सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मायाप्रीती बसिसक्यो भन्दैमा विवाहअघि नै यौन सम्बन्ध राख्नु जायज हो?

मायाप्रीती बसिसक्यो भन्दैमा विवाहअघि नै यौन सम्बन्ध राख्नु जायज हो?

बाइबल के भन्छ

मायाप्रीती बसिसक्यो भन्दैमा विवाहअघि नै यौन सम्बन्ध राख्नु जायज हो?

किशोरकिशोरीमाझ गरिएको एउटा सर्वेक्षणमा झन्डै ९० प्रतिशतले दुई व्यक्‍तिबीच मायाप्रीती छ भने विवाहअघि यौन सम्बन्ध राख्नु गलत होइन भन्‍ने धारणा व्यक्‍त गरे। यस्तै धारणा पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा पनि पाइन्छ र अक्सर तिनीहरूले यो स्वीकार्य नै ठान्छन्‌। टेलिभिजन कार्यक्रम तथा फिल्महरूमा पनि दुई व्यक्‍तिबीच मायाप्रीती छ भने यौन सम्बन्ध राख्नु सामान्य कुरा हो भनेर देखाइन्छ।

तर परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहनेहरू डोऱ्‍याइको लागि संसारमा भर पर्दैनन्‌ किनभने यस संसारको सोचाइ यसको शासकको जस्तै छ भनी तिनीहरूलाई थाह छ। (१ यूहन्‍ना ५:१९) “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ” भनी थाह भएकोले तिनीहरू आफ्ना भावनाहरूको लहलहैमा लाग्नदेखि पनि होसियार हुन्छन्‌। (यर्मिया १७:९) बरु, बुद्धिमान्‌ व्यक्‍तिहरू डोऱ्‍याइको लागि सृष्टिकर्ता र उहाँको प्रेरित वचन बाइबलमा भर पर्छन्‌।—हितोपदेश ३:५, ६; २ तिमोथी ३:१६.

यौन, परमेश्‍वरबाटको वरदान

याकूब १:१७ मा यसो भनिएको छ: “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ।” परमेश्‍वरले दिनुभएका ती अनमोल वरदानहरूमध्ये एउटा, विवाहित जोडीबीचको यौन सम्बन्ध पनि हो। (रूथ १:९; १ कोरिन्थी ७:२, ७) यो सम्बन्ध राखेर नै मानिसहरूले सन्तान जन्माउन सक्छन्‌। साथै यसले पति-पत्नीलाई शारीरिक र भावनात्मक तवरमा कोमल अनि आनन्ददायी तरिकाले नजिक हुन मदत गर्छ। प्राचीन समयका राजा सुलेमानले यस्तो लेखे: “तेरो युवावस्थाकी पत्नी[सित] . . . तँ सुखी हो। . . . त्यसकै वक्षमा तँ सन्तुष्ट बन्‌।”—हितोपदेश ५:१८, १९.

हो, यहोवा उहाँले दिनुभएको वरदानबाट हामी लाभान्वित र आनन्दित भएको चाहनुहुन्छ। त्यसैकारण उहाँले हामीलाई सबैभन्दा उत्तम नियम र सिद्धान्तहरू पनि दिनुभएको छ। (भजन १९:७, ८) यहोवाले ‘हाम्रो फायदाको निम्ति हामीलाई सिकाउनुहुन्छ र हामी जाने बाटोमा हामीलाई डोऱ्‍याउनुहुन्छ।’ (यशैया ४८:१७) हाम्रा स्वर्गमा हुनुहुने पिता जो प्रेमको मूर्त रूप हुनुहुन्छ, के उहाँले हामीलाई कुनै असल कुराबाट वञ्चित गर्नु होला र?—भजन ३४:१०; ३७:४; ८४:११; १ यूहन्‍ना ४:८.

विवाहअघि यौन सम्बन्ध राख्नु मायालु कुरा होइन

पुरुष र स्त्री विवाह बन्धनमा बाँधिएपछि तिनीहरू “एउटै शरीर” भए सरह हुन्छन्‌। दुई अविवाहित व्यक्‍तिले यौन सम्बन्ध राख्दा पनि तिनीहरू “एउटै जीउ” त हुन्छन्‌ तर त्यो परमेश्‍वरको नजरमा अशुद्ध ठहरिन्छ। त्यस्तो सम्बन्धलाई व्यभिचार भनिन्छ। a त्यसबाहेक त्यस्तो सम्बन्धलाई मायालु भन्‍न मिल्दैन। किन?—मर्कूस १०:७-९; १ कोरिन्थी ६:९, १०, १६.

