सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टिमा विश्‍वास गरौं वा क्रमविकासमा —कुनै फरक पर्छ र?

सृष्टिमा विश्‍वास गरौं वा क्रमविकासमा —कुनै फरक पर्छ र?

सृष्टिमा विश्‍वास गरौं वा क्रमविकासमा — कुनै फरक पर्छ र?

के तपाईंलाई जीवनको कुनै उद्देश्‍य छ जस्तो लाग्छ? क्रमविकासको सिद्धान्त सही हो भने साइन्टिफिक अमेरिकन भन्‍ने पत्रिकामा लेखिएअनुसारै ‘हाम्रो जीवनको अन्तिम लक्ष्य नै अस्तित्वविहीन हुनु हो।’

यसले के भन्‍न खोजेको हो, सो विचार गर्नुहोस्‌। जीवनको अन्तिम लक्ष्य नै अस्तित्वविहीन हुनु हो भने, जीवनको अर्थ धेरथोर असल काम गर्न प्रयास गर्नु अनि भावी पुस्तालाई आफ्ना वंशाणुगत गुणहरू सार्नु मात्र हुनेछ। अनि मृत्यु हुँदा तपाईं सदाको लागि नामेट हुनुहुनेछ। तपाईंको दिमाग अनि जीवनको उद्देश्‍यबारे सोच्ने, तर्क गर्ने अनि चिन्तन गर्ने यसको क्षमता केवल एउटा संयोग हुनेछ।

कुरा त्यति मात्र होइन। क्रमविकासमा विश्‍वास गर्ने धेरैजसो व्यक्‍तिले परमेश्‍वरको अस्तित्व छैन वा मानिसहरूको गतिविधिमा उहाँले हस्तक्षेप गर्नुहुन्‍न भन्‍ने विश्‍वास गर्छन्‌। त्यसो हो भने, हाम्रो भविष्य राजनैतिक, बौद्धिक र धार्मिक नेताहरूको हातमा हुने भयो। विगतको इतिहासलाई हेर्ने हो भने मानव समाजलाई पिरोलिरहेको गञ्जागोल, द्वन्द्व र भ्रष्टाचार पनि यथावतै रहिरहने भयो। क्रमविकासै भएको हो भने यस्तो आशाविहीन लक्ष्य राखेर जिउनु स्वाभाविकै हुनेछ: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।”—१ कोरिन्थी १५:३२.

यो कुरासित यहोवाका साक्षीहरू सहमत छैनन्‌ किनभने यो क्रमविकासको सिद्धान्तद्वारा प्रभावित छ। बरु, यहोवाका साक्षीहरू बाइबलको कुरा सही हो भन्‍ने विश्‍वास गर्छन्‌। (यूहन्‍ना १७:१७) यसकारण मानिसको सुरुवातबारे बाइबलले बताउने कुरासित तिनीहरू सहमत छन्‌: “जीवनको मूल [परमेश्‍वरसँग] छ।” (भजन ३६:९) यी शब्दहरूको अर्थ गहन छ।

हो, जीवनको उद्देश्‍य छ। हाम्रो सृष्टिकर्ताको इच्छाअनुसार जीवन बिताउन चाहनेहरूको लागि उहाँले एउटा मायालु उद्देश्‍य राख्नुभएको छ। (उपदेशक १२:१३) यस उद्देश्‍य अनुरूप उहाँले गञ्जागोल, द्वन्द्व र भ्रष्टाचार अनि मृत्युसमेत नहुने संसारमा जीवन दिने प्रतिज्ञा गर्नुभएको छ। (यशैया २:४; २५:६-८) संसारभरि छरिएर रहेका लाखौं यहोवाका साक्षीहरू निर्धक्क भई यसो भन्‍न सक्छन्‌—परमेश्‍वरबारे सिकेर उहाँको इच्छाअनुसार चल्दा जीवन साँच्चै अर्थपूर्ण हुन्छ र अरू कुनै पनि कुराले यो दिन सक्दैन!—यूहन्‍ना १७:३.

तपाईं जेमा विश्‍वास गर्नुहुन्छ, त्यसले अवश्‍य फरक पार्छ! किनभने यसमा अहिले तपाईंको आनन्द मात्र होइन तर भविष्यको जीवन पनि निर्भर छ। अब के रोज्ने, त्यो तपाईंकै हातमा छ। प्रकृतिमा देख्न सकिने अद्‌भुत प्रमाणहरूलाई बेकारको भनेर पन्छाउन खोज्ने सिद्धान्तलाई विश्‍वास गर्नुहुन्छ अथवा बाइबलले जे भन्छ, त्यसमा? बाइबलअनुसार पृथ्वी अनि यसमा भएका सबै जीवजीवातहरू अद्‌भुत डिजाइनर यहोवाले बनाउनुभएको हो जसले “सबै कुरा . . . सृष्टि गर्नुभएको” छ।—प्रकाश ४:११. (g 9/06)