सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के क्रमविकास तथ्य हो?

के क्रमविकास तथ्य हो?

के क्रमविकास तथ्य हो?

“यदि तपाईं घाम तातो हुन्छ भनेर विश्‍वास गर्नुहुन्छ भने क्रमविकासमा पनि विश्‍वास गर्नुपर्छ।” यो हो, क्रमविकासका अग्रज वैज्ञानिक प्रोफेसर रीचर्ड डकिन्सको तर्क। हो, घाम तातो छ भनेर आफैले अनुभव गर्न र वैज्ञानिक परीक्षणद्वारा पनि प्रमाणित गर्न सकिन्छ। के क्रमविकासको शिक्षा पनि त्यसरी नै अवलोकन अनि परीक्षणबाट प्रमाणित भइसकेको छ त?

यस प्रश्‍नको जवाफ दिनुअघि हामी एउटा कुरामा स्पष्ट हुन जरुरी छ। वर्षौंको दौडान वनस्पति तथा प्राणीहरूको सन्तान दरसन्तान जन्मँदै जाँदा केही हलका परिवर्तनहरू हुन सक्छ भनेर थुप्रै वैज्ञानिकहरूले टिप्पणी गरेका छन्‌। चार्ल्स डार्विनले यस्तो परिवर्तनलाई “क्रमिक परिवर्तनले गर्दा हुने विकास” भन्‍ने नाउँ दिएका थिए। हो, वनस्पति तथा पशुप्राणीहरूमा यस्ता हलका परिवर्तनहरू हुन्छन्‌ भनेर प्रत्यक्ष देखिएको छ, परीक्षण गरिएको छ र खेतीपाती वा पशुपालनमा लागेका कृषकहरूले त्यस्ता परिवर्तनहरूको लाभ उठाएर नयाँ नसल तयार पारेका पनि छन्‌। a यस्ता परिवर्तनहरूलाई तथ्यको रूपमा सहर्ष स्वीकार्न सकिन्छ। तथापि, वैज्ञानिकहरूले यस्ता साना परिवर्तनहरूलाई “सूक्ष्म क्रमविकास” (माइक्रोइभोलुसन) भन्‍ने नाउँ दिएका छन्‌। यो नाउँ दिएर वैज्ञानिकहरूले के प्रमाणित गर्न खोजेका हुन्‌, स्पष्ट छ। वैज्ञानिकहरू (सबैले देखेको) यस्ता सूक्ष्म परिवर्तनहरू नै ठूलो अनि बृहत्‌ (तर कसैले नदेखेको) परिवर्तनहरूको (माक्रोइभोलुसन) प्रमाण हो भनेर तर्क गर्छन्‌।

तर डार्विनले यस्तो सामान्य परिवर्तनलाई आफ्नै ढंगमा अर्थ्याए। ओरिजिन अफ स्पिसिज नामक आफ्नो प्रख्यात किताबमा डार्विनले यस्तो लेखेका थिए: “म कुनै पनि जीवलाई बेग्लै वा विशिष्ट सम्झिन्‍नँ। किनकि सबै जीव, मुठीभर पुर्खाहरूबाट विकसित हुँदै बनेका प्राणीहरू मात्रै हुन्‌।” डार्विनको भनाइअनुसार वर्षौंको दौडान यी “मुठीभर पुर्खाहरू” अर्थात्‌ तथाकथित सरल जीवमा बिस्तारै “अत्यन्तै हलका परिवर्तनहरू” हुँदै गयो र कालान्तरमा लाखौं प्रकारका जीवजन्तु बन्यो। क्रमविकासमा विश्‍वास राख्नेहरू, सरल जीवमा भइरहने सूक्ष्म परिवर्तन एकमाथि अर्को थपिंदै जाँदा त्यसले अन्ततः ठूलो परिवर्तनलाई जन्मायो, र फलस्वरूप माछा पछि गएर उभयचर र उभयचर पछि गएर बाँदर अनि बाँदर पछि गएर मान्छे बन्यो भनेर सिकाउँछन्‌। सूक्ष्म परिवर्तनबाट अन्ततः ठूलो परिवर्तन देखा पर्नुलाई वैज्ञानिकहरू बृहत्‌ क्रमविकास (माक्रोइभोलुसन) भन्‍ने गर्छन्‌। थुप्रै मानिसहरूलाई वैज्ञानिकहरूको यो व्याख्या चित्त बुझ्छ। ‘कुनै एक स्पिसिजको (किसिम) जीवमा सूक्ष्म परिवर्तनहरू हुन सक्छन्‌ भने क्रमविकासले गर्दा लामो समयको दौडान त्यही जीवमा ठूलो परिवर्तन किन हुन सक्दैन र?’ भनेर उनीहरू तर्क गर्छन्‌। b

