सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?

परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?

“किन?” भनेर प्रश्‍न गर्ने व्यक्‍तिले कहिलेकाहीं जवाफको साथसाथै सान्त्वना खोजिरहेको हुन्छ। ठूलो खती बेहोर्नुपरेकोले मनमा “किन” भन्‍ने प्रश्‍न उठ्‌दा मानिसहरूलाई सान्त्वनाको एकदमै खाँचो परिरहेको हुन्छ। के बाइबलले त्यस्तो सान्त्वना दिन्छ? यस सम्बन्धमा बाइबलका तीन महत्त्वपूर्ण सत्यहरूलाई विचार गर्नुहोस्‌।

पहिलो, परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ भनेर प्रश्‍न गर्नु गलत होइन। कोही-कोही मानिसहरूको सोचाइमा यस्तो प्रश्‍न गर्नु भनेको परमेश्‍वरमा विश्‍वास नगर्नु वा उहाँको अनादर गर्नु हो। तर असल नाउँ कमाएका थुप्रै व्यक्‍तिहरूले निष्कपटतासाथ यही प्रश्‍न गरेका छन्‌। विश्‍वासी अगमवक्‍ता हबकूकले परमेश्‍वरलाई यस्तो प्रश्‍न गरे: “तपाईं मलाई किन यस्तो अधर्म हेर्न लगाउनुहुन्छ? हिंसा, अधर्म, अपराध र क्रूरता चारैतिर फैलिन किन दिनुहुन्छ?” (हबकूक १:३, कन्टेम्पररी इंग्लिश भर्सन) यस्तो प्रश्‍न गरेकोमा यहोवा परमेश्‍वरले हबकूकलाई हप्काउनुभएन। बरु, विश्‍वासी हबकूकका ती प्रश्‍नहरू सबैले पढून्‌ भनी उहाँले बाइबलमा रेकर्ड गर्न लगाउनुभयो।—रोमी १५:४.

दोस्रो, तपाईंको दुःख परमेश्‍वरले बुझ्नुहुन्छ भनेर थाह पाउनु महत्त्वपूर्ण छ। उहाँ रहस्यमय र हामीदेखि टाढा हुनुहुन्‍न। उहाँले ‘इन्साफलाई प्रेम गर्नुहुन्छ’ अनि दुष्टता र त्यसले ल्याउने दुःखकष्टलाई घृणा गर्नुहुन्छ। (भजन ३७:२८; हितोपदेश ६:१६-१९) नूहको समयमा पृथ्वी हिंसाले भरिएको देखेर परमेश्‍वर “साह्रै दुःखित हुनुभयो।” (उत्पत्ति ६:५, ६) परमेश्‍वर परिवर्तन हुनुभएको छैन। अहिले भइरहेका घटनाहरू देखेर पनि उहाँ दुःखित हुनुहुन्छ।—मलाकी ३:६.

तेस्रो, परमेश्‍वर कहिल्यै दुष्टताको स्रोत हुनुहुन्‍न। बाइबलले यसबारे स्पष्टै बताएको छ। हत्या र आतंकजस्ता कुराहरूको दोष परमेश्‍वरलाई लगाउनेहरूले उहाँको अपमान गरिरहेका हुन्छन्‌। अय्यूब ३४:१० मा भनेको कुरालाई ध्यान दिनुहोस्‌: “परमेश्‍वरले कहिल्यै खराबी गर्नुहुन्‍न, र सर्वशक्‍तिमानले कहिल्यै छल गर्नुहुन्‍न!” त्यसैगरि याकूब १:१३ यसो भन्छ: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरबाट मेरो परीक्षा भएको छ।’ किनभने कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।” त्यसैले, दुःखकष्ट आइपर्दा त्यसको कारण परमेश्‍वर हुनुहुन्‍न भनी विश्‍वस्त हुनुहोस्‌।

संसारलाई कसले शासन गर्छ?

अझै यो प्रश्‍न खडा हुन्छ: परमेश्‍वर मायालु, न्यायी र शक्‍तिशाली हुनुहुन्छ भने हामी वरपर किन खराबी नै खराबी छन्‌ त? प्रथमतः धेरैले राख्ने गरेको एउटा गलत सोचाइलाई सच्याउनु परेको छ। सर्वशक्‍तिमान परमेश्‍वर नै यस संसारको शासक हुनुहुन्छ र सबै कुरा उहाँको नियन्त्रणमा छ भनेर थुप्रै मानिसहरू सोच्ने गर्छन्‌। एउटा धर्म पीठको अध्यक्षले यसो भने, “यस विश्‍व ब्रह्‍माण्डको एक-एक अणु/परमाणुमाथि समेत उहाँको नियन्त्रण रहन्छ।” के बाइबलले साँच्चै यस्तै सिकाउँछ?

