सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विज्ञानले सबै रोगबिमार निको पार्न सक्ला?

विज्ञानले सबै रोगबिमार निको पार्न सक्ला?

विज्ञानले सबै रोगबिमार निको पार्न सक्ला?

संसारबाट विज्ञानले सबै रोगबिमार हटाउन सक्ला? के बाइबलका पुस्तकहरू यशैया र प्रकाशमा गरिएका भविष्यवाणीहरूले रोगबिमार मुक्‍त संसार मानिसले नै ल्याउनेछ भनेर संकेत गर्छ र? अहिले स्वास्थ्य जगत्‌मा भइरहेका उपलब्धिहरूलाई विचार गर्दा कसै-कसैलाई विज्ञानले नै रोगबिमार मुक्‍त संसार ल्याउनेछ जस्तो लाग्ला।

रोगबिमार निर्मूल गर्न सरकार तथा निजी क्षेत्र अहिले संयुक्‍त राष्ट्रसंघसित मिलेर काम गरिरहेका छन्‌। उनीहरूले पहिला कहिल्यै नगरिएको अनुपातमा व्यापक अभियान थालेका छन्‌। जस्तै: विकासशील देशका बालबालिकाहरूलाई खोप दिन संयुक्‍त प्रयास गरिरहेका छन्‌। यसरी थुप्रै देशको लागि तय गरिएको लक्ष्य प्राप्त गर्ने हो भने, संयुक्‍त राष्ट्र बालकोषको तथ्याङ्‌कअनुसार “संसारका सबैभन्दा गरिब देशहरूमा बस्ने ७ करोडभन्दा बढी बालबालिकाहरूले सन्‌ २०१५ सम्ममा निम्न रोगहरू विरुद्ध खोप लगाइसकेका हुनेछन्‌: टिबी, भ्यागुते रोग, टिटानस, लहरे खोकी, दादुरा, रुबेला (यो पनि एक किसिमको दादुरा नै हो), पीत ज्वरो, हेमोफिलस इन्फ्लुएन्जा टाइप बी, हेपाटाइटिस बी, पोलियो, रोटाभाइरस, निमोनिया, मेनिन्जाइटिस र जापानिज इन्सेफलाइटिस।” स्वस्थ रहनको लागि चाहिने आधारभूत कुराहरू, जस्तै पर्याप्त सफा पानी, पोसिलो भोजन उपलब्ध गराउन र व्यक्‍तिगत सरसफाइजस्ता कुराहरू सिकाउन पनि प्रयास गरिंदैछ।

तर वैज्ञानिकहरू भने मानिसहरूलाई आधारभूत स्वास्थ्य सेवा मात्र नभई त्योभन्दा बढी दिने प्रयासमा छन्‌। अत्याधुनिक प्रविधिले चिकित्सा क्षेत्रमा आमूल परिवर्तन गर्दैछ। भनिन्छ, प्रत्येक आठ/आठ वर्षमा वैज्ञानिकहरूको चिकित्सासम्बन्धी ज्ञान दोब्बर हुँदैछ। तल केही उदाहरणहरू दिइएका छन्‌। यी त, रोग विरुद्ध लड्‌ने प्रयासमा भएका नविनतम प्रविधि र प्रस्तावित लक्ष्य मात्र हुन्‌।

एक्स-रे डाक्टर तथा अस्पतालहरूले सीटी स्क्यान प्रयोग गर्न थालेको ३० वर्षभन्दा बढी भइसक्यो। सीटी-को (CT) पूरा रूप कम्प्युटेड टोमोग्राफी हो। सीटी स्क्यान गर्ने उपकरणले हाम्रो शरीरभित्रका अंगहरूको त्रिआयामिक एक्स-रे निकाल्छ। यस्तो एक्स-रे हेरेर रोग पत्ता लगाउन अनि भित्री अंगहरूमा भएको गडबडी जाँच्न सजिलो हुन्छ।

