सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ भाषा सिक्न असम्भव छैन!

नयाँ भाषा सिक्न असम्भव छैन!

नयाँ भाषा सिक्न असम्भव छैन!

“यो जत्तिको रमाइलो त कहिल्यै भएको थिएन,” माइक भन्छन्‌। फेल्प्स्‌ पनि यसरी सहमति जनाउँछन्‌, “मैले जीवनमा गरेका सही निर्णयहरूमध्ये यो पनि हो।” दुवैले अर्को भाषा सिक्दाको रोचक अनुभवबारे बताइरहेका थिए।

संसारभरि थुप्रै मानिसले नयाँ भाषा सिकिरहेका छन्‌। यसको विभिन्‍न कारण हुन सक्छन्‌। जस्तै: व्यक्‍तिगत कारण, पैसाको लागि वा धार्मिक उद्देश्‍य। विदेशी भाषा सिकिरहेका केही व्यक्‍तिहरूसित ब्यूँझनुहोस्‌! पत्रिकाले अन्तरवार्ता लिएको थियो। यस्ता प्रश्‍नहरू सोधिएका थिए: ठूलो भइसकेपछि नयाँ भाषा सिक्दा कस्तो अनुभव हुन्छ? सिक्न केले मदत गर्छ? यहाँ प्रस्तुत गरिएका विषयवस्तु तिनीहरूकै टिप्पणीमा आधारित छन्‌। यदि तपाईं नयाँ भाषा सिकिरहनुभएको छ वा नयाँ भाषा सिक्ने सोचमा हुनुहुन्छ भने यस लेखमा भएका कुराहरू तपाईंलाई प्रोत्साहनजनक र अर्थपूर्ण लाग्न सक्छ। अर्को भाषा सिक्न चाहनेहरूसित नभई नहुने केही महत्त्वपूर्ण गुणहरूबारे तिनीहरूले कस्तो टिप्पणी गरे, विचार गर्नुहोस्‌।

धैर्य, नम्रता र घुलमिल हुन सक्ने गुण

साना केटाकेटीहरूले आफूले सुनेको भरमा मात्रै एकैचोटिमा दुइटा वा त्योभन्दा बढी भाषा सिक्न सक्छन्‌। तर ठूलाहरूलाई भने त्यति सजिलो हुँदैन। एउटा कुरा त, नयाँ भाषा सिक्न धेरै समय लाग्ने हुँदा धैर्य चाहिन्छ। अनि आफ्नै नियमित कामकुरामा व्यस्त हुनुपर्ने भएकोले आफूले गर्न चाहेका अरू केही कुरालाई कहिलेकाहीं थाँती राख्नुपर्ने हुन सक्छ।

जर्ज भन्छन्‌, “नम्रता नभई हुँदैन। भाषाको राम्रो ज्ञान नहुँदा सानो बच्चाले जस्तो बोल्नुपर्ने अनि कुनै-कुनै अवस्थामा त सानो बच्चालाई जस्तो व्यवहार गरिंदा पनि सहेर बस्नुपर्ने हुन्छ।” विदेशी भाषा कसरी सिक्ने (हाउ टु लर्न अ फरेन ल्याङ्‌ग्वेज) भन्‍ने किताब यसो भन्छ: “नयाँ भाषा सिक्ने क्रममा साँच्चै प्रगति गर्न चाहनुहुन्छ भने आफूलाई बढ्‌तै महत्त्व दिनु हुँदैन अनि बेइज्जत होला कि भन्‍ने चिन्तालाई पन्छाउनुपर्छ।” गल्ती होला कि भनेर अचाक्ली चिन्ता नगर्नुहोस्‌। बेन भन्छन्‌, “नयाँ भाषा सिकिरहेकाहरूले बोल्दा त गल्ती भइहाल्छ नि।”

तपाईंले गल्ती गर्दा अरू हाँसे भने खिन्‍न नहुनुहोस्‌। बरु अरू सँगसँगै तपाईं पनि हाँस्नुहोस्‌! त्यो दिन पक्कै आउनेछ जब तपाईंले आफ्ना गल्तीहरूबारे हाँसउठ्‌दो अनुभव अरूलाई सुनाउनुहुनेछ। अनि प्रश्‍न सोध्न नहिचकिचाउनुहोस्‌। कुनै कुरा किन त्यसरी भनिन्छ भनेर बुझ्नुभयो भने पछिसम्म सम्झन सजिलो हुन्छ।