सिकाउँदैन। संसारलाई कसले शासन गर्छ भन्‍नेबारे बाइबलले वास्तवमा सिकाउने कुरा थाह पाएपछि थुप्रै मानिस तीन छक पर्छन्‌। उदाहरणका लागि, १ यूहन्‍ना ५:१९ यसो भन्छ: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” त्यो दुष्ट को हो? येशूले त्यसलाई शैतान अर्थात्‌ दियाबल भनेर चिनाउनुभयो। त्यसलाई उहाँले “संसारको शासक” पनि भन्‍नुभयो। (यूहन्‍ना १४:३०) यस संसारमा यति विघ्न खराबी र दुःखकष्ट हुनुको कारण अब स्पष्ट भएन त? शैतान क्रूर, धूर्त र छलकपटले भरिएको छ। त्यसैले त मानिसहरूले यति विघ्न दुःखकष्ट भोग्नु परिरहेको छ। तर फेरि प्रश्‍न उठ्‌छ, किन परमेश्‍वरले शैतानलाई शासन गर्न दिनुभएको त?

अदनमा उठेको विवाद

एउटा मायालु तथा योग्य बुबालाई आफ्ना छोराछोरीसित झूटो बोलेको, तिनीहरूमाथि आफ्नो अधिकार दुरुपयोग गरेको र तिनीहरूलाई असल कुराहरूबाट वञ्चित गराएको भनेर खुलेआम आरोप लगाएमा, ती बुबालाई कस्तो लाग्छ होला? के उनले आरोप लगाउने व्यक्‍तिलाई शारीरिक तवरमा आक्रमण गरेर आफूमाथि थोपरिएको त्यो निन्दनीय आरोपको खण्डन गर्नेछन्‌? अहँ, गर्नेछैनन्‌! त्यसो गरेमा तिनले आफूमाथि लागेको आरोपलाई झन्‌ बलियो पो बनाइरहेका हुन सक्छन्‌।

यस उदाहरणले मानव इतिहासको सुरुमै अदन भनिने ठाउँमा यहोवा विरुद्ध उठाइएको चुनौतीलाई उहाँले कुन तरिकामा सँभाल्नुभयो, सो बुझ्न मदत दिन्छ। परमेश्‍वरले आफ्नो पार्थिव छोराछोरीको लागि एउटा उत्कृष्ट योजना राख्नुभएको छ भनेर प्रथम मानव जोडी आदम र हव्वालाई अदनको बगैंचामा बताउनुभयो। तिनीहरूले पृथ्वी भर्नुपर्थ्यो, त्यसलाई वशमा पार्नुपर्थ्यो र सारा पृथ्वीलाई सुन्दर बगैंचा बनाउनुपर्थ्यो। (उत्पत्ति १:२८) त्यसबाहेक, परमेश्‍वरका लाखौं आत्मिक पुत्रहरूले पनि यस रोमाञ्चकारी योजनामा खुबै चाख लिइरहेका थिए।—अय्यूब ३८:४, ७; दानियल ७:१०.

यहोवा उदार परमेश्‍वर हुनुभएकोले आदम र हव्वालाई स्वादिलो फलफूलले भरिभराउ सुन्दर बगैंचामा राख्नुभयो। “असल र खराबको ज्ञान दिने रूख” मात्र तिनीहरूको अधिकारमा थिएन। त्यस रूखको फल नखाएर आदम र हव्वाले आफ्ना छोराछोरीको लागि के असल के खराब भनेर निर्णय गर्ने अधिकार परमेश्‍वरसित मात्र छ भनी स्वीकार्दै उहाँप्रति पूर्ण भरोसा देखाइरहेका हुने थिए।—उत्पत्ति २:१६, १७.

