सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफूले सिकेका कुराको उनले मोल गरिन्‌

आफूले सिकेका कुराको उनले मोल गरिन्‌

आफूले सिकेका कुराको उनले मोल गरिन्‌

मे २००४ मा एउटी महिलाको क्यान्सर रोगले गर्दा मृत्यु भयो र केही समयअघि उनले लेखेको अपूरो चिठी भेटियो। चिठी पूरा गर्न नपाउँदै उनको स्वास्थ्य अचानक झन्‌ बिग्रिएको हुन सक्छ। तर उनको त्यो बेनाम चिठी पढ्‌ने जो कोहीको पनि आँखा रसायो र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास झनै बलियो भयो।

उक्‍त चिठी लेख्ने महिलाको नाउँ सुजन हो र उनले अमेरिकाको कनेक्‌टिकटमा बस्ने मसीही प्राचीनलाई पहिलो चोटि टेलिफोन गर्दा आफू किशोरी नै भएको कुरा बताएकी छिन्‌। आफू किशोरी छँदा भोगेका परिस्थितिबारे पनि उनले चिठीमा वर्णन गरेकी छिन्‌। सुजनले लेखेको त्यो मार्मिक चिठी उनकी आमाले गत वर्षको अन्ततिर अर्थात्‌ नोभेम्बर २००५ मा प्राप्त गरेकी थिइन्‌। अनि उनकी आमाले त्यो चिठीको एक प्रति यहोवाका साक्षीहरूको न्यु योर्कस्थित मुख्यालयमा पनि पठाइदिइन्‌।

कनेक्‌टिकटका प्राचीनको टेलिफोन नम्बर टेलिफोन डाइरेक्टरी हेरेर सन्‌ १९७३ मा पत्ता लगाएको कुरा उनले बताएकी छिन्‌। उनले यसो भनेकी छिन्‌: “त्यतिबेला म १४ वर्षकी थिएँ र प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का प्रतिहरू पढेपछि सच्चाइ यही नै हो भनेर पक्का भएँ। त्यतिबेलासम्म यहोवाका एउटै पनि साक्षीहरू नभेटेकोले टेलिफोन डाइरेक्टरीमा उनीहरूको फोन नम्बर खोज्न थालें र मेरो फोन नम्बरसँग सुरुको तीन अंक मिल्ने फोन नम्बर छानें। त्यो फोन नम्बर गिनरिक भन्‍ने भाइको रहेछ। मैले त्यो समयसम्म एक जना पनि यहोवाका साक्षी नभेटेको कुरा सुनेर उहाँ छक्क पर्नुभयो।” a

एउटा नाटकीय समस्या

आफू १० वर्षकी हुँदा कनेक्‌टिकटमा बस्ने आफ्नी सानीआमाकहाँ बस्न गएकी कुरा सुजनले आफ्नो चिठीमा लेखेकी छिन्‌। खासमा त उनी केही दिनको लागि मात्र भनेर गएकी थिइन्‌ तर केही समयपछि उनले फ्लोरिडामा एक्लै बस्दै आएकी आफ्नी आमालाई आफू नफर्कने निर्णय सुनाइन्‌। चिठीमा सुजनले उनको अवस्था अंग्रेजीमा “स्टकहोल्म सिनड्रोम” भनिने समस्यासित मिल्दोजुल्दो थियो भनेर लेखेकी छिन्‌। यस्तो अवस्थामा “दुर्व्यवहार भोग्ने व्यक्‍ति दुर्व्यवहार गर्ने व्यक्‍तिसितै बस्न रुचाउँछ।” b सुजनले असाध्यै नराम्रो दुर्व्यवहार खप्नुपऱ्‍यो।