नयाँ भाषा सिक्नु भनेको अक्सर नयाँ रहनसहनबारे सिक्नु हो। त्यसकारण नयाँ वातावरणमा घुलमिल हुनु र संकुचित विचारधारा नराख्नु बेस हुन्छ। जुली यसो भन्छिन्‌: “अर्को भाषा सिक्दा एउटै कुरालाई विभिन्‍न दृष्टिकोणले हेर्न सिकें। साथै, एउटै कुरालाई विभिन्‍न तरिकाले गर्न सकिन्छ भनेर बुझें। अनि यसको मतलब एउटा तरिका अर्कोभन्दा राम्रो भन्‍ने होइन, केवल फरक तरिका हो।” जय यस्तो सुझाव दिन्छन्‌: “आफूले सिकिरहेको नयाँ भाषा बोल्ने मानिसहरूलाई साथी बनाउन अघि बढ्‌नुहोस्‌ अनि तिनीहरूसित रमाउनुहोस्‌।” हो, यस सन्दर्भमा मसीहीहरू होसियार हुनुपर्छ अनि साथी बनाउँदा राम्रो बोलीवचन गर्ने असल व्यक्‍तिहरू छान्‍नुपर्छ। (१ कोरिन्थी १५:३३; एफिसी ५:३, ४) जय अझ यसो भन्छन्‌: “अर्को भाषा बोल्ने व्यक्‍तिहरूप्रति अनि तिनीहरूको भोजन, तिनीहरूलाई मनपर्ने संगीत इत्यादि कुरामा चासो देखाएपछि तिनीहरू तपाईंतर्फ सजिलै आकर्षित हुन्छन्‌।”

तपाईं नयाँ भाषा सिक्न जति समय बिताउनुहुन्छ अनि जति बढी बोल्नुहुन्छ, तपाईंको प्रगति त्यति नै छिटो हुनेछ। जर्ज भन्छन्‌: “भाषा सिक्नु भनेको कुखुराले चारा टिपेजस्तै दाना-दाना गरेर सिक्नु हो। एक-एक दाना हेर्ने हो भने, केही पनि होइन तर ती सबै जम्मा भएर धेरै बन्छ।” मिसनरी भएर विभिन्‍न भाषाहरू सिकेका बिल भन्छन्‌: “जहाँ जाँदा पनि शब्दहरूको सूची सँगै लिएर हिंड्‌थें अनि फुर्सत पाउनेबित्तिकै हेरिहाल्थें।” आकलझुकल गरेर एकै चोटि धेरै बेरसम्म पढ्‌नुभन्दा नियमित रूपमा थोरै समय पढ्‌नु प्रभावकारी भएको थुप्रैले अनुभव गरेका छन्‌।

नयाँ भाषा सिक्न प्रशस्त सामग्री उपलब्ध छन्‌। जस्तै, किताब, पत्रपत्रिका, रेकर्डिङ, सम्झनको लागि ससाना कार्ड। यी सुविधा भए तापनि व्यवस्थित ढंगमा कक्षा कोठामा सिक्दा थुप्रैले सजिलो महसुस गरेका छन्‌। तपाईंलाई जुन तरिका राम्रो लाग्छ, त्यसै गर्नुहोस्‌। तर एउटा कुरा नबिर्सनुहोस्‌, आफैले प्रयास नगरी अनि लगनशील नभई भाषा सिक्न सकिंदैन। तर सजिलो अनि रमाइलो गरी सिक्ने तरिकाहरू पनि छन्‌। एउटा हो, त्यो भाषा बोलिने ठाउँ र रहनसहनमा बढी समय बिताउने।