माक्रोइभोलुसनको शिक्षा निम्न तीन वटा मुख्य पूर्वानुमानमा आधारित छ:

१. नयाँ स्पिसिजको उत्पत्ति हुन उत्परिवर्तन (म्युटेसन) हुन आवश्‍यक छ। c

२. प्राकृतिक छनौटले (नेचुरल सेलेक्सन) गर्दा नयाँ स्पिसिजको उत्पत्ति हुन्छ।

३. जीवावशेषले (फोसिल) वनस्पति तथा पशुप्राणीमा माक्रोइभोलुसन भएको हो भन्‍ने प्रमाण दिन्छ।

के माक्रोइभोलुसनको चित्तबुझ्दा प्रमाणहरू फेला परिसक्यो त?

के म्युटेसनले नयाँ स्पिसिज बनाउन सक्छ?

कुनै पनि वनस्पति वा पशुप्राणीको शारीरिक बनौट तथा रूपरङ कस्तो हुने हो, आनुवंशिक अर्थात्‌ जेनेटिक कोडमा निहित निर्देशनहरूमा भर पर्छ। जेनेटिक कोड, हरेक कोषको न्युक्लियसभित्र हुने ब्लूप्रिन्ट हो। d जेनेटिक कोडको म्युटेसन भएमा अर्थात्‌ कुनै उद्देश्‍यविहीन परिवर्तन भएमा वनस्पति अनि पशुप्राणीका सन्तानमा हेरफेर आउन सक्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। यसलाई आधार मान्दै म्युटेसन जेनेटिक्स अध्ययनका पिता, नोबेल पुरस्कार विजेता हर्मन जे. मुलरले सन्‌ १९४६ मा यस्तो दाबी गरेका थिए: “पशुप्राणी तथा वनस्पतिमा थुप्रै दुर्लभ अनि मूलतः सूक्ष्म प्रकारका परिवर्तनहरू क्रमशः हुँदै जानसक्ने क्षमता निहित भएकोले नै वैज्ञानिकहरूले पशुप्राणी तथा वनस्पतिको कृत्रिम विकास गर्न सकेका हुन्‌। प्राकृतिक छनौटले गर्दा क्रमविकास हुन सक्नुको आधार पनि यही सूक्ष्म परिवर्तनहरू हुन्‌।”

वास्तवमा, म्युटेसनले गर्दा नयाँ स्पिसिजका साथै वनस्पति तथा पशुप्राणीको पूर्णतया नयाँ जाति उत्पत्ति हुन सक्छ भन्‍ने दाबीमा माक्रोइभोलुसनको शिक्षा आधारित छ। के यस्तो दाबीलाई प्रमाणित गरेर पनि देखाउन सकिन्छ? गत १०० वर्ष भित्र जीनको अध्ययनबाट पत्ता लागेको केही कुरा ध्यान दिनुहोस्‌।

संयोगवश हुने म्युटेसन प्रक्रियाद्वारा यदि प्राकृतिक छनौटले वनस्पतिको नयाँ स्पिसिज उत्पन्‍न गर्न सक्छ भने वैज्ञानिकहरूले सुविधासम्पन्‍न प्रयोगशालामा कृत्रिम म्युटेसन गराएर अझ उन्‍नत प्रकारको जीव उत्पत्ति गर्न सक्नुपर्ने हो भनेर सन्‌ १९३० दशकको उत्तरार्धतिर वैज्ञानिकहरू निकै उत्साहित भएका थिए। जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रीसर्चका वैज्ञानिक भोल्फ एकहार्ड लोनिगले ब्यूँझनुहोस्‌! पत्रिकालाई दिएको अन्तरवार्ताअनुसार “जीवशास्त्री र त्यसमाथि पनि अझ विशेष गरी जीन विशेषज्ञ र प्रजनन विशेषज्ञहरू (ब्रिडर) यस्तो सम्भावनाले गर्दा निकै उल्लसित थिए।” तर यसरी उत्साहित हुनुको कारण? बोटबिरुवामा हुने जीनको म्युटेसनको अध्ययनमा २८ वर्ष बिताइसकेका लोनिगले यसो भने: “बोटबिरुवा तथा पशुप्राणीको प्रजनन गराउने पुरानो विधिलाई मिल्काएर नयाँ विधि अपनाउने समय सुरु भो भन्‍ने यी विशेषज्ञहरूको विचार थियो। वनस्पति तथा पशुप्राणीहरूमा उपयोगी म्युटेसन गराएर नयाँ अनि उन्‍नत जातको बोटबिरुवा तथा पशुप्राणी बनाउन सकिन्छ भन्‍ने उनीहरूको सोचाइ थियो।” e