तर दुःखको कुरा, परमेश्‍वरको एक जना आत्मिक पुत्रको मनमा मानिसहरूले आफूलाई पुजोस्‌ भन्‍ने लोभ पस्यो। यही कारणले गर्दा त्यसले हव्वालाई परमेश्‍वरले नखानू भन्‍नुभएको फल खाएमा तिनी मर्दिनन्‌ भनेर बहकायो। (उत्पत्ति २:१७; ३:१-५) यसरी, परमेश्‍वरले भन्‍नुभएको भन्दा ठीक उल्टो कुरा गरेर त्यो दुष्ट स्वर्गदूत शैतानले उहाँलाई फटाहा भन्यो। परमेश्‍वरले आदम र हव्वालाई महत्त्वपूर्ण ज्ञानबाट वञ्चित गराइरहनुभएको छ भनेर पनि त्यसले आरोप लगायो। मानिसहरू आफैले के असल र के खराब भनेर निर्णय गर्न सक्छन्‌ भनेर पनि शैतानले संकेत गऱ्‍यो। सरल भाषामा भन्‍नुपर्दा, शैतानले परमेश्‍वरलाई अयोग्य शासक र पिता भनी आरोप लगायो अनि ऊ परमेश्‍वरभन्दा योग्य शासक र पिता हुन सक्छ भनेर दाबी गऱ्‍यो।

त्यसरी धूर्तपूर्वक र द्वेषपूर्ण ढंगमा झूट बोलेर त्यो दुष्ट स्वर्गदूतले आफूलाई शैतान अर्थात्‌ दियाबल बनायो। शैतानको अर्थ “विरोधी” र दियाबलको अर्थ “निन्दक” हो। आदम र हव्वाले के गरे? तिनीहरू परमेश्‍वरबाट तर्किएर शैतानको पक्षमा लागे।—उत्पत्ति ३:६.

यहोवाले ती विद्रोहीहरूलाई विद्रोह गर्नासाथ नष्ट गर्न सक्नुहुन्थ्यो। तर, माथि दृष्टान्तमा बताइएअनुसार यस्ता विवादहरूलाई हिंसात्मक तरिकाले बदला लिएर समाधान गर्न सकिंदैन। शैतानले परमेश्‍वरलाई चुनौती दिंदा लाखौं स्वर्गदूतले सुनिरहेका थिए भनेर पनि बिर्सनुहुँदैन। यति नै भनेर संख्या त तोकिएको छैन तर ठूलै संख्यामा स्वर्गदूतहरूले त्यस विद्रोहमा शैतानको साथ दिए र आफूलाई प्रेत बनाए।—मर्कूस १:३४; २ पत्रुस २:४; यहूदा ६.

परमेश्‍वरले किन हस्तक्षेप गर्नुभएको छैन?

आदम र हव्वालाई सृष्टिकर्ताबाट स्वतन्त्र हुन बहकाएर वास्तवमा शैतानले यस्तो एउटा परिवार गठन गऱ्‍यो जुन स्वतन्त्र होइन तर उसको नियन्त्रणमा रहने थियो। जानाजानी होस्‌ वा अन्जानमा, आफ्नो “पिता” दियाबलको प्रभावमा परेर त्यस परिवारले आफ्नै लक्ष्यहरू राख्ने र आचरणसम्बन्धी आफ्नै स्तरहरू छनौट गर्ने थियो। (यूहन्‍ना ८:४४) तर त्यस्तो जीवनशैली अपनाएर के तिनीहरूले साँच्चैको स्वतन्त्रता र चिरस्थायी आनन्द पाउनेथिए? पाउने थिएनन्‌ भनेर यहोवालाई राम्ररी थाह थियो। तैपनि, उहाँले विद्रोहीहरूलाई आफूखुसी जीवनशैली बिताउन दिनुभयो किनभने यसो गर्दा मात्र अदनमा उठेको विवाद सदाको लागि साम्य हुनेथियो।

मानिसजातिले यस संसारमा शासन गरेको ६,००० वर्षभन्दा धेरै भइसक्यो र यस दौडान विभिन्‍न प्रकारको शासन पद्धति र आचारसंहिता प्रयोगमा ल्याएर पनि हेरिसके। तर यसको परिणामसित के तपाईं सन्तुष्ट हुनुहुन्छ? के मानव परिवारहरू साँच्चै आनन्दित, शान्तिमा र एकताबद्ध छन्‌? अवश्‍यै छैनन्‌! बरु युद्ध, अनिकाल, प्राकृतिक प्रकोप, बिमारी र मृत्युले मानिसजातिलाई सताउनसम्म सताएको छ। फलस्वरूप, बाइबलमा बताइएझैं तिनीहरू “व्यर्थता,” “पीडा” र “सुस्केरामा” छटपटिरहेका छन्‌।—रोमी ८:१९-२२; उपदेशक ८:९.