हुन त सीटी स्क्यान गर्दा हुने विकिरणको असरबारे तर्कवितर्क नभएका होइनन्‌। तर यस प्रविधिको विकासलाई विचार गर्दा भविष्यमा यसबाट हुने लाभहरूबारे स्वास्थ्य विशेषज्ञहरू निकै आशावादी छन्‌। सिकागो हस्पिटल युनिभर्सिटी अन्तर्गत रेडियोलोजी संकायका प्राध्यापक माइकल भानीर यसो भन्छन्‌: “गत केही वर्षको दौडान जे-जति प्रगति भएका छन्‌, ती पत्याउनै नसकिने किसिमका छन्‌।”

सीटी स्क्यान गर्ने उपकरणहरू पहिलेभन्दा छिटो, बढी भरपर्दो अनि कम खर्चिलो भएका छन्‌। अहिले प्रयोग गरिने सीटी स्क्यान उपकरणको सबैभन्दा ठूलो फाइदा भनेको यसको गति हो अर्थात्‌ यसले एकदमै छिटो काम गर्छ। कति छिटो भन्‍ने कुरा मुटुको स्क्यान गर्दा देखिन्छ। मुटु सधैं ढुकढुक गरिरहने हुँदा प्रायजसो एक्स-रे धमिलो निक्लन्थ्यो जसले गर्दा मुटुमा ठ्याक्कै के भएको रहेछ भनेर हेर्न गाह्रो हुन्थ्यो। न्यु साइन्टिस्ट पत्रिकाले बताएअनुसार सीटी स्क्यान गर्ने नयाँ मेसिनहरूलाई “पूरै शरीरको चक्कर लाउन एक तिहाई सेकेण्ड मात्र लाग्छ र यो मुटुको एक धड्‌कनभन्दा छिटो हो।” यसले गर्दा एक्स-रे प्रस्ट निस्कन्छ।

यी नयाँ सीटी स्क्यान मेसिनको मदत लिएर डाक्टरहरूले शरीरभित्रका अंगहरू हेर्नुका साथै खास-खास ठाउँमा भइरहेको रासायनिक गतिविधि पनि जाँच्न सक्छन्‌। यसको प्रयोगले गर्दा सुरुको चरणमै क्यान्सर पत्ता लगाउन सम्भव हुन सक्छ।

रोबोटद्वारा गरिने शल्यक्रिया चिकित्सा जगत्‌मा हेर्ने हो भने, अत्याधुनिक किसिमका जटिल रोबोटहरू अब विज्ञानका किताबहरूमा मात्रै सीमित छैनन्‌। यस्ता रोबोटको सहयोग लिएर हजारौं शल्यक्रिया भइसकेका छन्‌। कुनै-कुनै अवस्थामा, डाक्टरहरूले रिमोट कन्ट्रोलको माध्यमद्वारा शल्यक्रिया गर्छन्‌ जसद्वारा रोबोटका हातहरू चाहेअनुसार चलाउन सकिन्छ। यी हातहरूले शल्यक्रियाको बेला ब्लेड, कैंची, क्यामेरा तथा अन्य उपकरणहरू चलाउँछन्‌। यो प्रविधिले गर्दा डाक्टरहरूले एकदमै जटिल शल्यक्रिया पनि ठ्याक्क मिलाएर गर्न सक्छन्‌। यसबारे न्युजवीक पत्रिका यस्तो टिप्पणी गर्छ: “यस्तो प्रविधि अपनाउने डाक्टरहरूले यो तरिका चलाउँदा बिरामीको रगत धेरै खेर नजाने, दुखाइ कम हुने, शल्यक्रियापछि त्यति समस्या नदेखिने, अस्पतालमा थोरै समय बिताए पुग्ने अनि चाँडै निको पनि हुने गरेको पाएका छन्‌।”