एउटा कारण त, व्यभिचार भनेको साँचो वचनबद्धताविना राखिने यौन सम्बन्ध हो। यसले गर्दा आत्म-सम्मान त गुम्छ नै साथै यौनजन्य रोग, नचाहेको गर्भधारण र भावनात्मक पीडा खप्नुपर्ने हुन सक्छ। सबैभन्दा महत्त्वपूर्ण त यसले परमेश्‍वरका धार्मिक स्तरहरू उल्लंघन गर्छ। तसर्थ, व्यभिचारीले अर्को व्यक्‍तिको अहिले र पछिको हित अनि आनन्दलाई पूर्णतया बेवास्ता गरिरहेको हुन्छ।

मसीहीको लागि व्यभिचारमा फस्नु भनेको आफ्नो आध्यात्मिक भाइ वा बहिनीको अधिकार हनन गर्नु पनि हो। (१ थिस्सलोनिकी ४:३-६) उदाहरणका लागि, परमेश्‍वरको सेवक भनी दाबी गर्ने तर आफ्नो पति वा पत्नीबाहेक अरूसित यौन सम्बन्ध राख्ने व्यक्‍तिले मसीही मण्डलीलाई अशुद्ध तुल्याइरहेको हुन्छ। (हिब्रू १२:१५, १६) साथै, व्यभिचारमा फस्ने अर्को व्यक्‍तिलाई पनि उसले स्वच्छ नैतिक स्तर कायम राख्नदेखि वञ्चित गर्छ। अझ, उक्‍त व्यक्‍ति अविवाहित हो भने त नैतिक तवरमा स्वच्छ भएर विवाह बन्धनमा बाँधिने अर्को व्यक्‍तिको अधिकार समेत उसले हनन गर्छ। उसले आफ्नो परिवार र आफूसित व्यभिचारमा मुछिएको अर्को व्यक्‍तिको परिवारको नाउँ पनि बदनाम गरिदिन्छ। सबैभन्दा महत्त्वपूर्ण त, तिनीहरूले परमेश्‍वरलाई बेवास्ता गरिरहेका हुन्छन्‌ र उहाँको धार्मिक स्तर तथा सिद्धान्तहरू उल्लंघन गरेर उहाँलाई दुःखित तुल्याइरहेका हुन्छन्‌। (भजन ७८:४०, ४१) त्यस्ता खराब काम गर्ने अपश्‍चात्तापीहरू सबैलाई यहोवाले “बदला लिनुहुन्छ।” (१ थिस्सलोनिकी ४:६) त्यसैकारण बाइबलले “व्यभिचारदेखि अलग रहो” भनी हामीलाई भन्‍नु के कुनै छक्क लाग्दो कुरा हो र?—१ कोरिन्थी ६:१८.

के तपाईंको कसैसित माया बसेको छ र विवाह गर्ने तरखरमा हुनुहुन्छ? त्यसोभए विवाहपूर्वको भेटघाटलाई आपसी विश्‍वास र आदर बढाउँदै लैजाने अवसरको रूपमा किन नलिने? एकछिन सोच्नुहोस्‌ त: संयममा रहन नसक्ने पुरुषलाई कुनै स्त्रीले कसरी पूर्णतया भरोसा गर्न सक्ली? अनि आफ्नो रोमान्टिक रुचिहरू पूरा गर्न वा केटालाई खुसी पार्न परमेश्‍वरको व्यवस्था उल्लंघन गर्ने स्त्रीलाई के कुनै पुरुषले सजिलै आदर र कदर गर्न सक्ला?