जर्ज यसो भन्छन्‌: “आधारभूत कुराहरू सिकेर अलिअलि बोल्न सक्ने भएपछि त्यही भाषा मात्र बोलिने ठाउँमा केही समय बिताउनु सबैभन्दा बेस हो।” यसमा सहमति जनाउँदै बार्ब भन्छिन्‌: “आफूले सिकिरहेको भाषा बोलिने देशको भ्रमण गर्दा त्यो भाषाको विशेषता र भाव बुझ्न सक्नुहुनेछ।” सबैभन्दा महत्त्वपूर्ण कुरा हो, यस्तो वातावरणमै बस्दा नयाँ भाषामा सोच्न थाल्नुहुनेछ। तर प्रायजसो मानिसहरू अर्को देशमा जान सक्ने अवस्थामा नहोलान्‌। तैपनि स्थानीय तवरमै नयाँ भाषा र रहनसहनमा भिज्ने मौकाहरू हुन सक्छन्‌। जस्तै: त्यो भाषाको किताब, पत्र-पत्रिका, रेडियो वा टिभी कार्यक्रम मसीहीहरूको नैतिक स्तरसित स्वीकार्य र लाभदायी छन्‌ भने त्यसको मदत लिन सक्नुहुन्छ। नयाँ भाषा राम्ररी बोल्ने व्यक्‍तिहरू खोज्नुहोस्‌ अनि तिनीहरूसित कुरा गर्नुहोस्‌। विदेशी भाषा कसरी सिक्ने भन्‍ने पुस्तक यसो भन्छ: “निचोडमा भन्‍ने हो भने, भाषा सिक्नको लागि त्यो भाषा बोल्नुबाहेक अर्को उपाय छैन।” a

थप प्रगति गर्न नसक्दा

भाषा सिक्दै जाँदा तपाईंलाई कहिलेकाहीं थप प्रगति गर्न नसकेर जहाँको तहीं भएजस्तो लाग्न सक्छ। यस्तो लाग्यो भने के गर्न सक्नुहुन्छ? पहिलो, सुरुमा नयाँ भाषा सिक्नुको उद्देश्‍य के हो, त्यो विचार गर्नुहोस्‌। यहोवाका थुप्रै साक्षीहरूले अरूलाई बाइबलबारे सिकाउन नयाँ भाषा सिकिरहेका छन्‌। नयाँ भाषा सिक्नुको लक्ष्य वा उद्देश्‍यलाई विचार गर्दा तपाईंको संकल्प बलियो हुन सक्छ।

दोस्रो, व्यावहारिक आशा गर्नुहोस्‌। विदेशी भाषा कसरी सिक्ने किताब यसो भन्छ: “रैथानेले जस्तो त कहिल्यै बोल्न सक्नुहुन्‍न होला। र यो तपाईंको उद्देश्‍य पनि होइन। तपाईं केवल आफूले बोलेको अरूले बुझोस्‌ भन्‍ने चाहनुहुन्छ।” त्यसकारण आफ्नो मातृभाषा जत्तिकै फरर्र बोल्न सकिनँ भनेर दिक्क नमान्‍नुहोस्‌। बरु आफूले जति सिकेको छ, त्यो चलाएर स्पष्टसित बोल्न सक्नुहुन्छ कि सक्नुहुन्‍न, त्यसमा ध्यान दिनुहोस्‌।

तेस्रो, भाषा सिक्ने क्रममा तपाईंले गर्नुभएका उल्लेखनीय प्रगतिलाई फर्केर हेर्नुहोस्‌। भाषा सिक्नु भनेको घाँस बढेको हेर्नुजस्तै हो। घाँस बढेको तपाईं देख्न सक्नुहुन्‍न तर प्रत्येक दिन घाँस झन्‌-झन्‌ अल्गो भइरहेको हुन्छ। त्यसरीनै, आफूले सुरुमा सिक्न थालेको समयलाई विचार गर्नुभयो भने तपाईंले कत्तिको प्रगति गरिसक्नुभएको रहेछ, पक्कै थाह पाउनुहुनेछ। अरूसित आफूलाई तुलना नगर्नुहोस्‌। हामीले पछ्याउनुपर्ने राम्रो सिद्धान्त बाइबलको गलाती ६:४ मा पाइन्छ। त्यहाँ यसो भनिएको छ: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।”

चौथो, भाषा सिक्ने प्रक्रियालाई एउटा दीर्घकालीन लगानीजस्तो ठान्‍नुहोस्‌। यो कुरा विचार गर्नुहोस्‌: बोल्ने सन्दर्भमा तीन/चार वर्षको बच्चा कत्तिको सिपालु हुन्छ? के उसले सबै व्याकरण चट्ट मिलाएर गाह्रो-गाह्रो शब्दहरू चलाउँछ र? कहाँ सक्नु र! तैपनि आफूले के भन्‍न खोजेको हो, त्यो सजिलो भाषामा बताउन सक्छ। हेर्नुस्‌ त, सानो बच्चालाई पनि भाषा सिक्न केही वर्ष त लाग्छ नै।