क्रमविकासमा नयाँ आयाम थप्ने भनेर अमेरिका, एसिया अनि युरोपका वैज्ञानिकहरूले ठूलठूलो बजेटका अनुसन्धानहरू सुरु गरे। अहिले ती अनुसन्धानहरू सुरु भएको ४० वर्ष भइसक्यो। उसोभए कस्तो परिणाम प्राप्त भयो त? पेटर फन जेन्गबुस भन्‍ने अनुसन्धानकर्ताअनुसार “पानी सरह खर्च गर्दासमेत विकिरणविधिबाट उपलब्धिमूलक जाति उत्पत्ति गर्ने कोसिस बालुवाको महल बनाउन खोजे सरह भयो।” लोनिगअनुसार “सन्‌ १९८० को दशक सुरु हुँदासम्ममा संसारभरिका वैज्ञानिकहरूको उत्साह अनि आशा धूलोमा मिलिसकेको थियो। पश्‍चिमी मुलुकहरूमा त म्युटेसन ब्रिडिङलाई छुट्टै अनुसन्धानको विषयको रूपमा लिन समेत छाडियो। म्युटेसनबाट जे-जस्ता ठिमाहा जाति उत्पत्ति भए ती सबैमा ‘नकारात्मक’ परिवर्तन मात्र पाइयो—म्युटेसनपछि धेरै त मरे भने बाँकी अरू माउभन्दा पनि कमजोर भएर निस्के। f

तथापि, गत १०० वर्षभित्र म्युटेसनको अनुसन्धान गरेर संकलन गरिएका जानकारी अनि म्युटेसनद्वारा नयाँ ठिमाहा जाति निकाल्न विगत ७० वर्षमा गरिएका विभिन्‍न प्रयोगहरूबाट वैज्ञानिकहरूले धेरै कुरा सिक्न सकेका छन्‌। यी सबै जानकारी तथा प्रमाणहरूको अध्ययन गरेपछि लोनिगको भनाइ यस्तो छ: “म्युटेसनले [वनस्पति वा प्राणीहरूको] मौलिक किसिमलाई परिवर्तन गरेर पूर्णतया नयाँ किसिमको जीव उत्पन्‍न गर्न सक्दैन। यो निष्कर्ष २० औं शताब्दीमा भएका म्युटेसनको अध्ययन तथा प्रयोगद्वारा बटुलिएको सबै अनुभव अनि नतिजाहरूसित मेल खानुका साथै सम्भाव्यताको नियमसित पनि मेल खान्छ। तसर्थ, ल अफ रिकरेन्ट भेरिएसनको नियमलाई आधार मानेर भन्‍नुपर्दा वंशाणुगत रूपमा निर्धारित मौलिक स्पिसिजहरूको आफ्नै निश्‍चित सीमा हुन्छ र कुनै आकस्मिक म्युटेसनले त्यो सीमा तोड्‌न वा पार गर्न सक्दैन।

अब विचार गर्नुहोस्‌, यत्ति धेरै ज्ञान अनि प्रशिक्षण पाइसकेका वैज्ञानिकहरूले त म्युटेसन गराएर आफूले चाहे बमोजिमको नयाँ स्पिसिज उत्पन्‍न गर्न सकेनन्‌ भने के कुनै बुद्धिविहीन प्रक्रियाले नयाँ स्पिसिज उत्पन्‍न गर्न सक्ला त? म्युटेसनले मौलिक वनस्पति वा पशुप्राणीलाई परिवर्तन गरी नयाँ जीव बनाउन सक्दैन भनेर अनुसन्धानले देखाइसकेको अवस्थामा माक्रोइभोलुसनले गर्दा नयाँ जीवहरूको उत्पत्ति भएको हो भनेर स्वीकार्नु कत्तिको तार्किक होला?

