सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?

के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?

बाइबल के भन्छ

के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ?

धेरै मानिसहरूको सोचाइमा सृष्टिसम्बन्धी बाइबलको विवरण र विज्ञान मेल खाँदैन। तर वास्तवमा नमिल्ने त विज्ञान र बाइबल होइन तर विज्ञान र इसाई कट्टरपन्थी भनौदा समूहहरूबीचको धारणा हो। यीमध्ये कुनै-कुनै समूह बाइबलको विवरणअनुसार सम्पूर्ण सृष्टि नै लगभग १०,००० वर्षअघि छ दिनभित्रमा गरिएको थियो भन्‍ने गलत सोचाइ राख्छन्‌।

तर यस्तो तर्कसित बाइबल सहमत छैन। यसो हो भने त गत सय वर्षको दौडान भएका सबै वैज्ञानिक आविष्कारहरूले बाइबलको सत्यतामाथि शंका उब्जाउने थियो। बाइबललाई ध्यान दिएर केलायौं भने प्रमाणित वैज्ञानिक तथ्यहरूसित पटक्कै बाझिएको पाइँदैन। यसैकारण यहोवाका साक्षीहरू “इसाई” कट्टरपन्थी र थुप्रै सृष्टिवादीहरूका तर्कसित सहमत छैनन्‌। बाइबलले वास्तवमा के सिकाउँछ भनेर तल दिइएका केही तथ्यहरूले देखाउँछ।

“आदिमा” तर कहिले?

बाइबलको सुरुको पुस्तक उत्पत्तिको पहिलो हरफमै एउटा सरल तर एकदमै सशक्‍त वाक्य पाउँछौं: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) यस पदले अध्याय १ को पद ३ देखि बताइएको सृष्टिको दिन सुरु हुनुभन्दा पहिले भएका घटनाहरू उल्लेख गरेको हो भन्‍ने कुरामा बाइबलविद्‌हरू सहमत छन्‌। यहाँ भन्‍न खोजिएको कुरा गहन छ। बाइबलको सुरुको पदअनुसार हामी बसिरहेको ग्रहलगायत सारा ब्रह्‍माण्ड, सृष्टिको छ दिनभन्दा अघि अथाह समयदेखि नै अस्तित्त्वमा थियो।

भूगर्भशास्त्रीहरूको अनुमानअनुसार पृथ्वी लगभग ४ अरब वर्षअघि बनेको हो। खगोलविद्‌हरूको अनुमानअनुसार भने यो ब्रह्‍माण्ड १५ अरब वर्ष पुरानो हुन सक्छ। अहिलेसम्म पत्ता लागेको र पछि पत्ता लाग्न सक्ने कुराहरूसित के उत्पत्ति १:१ बाझिन्छ? बाझिंदैन। बाइबलले “आकाश र पृथ्वी” ठ्याक्कै कति वर्षअघि बनेका हुन्‌ भनेर बताएको छैन। बाइबलको यस विवरणलाई विज्ञानले खण्डन गर्न सक्दैन।

सृष्टिको दिन कति लामो थियो?

सृष्टिको दिन कति लामो थियो? के त्यो साँच्चै २४ घण्टे दिन थियो? उत्पत्तिको पुस्तकका लेखक मोशाले सृष्टिका छ दिनलाई नै आधार मानेर हरेक हप्ता सातौं दिनमा मनाइने विश्राम दिनबारे बताएका थिए। यसकारण सृष्टिका दिनहरू पनि साँच्चै २४ घण्टे दिन हुनुपर्छ भनेर कोही-कोही बताउँछन्‌। (प्रस्थान २०:११) के उत्पत्तिको पुस्तकमा दिइएको विवरण यो कुरासित मिल्छ?

