सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

रोगबिमार मुक्‍त संसार!

रोगबिमार मुक्‍त संसार!

रोगबिमार मुक्‍त संसार!

धेरैजसो मानिसहरू स्वर्गमा गएपछि हर प्रकारको पीडा अनि रोगबिमारबाट मुक्‍त हुनेछ भन्‍ने आशा गर्छन्‌। धेरैको विश्‍वास यस्तो भए तापनि बाइबलले भने मानिसहरू यसै रमणीय पृथ्वीमा बाँच्नेछन्‌ भनी बताउँछ। (भजन ३७:११; ११५:१६) बाइबलको प्रतिज्ञाअनुसार भविष्यमा सुस्वास्थ्य, सुखशान्ति र अनन्त जीवन सम्भव हुनेछ।

हामी किन बिरामी हुन्छौं र मर्छौं? अनि रोगबिमार मुक्‍त संसार कसरी सम्भव हुनेछ? बाइबलले यी प्रश्‍नहरूको जवाफ दिन्छ।

बिरामी हुनुको मुख्य कारण हाम्रा प्रथम मातापिता, आदम र हव्वा पूर्णतया स्वस्थ सृष्टि गरिएका थिए। (उत्पत्ति १:३१; व्यवस्था ३२:४) तिनीहरू सधैंभरि पृथ्वीमा बस्न बनाइएका थिए। जानाजानी परमेश्‍वरको विद्रोह गरेपछि तिनीहरूको शरीर कमजोर भयो र रोग लाग्ने भयो। (उत्पत्ति ३:१७-१९) परमेश्‍वरको अख्तियार तिरस्कार गरेर तिनीहरूले आफ्नो सिद्ध जीवनको स्रोत, सृष्टिकर्तासितको सम्बन्ध बिगारे। यसपछि तिनीहरू असिद्ध भए। फलस्वरूप तिनीहरू बिरामी भए र मरे। यस्तो हुनेछ भनेर परमेश्‍वरले पहिल्यै भनिसक्नुभएको थियो।—उत्पत्ति २:१६, १७; ५:५.

विद्रोह गरेपछि आदम र हव्वाले आफ्ना सन्तानलाई पाप र मृत्यु मात्र दिन सके। (रोमी ५:१२) यसअघिको लेखमा बताइएझैं मानिस बिरामी हुनु र मर्नुको पछाडि कुनै जन्मजात गडबडी हुनुपर्छ भनेर अहिले वैज्ञानिकहरूले बुझेका छन्‌। व्यापक अनुसन्धान गरिसकेपछि वैज्ञानिकहरूको एउटा समूह हालै यस्तो निष्कर्षमा पुग्यो: “मानव संरचनाको एउटा अकाट्य सत्य हो: जीवन चक्र सुरु हुने बित्तिकै जीवनको अन्त्य पनि सुरु हुन थाल्छ।”

मानव प्रयासद्वारा होइन रोगबिमार विरुद्धको युद्धमा विज्ञानले ठूलठूला उपलब्धि हासिल गरेको छ। तर रोग लाग्नुको मुख्य कारण पूर्णतया बुझ्न र त्यसलाई हटाउन भने विज्ञानलाई धौ-धौ परिरहेको छ। यसमा बाइबल विद्यार्थीहरू छक्क पर्दैनन्‌ किनभने उनीहरूलाई परमेश्‍वरको प्रेरित वचनले के भन्छ, सो राम्ररी थाह छ। बाइबल यसो भन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।”—भजन १४६:३.

बाइबलले भनेझैं “मानिसहरूलाई असम्भव हुने कुराहरू परमेश्‍वरलाई सम्भव छ।” (लूका १८:२७) रोगबिमारको कारणलाई यहोवा परमेश्‍वरले रोक्न सक्नुहुन्छ। उहाँले हाम्रा सबै रोगव्याधि निको पार्नुहुनेछ। (भजन १०३:३) उहाँको प्रेरित वचन यस्तो प्रतिज्ञा गर्छ: “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

तपाईंले गर्नुपर्ने कुरा भविष्यमा रोगबिमार मुक्‍त संसारमा बस्न हामीले के गर्नुपर्छ भनेर येशू ख्रीष्टले स्पष्टसित बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

परमेश्‍वरको ज्ञान र उहाँको पुत्र येशूका शिक्षाहरू बाइबलमा पाइन्छ। यो ज्ञानले अहिले हाम्रो जीवन उकास्ने व्यावहारिक बुद्धि पनि दिन्छ। साथै, परमेश्‍वरले आफ्ना आज्ञाकारी उपासकहरूका लागि पीडा मुक्‍त संसारको प्रतिज्ञा गर्नुभएको छ। हो, त्यतिबेला परमेश्‍वरले बताउनुभएझैं कसैले पनि “म बिरामी परें” भन्‍नेछैन!—यशैया ३३:२४. (g 1/07)

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

स्वास्थ्यप्रति सन्तुलित दृष्टिकोण

बाइबलले जीवनको आदर गर्न प्रोत्साहन दिन्छ। आफ्नो स्वास्थ्यको हेरचाह गर्न सक्दो गरेर यहोवाका साक्षीहरूले जीवनप्रति आदर देखाउँछन्‌। तिनीहरू अस्वस्थकर आनीबानीबाट परै बस्छन्‌। जस्तै: लागू पदार्थको दुरुपयोग अनि धूम्रपान गर्दैनन्‌। परमेश्‍वर आफ्ना उपासकहरू खानपानको सन्दर्भमा संयमित भएको चाहनुहुन्छ। (हितोपदेश २३:२०; तीतस २:२, ३) यस्ता व्यावहारिक कदम चाल्नुका साथै पर्याप्त आराम र व्यायाम गर्दा थुप्रै स्वास्थ्य समस्याहरू हतपती हुँदैनन्‌ वा तीबाट पूरै जोगिन सकिन्छ। रोगबिमार भोगिरहेकाहरूलाई भने भरपर्दो स्वास्थ्य विशेषज्ञको मदत चाहिन सक्छ।

बाइबलले व्यावहारिक हुन तथा “आत्म-संयम” विकास गर्न प्रोत्साहन दिन्छ। (तीतस २:१२; फिलिप्पी ४:५) आज थुप्रैले अनेकन्‌ उपचारको धुनमा लागेर परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई नै खतरामा पारेका छन्‌। कोही-कोही भने हानि हुने शंकास्पद उपचार गराउँछन्‌। अरू कतिपयले भने केही फाइदा नपुऱ्‍याउने वा हानिकारक समेत हुन सक्ने उपचारमा पैसा र समय खर्च गर्छन्‌।

यथार्थ कुरा के हो भने, अहिले पूर्णतया स्वस्थ हुन असम्भव छ। रोगबिमार नहुने संसारको प्रतीक्षा गर्दै बाइबलमा पाइने बुद्धि र व्यावहारिक ज्ञान प्रयोग गऱ्‍यौं भने सुस्वस्थ रहने प्रयासमा सन्तुलित हुन सक्छौं।