नानोमेडिसिन चिकित्सा जगत्‌मा नानोटेक्नोलजी अन्तर्गत गरिने उपचारलाई नानोमेडिसिन भनिन्छ। नानोटेक्नोलजी भनेको सूक्ष्म उपकरणहरू निर्माण र प्रयोग गरिने प्रविधि हो। नानोटेक्नोलजीको नाप्ने एकाइ नानोमिटर हो। एक नानोमिटर भनेको एक मिटरलाई एक अरब भाग लगाएर त्यसको एक भाग बराबर हो। a

नानो एकाइ कत्रो हुन्छ भनेर बुझ्नको लागि यी उदाहरणहरू विचार गर्नुहोस्‌। तपाईंले पढिरहनुभएको यो पाना १,००,००० नानोमिटर बाक्लो र तपाईंको एउटा केश ८०,००० नानोमिटर मोटो हुन्छ। एउटा रातो रक्‍तकोषको व्यास २,५०० नानोमिटर जति हुन्छ। एउटा ब्याक्टेरिया १,००० नानोमिटर र भाइरस १०० नानोमिटर लामो हुन्छ। एउटा डि एन ए-को व्यास २.५ नानोमिटर जति हुन्छ।

निकट भविष्यमा नै वैज्ञानिकहरूले, मानिसको शरीरभित्र उपचार गर्न अत्यन्तै ससाना मेसिनहरू बनाउनेछन्‌ भनी यस प्रविधिका समर्थकहरू विश्‍वस्त छन्‌। वैज्ञानिक भाषामा यी मेसिनहरूलाई नानोमेसिन भनिन्छ। यी साना रोबोटहरूले शरीरभित्र खास-खास निर्देशन बोकेका सूक्ष्म कम्प्युटरहरू परिचालन गर्नेछन्‌। अचम्मको कुरा के छ भने, यी अति जटिल मेसिनहरू तयार पार्न प्रयोग गरिने पाटपुर्जाहरू १०० नानोमिटरभन्दा साना हुनेछन्‌। यसको मतलब, रातो रक्‍तकोषको व्यासभन्दा २५ गुणा सानो!

नानोमेसिनहरू अत्यन्तै साना हुने भएकोले भविष्यमा यी मेसिनहरू मार्फत मसिना केशिका हुँदै रगतको कमी भएका (एनेमिया) तन्तुहरूसम्म अक्सिजन पुऱ्‍याउने, रक्‍तनलीहरूमा भएका अवरोध र मस्तिष्कका कोषहरूमा भएका कसर हटाउने, भाइरस, ब्याक्टेरिया तथा अन्य संक्रामक तत्त्वहरू पत्ता लगाएर नाश गर्ने जस्ता कार्यहरू गर्न सम्भव होला भन्‍ने आशा छ। जुन कोषमा औषधी चाहिएको छ, ठीक त्यहीं पुऱ्‍याउनको लागि पनि यी नानोमेसिनहरू प्रयोग गर्न सकिनेछ।

नानोमेडिसिनको प्रयोगद्वारा क्यान्सर पत्ता लगाउन उल्लेखनीय सहयोग मिल्नेछ भनी वैज्ञानिकहरूले अग्रिमवाणी गरेका छन्‌। औषधोपचार, भौतिकशास्त्र र बायोमेडिकल इन्जिनियरीङका प्राध्यापक डा. सामुएल विकलिनले यसो भने: “पहिलाभन्दा निकै चाँडो क्यान्सर पत्ता लगाउनु अनि ट्युमर भएकै ठाउँमा मात्र कडा औषधी पठाउनुका साथै हानिकारक साइड इफेक्ट कम गर्ने सम्भावना निकै बढेको छ।”