पाँचौं, नयाँ भाषा सकेसम्म बढी प्रयोग गर्नुहोस्‌। बेन भन्छन्‌, “सधैं नयाँ भाषा नबोलेको हुँदा आफू जहाँको तहीं भएजस्तो लाग्यो।” त्यसकारण नयाँ भाषामा कुरा गरिरहनुहोस्‌। आफूले सिकिरहेको भाषामा बोल्न कहिल्यै नछोड्‌नुहोस्‌! एउटा सानो बच्चाको जति मात्र शब्द भण्डार भएकोले आफूले चाहेको सबै कुरा व्यक्‍त गर्न नसक्दा दिक्क लाग्नु त स्वाभाविकै हो। मिलेभी भन्छिन्‌: “चाहेको बेलामा चाहिएको कुरा भन्‍न नसक्दा सबैभन्दा निराश हुन्छु।” तर त्यही निराशाले नै तपाईंलाई हरेश नखाने उत्प्रेरणा दिन सक्छ। माइक पहिलाको कुरा सम्झँदै यसो भन्छन्‌: “मानिसहरूले सुनाउने कथा र जोक नबुझ्दा साह्रै नमज्जा लाग्थ्यो। मलाई लाग्छ, त्यसरी नमज्जा लागेकोले नै होला, मैले अझ मेहनत गर्ने हौसला पाएँ।”

अरूले गर्न सक्ने मदत

भाषा राम्ररी जान्‍नेहरूले भर्खरै सिकिरहेकाहरूलाई कसरी मदत गर्न सक्छन्‌? बिल यस्तो सुझाव दिन्छन्‌: “बिस्तारै तर सही किसिमले बोल्नुहोस्‌, बच्चासित बोलेको जस्तो नगर्नुहोस्‌।” जुली भन्छिन्‌: “धैर्य गर्नुहोस्‌। उसले केही भन्‍न खोज्दा, गाह्रै भए पनि उसैलाई वाक्य पूरा गर्न दिनुहोस्‌।” टोनी भन्छन्‌: “दुइटै भाषा बोल्ने मानिसहरू मसित अक्सर मेरै मातृभाषामा बोल्न खोज्छन्‌। तर त्यसो गर्दा वास्तवमा मेरो प्रगति भएन।” त्यसैले, भाषा सिकिरहेका कोही-कोहीले आफ्ना साथीहरूलाई कुनै-कुनै बेला नयाँ भाषा मात्रै चलाउन अनि सुधार्नुपर्ने पक्षहरू औंल्याइदिन आग्रह गरेका छन्‌। भित्री मनले साँचो प्रशंसा गरिएको सुन्‍न पाउँदा भाषा सिक्न संघर्ष गरिरहेकाहरू मक्ख पर्छन्‌। जर्ज भन्छन्‌: “मेरा साथीभाइको माया र प्रोत्साहन नपाएको भए मैले कहाँ सिक्न सक्थें र!”

उसोभए, नयाँ भाषा सिक्न गरेको प्रयास बेकार जान्छ त? “पटक्कै जाँदैन” भनी बिल बताउँछन्‌ जो विभिन्‍न भाषा बोल्न सक्छन्‌। तिनी भन्छन्‌: “यसले गर्दा जिन्दगीमा संकुचित धारणा नराख्न र एउटै कुरालाई विभिन्‍न दृष्टिकोणबाट हेर्न सकेको छु। खास गरी, आफूले सिकेको भाषा बोल्ने मानिसहरूसित बाइबल अध्ययन गर्न सक्दा अनि तिनीहरूले सत्य अँगालेर आध्यात्मिक प्रगति गरेको देख्दा आफ्नो प्रयासले ठूलो इनाम पाएको महसुस गर्छु। बाह्रवटा भाषा बोल्न खप्पीस व्यक्‍तिले एक चोटि मलाई यसो भने: ‘मलाई तपाईंको डाह लाग्छ। म त केवल रमाइलोको लागि नयाँ भाषा सिक्छु तर तपाईं भने मानिसहरूलाई मदत गर्न सिक्नुहुन्छ।’ ” (g 3/07)

[फुटनोट]

[पृष्ठ -मा भएको ठूलो अक्षरको क्याप्सन]

अरूलाई मदत गर्ने इच्छा राखेर नयाँ भाषा सिक्नु एकदमै बलियो उत्प्रेरणा हो