सुजन लेख्छिन्‌: “मेरी सानीआमा र उहाँको ब्वाइफ्रेन्डले मलाई गर्नुसम्म दुर्व्यवहार गर्थे। यसबाहेक त्यो घरमा सितिमिति मान्छे नै आउँदैनथे। स्कूल जाँदा मलाई न त खाजा दिइन्थ्यो न एकसरो राम्रो लुगा। तर आमाले भने मेरो लागि भनेर मनग्गे पैसा पठाइरहनुभएको थियो। मेरो भित्री लुगा एक जोर मात्र थियो। तर मेरी सानीआमाकी मभन्दा अलि कान्छी दुई छोरीहरूले चाहिं भने-भनेको कुरा पाउँथे।” बाइबलबारे अझै जान्‍ने उनको इच्छाबारे सानीआमाले थाह पाएपछि उनलाई किन झनै गाह्रो पर्नेछ भनी स्पष्ट पार्न सुजनले यी कुराहरू बताएकी थिइन्‌।

सुजनले बाइबल ज्ञान प्राप्त गर्दै गइन्‌

सुजन लेख्छिन्‌: “भाइ गिनरिकले मलाई एक जना परिपक्व मसीही बहिनी लोरासित भेट गराइदिनुभयो। लोराले नै मेरा तीनथुप्रो प्रश्‍नहरूको जवाफ दिइन्‌। हामी अक्सर लुगा धुने सार्वजनिक ठाउँमा भेट्‌ने गर्थ्यौं।” सुजनले त्यतिबेलासम्म कुनै विषयमा पनि आफैले निर्णय नगरेको तर लोरासितको छलफल र द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ जस्ता बाइबल आधारित प्रकाशनहरू पढेपछि चाहिं आफैले निर्णय लिन सकेको कुरा बताउँछिन्‌।

सुजन लेख्दै जान्छिन्‌, “मैले साक्षीहरूसित बाइबलका कुराहरू सिकिरहेको छु भनेर सानीआमालाई शुक्रबारको दिन बताएकी थिएँ। उहाँले मलाई त्यो दिन रातभरि सुत्न पनि नदिई भान्साकोठाको बीचमा उभ्याएर राख्नुभयो। त्यसपछि साक्षी बन्‍ने मेरो अठोट झनै बलियो भयो।”

सुजनको त्यस्तो अठोटपछि भाइ गिनरिकले बाइबलका कुराहरू अझ धेरै बुझ्न मदत दिने प्रकाशनहरू दिइरहे। सुजन लेख्छिन्‌: “सन्‌ १९७४ को यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज मेरो मनमा ताजै छ। त्यस वार्षिकपुस्तकमा दोस्रो विश्‍वयुद्धको अघि र त्यस दौडान जर्मनीका यहोवाका साक्षीहरूले नाजीहरूको सतावट कसरी सहे भनी बताइएको थियो। . . . त्यसै समयतिर मैले भाइ गिनरिकलाई राज्य-गीतहरू टेपमा भरिदिनको लागि अनुरोध गरें। किनभने म ती सिक्न चाहन्थें। एक वर्ष भित्रमा त सन्‌ १९६६ मा विमोचित गीतपुस्तकका (सिङ्‌गिङ एण्ड एकम्पेनिङ योरसेल्भ्स विथ म्युजिक इन योर हार्टस्‌) ११९ वटै गीतहरू म मेलैसित गाउन सक्ने भइसकेकी थिएँ।”

“भाइ गिनरिकले मलाई बाइबल भाषण, नाटक र सम्मेलनका कार्यक्रमहरू पनि टेपमा भरेर ल्याइदिनुहुन्थ्यो। उहाँले ती क्यासेट चक्काहरू रुट १० को एउटा टेलिफोनको पोल छेउमै छोडिदिनुहुन्थ्यो र मैले ती त्यहाँबाट लिने गर्थें। . . . तर मलाई आफ्नो परिस्थिति देखेर दिक्क लाग्न थालिसकेको थियो किनभने एउटै सभा नगई मैले जति प्रगति गर्न सक्थें त्यतिसम्म त गरिसकेकी थिएँ। सायद त्यसैले होला मसित अब संघर्ष गर्ने बल पनि थिएन।”