यी कुराहरू विचार गर्दा भविष्यबारे बढ्‌तै आशावादी भएजस्तो देखिन्छ तर कोही-कोही वैज्ञानिकहरू भने नानोमेडिसिन साँच्चै सम्भव हुने कुरामा विश्‍वस्त छन्‌। यस क्षेत्रका प्रमुख अनुसन्धानकर्ताहरूले आउँदो दशकभित्रै नानोटेक्नोलजीद्वारा जीवित कोषको पुनर्निर्माण तथा पुनसंरचना गर्न सकिने आशा राखेका छन्‌। एक जना समर्थक यसो भन्छन्‌: “नानोमेडिसिनले २० औं शताब्दीको लगभग सबैजसो रोगहरू निर्मूल गर्नेछ अनि पीडा पनि लगभग हटाउनेछ, साथै मानव क्षमताको भरपूर सदुपयोग गर्न सम्भव हुनेछ।” अहिल्यै पनि केही वैज्ञानिकहरू प्रयोगशालामा परीक्षण गरिने जनावरहरूमा नानोमेडिसिन प्रयोग गरेर निकै सफलता हात पारेको कुरा बताउँछन्‌।

जेनोमिक्स्‌ जीनसम्बन्धी अध्ययनलाई जेनोमिक्स्‌ भनिन्छ। मानिसको शरीरको प्रत्येक कोषमा जीवन धान्‍न अत्यावश्‍यक थुप्रै तत्त्वहरू हुन्छन्‌। यस्तै एउटा तत्त्व जीन हो। हाम्रो शरीरमा लगभग ३५,००० जीन हुन्छन्‌। यिनले नै हाम्रो केशको रङ र बनोट, छाला अनि आँखाको रङ, उचाइ तथा हाम्रो बाहिरी रूपरङका थुप्रै कुराहरू निर्धारण गर्छन्‌। हाम्रा भित्री अंगहरू कस्तो हुने हो, त्यसमा पनि जीनको महत्त्वपूर्ण भूमिका हुन्छ।

जीनले राम्रोसँग काम गर्न छोड्यो भने हाम्रो स्वास्थ्यमा असर पर्न सक्छ। कोही-कोही अनुसन्धानकर्ताहरूको विचारमा त, सबै रोगको कारण नै जीनको गडबडी हो। यी बिग्रिएका कुनै-कुनै जीनहरू हाम्रा आमाबाबुबाट जन्मजात सर्छन्‌। अरू कतिपय भने वातावरणमा हुने हानिकारक तत्त्वहरूले गर्दा पछि गएर बिग्रन्छन्‌।

कुन-कुन जीनले गर्दा हामी रोगी हुने सम्भावना छ भनेर चाँडै पत्ता लगाउने कुरामा वैज्ञानिकहरू आशावादी छन्‌। यसले गर्दा कोही-कोही व्यक्‍तिहरूलाई क्यान्सर लाग्ने सम्भावना बढी हुनु वा कुनै प्रकारको क्यान्सरले बढ्‌तै असर गर्नुको कारण बुझ्न डाक्टरहरूलाई सजिलो हुनेछ। एउटै औषधीको असर पनि बिरामीपिच्छे फरक हुनुको कारण पनि जेनोमिक्स्‌ले बताउन सक्नेछ।

जीनसम्बन्धी यस्तो खास जानकारी पाएपछि प्रत्येक व्यक्‍तिलाई तिनकै आवश्‍यकताअनुसार उपचार गर्न सकिनेछ। यो प्रविधिबाट तपाईंलाई कस्तो फाइदा हुनेछ? व्यक्‍तिअनुसारको औषधी दिने धारणाले के देखाउँछ भने, तपाईंको आनुवंशिक संरचनाको विशेषता के छ, त्यसैअनुसार उपचार गर्न सम्भव हुनेछ। उदाहरणका लागि, जीनको अध्ययनबाट तपाईंलाई कुनै एउटा रोग लाग्न सक्ने सम्भावना देखियो भने डाक्टरहरूले त्यसका लक्षणहरू देखिनुभन्दा धेरैअघि नै रोग पत्ता लगाउन सक्नेछन्‌। यस विधिका समर्थकहरूको दाबीअनुसार रोग लागिसकेको छैन भने सही उपचार, उचित भोजन र दिनचर्या परिवर्तन गरेर रोग लाग्नै नदिन पनि सम्भव हुन सक्छ।