के प्राकृतिक छनौटले गर्दा नयाँ स्पिसिज देखा पर्न सक्छ?

हावापानीसित घुलमिल हुनसक्ने जीव बाँचिरहन्छ, घुलमिल हुने नसक्ने जीव अन्ततः लोप भएर जान्छ भनेर डार्विन विश्‍वास गर्थे र तिनले यस्तो प्रक्रियालाई प्राकृतिक छनौट भन्‍ने नाउँ पनि दिए। नयाँ स्पिसिजको उत्पत्ति अनि वृद्धि हुँदै गएपछि जुन-जुन स्पिसिजको जीन, परिवर्तित नयाँ वातावरणसँगसँगै म्युटेसन हुँदै गयो प्राकृतिक छनौटले त्यसलाई मात्र छान्दै गयो भनेर आधुनिक क्रमविकासवादीहरू सिकाउँछन्‌। यसरी वातावरणसँगसँगै जीनको म्युटेसन हुने जीवहरू कालान्तरमा नयाँ जीवहरूमा परिवर्तन भए भनेर क्रमविकासवादीहरू अनुमान लगाउँछन्‌।

म्युटेसनले गर्दा नयाँ जातको वनस्पति वा प्राणीको उत्पत्ति हुन सक्दैन भन्‍ने बलियो संकेत विभिन्‍न अनुसन्धानबाट प्राप्त भइसक्यो भनेर हामीले माथि नै बुझिसक्यौं। उसोभए प्राकृतिक छनौटले म्युटेसन गराएर नयाँ स्पिसिज उत्पन्‍न गर्न सक्छ भन्‍ने के प्रमाण क्रमविकासवादीहरूले अघि सार्न सक्छन्‌ त? सन्‌ १९९९ मा अमेरिकाको नेसनल एकडेमी अफ साइन्सेजले निकालेको पुस्तिकाले यस्तो प्रमाण दिन खोजेको थियो: “क्रमविकासले गर्दा नयाँ स्पिसिजको उत्पत्ति हुन सक्छ भन्‍ने बलियो प्रमाणको रूपमा डार्विनले गालापागोस द्वीपमा अध्ययन गरेका फिन्च चराको १३ स्पिसिजहरूलाई लिन सकिन्छ, जसलाई अक्सर डार्विन फिन्च चरा पनि भन्‍ने गरिन्छ।”

सन्‌ १९७० को दशकमा पिटर अनि रोजमेरी ग्रान्टको समूहले यी फिन्च चराहरूको अध्ययन सुरु गरेको थियो। अध्ययनबाट के पत्ता लाग्यो भने, एक वर्ष अनिकाल पर्दा छोटो चुच्चो हुने फिन्चहरू भन्दा लामो चुच्चो हुने फिन्चहरू त्यति सजिलै मर्दा रहेनछन्‌। फिन्चको १३ स्पिसिजलाई छुट्याउने विशेषता नै चुच्चोको आकार र बनौट भएकोले पिटर र रोजमेरीको यो खोजलाई महत्वपूर्ण मानिएको थियो। माथि उल्लिखित पुस्तिकाअनुसार “हरेक १० वर्षमा एक चोटि अनिकाल पऱ्‍यो भने नयाँ स्पिसिजको फिन्च चरा उत्पत्ति हुन २०० वर्ष लाग्न सक्छ भनेर ग्रान्ट दम्पतीले अनुमान लगाए।”

तर नेसनल एकडेमी अफ साइन्सेजले निकालेको यस पुस्तिकामा केही प्रतिकूल तर महत्वपूर्ण तथ्यहरूलाई भने समावेश गरिएको छैन। त्यो के हो भने, अनिकालको बेला छोटो भन्दा लामो चुच्चो हुने फिन्चहरू सजिलै बच्ने भए तापनि सहकाल सुरु भएको केही वर्षभित्रै छोटो चुच्चो हुने फिन्चहरूकै संख्या बढ्‌दो रहेछ। तसर्थ, पिटर ग्रान्ट र स्नातक तहका विद्यार्थी लाइल गिब्जले सन्‌ १९८७ मा नेचर नामक विज्ञान पत्रिकामा “छनौटको प्रक्रिया उल्टो हुन थालेको” देखियो भनेर लेखे। सन्‌ १९९१ मा ग्रान्टले “प्राकृतिक छनौटले गर्दा फिन्च चराको संख्या हरेक चोटि हावापानीअनुसार घटबढ हुँदो रहेछ” भनेर लेखेका थिए। अनुसन्धानकर्ताहरूले अझ के पनि पत्ता लगाए भने “बेग्ला-बेग्लै जातका फिन्च चराहरू मिलेर नयाँ प्रकारको फिन्च चरा जन्माउँदा रहेछन्‌ र यसरी जन्मेका फिन्च चराहरू आफ्ना माउहरूभन्दा धेरै लामो समय बाँच्दा रहेछन्‌। यसरी बेग्ला-बेग्लै जातका चराहरू मिलेर सन्तान जन्माउने हो भने २०० वर्षभित्रै दुई वटा “स्पिसिज” मिलेर नयाँ स्पिसिजको फिन्च चरा बन्‍नेछ भन्‍ने पिटर र रोजमेरी ग्रान्टको निष्कर्ष थियो।