त्यसपछिका केही वर्षहरू निकै कष्टदायी भएको कुरा सुजन बताउँछिन्‌। चिनेका दुई साक्षीसित पनि उनले सम्पर्क गर्न छोडेकी थिइन्‌। “सबै गीत कण्ठस्थ हुनु पनि मेरो लागि ‘सराप’ भयो” भनी उनी बताउँछिन्‌। किन? “किनभने ‘याहका सिपाहीले विलासी जीवन बिताउँदैनन्‌’ भन्‍ने जस्ता शब्दहरू मनमा गुञ्जिरहन्थ्यो। यी शब्दहरू दोस्रो विश्‍वयुद्धको दौडान जर्मन यातना शिविरमा दुःख भोगेकाहरूले लेखेका हुन्‌ भनी मलाई थाह थियो र यसले भतभती पोलिरहेको मेरो अशान्त मनमा झनै घ्यु थप्ने काम गऱ्‍यो। मलाई आफू काँतर जस्तो लाग्न थाल्यो र यहोवाले मलाई त्यागिसक्नुभएको छ भन्ठानें।” c

बल्ल मुक्‍त भएँ

“म १८ वर्षकी भएपछि चाहिं मेरो जीवनले एउटा ठूलो मोड लियो। ‘हाम्रो घरमा नआउनू’ भन्‍नेहरूको सूचीमा हाम्रो घर पनि परेकोले वर्षौंदेखि कोही साक्षी हामीकहाँ आएका थिएनन्‌। तर त्यो दिन अर्कै मण्डलीको एक साक्षी हाम्रो घरमा आइन्‌ र घरमा कोही नभएकोले मैले उनीसित कुरा गर्न सकें। मलाई याद भएसम्म त्यो शनिबार मात्र हो म घरमा एक्लै बस्न पाएकी। मैले यस घटनालाई यहोवाले मलाई त्याग्नुभएको छैन भन्‍ने कुराको प्रमाणको रूपमा लिएँ। त्यसैले मैले सुरुमा फोन गरेको भाइ गिनरिकलाई फेरि फोन गरें र म घर छोड्‌न तयार छु, अब के गर्दा बेस होला भनी उहाँसित सल्लाह मागें। आखिर, उहाँको मदत पाएर त्यस घरबाट निक्लें।”

सन्‌ १९७७ अप्रिलमा सुजन अर्कै ठाउँमा सरिन्‌। उनको चिठीमा अझै यसो भनिएको छ: “त्यसपछिको वर्ष मात्रै मैले सबै सभा तथा सम्मेलनहरू धाउन सकें र सेवकाईमा पनि भाग लिन थालें। आमासित मेरो फेरि सम्पर्क भयो। उहाँसित छुट्टिएर बसेका वर्षहरूमा मैले कुन हदसम्म दुर्व्यवहार भोगें भनेर उहाँलाई पत्तै थिएन। सबै कुरा थाह पाउनुभएपछि आमा निकै दुःखित हुनुभयो। अनि मलाई आवश्‍यक सबै कुरा तुरुन्तै जुटाइदिनुभयो। आमा केही वर्षअघि अलास्का सर्नुभएको थियो। उहाँले बाइबलका सत्य कुराहरूमा निकै चासो देखाउनुभएकोले उहाँसितै बस्न सन्‌ १९७८ मा म पनि अलास्का सरें। अन्ततः उहाँ यहोवाको साक्षी हुनुभयो र अहिलेसम्म पनि यहोवाप्रति वफादार हुनुहुन्छ।”

“म सभाहरू जान थालिसकेपछिको कुरा हो, भाइ गिनरिकले एउटा ग्रुपै मिलेर न्यु योर्क सहरको ब्रुक्लिनस्थित यहोवाका साक्षीहरूको मुख्यालय हेर्न जाने प्रबन्ध मिलाउनुभयो। उहाँले मलाई पनि निम्तो दिनुभयो। त्यो निम्तो मेरो लागि कहिल्यै बिर्सन नसक्ने एउटा उपहारजस्तै भयो। किनभने मुख्यालय हेरेपछि मैले जिन्दगीभर यहोवाको संगठनको मोल गर्न सिकें। मेरो कथा-व्यथा यति नै हो। मैले छोटकरीमा मात्र लेखेकी हुँ किनभने म यो चिठी लेखिसिध्याउन चाहन्छु।”