तथापि, केहीले यस्तो प्रश्‍न गर्लान्‌, ‘परमेश्‍वरले दुःखकष्ट किन रोक्नुभएको छैन?’ रोक्नुभएमा त्यो त अन्यायपूर्ण हुनेथियो अनि परमेश्‍वर विरुद्ध विद्रोह गरे पनि कुनै सजाय भोग्नुपर्दैन भन्‍ने भान पर्नेथियो जसले गर्दा त्यो विवाद झनै अस्पष्ट हुनेथियो। तसर्थ, यहोवाप्रति वफादार नहुँदा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा आइपरेका सबै अपराध र दुःखकष्टहरूलाई उहाँले रोक्ने काम गरिरहनुभएको छैन। a शैतानको रीतिरिवाज सफल हुन सक्छ र यसैमा आनन्दित पनि हुन सकिन्छ भन्‍ने झूटलाई यहोवाले कहिल्यै साथ दिनुहुने छैन! तर यहोवा ती घटनाहरूप्रति आँखा चिम्लेर त बस्नुभएको छैन। वास्तवमा, उहाँ अत्यन्तै सक्रिय हुनुभएको छ, जुन कुरा अब हामी हेर्नेछौं।

“मेरा पिताले अझसम्म काम गर्नुहुन्छ”

संसारमा भइरहेका घटनाहरूलाई परमेश्‍वरले हात बाँधेर हेरिरहनुभएको छैन भन्‍ने कुरा येशूका यी शब्दहरूबाट प्रस्ट हुन्छ। (यूहन्‍ना ५:१७) त्यसको साटो, अदनमा विद्रोह भएदेखि यता उहाँ अत्यन्तै व्यस्त हुनुभएको छ। उदाहरणका लागि, उहाँले बाइबल लेखकहरूलाई भविष्यमा आउने ‘सन्तानले’ शैतान र त्यसको पक्ष लिनेहरूलाई नष्ट गर्नेछ भन्‍ने भविष्यवाणी लिपिबद्ध गर्न प्रेरित गर्नुभयो। (उत्पत्ति ३:१५) त्यसको साथै, ती सन्तान मार्फत परमेश्‍वरले एउटा सरकार अर्थात्‌ स्वर्गीय राज्य स्थापना गर्नु हुनेथियो जसले आज्ञाकारी मानिसहरूमाथि आशिष्‌ ल्याउनुका साथै दुःखकष्टका सबै स्रोतहरू हटाउने छ, यहाँसम्म कि मृत्यु पनि।—उत्पत्ति २२:१८; भजन ४६:९; ७२:१६; यशैया २५:८; ३३:२४; दानियल ७:१३, १४.

ती अद्‌भुत प्रतिज्ञाहरू पूरा गर्न यहोवाले पृथ्वीमा एक जनालाई पठाउनुभयो। उहाँ परमेश्‍वरको राज्यको प्रमुख शासक हुनुहुनेथियो। ती व्यक्‍ति अरू कोही नभई परमेश्‍वरका पुत्र येशू ख्रीष्ट हुनुहुन्थ्यो। (गलाती ३:१६) परमेश्‍वरको उद्देश्‍य अनुरूप नै येशूले आफ्नो शिक्षालाई परमेश्‍वरको राज्यमा केन्द्रित गर्नुभयो। (लूका ४:४३) वास्तवमा, येशूले परमेश्‍वरको राज्यको राजाको हैसियतमा के गर्नु हुनेथियो भन्‍ने कुराको ज्वलन्त पूर्वझलक दिनुभयो। उहाँले हजारौं भोकाहरूलाई खुवाउनुभयो, बिरामी निको पार्नुभयो, मरेकालाई ब्यूँताउनुभयो र ठूलो हुरीलाई शान्त पारेर प्रकृतिको शक्‍तिमाथि समेत आफ्नो नियन्त्रण छ भनेर देखाउनुभयो। (मत्ती १४:१४-२१; मर्कूस ४:३७-३९; यूहन्‍ना ११:४३, ४४) येशूबारे बाइबल यसो भन्छ: “परमेश्‍वरका जुनसुकै प्रतिज्ञाहरू पनि उहाँमा ‘हो’ नै भनिएका छन्‌।”—२ कोरिन्थी १:२०.

परमेश्‍वरबाट तर्किएको र शैतानले शासन गरेको यस ‘संसारबाट’ निस्केर आउनू भन्‍ने येशूको कुरा सुन्‍नेहरूलाई यहोवाको परिवारको भाग हुन बोलाइएको छ। (यूहन्‍ना १५:१९) साँचो मसीहीहरूको यो विश्‍वव्यापी परिवार प्रेमले बाँधिएको छ, शान्तिमा रहन प्रतिबद्ध छ अनि पूर्वाग्रह र जातीयताको छनक मात्र पनि हटाउन कटिबद्ध छ।—मलाकी ३:१७, १८; यूहन्‍ना १३:३४, ३५.