कुन औषधी लिंदा तपाईंको शरीरमा प्रतिकूल असर पर्न सक्छ, तपाईंको जीन अध्ययन गरेर डाक्टरहरू पहिल्यै सजग हुन सक्छन्‌। यस्तो जानकारी पाएपछि तपाईंको रोगको किसिमअनुसार खासमा कुन औषधी र कति मात्रा चाहिएको हो, त्यसैअनुसार उपचार गर्न डाक्टरहरू सक्षम हुनेछन्‌। द बस्टन ग्लोब भन्‍ने अखबार यस्तो रिपोर्ट गर्छ: “सन्‌ २०२० सम्ममा [व्यक्‍तिको आवश्‍यकताअनुसार औषधी दिंदा हुने] यसको असर एकदमै व्यापक भइसकेको हुनेछ, जसबारे हामीले अहिले कल्पना समेत गर्न सक्दैनौं। जीनको अध्ययन गरेर प्रत्येक व्यक्‍तिको अवस्थाअनुसार डायबिटिज, मुटुको रोग, आलजाइमर, सिजोफ्रेनिया र अरू थुप्रै रोगहरूको उपचार गर्न चाहिने औषधी विकास गरिनेछ। किनभने आज यी रोगहरूले थुप्रैलाई पिरोलिरहेको छ।”

माथि उल्लिखित प्रविधिहरू भविष्यमा विज्ञानले के-के गर्नेछ भन्‍ने कुराको सानो नमुना मात्रै हो। चिकित्सा विज्ञानसम्बन्धी ज्ञान एकदमै द्रुत गतिमा बढिरहेको छ। तर तत्कालै सम्पूर्ण रोगबिमार निर्मूल हुनेछ भन्‍ने आशा वैज्ञानिकहरूले राखेका छैनन्‌। पहाडरूपी थुप्रै अवरोधहरू अझै छन्‌।

पहाडरूपी अवरोधहरू

रोगबिमार उन्मूलन गर्ने प्रयासमा मानव व्यवहारले नै अवरोध खडा गर्न सक्छ। जस्तै: इकोसिस्टममा मानिसहरूले पुऱ्‍याएको हानिले गर्दा नयाँ अनि खतरनाक रोगहरू देखा परेका छन्‌ भन्‍ने वैज्ञानिकहरूको भनाइ छ। न्युजवीक पत्रिकाले लिएको अन्तरवार्तामा वन्यजन्तु कोषकी अध्यक्ष मेरी पर्लले यसो भनिन्‌: “सन्‌ १९७० दशकको बीचदेखि एड्‌स, इबोला, लाइम रोग र सार्स लगायत ३० भन्दा बढी किसिमका नयाँ रोगहरू देखा परेका छन्‌। यीमध्ये प्रायजसो वन्यजन्तुबाट मानिसहरूलाई सरेको हुन सक्छ।”

साथै, मानिसको भोजनमा ताजा तरकारी र फलफूलको मात्रा कम तर चिनी, नुन र कोलेस्ट्रोल बढाउने चिल्लो पदार्थ बढी हुन थालेको छ। शारीरिक क्रियाकलापको कमी र विभिन्‍न हानिकारक आनीबानीले गर्दा मुटुसम्बन्धी रोगहरू बढेको छ। चुरोट खानेहरूको संख्या धेरै भएकोले संसारभरि नै गम्भीर स्वास्थ्य समस्या बढ्‌नुका साथै करोडौंको ज्यान गएको छ। सवारी दुर्घटनामा वर्षेनि २ करोडभन्दा बढी मानिसहरू गम्भीर घाइते हुन्छन्‌ वा मर्छन्‌। युद्ध तथा अन्य प्रकारका हिंसाले गर्दा अनगिन्ती मारिन्छन्‌ वा अंगभंग हुन्छन्‌। मादक पदार्थ वा लागू औषधीको दुरुपयोगले करोडौंको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ।

