सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वनस्पतिमा पाइने आकर्षक संरचना

वनस्पतिमा पाइने आकर्षक संरचना

वनस्पतिमा पाइने आकर्षक संरचना

प्रायजसो वनस्पतिहरूमा एक प्रकारको घुमाउरो संरचना (स्पाइरल) बन्‍ने गरेको कुरा के तपाईंले याद गर्नुभएको छ? उदाहरणका लागि, भुँइकटहरमा एकापट्टि आँखाहरूको ८ वटा लहर र अर्कापट्टि ५ वा १३ वटा लहर घुमाउरो पाराले बेरिएको देख्नुभएको होला। (चित्र न. १ हेर्नुहोस्‌।) त्यसै गरी तपाईंले सूर्यमुखी फूलको बीउ हेर्नुभयो भने एकापट्टिबाट ५५ वटा र अर्कापट्टिबाट ८९ वटा घुमाउरो लहर देख्नुहुनेछ। कहिलेकाहीं लहरको संख्या योभन्दा बढी पनि हुन सक्छ। काउलीमा समेत तपाईंले यस्तै घुमाउरो संरचना देख्नुहुनेछ। घुमाउरो संरचना कस्तो हुँदोरहेछ भनेर एक चोटि ठम्याइसक्नुभएपछि फलफूल वा तरकारी पसलमा जाँदा त्यस्तो संरचना देखेर दङ्‌गै पर्नुहुनेछ। वनस्पतिहरूमा घुमाउरो संरचना हुनुको कारण के हो? अनि घुमाउरा लहरहरूको संख्याको कुनै महत्त्व छ?

वनस्पतिहरू कसरी हुर्कन्छन्‌?

अधिकांश वनस्पतिहरूमा डाँठ, पात र फूलहरू मेरिस्टिमबाट निस्कन्छ अनि त्यहाँबाट निस्केको नयाँ वनस्पति-अंगलाई प्राइमोर्डियम भनिन्छ। यसरी नयाँ डाँठ, पात वा फूल निस्कँदा योभन्दा पहिले निस्केको डाँठ, पात वा फूलसित कोण बनाएर नयाँ दिशातिर निस्कन्छ। a (चित्र न. २ हेर्नुहोस्‌।) अधिकांश वनस्पतिहरूमा नयाँ अंग निस्कँदा एउटा निश्‍चित कोण बनाएर निस्कने हुँदा घुमाउरो संरचना बन्छ। यो कोण कति डिग्रीको हुन्छ?

एउटा गाह्रो काम विचार गरौं है त: कल्पना गर्नुहोस्‌, तपाईं एउटा यस्तो बिरुवा डिजाइन गर्दै हुनुहुन्छ जसमा नयाँ डाँठ, पात वा फूल निस्कँदा अलिकता पनि ठाउँ खेर नजाने गरी टम्म मिलेको हुनुपर्छ। मानि लिनुहोस्‌, तपाईंले एक फन्कोको पाँच भागको दुई भागपछि नयाँ प्राइमोर्डियम निस्कने गरी डिजाइन गर्नुभयो। यसरी डिजाइन गर्दा पाँचौं प्राइमोर्डियमको पालोमा तपाईं फेरि पहिलो प्राइमोर्डियमकै ठाउँमा आइपुग्नुहुन्छ अनि पहिलो प्राइमोर्डियम जुन दिशामा निस्केको थियो पाँचौं पनि त्यतैतिर निस्कन्छ। यसो गर्दा लहर-लहर बन्छ र ती लहरबीचको ठाउँ त्यत्तिकै खेर जान्छ। (चित्र न. ३ हेर्नुहोस्‌।) वास्तवमा भन्‍ने हो भने वृत्तको सरल भिन्‍नबाट निस्कने जुनसुकै संख्याअनुसार मिलाउँदा टम्म मिलेर बस्नुको साटो लहर-लहर भएर बस्छ। “गोल्डन एंगल” भनिने लगभग १३७.५ डिग्रीको कोणमा राख्दा मात्रै टम्म मिलाउन सकिन्छ। (चित्र न. ५ हेर्नुहोस्‌।) यो कोण यति विशेष हुनुको कारण के हो?

