सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कसको कुरा पत्याउने?

कसको कुरा पत्याउने?

कसको कुरा पत्याउने?

“हरेक घर कुनै न कुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।”—हिब्रू ३:४.

बाइबलको यो तर्क तपाईंलाई कत्तिको चित्तबुझ्दो लाग्छ? यी शब्दहरू लगभग २,००० वर्षअघि लेखिएका हुन्‌ र यो २,००० वर्षभित्र मानवजातिले थुप्रै वैज्ञानिक उन्‍नतिहरूको स्वाद चाखिसक्यो। त के यो पृथ्वीको रचनाकार, सृष्टिकर्ता वा परमेश्‍वरमाथि विश्‍वास राख्ने अझै कोही छन्‌?

विकसित मुलुकहरूमा समेत थुप्रै मानिसहरू सृष्टिकर्तामाथि विश्‍वास राख्छन्‌। उदाहरणका लागि, सन्‌ २००५ मा न्युजवीक साप्ताहिक पत्रिकाले सर्वेक्षण लिंदा ८० प्रतिशत अमेरिकी जनताले “परमेश्‍वरले नै यो विश्‍व ब्रह्‍माण्डको सृष्टि गर्नुभएको हो भनेर विश्‍वास” गर्ने गरेको थाह लाग्यो। तर कतै शिक्षाको कमीले गर्दा पो त्यसो भएको हो कि? के सृष्टिकर्तामाथि विश्‍वास गर्ने वैज्ञानिकहरू पनि छन्‌? सन्‌ १९९७ मा नेचर भन्‍ने विज्ञान पत्रिकाले लिएको सर्वेक्षणअनुसार झन्डै ४० प्रतिशत जीवशास्त्री, भौतिकशास्त्री अनि गणितज्ञले परमेश्‍वरको अस्तित्व छ भनेर स्वीकार्नुका साथै उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर पनि विश्‍वास गर्दा रहेछन्‌।

तथापि, बिलकुलै भिन्‍न विचार राख्ने वैज्ञानिकहरू पनि छन्‌। नोबेल पुरस्कार विजेता डा. हर्बट ए. हाउप्टमानले हालै एउटा विज्ञान सम्मेलनमा प्रकृति बाहिरका कुराहरू र त्यसमाथि पनि अझ विशेष गरी ईश्‍वरमाथि विश्‍वास गर्नु विशुद्ध विज्ञानसित मेल नखाने कुरा हो भनेका थिए। “यस किसिमको विश्‍वासले मानवजातिको उन्‍नतिमा बाधा पुऱ्‍याउँछ” भन्‍ने तिनको तर्क थियो। परमेश्‍वरको अस्तित्व स्वीकार्ने वैज्ञानिकहरू समेत खुलेर वनस्पति वा प्राणीहरूको रचनाकार हुनै पर्छ भनेर सिकाउन हिचकिचाउँछन्‌। किन? यसको एउटा कारण प्रस्ट पार्दै स्मिथसोनियन नामक अनुसन्धान तथा शैक्षिक संगठनका जीवावशेष विशेषज्ञ डगलस एच. अरविन भन्छन्‌: “विज्ञानले कुनै पनि कुरा वा घटना चमत्कारले भयो भनेर स्वीकार्दैन।”

तपाईं के विश्‍वास गर्न चाहनुहुन्छ, तपाईंकै हातमा छ। कागले कान लग्यो भनेर कानै नछामी दौडन सक्नुहुन्छ वा समझदार हुनुहुन्छ भने प्रमाणहरू खोजेर आफै निष्कर्षमा पुग्न पनि सक्नुहुन्छ। यस पछिका लेखहरूमा वैज्ञानिक जगत्‌मा हालै पत्ता लागेका कुराहरूबारे पढ्‌दै जानुहुँदा आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘के परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु तार्किक कुरा हो?’ (g 9/06)

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

प्रमाणहरू खोजेर आफै निष्कर्षमा पुग्नुहोस्‌

[पृष्ठ ३-मा भएको पेटी]

के यहोवाका साक्षीहरू सृष्टिवादी हुन्‌?

बाइबलको उत्पत्ति नाउँ गरेको किताबमा सृष्टिबारे जे-जति वर्णन गरिएको छ, यहोवाका साक्षीहरू त्यसमा विश्‍वास राख्छन्‌। तर त्यसो भन्दैमा उनीहरूलाई सृष्टिवादी भन्‍न मिल्दैन। किन? पहिलो कारण, थुप्रै सृष्टिवादीहरू पृथ्वीलगायत सम्पूर्ण ब्रह्‍माण्ड अनि जीवजीवात आजभन्दा लगभग १०,००० वर्षअघि ६ दिनभित्र सृष्टि भएको हो भनेर विश्‍वास गर्छन्‌। तर बाइबलले त्यसो भन्दैन। a यसबाहेक, सृष्टिवादीहरूले बाइबलको शिक्षासित मेल नखाने थुप्रै धर्मसिद्धान्तहरू अँगालेका छन्‌। यहोवाका साक्षीहरू परमेश्‍वरको वचनले सिकाउने शिक्षाहरू मात्र अँगाल्छन्‌।

अर्को कारण, थुप्रै मुलुकका मानिसहरू “सृष्टिवादी” भन्‍ने बित्तिकै राजनीतिमा सक्रियतापूर्वक भाग लिने उग्र कट्टरपन्थीहरू भनेर सोच्ने गर्छन्‌। किनकि सृष्टिवादीहरू आफ्नो धार्मिक विश्‍वासलाई टेवा पुऱ्‍याउने नीतिनियम, कानुन वा शिक्षा लागू गर्न राजनीतिज्ञ, न्यायाधीश अनि शिक्षकहरूलाई दबाब दिने गर्छन्‌।

यसको ठीक विपरीत यहोवाका साक्षीहरू राजनैतिक मामिलाहरूमा तटस्थ रहने गर्छन्‌। सरकारले आफ्नो अख्तियार चलाएर कुनै नीतिनियम वा कानुनहरू बनाउँदा यहोवाका साक्षीहरू त्यसको विरोध गर्दैनन्‌। (रोमी १३:१-७) येशूले आफ्ना चेलाहरू यस “संसारका होइनन्‌” भन्‍नुभएको हुनाले उनीहरू त्यसलाई गम्भीरतापूर्वक लिन्छन्‌। (यूहन्‍ना १७:१४-१६) परमेश्‍वरको राज्यको प्रचार गरेर उनीहरू मानिसहरूलाई उहाँको स्तरअनुसार जिउने तरिकाहरू सिकाउँछन्‌। तर अरूलाई बाइबल स्तरअनुसार चल्न जबरजस्ती गर्ने नीतिनियमहरू बनाउन खोज्ने उग्र कट्टरपन्थी धार्मिक समूहरूलाई समर्थन गरेर यहोवाका साक्षीहरू आफ्नो मसीही तटस्थता भंग गर्दैनन्‌।—यूहन्‍ना १८:३६.

[फुटनोट]

a यस पत्रिकाको पृष्ठ १८ मा “बाइबल के भन्छ: के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?” लेख हेर्नुहोस्‌।