वास्तविकता के हो भने, अस्वस्थ हुनुको कारण जेसुकै किन नहोस्‌ अनि अर्कोतिर चिकित्सा प्रविधिमा जति नै उल्लेखनीय विकास भएको किन नहोस्‌, कुनै-कुनै रोगले मानिसलाई अत्यन्तै दुःख दिन्छ। विश्‍व स्वास्थ्य संगठनअनुसार ‘जीवनको कुनै न कुनै मोडमा आएर १५ करोडभन्दा बढी मानिस निराशाको सिकार हुन्छन्‌, २ करोड ५० लाख मानिस सिजोफ्रेनिया र ३ करोड ८० लाख मानिस छारे रोगबाट पीडित हुन्छन्‌।’ एच आई भी/एड्‌स, पखाला, मलेरिया, दादुरा, निमोनिया र टिबी रोगले करोडौंलाई संक्रमण गर्छ अनि अनगिन्ती केटाकेटी तथा जवानहरूको ज्यान लिन्छ।

रोग उन्मूलनको सन्दर्भमा पार गर्नै नसकिएला जस्तो देखिने अन्य अवरोधहरू पनि छन्‌। दुइटा प्रमुख अवरोध हुन्‌: गरिबी र भ्रष्ट सरकार। संक्रामक रोगको कारण करोडौंले ज्यान गुमाउँछन्‌। तर हालै विश्‍व स्वास्थ्य संगठनले प्रकाशित गरेको रिपोर्टअनुसार सरकार राम्रो भइदिएको र पैसा प्रशस्त भइदिएको भए धेरैको ज्यान जाने थिएन।

के विज्ञान जगत्‌मा प्राप्त नयाँ ज्ञान र चिकित्सा प्रविधिमा भएका उल्लेखनीय प्रगतिले यी सबै अवरोधहरू हटाउन सक्ला? के चाँडै रोगबिमार मुक्‍त संसार देख्न सकौंला? हुन त, माथि दिइएका विभिन्‍न पक्षहरूले कुनै स्पष्ट जवाफ दिंदैन। तर बाइबलले यस प्रश्‍नको जवाफ दिन्छ। भविष्यमा हुने रोगबिमार मुक्‍त संसारबारे बाइबल के भन्छ, यसपछिको लेखले बताउँछ। (g 1/07)

[फुटनोट]

a “नानो” उपसर्ग पुड्‌के भनी बुझाउने ग्रीक शब्दबाट लिइएको हो जसको अर्थ, “एक अरब भागको एक भाग हो।”

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

एक्स-रे

मानव शरीरको स्पष्ट अनि सही एक्स-रेले सुरुकै चरणमा रोग पत्ता लगाउन मदत गर्न सक्छ

रोबोटद्वारा गरिने शल्यक्रिया विभिन्‍न उपकरण चलाउने रोबोटले गर्दा डाक्टरहरूले एकदमै जटिल शल्यक्रिया पनि ठ्याक्क मिलाएर गर्न सक्छन्‌

नानोमेडिसिन मानव निर्मित सूक्ष्म उपकरणहरू चलाएर रोगी कोषसम्मै पुगेर उपचार गर्न सक्नेछन्‌। यहाँ सँगै चित्रमा एक जना चित्रकारको परिकल्पनाअनुसार रक्‍तकोषको कार्यप्रणाली नक्कल गर्ने नानोमेसिनहरू देखाइएका छन्‌

