरें भने छोरालाई के होला भनेर पनि उनी पीर गर्छिन्।
सुस्त बच्चाको हेरविचार गर्न आफूले सके जति गरिरहेको भए तापनि वास्तवमा आमाबाबुलाई बच्चाको त्यति ख्याल गर्न नसकेको जस्तो लाग्दो रहेछ। ब्रायनकी आमा लरी छोराको हेरचाह गर्दा कहीं कतै सानो गल्ती भइहाल्यो भने असाध्यै दोषी महसुस गर्छिन्। बाँकी छोराछोरीलाई पर्याप्त ध्यान दिन नसकेकोले पनि उनी निकै ग्लानी महसुस गर्छिन्। यस्ता आमाबाबुमा चासो लिनुभयो र उनीहरूको कदर गर्नुभयो भने उनीहरू सम्मानित महसुस गर्छन्। यसरी सम्मानित महसुस गर्दा उनीहरू आफू र आफ्नो बच्चा दुवैलाई सम्हाल्न सक्छन्। यसबारे इरमगार्ड भन्छिन्: “कसैले मेरी छोरीबारे मसित कुरा गर्न चाहन्छ भने मलाई निकै खुसी लाग्छ। युनिकसित मैले बिताएका सुख-दुःख बुझ्न चाहनेहरू मलाई आत्मीय लाग्छन्।”
सानो तरिकामा होस् वा ठूलो, तपाईंले मदत गर्नसक्ने अरू पनि थुप्रै तरिकाहरू छन्। बच्चा र बच्चाका आमाबाबुसित घुलमिल हुन उनीहरूलाई आफ्नो घरमा बोलाउन सक्नुहुन्छ। आमाबाबुले आराम गर्न खोजेको बेला बच्चासित केही समय बिताएर पनि मदत गर्न सक्नुहुन्छ।
[फुटनोट]
a मे ८, २००० अंकको अवेक! पत्रिकामा “मौनताबाट निस्केको लोइडाको यात्रा” शीर्षकको लेख हेर्नुहोस्।
[पृष्ठ १८-मा भएको चित्र]
निष्कपट चासो देखाउँदा आमाबाबु र बच्चा गर्व महसुस गर्छन्
[पृष्ठ १९-मा भएको चित्र]
युनिकजस्तै सुस्त बच्चाहरूलाई हुर्केर ठूलो हुँदा पनि माया-ममता देखाइरहनुपर्छ
[पृष्ठ २०-मा भएको चित्र]
लरी, छोरा ब्रायनलाई टाइप गर्न सिकाएर आत्मनिर्भर बनाउँदैछिन्