साँचो मसीहीहरूले वर्तमान संसारलाई समर्थन गर्नुको साटो मत्ती २४:१४ मा लिपिबद्ध येशूको आज्ञा मान्दै परमेश्‍वरको राज्यको समर्थन र घोषणा गर्छन्‌। यी कुराबारे सोच्नुहोस्‌: कसले ‘राज्यको सुसमाचार’ विश्‍वभरि प्रचार गर्छन्‌? विश्‍वव्यापी आध्यात्मिक परिवारको हैसियतमा को चाहिं युद्ध र विभाजन ल्याउने राष्ट्रिय तथा जातीय विवादहरूमा मुछिंदैनन्‌? अनि कसले परमेश्‍वरको वचनको निर्देशनअनुसार आफ्नो आचरण परिवर्तन गर्छन्‌ चाहे त्यसका उच्च स्तरहरू लोकप्रिय होस्‌ या नहोस्‌? (१ यूहन्‍ना ५:३) यी कुराहरू यहोवाका साक्षीहरूले गरिरहेका धेरैले देखेका छन्‌। यसको प्रमाण तपाईं आफै केलाउनुहोस्‌।

परमेश्‍वरको शासनको पक्ष लिनुहोस्‌!

परमेश्‍वरबाट तर्किएका र शैतानद्वारा बहकिएका मानिसजातिले यस संसारमा दुःख र निराशा झन-झन्‌ फस्टाउने रीतिरिवाज बनाएका छन्‌। यहाँसम्म कि पृथ्वीलाई समेत हानि पुगिरहेको छ। अर्कोतर्फ, यहोवाले स्वर्गीय सरकार स्थापना गर्नुभएको छ जसले लाखौंको जीवनलाई सुधारेको छ र प्रत्येकलाई एउटा निश्‍चित आशा दिएको छ। (१ तिमोथी ४:१०) तपाईं कुन चाहिं छान्‍नुहुन्छ?

निर्णय गर्ने समय अहिल्यै हो किनभने परमेश्‍वरले शैतान र त्यसको दुष्ट संसारलाई सधैंभरि रहिरहन दिनुहुने छैन। परमेश्‍वरले यस पृथ्वीलाई प्रमोदवन बनाउने सुरुको आफ्नो उद्देश्‍य बदल्नुभएको छैन। त्यो उद्देश्‍य पूरा गर्न परमेश्‍वरको राज्य र यसलाई समर्थन गर्नेहरू झन्‌-झन्‌ बलियो हुँदै जानेछन्‌ भने शैतानको नियन्त्रणमा भएको संसारले चाहिं परमेश्‍वरले त्यसको अन्त नगरुञ्जेल झन्‌ झनै “कष्ट” भोग्नेछ। (मत्ती २४:३, ७, ८) तसर्थ, तपाईंले इमानदारीसाथ “किन?” भनेर परमेश्‍वरलाई बिलौना पोखाउनुभएको छ भने, सान्त्वना र आशा दिने बाइबल सन्देशप्रति विश्‍वस्त भएर उहाँको कुरा सुन्‍नुहोस्‌। अहिले पनि, तपाईंको दुःखको आँसु हर्षको आँसुमा परिणत हुन सक्छ।—मत्ती ५:४; प्रकाश २१:३, ४.(g 11/06)

[फुटनोटहरू]

a परमेश्‍वरले समय समयमा मानिसहरूको कामकुरोमा हस्तक्षेप गर्नुभए तापनि उहाँले ती कार्यहरू वर्तमान रीतिरिवाजको समर्थनमा गर्नुभएको छैन। बरु, ती कार्यहरू उहाँको उद्देश्‍य पूरा गर्नुसित सम्बन्धित छन्‌।—लूका १७:२६-३०; रोमी ९:१७-२४.

[पृष्ठ ७-मा भएका चित्र]

मानव शासनले ल्याएको परिणामसित के तपाईं सन्तुष्ट हुनुहुन्छ?

[स्रोतहरू]

Baby: © J. B. Russell/Panos Pictures; crying woman: © Paul Lowe/Panos Pictures

[पृष्ठ ८-मा भएका चित्र]

येशूले प्रमोदवन पुनर्स्थापना गर्नुहुनेछ र मरेकालाई समेत ब्यूँताउनुहुनेछ