अहँ, मिल्दैन। “दिन” भनेर अनुवाद गरिएको हिब्रू शब्दले २४ घण्टे समयावधिलाई मात्र नभई अरू समयावधिलाई पनि बुझाउन सक्छ। उदाहरणका लागि, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै थोकलाई समेट्‌दै मोशाले सृष्टिको छ दिनलाई नै एक दिन भनेका छन्‌। (उत्पत्ति २:४) त्यसकारण सृष्टिको प्रत्येक दिन २४ घण्टा लामो थियो भनेर आफूखुसी निष्कर्षमा पुग्ने आधार बाइबलमा पाइँदैन।

त्यसोभए सृष्टिको दिन कति लामो थियो? उत्पत्ति अध्याय १ र को शब्द केलाउँदा निकै लामो समयावधि हुनुपर्छ भनेर बुझ्न सक्छौं।

एकपछि अर्को सृष्टि गरियो

मोशाले यी सबै विवरण हिब्रू भाषामा र त्यो पनि सामान्य मानिसले बुझ्नसक्ने ढंगमा लेखेका थिए। यी दुइटा कुरा अनि सृष्टिको “दिन” सुरु हुनुअघि नै ब्रह्‍माण्ड सृष्टि भइसकेको थियो भनेर थाह पाउँदा सृष्टिको विवरणसित मुछिएका प्रायजसो विवाद स्पष्ट पार्न सकिन्छ। कसरी?

उत्पत्तिको विवरणलाई ध्यान दिएर केलायौं भने पहिलो ‘दिनमा’ सुरु भएका घटनाहरू त्यसपछिका दिनहरूमा पनि चलिरहेका थिए भन्‍ने देखिन्छ। उदाहरणका लागि, सृष्टिको पहिलो “दिन” सुरु हुनुअघि नै सूर्य सृष्टि भइसकेको भए तापनि बाक्लो बादलले छेकेको कारण यसको प्रकाश पृथ्वीसम्म पुग्न सकेको थिएन। (अय्यूब ३८:९) पहिलो “दिन” बादल हट्‌न थाल्यो जसले गर्दा सूर्यको प्रकाश वायुमण्डललाई छेडेर पृथ्वीसम्म पुग्न सम्भव भयो। a

दोस्रो “दिन” बाक्लो बादल हट्‌दै गयो अनि माथिको बादल र तलको समुद्र छुट्टियो। चौथो “दिन” बाक्लो बादल निकै हटिसकेको हुँदा “आकाशको अन्तरमा” सूर्य र चन्द्र प्रस्टै देखियो। (उत्पत्ति १:१४-१६) अर्को शब्दमा भन्‍ने हो भने, पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र स्पष्ट देखियो। यी घटनाहरू एकपछि अर्को गर्दै भएका थिए।

उत्पत्तिको विवरणले बताएअनुसार आकाश खुल्दै गएपछि उड्‌ने र जमिनमा हिंड्‌ने कीरालगायत किसिम-किसिमका उड्‌ने प्राणीहरू पाँचौं ‘दिनमा’ देखा पर्न थाले। तर बाइबलले बताएझैं परमेश्‍वरले छैटौं ‘दिनमा’ पनि “सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट” बनाइरहनुभएको थियो।—उत्पत्ति २:१९.

त्यसैले कुरा स्पष्ट छ, बाइबलमा प्रयोग भएको भाषालाई केलाउने हो भने सृष्टिको समयावधि अर्थात्‌ एक ‘दिनमा’ भएका केही ठूलठूला घटनाहरू एकै क्षणमा भएको नभई एकपछि अर्को गर्दै बिस्तारै भएका हुन्‌ र कुनै-कुनै घटना त सृष्टिको अरू ‘दिनसम्म’ चलिरहेको हुन सक्छ।

