सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?

सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?

सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो?

“हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।”—प्रकाश ४:११.

चार्ल्स डार्विनले क्रमविकासको सिद्धान्तलाई प्रख्यात बनाएको केही समयपछि नै थुप्रै कथित इसाई धर्मावलम्बीहरूले परमेश्‍वरप्रतिको विश्‍वास नत्यागीकनै यस सिद्धान्तलाई अँगाल्ने उपाय खोज्न थाले।

सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको हुनुपर्छ भन्‍ने कुरा आजका अधिकांश “इसाई” समूहहरूलाई आपत्तिजनक लाग्दैन जस्तो देखिन्छ। परमेश्‍वरले ब्रह्‍माण्डको रचना गर्नुहुँदा नै निर्जीव रसायनहरूबाट जीवहरू देखा पर्ने अनि अन्तमा गएर मानिसको उत्पत्ति हुने किसिमले रच्नुभएको थियो भनेर कोही-कोही सिकाउँछन्‌। आस्तिक क्रमविकास भनेर चिनिने यस सिद्धान्तमा विश्‍वास गर्नेहरूका अनुसार सुरुमा एक पटक परमेश्‍वरले यो प्रक्रिया थाल्नुभएपछि बाँकी कुरा आफसेआफ विकास हुँदै आयो, परमेश्‍वरको कुनै हस्तक्षेप आवश्‍यक परेन। अनि अरू कतिपयको सोचाइमा चाहिं प्रायजसो बोटबिरुवा र जनावरहरू क्रमविकासद्वारा उत्पत्ति भएका थिए तर बीच-बीचमा परमेश्‍वरको पनि भूमिका थियो।

क्रमविकास र बाइबलको शिक्षा मेल खान्छ?

क्रमविकासको सिद्धान्त बाइबल शिक्षासित साँच्चै मेल खान्छ त? क्रमविकासको सिद्धान्त यदि सत्य हो भने प्रथम मानव आदमको सृष्टिबारे बाइबलमा दिइएको विवरण तथ्य घटना नभई मानिसहरूलाई नैतिकताको पाठ सिकाउन रचिएको एउटा नीतिकथा मात्र हुनेछ। (उत्पत्ति १:२६, २७; २:१८-२४) बाइबल विवरणलाई के येशूले पनि नीतिकथा मात्र ठान्‍नुहुन्थ्यो? येशूले भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले बनाउनुभयो, उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो, र भन्‍नुभयो, यही कारण मानिसले आफ्ना आमाबाबुलाई छोडेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ, र ती दुई जना एक शरीर हुनेछन्‌। र ती अब दुई होइन, तर एउटै शरीर हुन्छन्‌। यसकारण जसलाई परमेश्‍वरले एक साथ जोडनुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्‌।”—मत्ती १९:४-६.

यति बेला येशूले उत्पत्तिको दोस्रो अध्यायमा वर्णन गरिएको सृष्टिको विवरण उद्धृत गर्दै हुनुहुन्थ्यो। यदि येशूले पहिलो विवाहलाई एउटा काल्पनिक कथा ठान्‍नुहुन्थ्यो भने विवाहको पवित्रताबारे आफ्नो शिक्षालाई समर्थन गर्न के उहाँले यस्तो काल्पनिक कथाको सहारा लिनुहुन्थ्यो होला र? पक्कै लिनुहुन्थेन। येशूले उत्पत्तिको पुस्तकको विवरण चलाउनुको मतलब यो एउटा सत्य इतिहास हो भनेर उहाँलाई थाह थियो।—यूहन्‍ना १७:१७.

त्यसै गरी येशूका चेलाहरूले पनि सृष्टिबारे उत्पत्तिको पुस्तकमा दिइएको विवरणमा विश्‍वास गर्थे। उदाहरणका लागि, लूकाले लेखेको सुसमाचारको पुस्तकमा येशूको पुर्ख्यौली बताउँदै जाँदा प्रथम मानव आदमसम्म बताइएको छ। (लूका ३:२३-३८) यदि आदम एउटा काल्पनिक पात्र हो भने येशूको पुर्ख्यौलीमा कहाँदेखि चाहिं काल्पनिक पात्रले प्रवेश पाएको होला त? यदि यो पुर्ख्यौली विवरण दन्त्यकथा मात्र हो भने आफू दाऊदको वंशमा जन्मिएको मसीह हुँ भनी येशूले गर्नुभएको दाबीमाथि विश्‍वास गर्ने आधार के त? (मत्ती १:१) सुसमाचारको पुस्तकका लेखक लूकाले भने, ‘पहिलेदेखि नै सबै कुरा मैले ठीक-ठीक बुझेको छु।’ कुरा स्पष्ट छ, उत्पत्तिको पुस्तकमा बताइएको सृष्टिको विवरणमा तिनी विश्‍वास गर्थे।—लूका १:३.

उत्पत्तिको विवरणमा विश्‍वास भएकैले प्रेरित पावलले पनि येशूमाथि विश्‍वास गर्न सके। तिनले यस्तो लेखे: “मृत्यु एक जना मानिसबाट भएको हुनाले मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसबाट भयो। किनकि जसरी आदममा सबै मर्दछन्‌, त्यसरीनै ख्रीष्टमा पनि सबै जीवित हुनेछन्‌।” (१ कोरिन्थी १५:२१, २२) यदि आदम सबै मान्छेको पुर्खा थिएन र ऊद्वारा नै “पाप संसारमा प्रवेश” भएको होइन भने वंशानुगत पापको असर मेटाउन येशू किन मर्नुपर्थ्यो र?—रोमी ५:१२; ६:२३.