वास्तवमा सन्‌ १९६६ मै क्रमविकासवादी जीवशास्त्री जोर्ज क्रिस्टोफर विलियमले यसो भनिसकेका थिए: “क्रमविकासबाट कसरी नयाँ जीवको उत्पत्ति हुन्छ भनेर व्याख्या गर्न अघि सारिएको प्राकृतिक छनौटको सिद्धान्तले वास्तवमा क्रमविकासको भन्दा पनि वनस्पति तथा पशुपन्छी कसरी बद्‌लिंदो वातावरणसित घुलमिल हुँदै जान्छन्‌ भनेर पो व्याख्या गर्छ।” विलियमको यो निष्कर्ष सही हो भने प्राकृतिक छनौटले स्पिसिजलाई परिवर्तित नयाँ हावापानीसित घुलमिल हुन मदत गरिरहेको मात्र हुन सक्छ भनी सन्‌ १९९९ मा क्रमविकासवादी जेफ्री सोट्‌र्सले लेखे। सोट्‌र्सअनुसार प्राकृतिक छनौटले “बिल्कुलै नयाँ स्पिसिज उत्पत्ति गरेको छैन।”

हुन पनि, डार्विनले अध्ययन गरेका फिन्च चराहरू अहिले पनि जस्ताको तस्तै छन्‌। प्राकृतिक छनौटले कुनै “नयाँ स्पिसिज उत्पत्ति गरेको छैन।” त्यसमाथि बेग्ला-बेग्लै जातका फिन्च चराहरू मिलेर नयाँ जातको फिन्च चरा जन्माउन सक्दो रहेछ भनेर पत्ता लागेको तथ्यले वास्तवमा क्रमविकासवादीहरूले नयाँ स्पिसिज भनेर केलाई भन्‍न खोजेका हुन्‌, प्रश्‍न खडा गर्छ। यसबाहेक नाउँ चलेका वैज्ञानिक प्रतिष्ठानहरूले समेत प्रमाणलाई बंग्याएर आफूलाई ठीक लागेको कुरा तेर्साउँदा रहेछन्‌ भन्‍ने कुरा यसबाट देखिन्छ।

के जीवावशेषले माक्रोइभोलुसनको प्रमाण दिन्छ?

माथि उद्धृत नेसनल एकडेमी अफ साइन्सेजको पुस्तिकामा माक्रोइभोलुसनलाई प्रमाणित गर्ने पर्याप्त जीवावशेष वैज्ञानिकहरूले फेला पारिसकेका छन्‌ भनेर पाठकहरूलाई भान पार्न खोजिएको देखिन्छ। उक्‍त पुस्तिकाको एउटा अंश यसो भन्छ: “माछाबाट उभयचर, उभयचरबाट रेप्टिलिया, रेप्टिलियाबाट म्यामेलिया अनि बाँदरको पनि एउटा जाति अर्को जातिमा परिवर्तन हुँदै गएको प्रमाणित गर्ने यति धेरै किसिमका जीवहरू फेला परिसकेका छन्‌ कि, कुन चरणमा परिवर्तन भयो भनेर वर्गीकरण गर्न गाह्रो छ।”