सुजनले छ पानाभरि लेखेकी चिठीको यी त केही अंश मात्र हुन्‌। चिठीको अन्ततिर सुजनले यस्तो लेखेकी छिन्‌: “गत महिना अस्पतालमै रोगले मलाई नराम्ररी च्याप्यो। सोचें, मेरो जीवन अब यति नै हो। . . . यहोवालाई प्रार्थना गर्दै मलाई दुई हप्ता मात्र अलि सञ्चो गराइदिनुस्‌, म केही कुरा पूरा गर्न चाहन्छु भनेर पुकारें। . . . अब म धेरै दिन बाँच्दिनँ होला। तर मैले सच्चाइमा जति वर्ष बिताउन पाएँ ती नै मेरो जीवनका सबैभन्दा उत्तम दिनहरू थिए।”

सुजनले चिठी टुङ्‌ग्याएर हस्ताक्षर पनि गरेकी थिइनन्‌, न त यो कसैको नाउँमा नै लेखिएको थियो। यो चिठी भेट्टाउनेहरूले पनि कसलाई दिने हो भनेर थाह पाएनन्‌। तर सुरुमा भनिएझैं अन्ततः यो चिठी सुजनकी आमालाई पठाइयो।

सुजनबारे थप केही कुरा

अप्रिल १४, १९७९ मा सुजनले बप्तिस्मा लिएपछि उनकी आमा फेरि फ्लोरिडा फर्किन्‌। सुजनचाहिं अलास्कामै बसिन्‌ किनभने त्यहाँको नर्थ पोल मण्डलीसित उनको गहिरो माया बसिसकेको थियो। बप्तिस्मा लिएको केही समयपछि नै उनले पूर्ण-समय सेवकको रूपमा अग्रगामी गर्न थालिन्‌। पछि उनी पनि फ्लोरिडा सरिन्‌ र अग्रगामी गरिरेहका मसीही प्राचीनसँग सन्‌ १९९१ मा बिहे गरिन्‌। सुजनको मृत्यु भएको केही समयपछि नै उनको श्रीमान्‌को पनि मृत्यु भयो।

सुजन र उनका श्रीमान्‌लाई सबैले असाध्यै माया गर्थे। तिनीहरूले सँगसँगै पूर्ण-समय सेवकाई गरिरहे। सुजनको रोगले गर्दा गाह्रो भएपछि मात्र उनीहरूले पूर्ण-समय सेवकाई छोडे। सुजनले जम्माजम्मी २० वर्ष पूर्ण-समय सेवकाईको आनन्द उठाइन्‌। फ्लोरिडामा उनको अन्त्येष्टि भाषण दिंदा नर्थ पोल मण्डलीमा पनि टेलिफोनद्वारा प्रसारण गरिएको थियो।

यहोवाको सेवा गरिरहेका र पुनरुत्थानको सुन्दर आशाको प्रतिक्षामा रहेकाहरूले आध्यात्मिक आशिष्‌हरूको आनन्द उठाइरहेका छन्‌। सुजनको चिठीले हामीलाई यी आशिष्‌हरूको मोल गर्न मदत दिन्छ। (प्रेरित २४:१५) यस जीवनीबाट अर्को एउटा कुरा पनि स्पष्ट हुन्छ: जो परमेश्‍वरको नजिक आउँछ ती सबैको नजिक उहाँ हुनुहुनेछ!—याकूब ४:७, ८. (g 12/06)

[फुटनोटहरू]

a सन्‌ १९९३ मा एउटा दुर्घटनामा परी भाइ गिनरिक र उहाँकी श्रीमतीको दुःखद्‌ मृत्यु भयो।

b डिसेम्बर २२, १९९९ अवेक!-को पृष्ठ ७ हेर्नुहोस्‌।

c सिङ प्रेजेज टु जेहोभा पुस्तकको गीत न. २९, “अघि बढ, साक्षीहरू!”

[पृष्ठ २१-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मैले सच्चाइमा जति वर्ष बिताउन पाएँ ती नै मेरो जीवनका सबैभन्दा उत्तम दिनहरू थिए”

[पृष्ठ २३-मा भएका चित्र]

सुजन दस वर्षकी हुँदा

[पृष्ठ २३-मा भएका चित्र]

सुजन आफ्ना श्रीमान्‌ जेम्स सिमरसित