आफ्ना-आफ्नै किसिमका

यसरी एकपछि अर्को गर्दै बोटबिरुवा र जनावरहरू देखा परेको हुँदा विभिन्‍न प्रकारका जीवजन्तुहरू बनाउन परमेश्‍वरले क्रमविकासको सहारा लिनुभयो भन्‍न मिल्छ र? अहँ, मिल्दैन। बाइबलमा स्पष्टसित बताइएको छ, परमेश्‍वरले सबै वनस्पति र जनावरहरूको मुख्य-मुख्य “किसिम” सृष्टि गर्नुभयो। (उत्पत्ति १:११, १२, २०-२५) तर यी वनस्पति तथा जनावरहरूको मुख्य-मुख्य ‘किसिमलाई’ पछि वातावरण सँगसँगै परिवर्तन हुने गरी बनाउनुभएको थियो कि? एउटा “किसिमको” वनस्पति वा जन्तुभित्र कतिसम्म परिवर्तन हुन सक्छ? यसबारे पनि बाइबलले बताएको छैन। तर ‘किसिम-किसिमका सबै जीवित प्राणीले भरियो’ चाहिं भनिएको छ। (उत्पत्ति १:२१) यसबाट के बुझिन्छ भने, एउटै “किसिम” भित्र पनि अरू कति किसिम हुन सक्छ, त्यसको सीमा छ। जीवावशेषको (फोसिल) रेकर्ड र वर्तमान अनुसन्धान एउटा कुरामा भने सहमत छ, बितेको अनगन्ती समयको दौडान वनस्पति र जनावरहरूको मुख्य-मुख्य किसिममा खासै कुनै परिवर्तन आएको छैन।

कोही-कोही कट्टरपन्थीहरूले दाबी गरेझैं पृथ्वी र यसमा भएका सबै जीवित प्राणीहरू लगायत ब्रह्‍माण्ड केही हजार वर्षअघि मात्र बनेको हुनुपर्छ भनेर उत्पत्तिको विवरणले सिकाउँदैन। ब्रह्‍माण्डको सृष्टि र पृथ्वीमा जीवनको सुरुवातबारे उत्पत्तिको विवरण हालै पत्ता लागेका थुप्रै वैज्ञानिक तथ्यहरूसित मेल खान्छ।

थुप्रै वैज्ञानिकहरू आफ्नो दार्शनिक सोचाइले गर्दा परमेश्‍वरले नै सबै कुरा सृष्टि गर्नुभयो भन्‍ने तथ्यलाई इन्कार गर्छन्‌। तर रोचक कुरा के छ भने, बाइबलको पुरानो किताब उत्पत्तिमा मोशाले ब्रह्‍माण्डको सुरुवात थियो र समयको दौडान एकपछि अर्को गर्दै पृथ्वीमा जीवहरूको सृष्टि भयो भनी लेखे। मोशाले यो वैज्ञानिक तवरमा सही जानकारी लगभग ३,५०० वर्षअघि नै कसरी पाउन सके? यसको चित्तबुझ्दो जवाफ एउटै मात्र हुन सक्छ। आकाश र पृथ्वी सृष्टि गर्ने शक्‍ति तथा बुद्धि भएको व्यक्‍तिले नै मोशालाई वैज्ञानिक तवरमा सही त्यो जानकारी दिएको हुनुपर्छ। यसले गर्दा बाइबल “परमेश्‍वरबाट प्रेरणा” भएको हो भनेर झनै प्रस्ट हुन्छ।—२ तिमोथी ३:१६. (g 9/06)

[फुटनोट]

a पहिलो “दिन” भएका कुराहरूको विवरणमा हिब्रू शब्द ओर प्रयोग गरिएको छ र यसले साधारणतया प्रकाशलाई बुझाउँछ। तर चौथो ‘दिनको’ विवरणमा भने माओर शब्द प्रयोग गरिएको छ जसको अर्थ हो, प्रकाशको स्रोत।

के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?

▪ परमेश्‍वरले ब्रह्‍माण्ड कहिले सृष्टि गर्नुभयो?उत्पत्ति १:१.

▪ के पृथ्वी साँच्चै छ दिनमा सृष्टि गरिएको थियो?उत्पत्ति २:४.

▪ पृथ्वीको सुरुवातबारे मोशाको विवरण कसरी वैज्ञानिक तवरमा सही हुन सक्यो?२ तिमोथी ३:१६.

[पृष्ठ १९-मा भएको ठूलो अक्षरको क्याप्सन]

उत्पत्तिको विवरणले ब्रह्‍माण्ड केही हजार वर्षअघि छोटो समयावधिभित्र सृष्टि गरिएको हो भनेर सिकाउँदैन

[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]

“आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” —उत्पत्ति १:१

[पृष्ठ १८-मा भएको चित्रको स्रोत]]

Universe: IAC/RGO/David Malin Images

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

NASA photo