तर नेसनल एकडेमी अफ साइन्सेजले गर्वसाथ व्यक्‍त गरेको यो निष्कर्ष पत्याउन गाह्रो पर्छ। किन? किनकि सन्‌ २००४ मा नेसनल जियोग्राफिक पत्रिकाले अहिलेसम्म फेला परेका जीवावशेषहरूको रेकर्डलाई अपूरो चलचित्रसँग तुलना गरेको थियो—“एउटा यस्तो चलचित्र जसको १,००० वटा चित्रहरू हुनुपर्नेमा ९९९ वटा चित्रहरू बेपत्ता छन्‌।” के एउटा चित्रको भरमा माक्रोइभोलुसनको व्याख्या गर्न मिल्ला त? वास्तवमा जीवावशेषहरूको रेकर्डले के देखाउँछ? जीवावशेषहरूको रेकर्डलाई हेर्दा निकै लामो समयसम्म “धेरैजसो जीवमा कुनै परिवर्तन आएन” भन्‍ने कुरा प्रस्टै देखिन्छ भनेर क्रमविकासका कट्टर समर्थक नाइल्ज एल्ड्रेज स्वीकार्छन्‌।

आजको मितिसम्म संसारभरिका वैज्ञानिकहरूले २० करोड ठूला अनि अरबौं साना जीवावशेषहरू संकलन गरिसकेका छन्‌। यस्तो विस्तृत अनि विशाल जीवावशेषहरूको संकलनले सबै मौलिक जीवहरू एक्कासि देखा परेको र समयको दौडानमा उनीहरूमा कुनै परिवर्तन नआएको अनि धेरैजसो जीवहरू एक्कासि लोप भएको प्रमाण दिन्छ भन्‍नेमा थुप्रै अनुसन्धानकर्ताहरू सहमत छन्‌। जीवावशेषले दिने प्रमाणको अध्ययन गरिसकेपछि जीवशास्त्री जोनाथन वेल्स के लेख्छन्‌ भने “किङडम, फाइला वा क्लास जुनै तहमा हेरे पनि एउटै जीवबाट अन्य जीवहरूको विकास हुँदै गएको देखिंदैन। जीवावशेष अनि मलिक्युलर प्रमाणको आधारमा भन्‍नुपर्दा क्रमविकासलाई तथ्य मान्‍नुपर्ने कुनै ठोस कारण पाइँदैन।”

क्रमविकास —तथ्य हो कि मिथ्या?

उसोभए थुप्रै नाउँ चलेका क्रमविकासवादीहरू किन माक्रोइभोलुसन तथ्य हो भनेर जिद्दी गर्छन्‌ त? त्यस्तै नाउँ चलेको एकजना क्रमविकासवादी रीचर्ड लवन्टनले अर्को क्रमविकासवादी रीचर्ड डकिन्सका केही तर्कहरूको आलोचना गरेपछि लेखेका थिए, थुप्रै वैज्ञानिकहरू आफूले ‘ईश्‍वरवादलाई तिरस्कार गर्ने पहिल्यै कसम खाइसकेको हुँदा प्रमाणले जेसुकै देखाओस्‌ क्रमविकासलाई तथ्यको रूपमा स्वीकार्न तयार हुन्छन्‌।’ अधिकांश वैज्ञानिकहरू बुद्धिमान्‌ रचनाकारले सृष्टि गरेको हो कि भनेर कोट्याउन समेत चाहँदैनन्‌। किनकि लवन्टन स्वयंको भनाई उद्धृत गर्नुपर्दा वैज्ञानिकहरू “ईश्‍वर वा सृष्टिकर्ताको अस्तित्वलाई एक पाइलो उभिने ठाउँसमेत दिन चाहँदैनन्‌।”

यसै सन्दर्भमा समाजशास्त्री रड्‌नी स्टार्कको यो भनाइ साइन्टिफिक अमेरिकन पत्रिकामा उल्लेख गरिएको थियो: “वैज्ञानिक विचारधारा हुने व्यक्‍तिले धर्मलाई आफ्नो दिमागबाट पूरै हटाउनुपर्छ भनेर जोड दिन थालेको २०० वर्ष भइसक्यो।” स्टार्कले अझ यतिसम्म भने कि वैज्ञानिक अनुसन्धान गरिने विश्‍वविद्यालयहरूमा “धर्ममा विश्‍वास राख्ने व्यक्‍तिहरू मुख सिलाएर बस्छन्‌ भने धर्ममा विश्‍वास नराख्नेहरू अरूको धज्जी उडाउँदै बस्छन्‌।” स्टार्कअनुसार “धर्ममा विश्‍वास नगर्ने व्यक्‍तिहरूलाई [वैज्ञानिकहरूको समाजमा] उच्च वर्गको मान्‍ने परिपाटी नै बसिसकेको छ।”