गोल्डन एंगल सबैभन्दा उपयुक्‍त हुन्छ किनभने यसलाई वृत्तको सरल भिन्‍नको रूपमा लेख्न सकिंदैन। गोल्डन एंगलसित लगभग मिल्ने भिन्‍नहरू क्रमशः ५/८, ८/१३, १३/२१ हुन्‌ तर ठ्याक्कै मिल्ने भिन्‍न भने कुनै पनि छैन। वनस्पतिहरूमा नयाँ अंग निस्कँदा पहिले निस्केको अंगसित लगभग १३७.५ डिग्रीको कोण बनाएर निस्कने हुँदा दुइटा पात, फूल वा डाँठ ठ्याक्क एउटै दिशामा कहिल्यै पनि निस्कँदैन। (चित्र न. ४ हेर्नुहोस्‌।) त्यसैले प्राइमोर्डियमहरू लहर-लहर (रेडियल) भएर बस्नुको सट्टा घुमाउरो (स्पाइरल) भएर बस्छ।

मेरिस्टिमबाट निस्केका प्राइमोर्डियमहरूको कम्प्युटर नमुना अध्ययन गर्दा के पत्ता लाग्यो भने यो कोण एकदमै सही छ भने मात्र झट्टै देखिहाल्ने घुमाउरो संरचना बन्छ। एक डिग्रीको दस भागको एक भाग मात्र यताउता भयो भने पनि हुनुपर्ने जस्तो घुमाउरो हुँदैन।चित्र न. ५ हेर्नुहोस्‌।

फूलमा कतिवटा पत्र हुन्छ?

रोचक कुरा, गोल्डन एंगल बनाएर नयाँ अंग निस्कँदा जति वटा घुमाउरो संरचना बन्छ, त्यसको सम्बन्ध फिबोनात्सी नम्बर भनिने संख्याहरूको श्रेणीसित हुन्छ। तेह्रौं शताब्दीका इटालियन गणितज्ञ लियोनार्डो फिबोनात्सीले सबैभन्दा पहिले यस श्रेणीबारे उल्लेख गरेका थिए। यस श्रेणीमा १ पछि आउने कुनै पनि संख्या त्यसभन्दा अघिल्ला दुई संख्याको कुल योग बराबर हुन्छ—जस्तै, १, १, २, ३, ५, ८, १३, २१, ३४, ५५, आदि।

घुमाउरो संरचना हुने अधिकांश वनस्पतिका फूलहरूको पत्र अक्सर फिबोनात्सी नम्बरमा हुन्छ। अध्ययन गर्नेहरूले बताएअनुसार साधारणतया नाककोरे (बटरकप) फूलमा ५ पत्र हुन्छ, ब्लडरूटमा ८, फायरविडमा १३, एस्टरमा २१, साधारण डेजीमा ३४ र माइकलमास डेजीमा ५५ वा ८९। (चित्र न. ६ हेर्नुहोस्‌।) फलफूल र तरकारीमा पनि अक्सर फिबोनात्सी नम्बर देख्न सकिन्छ। उदाहरणको लागि, केराको बोक्रामा पाँच पाटा हुन्छ र भित्र पनि पाँच खण्ड नै हुन्छ।

“उहाँले हरेक कुरा . . . सुन्दर बनाउनुभएको छ”

गोल्डन एंगलको अनुपात मिलेको संरचना सबैभन्दा राम्रो देखिंदो रहेछ भनेर कलाप्रेमीहरूले थाह पाएको निकै भइसक्यो। के कारणले गर्दा वनस्पतिहरूमा हुने नयाँ वृद्धि ठ्याक्कै यही कोणमा हुन्छ? धेरैले यसलाई जीवित वस्तुहरूको डिजाइनमा एक जना बुद्धिमान्‌ व्यक्‍तिको हात छ भन्‍ने कुराको प्रमाणको रूपमा लिन्छन्‌।

जीवित वस्तुहरूमा देख्न सकिने डिजाइन र त्यसबाट आनन्द लिन सक्ने हाम्रो क्षमतालाई विचार गर्दा एक जना सृष्टिकर्ता हुनुहुन्छ र उहाँ हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ भन्‍ने निष्कर्षमा थुप्रै पुगेका छन्‌। हाम्रो सृष्टिकर्ताबारे बाइबल यसो भन्छ: “उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ।”—उपदेशक ३:११, NRV. (g 9/06)

[फुटनोट]

a रोचक कुरा, सूर्यमुखी फूलमा भने बीउहरूको घुमाउरो लहर अरू फूलहरूमा जस्तो भित्रबाट सुरु भएर बाहिर नगई पहिले बाहिरी घेराको बीउ बन्छ र क्रमशः भित्रतिर बन्दै जान्छ।

[पृष्ठ २४, २५-मा भएको रेखाचित्र]

[पृष्ठ २४-मा भएको चित्र]

मेरिस्टिमलाई नजिकबाट नियाल्दा

[स्रोत]

R. Rutishauser, University of Zurich, Switzerland

[पृष्ठ २५-मा भएको चित्रको स्रोत]

White flower: Thomas G. Barnes @ USDA-NRCS PLANTS Database