सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

सेप्टेम्बर २००४ मा मेक्सिको खाडीमा आइभन समुद्री आँधी आउँदा १५ मिटरभन्दा अग्ला कम्तीमा २४ वटा छालहरू उठेका थिए। सबैभन्दा अग्लो छाल २७.७ मिटर अग्लो थियो।—साइन्स म्यागजिन, संयुक्‍त राज्य अमेरिका।

गाडी हाँक्दै मोबाइल फोन चलाउने मान्छेहरूको ठूलो दुर्घटना हुने सम्भावना चार गुणा बढी हुन्छ। मोबाइललाई ‘ह्‍याण्ड्‌स फ्रि’ अर्थात्‌ कानमा इयरफोन लगाएर वा मोबाइललाई हातमा नलिईकन कुराकानी गर्दासमेत दुर्घटना हुने सम्भावना उत्तिकै रहेको पाइयो।—बी एम जे, बेलाइत। (g 4/06)

आउँदो दशकभित्र एसिया महादेशका १ अरब २७ करोड केटाकेटीहरू सुरक्षित पानी, भोजन, स्वास्थ्य उपचार, शिक्षा अनि आवासजस्ता आधारभूत आवश्‍यकताहरूबाट वञ्चित हुनेछन्‌।—प्लान एसिया क्षेत्रीय कार्यालय, थाइल्यान्ड। (g 5/06)

बेसोमती कर्मचारी

वासिङ्‌टन पोस्ट पत्रिकाअनुसार अफिसका कर्मचारीहरूलाई “ठूलठूलो स्वरले फोनमा कुरा गर्ने, स्पीकरफोन चलाउने अनि काम धेरै भयो भनेर गुनासो मात्र गर्ने” सहकर्मीहरू देखेर सबैभन्दा धेरै झर्को लाग्दो रहेछ। अफिसमा “आफ्नै गुट बनाउने, काममा ढिला आउने, एक्लै फत्फताएर बस्ने, अर्को क्युबिकलमा काम गरिरहेको मान्छेसित चिच्याई-चिच्याई कुरा गर्ने, व्यक्‍तिगत सर-सफाइमा ध्यान नदिने अनि खाना खाँदा आवाज निकालेर चपाउने” सहकर्मी देखेरचाहिं धेरैजसोको कन्सिरी तात्दो रहेछ। हुन पनि यस्ता बेसोमती कर्मचारीहरूले काममा बाधा पुऱ्‍याउँछन्‌। तर चाखलाग्दो कुरा के छ भने, यसरी गुनासो पोख्नेहरूमध्ये कसैले पनि आफ्ना सहकर्मीलाई उनीहरूको दिक्कलाग्दो बानीबारे कहिल्यै सम्झाएका रहेनछन्‌। “अनि सम्झाउन्‌ पनि किन?” माथि उल्लिखित पत्रिकाअनुसार “गुनासो गर्नेहरू आफै पनि कम छैनन्‌।”

सहरीयाहरू बढ्‌दैछन्‌

सी बी सी न्युज-अनुसार “आउँदो दुई वर्षमा विश्‍वको आधा जनसंख्या सहरहरूमा सीमित हुनेछ।” संयुक्‍त राष्ट्रसंघको रिपोर्टअनुसार संयुक्‍त राज्य अमेरिका संसारकै सबैभन्दा धेरै सहरीयाहरू भएको देश हो। नब्बे प्रतिशत अमेरिकी जनताहरू सहरमा बसोबास गर्छन्‌। पचपन्‍न वर्षअघि एक करोडभन्दा धेरै जनसंख्या हुने सहर न्यु योर्क र टोकियो मात्र थिए। अहिले जाकार्ता, मेक्सिको सिटी, मुम्बई र साओ पाउलोलगायत अरू २० वटा सहरहरूको जनसंख्या एक करोडभन्दा धेरै छ। संयुक्‍त राष्ट्रसंघका महासचिव कोफी अन्‍नानअनुसार “द्रुत गतिले बढ्‌दै गएको सहरीकरणसँग लड्‌न थुप्रै देशले अब दूरगामी आर्थिक तथा सामजिक परिवर्तनहरू ल्याउनुपर्नेछ।” (g 6/06)

पादरीहरू बढ्‌दो हमलाको सिकार?

सन्‌ २००५ मा लन्डनको डेली टेलिग्राफ पत्रिकाले “[बेलाइतमा] पादरीको काम सबैभन्दा खतरनाक कामहरूको गन्तीमा पर्न थालेको छ” भनेर रिपोर्ट गरेको थियो। सन्‌ २००१ मा सरकारले लिएको सर्वेक्षणमा भाग लिने ७५ प्रतिशत पादरीहरू बितेका दुई वर्षमा दुर्व्यवहार वा हमलाको सिकार भएका रहेछन्‌। सन्‌ १९९६ यता कम्तीमा सात जना पादरीहरूको हत्या भइसकेको छ। मर्जीसाइड मोफसलका “१,४०० उपासनास्थलहरूमध्ये एउटा न एउटा ठाउँमा हरेक दिन जसो हमला, डकैती वा आगजनीको घटना” भइरहेको हुन्छ। (g 1/06)

दुई किसिमको इन्धन हाल्न मिल्ने कार

भेजा पत्रिकाअनुसार ब्राजिलमा बिक्री हुने एक तिहाइ नयाँ कारहरूमा दुई किसिमको इन्धन हाल्न सकिन्छ। यी कारहरू पेट्रोलका साथै उखुबाट बनेको अल्कोहलबाट चलाउन सकिन्छ। अथवा अल्कोहल र पेट्रोल दुवैलाई आफ्नो इच्छाअनुसार मिसाएर पनि हाल्न सकिन्छ। सन्‌ २००३ देखि २००४ भित्र अल्कोहलको बिक्री ३४ प्रतिशतले बढ्यो। तथापि, यसरी वृद्धि हुनु पछाडि वातावरणीय चिन्ताभन्दा पनि अल्कोहल सस्तो हुनुको ठूलो हात छ। ब्राजिलको आन्तरिक स्रोत तथा साधन केन्द्रका निर्देशक रफेल शाइदमानअनुसार दुई किसिमको इन्धन हाल्न मिल्ने यस्ता कारहरूले “उपभोक्‍ताहरूलाई तेलको भाउमा भइरहने उतारचढाव अनि इन्धन संकटबाट” जोगाउँछ। उपभोक्‍ताले “अल्कोहल वा पेट्रोलमध्ये जुन सस्तो हुन्छ, त्यही कारमा हालेर चलाउनसक्छ।” (g 4/06)