के तपाईं माक्रोइभोलुसन तथ्य हो भनेर स्वीकार्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, विज्ञानले पत्ता लगाएका नयाँ-नयाँ खोजहरूलाई अज्ञेयवादी वा नास्तिकवादी वैज्ञानिकहरूले आफ्नो एकोहोरो विचार व्यक्‍त गर्ने भाँडो बनाउँदैनन्‌ भनेर स्वीकार्नुहोस्‌। म्युटेसनले एउटा जीवलाई समेत कुनै नयाँ जीवमा परिवर्तन गर्न सकेको छैन भनेर अरबौं म्युटेसनको अध्ययन अनि एक शताब्दी लामो अनुसन्धानले प्रमाणित गरिसकेको भए तापनि म्युटेसन र प्राकृतिक छनौटले गर्दा नै सबै जटिल जीवहरूको उत्पत्ति भएको हो भनेर विश्‍वास गर्नुहोस्‌। सबै मौलिक प्राणी तथा वनस्पतिहरू अचानक देखा परे अनि अरबौं वर्ष बितिसक्दा पनि कहिल्यै परिवर्तन भएर अर्कै जीव बनेन भनेर जीवावशेषको अध्ययनले प्रमाणित गरिसकेको भए तापनि सबै प्राणीहरू एउटै प्राणीबाट विकास हुँदै देखा परेका हुन्‌ भनेर विश्‍वास गर्नुहोस्‌। के तपाईंलाई यसरी अन्धाधुन्ध विश्‍वास गर्नु मिथ्यालाई तथ्यको रूपमा स्वीकार्नुजस्तो लाग्दैन? (g 9/06)

[फुटनोटहरू]

a कुकुर पाल्ने मानिसहरूले दुई बेग्ला-बेग्लै जातको कुकुरको प्रजनन गराएर माउभन्दा फरक किसिमको कुकुर जन्माउन सक्छन्‌। जस्तै, माउको भन्दा छोटो खुट्टा वा लामो भुत्ला भएको। तथापि, यसरी जन्मेको नयाँ प्रकारको कुकुरको बनौट माउको भन्दा फरक हुनुको कारण चाहिं जीनले गर्ने विभिन्‍न कामहरूमध्ये कुनै एउटाले काम नगर्नु हो। उदाहरणको लागि, डाक्सहुन्ट जातको कुकुर होचो हुनुको कारण, कुर्कुरे हाडको राम्ररी विकास हुन नसकेर हो।

b यस लेखमा “स्पिसिज” (किसिम) भन्‍ने शब्द बारम्बार चलाइएको भए तापनि मौलिक बाइबलको उत्पत्ति भन्‍ने किताबमा यो शब्द प्रयोग गरिएको पाइँदैन। बाइबलले “जात-जातको” भन्‍ने सीमित अर्थ लाग्ने ठेट शब्द चलाएको छ। अक्सर वैज्ञानिकहरूले नयाँ स्पिसिज भनेर नाउँ दिएको जीव, बिल्कुलै नयाँ जीव नभएर उत्पत्तिमा उल्लिखित एउटै “जात” भित्रको अर्को प्रजाति मात्र हो।

c “जीवहरू कसरी वर्गीकरण गरिन्छ” पेटी हेर्नुहोस्‌

d कोषको साइटोप्लाजम्‌, त्यसको झिल्ली र अन्य तत्वहरूले पनि जीवको बनौट वा कामलाई असर गर्छ भनेर अनुसन्धानले देखाएको छ।

e लोनिगले यस लेखमा व्यक्‍त गरेका विचारहरू नितान्त निजी विचारहरू हुन्‌ र त्यसको म्याक्स प्लान्क इन्स्टिच्युट फर प्लान्ट ब्रिडिङ रीसर्चसँग कुनै सरोकार छैन।

f म्युटेसनबाट उन्‍नत किसिमको वनस्पति निकाल्ने प्रयास गर्दा, मौलिक जातिबाट झन्‌-झन्‌ नयाँ ठिमाहा निस्कनुको साटो मौलिक जातिसित मेल खाने एउटै किसिमको ठिमाहा जाति फेरि-फेरि निस्किरहेको पाइयो। यस्तो नतिजालाई आधार मान्दै लोनिगले यसलाई “ल अफ रिकरेन्ट भेरिएसन” भन्‍ने नाउँ दिए। यसबाहेक यसरी वनस्पतिको म्युटेसनबाट निस्केका ठिमाहाहरूमध्ये १ प्रतिशत मात्र थप अनुसन्धानका लागि योग्य ठहरिए भने यो १ प्रतिशतको पनि १ प्रतिशत मात्र व्यापारिक प्रयोजनका लागि उपयुक्‍त पाइयो। वनस्पतिको जस्तै पशुप्राणीको पनि म्युटेसनबाट नयाँ ठिमाहा जाति निकाल्ने प्रयास अत्यन्तै असफल भएकोले अन्ततः त्यस्तो योजनालाई पूर्णतया त्यागियो।