यो कुरा पनि नबिर्सनुहोस्‌ कि परमेश्‍वरका मायालु स्तरहरू बेवास्ता गर्नेहरूले जे रोप्तछन्‌ त्यसैको कटनी गर्नेछन्‌। (गलाती ६:७) बाइबल यसो भन्छ, “व्यभिचार गर्नेले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।” (१ कोरिन्थी ६:१८; हितोपदेश ७:५-२७) हुन त, विवाहअघि नै यौन सम्बन्ध राखेको जोडीले साँचो पश्‍चात्ताप गर्छ र यहोवासितको आफ्नो सम्बन्ध सुधार्ने प्रयास गर्दै आपसी भरोसालाई बलियो बनाउँछ भने तिनीहरूको दोषी भावनाहरू अन्ततः कम हुँदै जान सक्छ। तैपनि विगतमा गरेको गल्तीले अक्सर कता-कता घोचिरहन सक्छ। विवाहअघि नै व्यभिचारमा फसेको एउटा जोडी अहिले एकदमै पछुतो गर्छन्‌। ‘हाम्रो विवाहको सुरुवात नै त्यस्तो नराम्रो घटनाबाट भएकोले अहिले हामीबीच झगडा भइरहेको हो कि’ जस्तो लाग्छ भनी पतिचाहिंले बताए।

साँचो प्रेम निस्वार्थ हुन्छ

साँचो प्रेममा रोमान्टिक भावनाहरू हुन सक्ने भए तापनि यो “बेकायदासाथ चल्दैन” वा यसले “आफ्नै भलाइ खोज्दैन।” (१ कोरिन्थी १३:४, ५) बरु, यसले अर्को व्यक्‍तिको हित र अनन्त आनन्दमा ध्यान दिन्छ। त्यस्तो प्रेमले पुरुष र स्त्रीलाई एकअर्काको आदर गर्न र यौनलाई परमेश्‍वरले तोक्नुभएको उचित स्थान अर्थात्‌ विवाह बन्धनमै सीमित राख्न उत्प्रेरित गर्छ।—हिब्रू १३:४.

सुखमय वैवाहिक जीवनको लागि आवश्‍यक विश्‍वास र सुरक्षाको अनुभूति बच्चा जन्मेपछि झनै महत्त्वपूर्ण हुन्छ। किनभने परमेश्‍वरले बच्चाहरू मायालु र सुरक्षित वातावरणमा हुर्किउन्‌ भन्‍ने उद्देश्‍य राख्नुभएको थियो। (एफिसी ६:१-४) विवाह बन्धनमा मात्रै दुई व्यक्‍ति साँच्चै आपसमा वचनबद्ध हुन्छन्‌। तिनीहरूले मनभित्रदेखि नै एकअर्काका तीता-मीठा क्षणहरूमा हेरचाह र सहयोग गर्ने संकल्प गर्छन्‌ जुन तिनीहरूले अक्सर मौखिक रूपमा पनि व्यक्‍त गर्छन्‌।—रोमी ७:२, ३.

पति-पत्नीबीचको यौन सम्बन्धले तिनीहरूको बन्धनलाई बलियो बनाउन सक्छ। साथै, सुखमय वैवाहिक जीवनमा यौन सम्बन्ध झन्‌ आनन्दमय र अर्थपूर्ण भएको अनुभव जोडीहरूले गर्छन्‌। यसरी यौन सम्बन्धलाई विवाह बन्धनमा मात्र सीमित राख्दा यसको मर्यादालाई कायम राख्न सकिन्छ, अन्तस्करण घोच्दैन र सृष्टिकर्ताको आज्ञा पनि उल्लंघन हुँदैन। (g 11/06)

[फुटनोट

a “व्यभिचार” भनी अनुवाद गरिएको युनानी शब्दले विवाहबाहिर गरिने सबै प्रकारका यौन क्रियाकलापलाई बुझाउँछ जसमा मुखमैथुनलगायत यौन अङ्‌गहरूको अनुचित प्रयोग समावेश छन्‌।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित अगस्त ८, २००४, ब्यूँझनुहोस्‌!-को पृष्ठ १२फेब्रुअरी १५, २००४, प्रहरीधरहरा-को पृष्ठ १३ हेर्नुहोस्‌।

के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?

विवाहअघि यौन सम्बन्ध राख्नुबारे परमेश्‍वरको दृष्टिकोण कस्तो छ?—१ कोरिन्थी ६:९, १०.

◼ व्यभिचार हानिकारक छ, किन?—१ कोरिन्थी ६:१८.

◼ मायाप्रीती बसिसकेको दुई व्यक्‍तिले साँचो प्रेम कसरी देखाउन सक्छन्‌?—१ कोरिन्थी १३:४, ५.