जेनोमिक्स्‌ प्रत्येक व्यक्‍तिको जीनको संरचना अध्ययन गरेर रोगका लक्षणहरू देखिनुभन्दा अघि नै रोग पत्ता लगाएर उपचार गर्न सकिने वैज्ञानिकहरूको आशा छ

[पृष्ठ ८, ९-मा भएको पेटी]

छ वटा अपराजित शत्रु

चिकित्सासम्बन्धी ज्ञान र यससित सम्बन्धित प्रविधि अतुलनीय गतिमा बढिरहेको छ। यसको बावजुद संक्रामक रोगको महामारीले मानिसलाई पिरोल्न छोडेको छैन। तल दिइएका प्राणघातक रोगहरूमाथि विजय हासिल गर्न सकिएको छैन।

एच आई भी/एड्‌स

लगभग छ करोड मानिस एच आई भी संक्रमित भएका छन्‌ र दुई करोड जति एड्‌सले मरेका छन्‌। सन्‌ २००५ मा ५० लाख नयाँ व्यक्‍तिहरूमा यसको संक्रमण देखा पऱ्‍यो र ३० लाखभन्दा बढीको मृत्यु भयो। यसरी मर्नेमध्ये पाँच लाखभन्दा बढी बालबच्चा थिए। एच आई भी पीडितमध्ये अधिकांशले पर्याप्त उपचार पाएका छैनन्‌।

पखाला

गरिबहरूको ज्यान लिने मुख्य शत्रु यही हो। वर्षेनी चार अरबजतिलाई यसले सताउँछ। विभिन्‍न संक्रामक रोगहरूले गर्दा पखाला लाग्छ अनि प्रदूषित पानी, खाना वा व्यक्‍तिगत सरसफाइको कमीले गर्दा सर्छ। यी संक्रामक रोगहरूले वर्षेनी २० लाखभन्दा बढीको ज्यान लिन्छ।

मलेरिया

वर्षेनी, ३० करोड मानिस मलेरियाले गर्दा अस्वस्थ हुन्छन्‌। हरेक वर्ष दस लाखको मृत्यु हुन्छ अनि यसमध्ये अधिकांश बालबच्चा हुन्छन्‌। मलेरियाले गर्दा अफ्रिकामा प्रत्येक ३० सेकेण्डमा एउटा बच्चाको मृत्यु हुन्छ। विश्‍व स्वास्थ्य संगठनअनुसार “मलेरियाको लागि विज्ञानले अहिलेसम्म एउटा अचूक औषधी पत्ता लगाउन सकेको छैन र धेरैलाई त्यस्तो औषधी होला जस्तो पनि लाग्दैन।”

दादुरा

सन्‌ २००३ मा दादुराले पाँच लाखभन्दा बढीको ज्यान लियो। बच्चाहरूको मृत्युको प्रमुख कारण यो नै हो। साथै, यो सजिलै सर्ने रोग हो। हरेक वर्ष तीन करोडजति मानिसलाई दादुरा लाग्छ। तर बुझ्नै नसकिने कुरा के हो भने, दादुरा विरुद्ध लड्‌न प्रभावकारी तथा सस्तो खोप उपलब्ध भएको ४० वर्षभन्दा बढी भइसक्यो।

निमोनिया

विश्‍व स्वास्थ्य संगठनको तथ्याङ्‌कअनुसार अरू संक्रामक रोगले भन्दा यसले धेरै बच्चाको ज्यान लिन्छ। हरेक वर्ष निमोनियाले गर्दा पाँच वर्षमुनिका २० लाखभन्दा बढी शिशुहरूको मृत्यु हुन्छ। यी मर्नेहरूमध्ये अधिकांश अफ्रिका र दक्षिणपूर्व एसियाका हुन्‌। संसारका थुप्रै भागहरूमा पर्याप्त स्वास्थ्य केन्द्रहरू नभएको हुँदा आवश्‍यक उपचार नपाएर धेरैको ज्यान जान्छ।