उत्पत्तिको पुस्तकमा दिइएको सृष्टिको विवरणमाथि शंका गर्नु भनेको मसीही विश्‍वासको जगमाथि नै शंका गर्नु हो। क्रमविकासको सिद्धान्त र मसीही शिक्षा एकअर्काका विपरीत ध्रुवहरू हुन्‌। यी दुईबीच मेल गराउन खोज्यौं भने आफ्नै विश्‍वास कमजोर हुन्छ र “सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने” व्यक्‍ति हुन्छौं।—एफिसी ४:१४.

बलियो जगमा आधारित विश्‍वास

शताब्दीयौंको दौडान बाइबलले थुप्रै आलोचना र आक्रमण खपेको छ। अनि यस्ता आक्रमणहरू आइपर्दा बाइबलको सत्यता बारम्बार पुष्टि भएको छ। इतिहास, स्वास्थ्य र विज्ञानबारे बाइबलले बताएका कुराहरू भरपर्दा छन्‌ भनेर पटक-पटक साबित भएको छ। मानिसहरूबीचको सम्बन्धबारे बाइबलले दिएको सल्लाह सधैं नै उत्तिकै भरोसायोग्य छ। मानव दर्शन र सिद्धान्तहरू केही समय पलाएर ओइलाइहाल्ने हरियो घाँसजस्तै हुन्‌। तर परमेश्‍वरको वचन “सधैंभरि अटल रहनेछ।”—यशैया ४०:८.

क्रमविकासको शिक्षा वैज्ञानिक सिद्धान्त मात्र नभएर दशकौंको दौडान विभिन्‍न किसिमका थपघट हुँदै अहिलेको अवस्थासम्म आइपुगेको मानव दर्शन पनि हो। डार्विनले दिएको क्रमविकासको सिद्धान्त आफै पनि हालैका वर्षहरूमा विकास हुने क्रममा छ। प्रकृतिमा देखिने रचनाको चित्तबुझ्दो जवाफ दिन यस सिद्धान्तमा आमूल परिवर्तन आएको छ। यसबारे अझ बढी केलाएर हेर्न हामी तपाईंलाई आग्रह गर्छौं। यस अंकका अरू लेखहरू पढेर तपाईंले यसबारे थाह पाउन सक्नुहुनेछ। साथै, यस पृष्ठमा र पृष्ठ ३२ मा देखाइएका पुस्तक-पुस्तिकाहरू पनि पढ्‌न सक्नुहुन्छ।

हामीलाई आशा छ, यस विषयमा अनुसन्धान गर्नुभएपछि बाइबलले बताएका कुराहरूमा तपाईंको भरोसा अझ बढेको महसुस गर्नुहुनेछ। योभन्दा पनि महत्त्वपूर्ण कुरा त भविष्यको लागि बाइबलले गरेको प्रतिज्ञामा तपाईंको विश्‍वास अझ मजबुत हुनेछ। (हिब्रू ११:१) सायद तपाईं यहोवाको प्रशंसा गर्न समेत उत्प्रेरित हुनुहोला, “जसले स्वर्ग र पृथ्वी सृजनुभयो।”—भजन १४६:६. (g 9/06)

यी पनि पढ्‌ने कि?

सबैका लागि उपयोगी किताब बाइबल सत्य हो भन्‍ने केही उदाहरणहरू यस पुस्तिकामा छलफल गरिएको छ

Is There a Creator Who Cares About You? थप वैज्ञानिक प्रमाणहरू केलाउनुहोस्‌। एक जना मायालु परमेश्‍वर हुनुहुन्छ भने उहाँले किन दुःखकष्ट रहिरहन दिनुभएको छ, थाह पाउनुहोस्‌

बाइबलले वास्तवमा के सिकाउँछ? पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍य के हो? भन्‍ने प्रश्‍नको जवाफ यस पुस्तकको अध्याय ३ मा पाइन्छ

[पृष्ठ १०-मा भएको ठूलो अक्षरको क्याप्सन]

सृष्टिबारे उत्पत्तिको पुस्तकमा दिइएको विवरणमा येशू विश्‍वास गर्नुहुन्थ्यो। के उहाँ भ्रममा हुनुहुन्थ्यो?

[पृष्ठ ९-मा भएको पेटी]

के हो क्रमविकास?

एउटा परिभाषाअनुसार “क्रमविकास” भनेको “एक क्रमले निरन्तर परिवर्तन भइरहनु” हो। तथापि, यस शब्दको अरू परिभाषाहरू पनि छन्‌। जस्तै, निर्जीव वस्तुमा ठूलठूला परिवर्तन भएर ब्रह्‍माण्ड बन्‍नु। यसबाहेक, जीवित प्राणीहरूमा हुने साना परिवर्तनहरूलाई बुझाउन वा अर्को शब्दमा भन्‍नुपर्दा बोटबिरुवा तथा प्राणीहरू कसरी वरपरको वातावरणसित घुलमिल हुँदै जान्छन्‌ भन्‍ने कुराको व्याख्या गर्न पनि क्रमविकास शब्दको प्रयोग गरिन्छ। तथापि, यस शब्दको सबैभन्दा धेरै प्रयोग भने निर्जीव रासायनिक पदार्थबाट एउटा कोषको उत्पत्ति भयो अनि त्यो कोष बिस्तारै विकास हुँदै जटिल प्राणीहरूमा परिवर्तन हुँदै गयो र अन्तमा सबैभन्दा बुद्धिमान्‌ प्राणी, मान्छे बन्यो भन्‍ने सिद्धान्तको व्याख्या गर्न चलाइन्छ। यस लेखमा यो तेस्रो अर्थलाई ध्यानमा राखेर “क्रमविकास” भन्‍ने शब्द प्रयोग गरिएको छ।

[पृष्ठ १०-मा भएको चित्रको स्रोत]

Space photo: J. Hester and P. Scowen (AZ State Univ.), NASA