[पृष्ठ १५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“म्युटेसनले [वनस्पति वा प्राणीहरूको] मौलिक किसिमलाई परिवर्तन गरेर पूर्णतया नयाँ किसिमको जीव उत्पन्‍न गर्न सक्दैन”

[पृष्ठ १६-मा भएको ठूलो अक्षरको क्याप्सन]

स्पिसिज बद्‌लिंदो हावापानीसित घुलमिल हुन सक्छ भन्‍ने कुराबाहेक डार्विनको फिन्च चराहरूको अध्ययनबाट अरू कुनै ठोस कुरा पत्ता लागेन

[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]

जीवावशेषको अध्ययनअनुसार सबै मौलिक प्राणी अचानक देखा परे र कहिल्यै परिवर्तन भएनन्‌

[पृष्ठ १४-मा भएको तालिका]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

जीवहरू कसरी वर्गीकरण गरिन्छ

जीवहरूको वर्गीकरण गर्दा स्पिसिज भनिने सानो समूहदेखि सुरु गरेर किङडम भनिने ठूलो समूहमा गएर टुंगिन्छ। g उदाहरणको लागि, फलफूलमा लाग्ने झिंगाका साथै मानिसको वर्गीकरण तल दिइएको छ। त्यो तुलना गरेर हेर्नुहोस्‌।

मानिस फलफूलमा लाग्ने झिंगा

स्पिसिज सेपियेन्स मिलानोगास्टर

जेनस होमो ड्रोसोफिला

फेमिली होमिनिड्‌स ड्रोसोफिलिड्‌स

र्डर प्राइमेट्‌स डिप्टेरा

क्लास म्यामल्स इन्सेक्ट्‌स

फाइलम कर्डेट्‌स अर्थोपोड्‌स

किङडम एनिमल्स एनिमल्स

[फुटनोट]

g नोट: वनस्पति र जन्तुहरूले आ-आफ्नै “जातका” सन्तानहरू उत्पादन गर्नेछन्‌ भनी उत्पत्तिको १ अध्यायले बताउँछ। (उत्पत्ति १:१२, २१, २४, २५) तर बाइबलमा चलाइएको “जात-जातका” भन्‍ने शब्द वैज्ञानिक पदावली होइन। त्यसैले यो र विज्ञानले चलाउने स्पिसिज शब्द एउटै हो भनेर झुक्किनु हुँदैन।

[स्रोत]

जोनाथन वेल्सद्वारा लिखित आइकन्स अफ इभोलुसन—साइन्स अर मिथ? ह्वाइ मच अफ ह्वाट वि टिच अबाउट इभोलुसन इज रङ पुस्तकमा आधारित तालिका।

[पृष्ठ १५-मा भएको चित्र]

फलफूलमा लाग्ने झिंगाको म्युटेसनबाट बनेको यो ठिमाहा (माथि) कुरूप भए पनि झिंगै हो

[स्रोत]

©Dr. Jeremy Burgess/Photo Researchers, Inc.

[पृष्ठ १५-मा भएको चित्र]

म्युटेसनबाट नयाँ किसिमको वनस्पति निकाल्ने प्रयास गर्दा मौलिक जातिबाट झन्‌-झन्‌ नयाँ ठिमाहा निस्कनुको साटो मौलिक जातिसित मेल खाने एउटै किसिमको ठिमाहा जाति फेरि-फेरि निस्किरहेको पाइयो (म्युटेसनद्वारा उत्पन्‍न फूल ठूलो आकारको छ)

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

From a Photograph by Mrs. J. M. Cameron/ U.S. National Archives photo

[पृष्ठ १६-मा भएको चित्रको स्रोत]

Finch heads: © Dr. Jeremy Burgess/ Photo Researchers, Inc.

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

Dinosaur: © Pat Canova/Index Stock Imagery; fossils: GOH CHAI HIN/AFP/Getty Images