टिबी

सन्‌ २००३ मा टिबीले १७ लाखभन्दा बढी मानिसको ज्यान लियो। औषधीले नछुने नयाँ किसिमको टिबी रोग देखिएको हुँदा स्वास्थ्यकर्मीहरू एकदमै चिन्तित छन्‌। कुनै-कुनै किसिमको टिबीलाई जस्तोसुकै औषधीले पनि छुँदैन। प्रत्यक्ष निगरानी नभएको वा बीचैमा औषधी खान छोडेको अवस्थामा प्रायजसो टिबीको औषधीले नछोएको पाइन्छ।

[पृष्ठ ८, ९-मा भएको पेटी/चित्र]

वैकल्पिक उपचारको लहड बढ्‌दो छ

आधुनिक उपचार विधि अपनाउनेहरूले विभिन्‍न किसिमका उपचार पद्धतिहरूलाई स्वीकार्दैनन्‌। यी बेग्लै किसिमका उपचार विधिहरू साधारणतया परम्परागत उपचार र वैकल्पिक उपचार भनेर चिनिन्छन्‌। विकासशील मुलुकका अधिकांश मानिसहरू स्वास्थ्य समस्या हुँदा परम्परागत उपचार नै गर्ने गर्छन्‌। गरिब मुलुकका मानिसहरूसित आधुनिक उपचार गराउन पैसाको अभाव हुन सक्छ भने कतिपयले परम्परागत तरिका नै रुचाउँछन्‌।

सम्पन्‍न मुलुकहरूमा समेत वैकल्पिक उपचार फस्टाइरहेको छ। वैकल्पिक उपचारमध्ये सबैभन्दा प्रख्यात यसप्रकार छन्‌: अकुपंक्चर, काइरोप्राक्टिक, होमियोप्याथी, प्राकृतिक उपचार र जडीबुटी उपचार। यीमध्ये कुनै-कुनै विधिबारे वैज्ञानिक तवरमै अध्ययन गरिएको छ अनि केही स्वास्थ्य समस्याको लागि राम्रो पनि साबित भएको छ। तर कुनै-कुनै विधिको प्रभावकारिता भने प्रमाणित भइसकेको छैन। वैकल्पिक उपचारको बढ्‌दो लोकप्रियताले यी कत्तिको सुरक्षित छन्‌ भन्‍ने सन्दर्भमा प्रश्‍न खडा गरेको छ। थुप्रै देशहरूमा यी उपचार विधिहरूको सही निगरानी गरिएको छैन। यस्तो वातावरणले गर्दा डाक्टरको सल्लाह नै नलिई आफै उपचार गर्ने, नक्कली औषधी तथा नक्कली डाक्टरहरूको बिगबिगी भएको छ। कहिलेकाहीं राम्रै मनसाय राखेर साथीभाइ अनि इष्टमित्रहरूले विभिन्‍न उपचारसम्बन्धी सुझाव दिन सक्छन्‌ तर यथेष्ट तालिम नलिएका व्यक्‍तिहरू भएको हुँदा उल्टो असर पर्न सक्छ। यी विभिन्‍न कारणहरूले गर्दा स्वास्थ्यमा नराम्रो असर पर्नुका साथै स्वास्थ्यसम्बन्धी अनेकन्‌ समस्या खडा भएका छन्‌।

वैकल्पिक उपचार विधिलाई राम्ररी निगरानी गरिने ठाउँहरूमा भने आधुनिक उपचार विधिसँगसँगै यसलाई पनि थुप्रैले स्वीकारिरहेका छन्‌ अनि डाक्टरहरूले नै यस्तो उपचार गर्न सिफारिस गर्छन्‌। तैपनि, यी वैकल्पिक उपचारले रोगबिमार मुक्‍त संसार ल्याउनेछ भन्‍ने कुनै ठोस आधार दिंदैन।